प्रेम पत्र

डियर प्राप्तीका,

लेखौं र नलेखौंको दोधारबीच धेरै वटा कपीका पन्ना डस्टबिनमा फालिसकेपछि केही शब्दहरु जुटाएको छु । मुटुको चाल बढेको छ, धड्कन बाहिरसम्म महसुस गरिराखेको छु । यसैगरी मुटुको चाल बढ्थ्यो तिमी मेरो नजिक आउँदा, ओठहरु पूरै सुक्थे, शब्द निक्लिन गाह्रो हुन्थ्यो, पानीका गिलास धेरै पटक रित्याउँथे र सामर्थ्य जुटाउँथे । आज तिमी अगाडि छैनौ तर अवस्था भने पटक्कै पृथक छैन, प्राप्ती ।

मानिसलाई आफ्ना संवेदनाहरु अभिव्यक्त गर्न भाषा र आवाजको प्रयोग सधैं जरुरत नहुँदो रहेछ हगि प्राप्ती ? धेरै पटक आँखाहरुले नै पढ्दा रहेछन् । मैले पनि त आँखाहरुबाट नै धेरै कुराहरु पढेँ तिम्रोबारे । अभिव्यक्त नगरेका तिम्रा यथार्थहरु यसरी पढिरहेको थाहा पाएर पनि मैले सुन्न मिल्ने योग्यताको प्रमाण पत्र कहिल्यै दिएनौ हगि ?

तिमीले सबै कुरा जानेकी थियौ, हरेक मानिसका स्वभिमानको कदर गर्न जानेकी तिमी, कति मिलनसार थियौ हगि ? सबैको मन जितेकी तिमी, हरेकको मनोभावना बुभm्न सक्ने क्षमता राख्थ्यौ हैन ? ती हरेकभित्र म एक जनालाई किन छुटायौ प्राप्ती ? म एक जनाको मनोभावना किन बुझ्ने कोसिससम्म गरिनौ ? हरेक काममा अब्बल थियौ तिमी, काम गर्न जन्मसँगै सिकेकी थियौ कि के हो ? या शैशवकालमा तिमीले खेल खेल्नै छाडेर युवा भएपछि गर्ने काम त्यतिखेरै सिकेकी थियौ कि ? तिम्रा ती गुणहरुसँग साक्षात्कार हुनुअघि म सायदै कोहीसँग ईर्ष्या गर्थें । तर तिमीसँगको सामिप्यतापछि म तिम्रो ईर्ष्या गर्थें ।

छुटिने बेलामा त्यो दिनचाहिँ हातै हल्लाएर बाई भनेकि थियौ हगि ? तिमीसँग छुट्टिन कति गाह्रो, मन कस्तो गह्रुँगो हुने

तिम्रो मुहारको शालिनता अनि मनको पवित्रता, कति साँचो थियौ तिमी । कति सौम्य, हो ईर्ष्या गर्थें म तिम्रो । त्यही शालिनता, त्यही सौम्यता अनि त्यही मुहारको उज्यालोको । कुनै कुरा आफूसँग छैन र अफ्नो बन्न सक्दैन भने पैदा हुने रहेछ ईर्ष्या, भौतिक अभौतिक सबै कुरामा । तिम्रो चम्किलो पूर्ण चाँद जस्तो मुहार ऐनामा हेरेर मूल्याङ्कन गरेकी छैनौ होला प्राप्ती तिमीले । तिम्रा लोचनहरुले तिमी अघिल्तिरको खुल्ला वातावरणलाई कस्तो मदहोस बनाउँछ । लाली पोतेका तिम्रा ओठहरुले आवाज निकाल्न जब तरङ्ग पैदा गर्छन् ती तरङ्गले, ती आवाजले विनको काम गर्छन् । अनि तिम्रा अघिल्तिरका मान्छे सर्प जस्तै लठ्ठिन कत्ति बेर लाग्दैन । म पनि त लठ्ठिएको थिएँ तिम्रो त्यही आवाजले । तिम्रा केशरासीहरु हावामा जब निस्फीक्री छोडिन्छन्, ती फरफराउँदा सप्तरङ्गी इन्द्रेणी हावामा नै बन्छ ।

हो ईर्ष्या गर्थें म तिम्रा ती भावपूर्ण हेराइको, ती सुन्दर ओठका लालीको अनि तिम्रा केशरासीहरु फरफराउँदा हावामा वहने अत्तर जस्तो महकको ।

प्राप्ती, तिमीसँग नजिक हुँदा म कति रमाउँथे महसुस गरेकी छौ कहिल्यै ? सानो–सानो खुसी अनि सबै दुःख तिमीसँगै बताउँथे । आफ्ना गल्तीहरु लुकाएर क्षणभरको राम्रो कहिल्यै हुन चाहिनँ । तिम्रा अगाडि हरेक गल्तीहरु कन्फेसन गरेको छु । आफूजस्तो थिएँ, त्यस्तै देखाएँ । तिमी अन्तरयामी पक्कै थिइनौ । तर मनले अन्तरयामी नै मान्यो सायद, त्यसैले पनि होला तिमीसामु कहिल्यै झुटो भइनँ । तिमीसँग भएका हरेक ज्ञानहरु सिक्न चाहन्थें म, तिम्रा गुणहरु सबै आफूमा भएको महसुस गर्न चाहन्थें, तिमीसँग धैर्यता र सौम्यता  सिकिरहेको थिएँ तर मेरा हरेक कुरा एकातर्फी थिए हगि प्राप्ती ? मेरा सिकाइहरु, तिमीसँग नजिकिने चाहनाहरु सबै एकातर्फी ।

तिमीलाई याद छ ? एकदिन मैले तिमीलाई डराइ–डराइ मोटरसाइकल सिक्न अनुरोध गरेको थिएँ । मसँग भएको सायद यही एउटा प्राविधिक ज्ञान जुन तिमीसँग थिएन । मैले एक्सिलेटर, ब्रेक र क्लचले कसरी काम गर्छ बताएको थिएँ । तिम्रो हातमाथि आफ्नो हात राखेर एक्सिलेटर दबाउन सिकाएको थिएँ । मेरो हातले तिम्रो हातलाई पहिलो पटक स्पर्श गरेको थियो, कस्तो छुट्टै अनुभूति, कस्तो झन्झनाहट । नौनीको थुप्रोमाथि हात राखे जस्तो, कस्तो नरम, विछट्टै अर्कै अनुभूति, तर तिमीलाई मेरो स्पर्शले कुनै काउकुति लगाएन हगि ? तिमीलाई कुनै फरक अनुभूति भएन हगि ? कहीँ तातोपन, कहीँ आफ्नोपन । तिमीले पहिलो पटक नै यति राम्रोसँग मोटरसाइकल चलायौ कि मैले विश्वास नै गर्न सकिनँ । तिमीले चलाएको मोटरसाइकलमा बसेर वरिपरिको दृश्य अवलोकन गर्दा मलाई ती दृश्यहरु अत्यन्त सुन्दर लागेको थियो । अघिपछि भन्दा फरक, तिम्रो सामिप्यताले मन उज्यालो भएथ्यो सायद त्यसैले होला । बाइकलाई देब्रेतिर मोड्न लाग्दा ब्रेक समाउनु पर्ने ठाउँमा एक्सिलेटर समाएकी थियौ प्राप्ती । बाइक गएर पर्खालमा ठोक्किएको थियो अनि ह्विल कभर भाँचिएको थियो ।

थाहा छ प्राप्ती तिमीलाई, मैले त्यो भाँचिएको ह्वील कभर वर्षौं भयो फेरेको छैन । तिमीले भाँचेको भएर, तिम्रो तर्फबाट पाएको उपहार सम्झेर भाँचिएका ह्विल कभर हेर्दै हरेक दिन सन्तुष्ट हुन्छु प्राप्ती म । तिमीले सिकेको त्यो बाइक मैले जति पुरानो भए पनि आफूसँगै राखेको छु । धेरै पटक किन्न मानिसहरु आए तर मैले बेच्नै सकिनँ । तिमीले बाइक सिकेका पलहरु जसरी मेरो मनमा ताजा रहिरहेका छन्, तिमीले सिकेको त्यो बाइक हेर्दा म त्यतिबेलाकै मीठो सम्झनामा डुब्छु र त्यसले मलाई केही नयाँ गर्नका लागि ऊर्जा दिइरहेको अनुभूति गर्छु ।

छुटिने बेलामा त्यो दिनचाहिँ हातै हल्लाएर बाई भनेकि थियौ हगि ? तिमीसँग छुट्टिन कति गाह्रो, मन कस्तो गह्रुँगो हुने । अनिच्छुक मनलाई सम्हाल्नै गाह्रो तर सम्हाल्नु पर्ने बाध्यता । फरक हेर त, म त्यो रातभरि निदाउन सकिन, रातभरि तिम्रा आवाजहरु कानमा गुन्जिरहे ।

तिमीलाई भेटेदेखि तिमी धेरै दिन अफिसमा गयल भएकी छौ, तर मेरो मनको सिंहासनमा तिमीलाई कहिल्यै गयल हुन दिइनँ मैले । कुनै दिन, कुनै मिनेट, कुनै पल, निमेश पनि । धेरै पटक विरामी पनि भएकी छौ । मुहारको ओझ झरेर मलिन भएको छ । तर मेरो मनको फोटोमा तिम्रो मुहारको तेज घट्न कहिल्यै दिइनँ मैले । तिमी विरामी हुँदा आफ्नै मुहार पो मलिन हुँदोरहेछ । तिम्रो स्वास्थ्यको डराइ–डराइ जानकारी लिन्थें । फोन गर्ने हिम्मत जुट्दैनथियो, मेरो म्यासेजको रिप्लाई नआउँदा धेरै व्यग्र, अधैर्य हुन्थें म । खै मेरो भागको धैर्यता पनि तिमीसँगै थियो कि ।

यो पनि पढ्नुहोस

मातृभाषामा सिकाइ

प्रेम आकर्षण, श्रद्घा, अनुराग, मित्रता के थियो त्यो छुट्याउन सकिराखेको थिइनँ मैले, तर तिमीसँगै हुनुले जीवन रमाइलो भएको थियो । मेरो जीवनको सबैभन्दा सुखी क्षण त्यही थियो प्राप्ती जतिखेर म तिमी संग थिएँ ।

एकदिन तिमी आयौ मेरो रुममा । तिम्रो विवाहको कार्ड मेरो टेबलमा राखिदियौ । निम्ता गर्ने तिम्रा आवाजहरु खै मैले केही सुनिनँ । सायद तिमी केही बोलिनौ कि के हो

तिमीलाई याद छ प्राप्ती, गोल सेटिङको एउटा कार्यक्रममा हामी सबैले आफ्ना लक्ष्य र सपनाहरु अभिब्यक्त गर्नुपर्ने थियो । त्यतिखेर तिमीले व्यक्त गरेका तिम्रा सपना र लक्ष्य मैले त विना स्वीकृती नै आफ्नो बनाएको थिएँ । कति दृढ थियौ तिमी आफ्नो लक्ष्यमा, त्यही दृढता नै तिम्रो लक्ष्य प्राप्तिको कसी थियो । तिम्रो लक्ष्य थाहा नपाउन्जेल मेरा लक्ष्यहरु र आफ्नै सपनाहरु प्राथमिकता थिए मेरालागि । तिमीसँगको सामिप्यता खै कस्तो पूर्ण या अपूर्ण । तिम्रा लक्ष्यहरुचाहिँ प्राथमिकता बनेका थिए । त्यसैको चिन्तन र त्यसैको मनन्मा दिनहरु बिताउथें । तिमी पनि त मेरा हरेक काममा सहयोग गर्न तत्पर नै हुन्थ्यौ ।

तिमीले सम्झिएकी छौ प्राप्ती मेरालागि तिमीले बिताएका असाध्यै महत्वपूर्ण क्षणहरु, अनिदो रातका ती प्रहरहरु ? जसरी तिमी मलाई साथ दिन्थ्यौ म त त्यो साथ जीवनभरका लागि भनेर कल्पन्थें प्राप्ती । जीवनभरको लागि भएको सोच्दथें । त्यसैले त एकतर्फी प्रण गरेको थिएँ जीवन यात्रा सँगै गर्ने । तिमी कति अडिग थियौ हगि आफ्नो सोचप्रति, सबै किसिमले प्रोफेसनल तिमी हरेक काममा अब्बल । मेरो उपस्थितिले त्यो नारी मन कहिल्यै बिथोलिएन हगि ? हामीले बिताएका कुनै पल, समय, कुनै घटनाले पनि तिम्रो मन बिथोल्न सकेन हगि ?

म त बिथोलिन्थें प्राप्ती तिम्रो उपस्थितिले, तिम्रा आवाजहरुले, तिम्रो सामिप्यताले, तिम्रो साथले । तिमीसँगको बसाइका हरेक सकेण्डहरु अविस्मरणीय बनाउन चाहन्थें । त्यसैले बोलिरहन्थें । कति बोली तिम्रा आवाजहरुको प्रतिक्षामा हुन्थे प्राप्ती ।

तर तिमी त तौलिएर बोल्थ्यौ हगि ? धेरै बसाइँमा म एकोहोरो बोल्दबोल्दै हराएको छु । के बोल्ने मेसो नपाएर टोलाएको छु । मेरा ती बोलीहरुले तिम्रो आवाज निकाल्ने प्रयास गर्थे । तिम्रो आवाजको प्रतिक्षामा एकोहोरो बोलिरहन्थें ।

समयलाई आफू अनुकुल रोकेर राख्न नमिल्ने । त्यसरी मिल्थ्यो भने संसारमा मानिस किन दुःखी हुन्थे र ? मिल्थ्यो भने प्राप्ती म पनि केही समयहरु कैद गर्थें सदासदाका लागि । तिमीलाई मोटरसाइल सिकाएको क्षण, मेरो हातले तिम्रोे हात स्पर्श गर्दा मनमा लागेको काउकुतिलाई पनि कैद गर्थें म । तिमी मेरो अगाडि आएर उभिदा मुटुमा दुख्थ्यो तर कस्तो रमाइलो दुखाइ । कुनै त दुखाइ पनि रमाइलो हुने । त्यो क्षण पनि कैद गर्थें ।

तिम्रा हातले बनाएका खानेकुरा धेरैपटक खाएको छु । म कस्तो रोमाञ्चित हुन्थें, समय लगाएर खान्थें । त्यो समय मिनेट, घण्टा हुँदै सबै कैद गर्थें सायद ।

दिनहरु बित्दै थिए, उमेर बढ्दै थियो हाम्रो । समय कैद गर्न सके त्यो उमेर बढ्ने प्रक्रिया पनि रोकिन्थ्यो । हामी सधैं एउटै हुन्थ्यौं, उस्तै हुन्थ्यौं । सपना र लक्ष्य एउटै बनाएकै थियौं । एकदिन तिमी आयौ मेरो रुममा । तिम्रो आगमनलाई सधैं स्वागत गर्यो मनले, आँखाले पनि । त्यो दिन तिमी आफ्नो विवाहको कार्ड दिन पो आएकी रहिछौ । कार्ड मेरो टेबलमा राखिदियौ । निम्ता गर्ने तिम्रा आवाजहरु खै मैले केही सुनिनँ । सायद तिमी केही बोलिनौ कि के हो । पलभरमै निक्लियौ कोठाबाट ।

समय रोक्न मिल्ने भए त्यो दिनलाई त्यहीँ रोकिदिन्थें । घडीलाई उल्टो घुमाइ–घुमाइ तिम्रो विवाहको दिन आउन दिन्नथें । तर मैले उल्टो घुमाउँदैमा समय रोकिन्न थियो । मेरो प्रेम, श्रद्घा, आकर्षण, अनुराग के थियो तिमीसँग । तिम्रो विवाहको दिन म यो पत्र पठाउँदै छु । पढे है प्राप्ती तिमीलाई शुभकामना ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
You might also like