नेपालमा समावेशिता र सामाजिक सामन्जस्यतामा भाषाको भूमिका

नेपालमा समावेशिता र सामाजिक सामन्जस्यतामा भाषाको भूमिका

डा. अम्बिका रेग्मी बञ्जारा

 सारसङ्क्षेप

अल्पसङ्ख्यक भाषिक समुदायहरूको बीचमा सामाजिक सामन्जस्यता  र समावेशिताका लागि भाषाको भूमिका ठूलो हुन्छ। मातृभाषामा आधारित बहुभाषी शिक्षाको लागि एउटा निश्चित ढाँचाको चयन भाषा नीतिमा स्पष्ट उल्लेख नभएको कारणले गर्दा अल्पसङ्ख्यक भाषिक समुदायहरू अझै पनि शैक्षिक तथा सामाजिक रूपमा पछाडि परेका छन् । सामन्जस्यतालाई कायम गर्ने दुई उपायहरूको प्रयोग गर्नुपर्दछ  ज्ञानको हस्तान्तरण र  बहुलवाद र परिवर्तनको बारेमा व्यक्तिगत धारणा पत्ता लगाउनु पर्दछ । नेपालमा बोलिने विभिन्न मातृभाषाहरू, सरकारी कामकाजको भाषा (नेपाली) र अन्तराष्ट्रिय भाषा (अङ्ग्रेजी) जस्ता भाषाहरूलाई व्यवस्थापन गर्न देशको शिक्षा नीति स्पष्ट हुनुपर्दछ। बहुसङ्ख्यात्मकता र समावेशिकतालाई आधार बनाएर मात्र भाषा नीति बनाउनु पर्दछ  यसले गर्दा सामाजिक सामन्जस्यता  र समावेशिताका कायम राख्न मद्दत गर्दछ। अल्पसङ्ख्यक भाषिक समुदायहरूमा भाषिक समस्या बाहेकका अन्य समस्या जस्तै गरिबी हटाउन, गुणस्तरीय शिक्षा, लैङ्गिक विभेद, वर्गभेद र वातावरणीय परिवर्तन आदिको बारेमा ज्ञान दिलाई त्यसलाई सम्बोधन गर्नको लागि सामाजिक सामन्जस्यता  र समावेशिताको भूमिका महत्वपूर्ण हुन्छ । यी कुरामा भाषाले ठूलो भूमिका खेलेको हुन्छ ।

१. भूमिका

नेपालमा थुप्रै अल्पसङख्यक भाषिक समुदायहरू रहेका छन् । यिनीहरूका बीचमा समावेशिता र सामाजिक सामन्जस्यतामा भाषाले ठूलो भूमिका खेलेको हुन्छ। यही कुराको उजागर गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यस लेखमा सोको लागि मातृभाषाले खेल्न सक्ने भूमिकामा देखा परेका चुनौतीहरूको पहिचान गर्नु र तिनीहरूलाई समाधान गर्न आवश्यक रणनीति सुझाउनु पनि यस लेखका उद्देश्य रहेका छन् । नेपालमा प्रजातन्त्रको प्रादुर्भाव हुनुभन्दा पहिले समावेशिता र सामाजिक सामन्जस्यता प्रयासहरू नभएका होइनन् । तर ती सबै प्रयासहरूमा निरङ्कुशताको गन्ध भरिएको थियो ।

नेपालमा खास गरी जनयुद्ध इ.१९९६ (वि.सं.२००६) को समयमा सामाजिक सामन्जस्यता खलबलिएको थियो । यसलाई नेपालको राजनैतिक अस्थिरता र तराईको आन्दोलनले झनै बढायो (रेग्मी, २०१६ इ.)। माओवादी जनयुद्धमा पन्ध्र हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाए, ठूलो मात्रामा व्यक्ति तथा राष्ट्रिय धन सम्पत्तिको नोक्सान भयो । सन् २०१६ को मधेस आन्दोलनले  मधेसी थारु र पहाडीको बीचमा सामाजिक सामन्जस्यता खलबलायो । हाल नेपालका अल्पसङ्ख्यक भाषिक समुदायका मानिसहरू रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य र शान्ति सुरक्षाको लागि आफ्नो मूलथलो छाडेर सहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढेको छ।यसप्रकारको बसाइँ सर्ने क्रम दिनदिनै बढेको छ।यस समुदायका मानिसहरूलाई नयाँ ठाउँमा घुलमिल भएर दैनिक दिनचर्या चलाउनको लागि ठूलो सङघर्ष गर्नु परेको देखिन्छ । यस्ता भाषिक समुदायका बच्चाहरूलाई आफ्नो मातृभाषा छोडेर एक्कासी नयाँ ठाउँ र नयाँ भाषा सिक्न र पढ्नको लागि चुनौती खेप्नु पर्दछ । यस प्रकारका समुदायहरूको बीचमा सामाजिक सामन्जस्यता ल्याउनको लागि गुणस्तरीय शिक्षा महत्वपूर्ण  हुन्छ र शिक्षाको लागि भाषा अपरिहार्य हुन्छ । नेपालमा अल्पसङ्ख्यक भाषिक समुदायमा सामाजिक सामन्जस्यता र समावेशिताका लागि भाषाको महत्व कस्तो हुन्छ भन्ने बारेमा हालसम्म कुनै अध्ययन, अनुसन्धान र त्यसको लागि आवश्यक नीतिहरू सरकारी स्तरबाट हुन सकेको देखिँदैन ।

२.नेपालका भाषाहरू र तिनीहरूको जातीय पहिचान

नेपालको संविधान, २०१५ मा नेपालमा मातृभाषाको रूपमा बोलिने सबै भाषाहरू राष्ट्रभाषा हुन् भनेर किटान गरिएको छ । नेपालको जनगणना वि.सं.२०६८ मा नेपाली भाषालाई मातृभाषाको रूपमा प्रयोग गर्ने जनसङ्ख्या ४४.६ प्रतिशत देखाइएको छ । नेपालमा बोलिने भाषाहरूमध्ये करिब तीसवटा जति भाषाहरू दिगो बोलीचालीमा प्रयोग भएको पाइन्छ । करिब पचासवटा भाषाहरू दिगो रूपमा बोलीचालीमा प्रयोग भएको पाइँदैन (रेग्मी, २०१९) । जनगणनामा पहिचान भएका भाषाहरू १२३ वटा छन् । त्यसमध्ये ५६.९ प्रतिशत (करिब ७० वटा भाषाहरू) भन्दा बढी भाषाहरू अल्पसङ्ख्यकमा पर्दछन् ।

३. नेपालमा सामाजिक सामन्जस्यता र समावेशिता

वि.सं.२०६८ सालको जनगणनाअनुसार नेपालमा अल्पसङ्ख्यक भाषिक समुदायहरूको सङ्ख्या सम्पूर्ण जनसङ्ख्याको ५५ प्रतिशतभन्दा बढी छ (राष्ट्रिय तथ्याङ्क विभाग, २०१२ इ.)। जनजाति, महिला, मधेसी, दलित र सीमान्कृत समुदायहरूको बीचमा अझै पनि एक आपसमा जाति, जनजाति, भाषा, धर्म, वर्ग र भूगोलको आधारमा भिन्नताहरू छन् (गुरुङ, २००९) । नेपालको सामाजिक बनावट सुरुदेखि नै राजनैतिक, आर्थिक र सामाजिक रूपमा असमावेसी रहँदै आएको छ (ए.डि.बि,२०१०)।समावेशिताको विषयमा मानव विकासको क्षेत्रमा उच्च र निम्नस्तरका समूहरूमा धेरै ठूला खाडलहरू  छन् (गुरुङ र अन्य.,२०१४)।जनयुद्ध (ई.१९९६, वि.सं.२००६) पछि विभिन्न समुदायहरूको बीचमा झनै असमझदारी वातावरण बढ्दै गरेको देखिन्छ (यु.एन.डि.पि, वि.सं.२०१७) विभिन्न समुदाय, जाति भाषा र धर्महरूको बीचमा दिगो शान्ति र राम्रो सामन्जस्यता कायम राख्नको लागि नेपालले धेरै समस्याहरू झेल्दै आएको छ । नेपालमा (२००६ ई.) को बृहत शान्ति सम्झौतापश्चात् सरकारी तथा गैरसरकारी संस्थाहरूले द्वन्दग्रस्त ठाउँहरूमा सामाजिक सामन्जस्यता कायम राख्नको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका थिए । तर अल्पसङ्ख्यक भाषिक समुदायमा गरिबी, अशिक्षा, जातिभाषिक र लैङ्गिक विभेद अझै कायम रहेको छ । अझै दुर्गम क्षेत्रका बालबालिकाहरूमा गुणस्तरीय शिक्षा पुग्न सकेको छैन साथै आफ्नो संस्कृति झल्कने खालको मातृभाषामा शिक्षा पाउन सकेका छैनन् । धेरै यस्ता सीमान्तीकृत जातिभाषी समुदायहरू विकासको मूलधारबाट पछाडि परेका छन् । त्यसकारण मातृभाषामा शिक्षालाई सहज बनाउन र अल्पसङ्ख्यक भाषिक समुदायमा सामाजिक सामन्जस्यता  र समावेशिताका लागि मातृभाषाले महत्वपूर्ण भूमिका खेल्दछ ।

४. सामाजिक सामन्जस्यता  र समावेशिताका लागि भाषाको भूमिका

यो पनि पढ्नुहोस

स्रष्टा र सिर्जना (गीत), नभेटेको भए…

मेरो धरातल, मेरो पाइला संस्मरण-१

सामाजिक सामन्जस्यता र समावेशिताको कायम राख्नको लागि भाषाहरू एक प्रमुख औजारका रूपमा रहेका छन् । अल्पसङ्ख्यक भाषिक समुदायहरूलाई सम्बोधन नगरी बनाइएको योजना नै सामाजिक असामन्जस्यताको  मुख्य कारण हो । भाषा खासगरी मातृभाषामा शिक्षाले अल्पसङ्ख्यक भाषिक समुदायहरूमा सामाजिक सामन्जस्यतालाई कायम राख्न मद्दत गर्दछ (बिएङको, वि.सं.२०१३)। अल्पसङ्ख्यक भाषिक समुदायहरूमा भाषिक समस्या बाहेकका अन्य समस्या जस्तै गरिबी हटाउन, गुणस्तरीय शिक्षा, लैङ्गिक विभेद, वर्गभेद र वातावरणीय परिवर्तन आदिको बारेमा ज्ञान दिलाई त्यसलाई सम्बोधन गर्नको लागि सामाजिक सामन्स्यता  र समावेशिताको भूमिका महत्वपूर्ण हुन्छ। सामाजिक सामन्जस्यताका पाँचवटा प्रक्रियाहरू छन् । यिनीहरूमा सम्बन्ध, समावेशिता, सहभागिता, पहिचान र वैधानिकता पर्दछन् (अतुरुपाने र विक्रमानाएक, २०११ई.)। अतुरुपाने र विक्रमाना एक, वि.सं.२०११ काअनुसार सामन्जस्यता कायम गर्ने दुई उपायहरू छन्- पहिलो हो, ज्ञानको हस्तान्तरण । दोस्रो हो, बहुलवाद र परिवर्तनको बारेमा व्यक्तिगत धारणा पत्ता लगाउनु। नेपालमा बोलिने विभिन्न मातृभाषाहरू, सरकारी कामकाजको भाषा (नेपाली) र अन्तराष्ट्रिय भाषा (अङ्ग्रेजी) जस्ता भाषाहरूलाई  व्यवस्थापन गर्न देशको शिक्षा नीति स्पष्ट हुनुपर्दछ । नेपालको वर्तमान अवस्थामा हरेक जाति र भाषाभाषीले आफ्नो भाषा र संस्कृतिलाई छाडेर अर्काको नक्कल गर्नेमा प्रवृत्त हुन थालेको छ।यसले सामाजिक सामन्जस्यतालाई असर पारेको छ।यसकारण अल्पसङ्ख्यक भाषिक समुदायहरूले पनि आफ्नो भाषा र संस्कृतिलाई जोगाउनको लागि साना बालबालिकालाई सिकाउनुको साथै आआफ्नो भाषा र संस्कृतिको हस्तान्तरण गर्ने वातावरण बनाइदिनु पर्दछ।त्यस्ता भाषाहरू मात्र सरकारी कामकाजको (केन्द्रीय र क्षेत्रीय) भाषा हुन सक्छन्।यस्ता भाषाहरू शिक्षा नीतिमा समावेस हुन्छन्। बहुसङ्ख्यात्मकता र समावेशिकतालाई आधार बनाएर मात्र भाषा नीति बनाउनु पर्दछ । भाषाले कसरी सामाजिक सामन्जस्यता कायम राख्दछन् भन्ने बारे तल छोटकरीमा चर्चा गरिएको छ ।

४.१ मातृभाषाको भूमिका

नेपालमा अल्पसङ्ख्यक भाषिक समुदायहरूको बीचमा सामाजिक सामन्जस्यता र समावेशिताका लागि भाषाको भूमिका महत्वपूर्ण हुन्छ। नेपालको वर्तमान शिक्षा ऐनमा प्राथामिक शिक्षा (१-८) अनिवार्य मातृभाषामा दिनुपर्ने भनेर किटान गरिएको छैन। नेपालका सबै आवासीय विद्यालयहरूमा नेपालीबाहेक अरू सबै विषयको माध्यमको भाषा अङ्ग्रेजी छ। नेपालका सबै सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजीबाहेक अरू विषय नेपाली माध्यममा पढाइन्छ। नेपाली नेपालको सरकारी कामकाजको भाषा हो । पाठ्यपुस्तकहरू मानक नेपाली भाषामा लेखिएका हुन्छन्।यिनीहरूमा नेपालका मुख्य चाडपर्व र रीतिरिवाजहरू मात्र समावेश गरिएका हुन्छन्।त्यसको असर अल्पसङ्ख्यक भाषिक समुदायहरूको बच्चाहरूमा नराम्रो पर्न जान्छ। किनभने उनीहरूले न त आफ्नो संस्कृति राम्ररी बुझ्न पाउँछन्, न त राष्ट्रिय संस्कृतिलाई नै बुझ्न सक्दछन्।उनीहरू अल्झिने सम्भावना धेरै हुन्छ । यस्ता बच्चाहरूले जीवनोपयोगी  स्थानीय ज्ञान र सीपलाई प्राप्त गर्न स्थानीय भाषाहरू र भाषिकाहरूको आवश्यकता पर्दछ।हालका पाठ्यपुस्तकहरू बालबालिकाहरूले यी कुराहरू सिक्न बन्चित हुन्छन्। ज्ञानको हस्तान्तरण र एकअर्काको सोचमा परिवर्तन ल्याउनको लागि विविधता र परिवर्तन, विद्यालय पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षकको विकास, सहायक पाठ्यक्रम, अन्य पाठ्यक्रियाकलाप, स्थानीय भाषा संस्कृतिहरू विद्यालयलाई आवश्यक पर्ने विषयवस्तुहरू समावेस गर्नुपर्दछ ।यस्तो भूमिका भाषा मात्र विषयको रूपमा सुरुको अवस्थामा शिक्षामा प्रयोग गर्न सकिन्छ। जीवनोपयोगी ज्ञानको विकास गर्नको लागि मातृभाषामा आधारित पाठ्यपुस्तकको निर्माण गर्ने र अन्य पुस्तकहरू पनि मातृभाषालाई सहयोग पुग्ने खालको बनाउनु पर्दछ।सबै पाठ्यक्रम र पाठ्यपुस्तकहरू स्थानीय शिक्षकद्वारा स्थानीय संस्कृतिहरू झल्कने खालको बनाउनु पर्दछ । विविधता र परिवर्तनको बारेमा जसले राम्ररी बुझ्दछ, उसले देशको विकासमा सहयोग गर्न मद्दत गर्दछ। शिक्षामा मातृभाषाको प्रयोगले समावेशिकता, पहिचान र वैधानिकतालाई बढवा दिन्छ।नेपाली भाषा सरकारी कामकाजको भाषा भएकोले सुरू देखिनै दोस्रो भाषाको रूपमा पढाउनु पर्दछ । दुई वा दुईभन्दा बढी मातृभाषाको पढाइ हुने विद्यालय छ भने एकले अर्काको भाषा सिक्ने वातावरण उपलब्ध गराउनु पर्दछ । यस प्रकारले भाषाको व्यवस्थापन गरियो भने यसले स्थानीय समुदायहरूको बीचमा सामाजिक सामन्जस्यता  र समावेशिताका कायम राख्न सकिन्छ ।

४.२ नेपाली भाषा र क्षेत्रीय भाषाहरूको भूमिका

नेपालीबाहेक अन्य क्षेत्रीय भाषाको निक्र्यौल हालसम्म गरिएको छैन।अन्य भाषाहरू जस्तै लिम्बू, मैथिली, तामाङ, गुरुङ, मगर, नेवार र डोटेली जस्ता भाषाहरू क्षेत्रीय भाषा हुन सक्छन्। यस्ता भाषाहरूलाई प्राथामिक स्तरमा विषयको रूपमा पढाउन सकियो भने क्षेत्रीयस्तरमा समुदायहरूको बीचमा सामाजिक सामन्जस्यता र समावेशिताका कायम राख्न मद्दत गर्न सकिन्छ । उच्च शिक्षामा नेपाली भाषामा लेखिएका नेपालका मुख्यमुख्य चाडपर्वहरूको समावेस गरेर पढाइयो भने यसले राष्ट्रियस्तरमा सामाजिक सामन्जस्यता र समावेशिताका कायम राख्न मद्दत गर्दछ । विद्यालयको पाठ्यक्रम र पाठ्यपुस्तकहरूको निर्माण गर्दा देशको भाषिक अवस्थालाई ध्यानमा राखेर बनाउनु पर्दछ । यो तरिकाबाट नयाँ पुस्ताहरूलाई विविधता र परिवर्तनको बारेमा राम्ररी बुझाउन सकिन्छ ।

४.३ अन्तराष्ट्रिय भाषाहरूको भूमिका

हालको भूमन्डलीकरणको परिवेशमा अन्तराष्ट्रिय भाषा, अङ्ग्रेजी पनि जान्नु आवश्यक छ । त्यसकारण अङ्ग्रेजीलाई पनि पाठ्यक्रममा राख्नु आवश्यक छ । तर मातृभाषाको मर्म विपरीत हुनु हुँदैन । जसले अन्तराष्ट्रिय मूल्य र मान्यताको बारेमा बुझेको छ, उसले समुदायको मूल्य र मान्यताको विपरीत जान सक्दैन। अन्तराष्ट्रिय बसाइँसराइले नेपालका अल्पसङ्ख्यक भाषिक समुदायहरूलाई प्रभाव पारेको छ। जसको करणले गर्दा अधिकांश मातृभाषी समुदायहरूले आफ्नो भाषा र संस्कृति छाडेर अरूको भाषा र संस्कृति नक्कल गर्ने प्रक्रिया बढेको छ । परिणामस्वरूप मातृभाषी समुदायहरूमा आआफ्नो पहिचानमा समस्या ल्याएको छ । यसकारण अन्तराष्ट्रिय भाषाको साथै राष्ट्रिय र क्षेत्रीय भाषाहरूलाई समावेश गराएर विद्यालयको पाठ्यक्रम निर्माण गर्नु उपयुक्त हुन्छ ।

५. सामाजिक सामन्जस्यता  र समावेशिता कायम राख्नको लागि आइपर्ने समस्याहरू

भाषिक नीति बनाउँदा बहुसङ्ख्यात्मकता र समावेशिकतालाई आधार बनाइएको छैन। एक भाषा नीतिलाई नै प्राथमिकता दिने खालको मनस्थिति बोकेका विद्वान्हरूको जमात अझै नीति निर्माण बनाउने ठाउँमा कायमै छ । यसले गर्दा बहुभाषी नीति लागू गर्न सहज छैन।अल्पसङ्ख्यक भाषिक समुदायहरूमा पनि अझै मातृभाषामा शिक्षाको महत्वको बारेमा सकारात्मक धारणा छैन।अल्पसङ्ख्यक भाषिक समुदायहरूले आफ्नो मातृभाषाको प्रयोग दिगो रूपमा गरेको देखिँदैन । जबसम्म भाषाको प्रयोग बूढा पुस्ताबाट बच्चासम्म हस्तान्तरण हुन सक्दैन, त्यस्ता भाषाहरूमा शिक्षा सम्भव छैन । नेपालमा हालसम्म पनि मातृभाषामा शिक्षा दिँदा कस्तो खाका लागू गर्ने भन्ने बरेमा स्पष्ट नीति बनाइएको छैन । सबै समुदायका अभिभावकहरूको इच्छा आफ्नो बच्चाहरूलाई अङ्ग्रेजी माध्यमबाटै पढाउन चाहन्छन्।स्थानीय भाषा र संस्कृतिहरूमा मिल्ने खालको पाठ्यपुस्तकहरू बनाउन त्यति सजिलो छैन। आधारभूत तहमा नेपाली भाषालाई दोस्रो भाषाको रूपमा पढाउनको लागि कस्तो ढाँचामा बनाउने भन्ने कुनै मोडेल बनाएको छैन। कुन क्षेत्रीय भाषालाई शिक्षामा प्रयोग गर्ने भन्ने बारेमा ठूलो बहसको विषय बनेको छ। मातृभाषामा शिक्षा दिँदा विषयको रूपमा दिने कि माध्यमको रूपमा भन्ने बारेमा पनि निक्र्यौल हुन सकेको छैन ।मातृभाषामा तालिम प्राप्त शिक्षक उपलब्ध गराउन पनि तत्कालको लागि सजिलो छैन। आधारभूत स्तरमा भाषाहरूको व्यवस्थापन गर्नको लागि ठूलो बजेटको आवश्यकता पर्दछ । त्यसकारण एकैपटक सबै भाषाहरूको व्यवस्थापन गर्न सजिलो छैन । सबैभन्दा अप्ठ्यारो भनेको स्थानीय जनसमुदायहरू, शिक्षकहरू र अल्पसङ्ख्यक भाषिक समुदायहरूका अभिभावकहरूको सोचमा परिवर्तन ल्याउनु हो ।

६. समाधान गर्न चाल्नुपर्ने आवश्यक रणनीतिहरू

बहुसङ्ख्यात्मकता र समावेशिकताको आधारमा यथाशीघ्र भाषा नीति बनाइनु पर्दछ। अल्पसङ्ख्यक भाषिक समुदायहरूमा मातृभाषामा शिक्षाको महत्वको बारेमा अभियान चलाउनु पर्दछ।अल्पसङ्ख्यक भाषिक समुदायहरूमा भाषाको दिगो प्रयोगलाई तुरुन्तै सुरक्षित गर्नुपर्दछ। कुनकुन भाषाहरूमा मातृभाषाको दिगो प्रयोग हुन्छ, त्यस्ता भाषाहरूको गणना गर्नुपर्दछ । मातृभाषामा आधारित बहुभाषी शिक्षाको लागि एउटा निश्चित ढाँचाको चयन भाषा नीतिमा स्पष्ट उल्लेख भएको हुनुपर्दछ । मातृभाषामा पाठ्यपुस्तकको निर्माण गर्दा स्थानीयहरूलाई समावेश गराएर, स्थानीय भाषाहरू र संस्कृतिहरूलाई समेटिने खालको निर्माण गर्नुपर्दछ।अल्पसङ्ख्यक भाषिक समुदायहरूमा नेपालीलाई दोस्रो भाषा र मातृभाषालाई पहिलो भाषाको रूपमा पढाउने वातावरण बनाउनु पर्दछ।क्षेत्रीय भाषाहरूमध्ये कुनकुन भाषाहरू क्षेत्रीय भाषा बन्न सक्छन् पहिचान गरी त्यसलाई शिक्षामा प्रयोग गर्नुपर्दछ। कुन भाषालाई विषय र कुन भाषालाई माध्यमको रूपमा शिक्षामा लागू गर्ने भन्ने कुराको निर्क्यौल गर्नुपर्दछ।मातृभाषाको शिक्षकलाई तालिम दिँदा सङ्क्रमणकालीन सिद्धान्तलाई आधारको रूपमा  अपनाउनु पर्दछ। पाठ्यसामाग्रीहरूको निर्माण गर्दा हालसालै प्रचलनमा आएको प्रविधिलाई अपनाउनु पर्दछ ।मातृभाषाहरूलाई शिक्षामा लागू गर्नको लागि राज्यले उचित बजेटको व्यवस्था गर्नुपर्दछ।मातृभाषीहरू साथै भाषाको अभियन्ताहरूले पनि आआफ्नो भाषालाई अगाडि बढाउनको निमित्त केवल आर्थिक उपलब्धि र जागिरसँग मात्र जोड्नु हुँदैन ।

(लेखक त्रिवि भाषाविज्ञान केन्द्रीय विज्ञान कीर्तिपुरमा अनुसन्धानकर्ता एवम् अध्येता हुनुहुन्छ ।)

 

 

You might also like