बढ्दो आत्महत्या, राज्य कति जिम्मेवार ?

काठमाडौं । बिहीबार विश्व आत्महत्या रोकथाम दिवस । नेपालमा पनि सचेतनाका लागि विभिन्न सन्देश दिँदै यो दिवस मनाइँदै छ ।

कोरोना भाइरसको महामारीका कारण यो दिवस औपचारिकतामै सीमित हुने भएको छ । तर नेपालमा पछिल्लो समय आत्महत्याको दर भने बढ्दो रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको महामारीका कारण आत्महत्या गर्नेको संख्या २० देखि ३० प्रतिशत बढेको छ ।

विभिन्न कारणले गर्दा यो दर बढेको उल्लेख गरिएको छ । विशेष गरी लकडाउन भएसँगै परिवारमा बढ्दो कलह, दुई छाक खानलाई समेत समस्या भएपछि बढेको चिन्ता तथा प्रेमीप्रेमीकाबीचको बढ्दो दूरीका कारणले समेत यो दर बढेको बताइन्छ ।

त्यसैगरी अवैध सम्बन्ध पछिको परिणामका कारणले आत्महत्या गर्न वाध्य पारेका घटनासमेत सार्वजनिक भइरहेका छन् ।

बढ्दो बेरोजगारले समेत पनि आत्महत्याको दर बढ्दो रहेको पाइएको छ ।

गएको चैत ११ गते लकडाउन लागेको थियो । उक्त समयदेखि साउनसम्म २२ सय भन्दा बढीले आत्महत्या गरेको तथ्यांक फेला परेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाले निम्त्याएको आर्थिक, सामाजिक, पारिवारिक समस्या र मानसिक तनाव झेल्न नसकेर आत्महत्या हुने गरेको हो ।

यो दरलाई रोक्नका लागि राज्यले भने कुनै पनि अग्रसरता नदेखाएको आरोप लागेको छ ।

यो पनि पढ्नुहोस

स्रष्टा र सिर्जना (गीत), नभेटेको भए…

मेरो धरातल, मेरो पाइला संस्मरण-१

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।

यो वर्ष कोरोना महामारीका कारण उत्पन्न समस्याले विगतको तुलनामा मनोसामाजिक समस्या र आत्महत्याको दर बढेको छ । लकडाउन, निषेधाज्ञा तथा घरभित्रै बस्नुपरेका कारण गरिखाने वर्गमा बढी असर देखिएको छ ।

समस्यालाई बाँड्न सके तनाव कम हुने विज्ञले बताएका छन् । साथै मनमा कुरा नखेलाउन, सकारात्मक कुराहरु सोच्न र नियमित व्यायाम गर्न विज्ञहरुको सुझाव छ ।

आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवार, आफन्त वा साथीभाइलाई पूर्वसंकेत दिने गरेको समेत पाइएको छ ।

तर व्यस्त जनजीवनका कारण र सबैजसो मानिस तनावमै रहने भएका कारणले पनि एकले अर्कालाई हेर्न फुर्सद नहुँदा आत्महत्या बढिरहेको बताइन्छ ।

कोरोनाको डरले पनि आत्महत्या विश्वमै बढिरहेको समेत बताइन्छ ।

नेपालमा आत्महत्याको अर्को पाटो आचरणमा देखिएको दुर्बल पक्ष पनि रहेको छ । बढ्दो भ्रष्टाचार, बढ्दो आकांक्षा, यौन दूराचारी लगायतका कारण पीडितले आत्महत्या गर्नुपर्ने अवस्था रहेको समेत मनोविद्हरु औंल्याउँछन् ।

अपराध गर्नेहरु उम्किँदा पनि वाध्य भएर पीडितले आत्महत्या गर्नुपर्ने अवस्था आएको समेत विश्लेषण गरिन्छ ।

You might also like