‘दिउँसोसम्म त ठीकै थियो, राति आएको बाढीले बर्बादै पार्‍यो’

काठमाडौं । ढोरपाटन नगरपालिका ९ मा पर्ने गाउँ- भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटका सर्वसाधारणको दैनिकी हिजो (बुधबार) साँझसम्म सामान्य थियो । दलित र जनजाति समुदायको बाहुल्यता रहेका ती गाउँमा दिनभरको दैनिकी सकेर साँझपख सुतेका उनीहरुमध्ये कतिपयले बिहीबार (आज) को उज्यालो देख्‍न पाएनन् । मध्यरातमा आएको बाढी र पहिरोले उनीहरुको बस्ती बग्यो । बस्तीसँगै बगे उनीहरुका सपना ।

‘हामी भयौं बेघरबार, चरी लैजा समाचार’ यो गीत उनीहरुको जीवनसँग मेल खान्छ यतिबेला । भुजीखोला पहिरोले थुनिँदा बाढी आयो । सँगै भुसुन्डे, दुनेपोखरा, लाकुरीबोट एकाएक बगाएर लग्यो । गाउँ अहिले शोकमा छ । सर्वसाधारण बेघरबार भएका छन् । अहिलेसम्म आठ जनाको मृत्यू भएको छ भने १३ जना बेपत्ता  भएका छन् । ज्यान गुमाउनेमा महिला बढी छन्

 

वडाध्यक्ष हरिबहादुर घर्ती मगर भन्छन्, “दिउँसो सबै ठीक थियो । राति आएको बाढी पहिरोले सबै बर्बाद पार्‍यो । तत्काल घरबारविहीन भएकालाई राहत, उद्धार र घर जोडिदिन केन्द्र र प्रदेश सरकारलाई हाम्रो आग्रह पुर्‍याइदिनुहोला ।” उनका अनुसार विस्थापित भएको गाउँ जोखिममा थिएन । तर नदी थुनिएर एकाएर ढुङ्‍गा माटोसहितको बाढीले गाउँ र स्थानीय बासिन्दाको जीवन सखाफ बनायो ।

उनले भने, “दिउँसो भए त ज्यान जोगिन्थ्यो होला । खाना खाएर सुतेका बेला परेछ । कसैले आफूलाई बचाउन सके कसैले सकेनन् ।” वडाध्यक्ष घर्तीका अनुसार कैयौं घर पूर्ण रुपमा विस्थापित भएका छन् । गाउँले र सुरक्षाकर्मी मिलेर बेपत्ताको खोजी गरिरहेका छन् ।

यो पनि पढ्नुहोस

अहिले पनि ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भीमगीठे बजारलगायत क्षेत्र जोखिममा छन् ।

प्रहरीका अनुसार बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका ९ की ३५ वर्षीया कौशला पुन, उनकै ६ वर्षीय छोरा हिक्मत पुन, सोही वडाका ३५ वर्षीय जितबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक छन् ।

यस्तै ३२ वर्षीया कर्मती घर्तीमगर, ३५ वर्षीया रिना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती मगर, उनकै ६ वर्षीया छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीय टुलमती पुन र गलकोट नगरपालिका घर भई ढोटपाटन क्षेत्र घुम्‍न गएका २४ वर्षीय नवीन भण्डारी छन् । भण्डारीसँगै गएका अन्य २ जनाको मोटरसाइकलसमेत भुजीखोलाले बगाएको छ । पहिरोमा परि चारजना घाइतेसमेत भएका छन् ।

You might also like