मातृभाषामा सिकाइ

 

मातृभाषामा सिकाइ

डा.डिल्लीराम रिमाल

१.लेखसार

नेपालमा १२३ मातृभाषाहरूको उपयोग हुने गरेको छ। यी भाषाहरूमध्ये कतिपय भाषाको माध्यमबाट समाजमा सञ्चारण हुने गर्दछ भने कतिपय भाषामा यो अवस्था विद्यमान छैन। नेपालका बालबालिकालाई भाषा प्रयोगको दृष्टिले हेर्दा एकभाषी, द्विभाषी वा बहुभाषी रूपमा रहेको पाइएको छ। धेरैजसो परिवारमा मातृभाषाका रूपमा नेपाली र अर्को एक भाषाको उपयोग हुने अवस्था देखिएको छ । कतिपय परिवारहरू भने बहु मातृभाषाको उपयोग हुने गरेको छ । भाषा प्रयोगका दृष्टिले हेर्दा धेरैजसो भाषाले शिक्षामा उपयोग हुने अवसर पाएका छैनन् । मातृभाषा व्यक्ति र समाजको शक्तिको अक्षय स्रोत हो । समाजको अवस्थाको विकास तथा व्यक्तिको व्यक्तित्व विकासमा मातृभाषाको प्रयोगले सहज बनाएको हुन्छ । मातृभाषा प्रयोगकै माध्यमबाट व्यक्तिले आफ्नो अस्मिताको पहिचान बनाउन सक्छ।सामजिकीरण मातृभाषा प्रयोग अर्को आधार बन्न गएको छ। व्यक्ति बाँचेको समाज तथा त्यहाँको संस्कृतिमा व्यक्तिले आफ्नो स्थानको पहिचानका लागि पहिलो भाषाको सहयोग चाहिन्छ । यसैले व्यक्तिको बौद्धिक व्यापारको आधार मातृभाषा नै हो। मातृभाषालाई माध्यम र साक्षरता विकासको आधारका रूपमा उपयोग गर्दा विभिन्न प्रयोजनका लागि अभिव्यक्ति क्षमता, अभिव्यक्तिलाई बौद्धिक उचाइमा लैजान आन्तरिक क्षमता, भनाइलाई प्रौढ र बलियो बनाउन व्यावसायिक क्षमता, जानकारीमा सार्थक प्रयास, सहज सूचना प्रवाह, आनन्दपूर्वक अभिव्यक्ति दिन सक्ने क्षमताको शक्ति पैदा गर्न सक्ने शक्ति उत्पन्न गर्न सकिन्छ । भाषा स्वयम्मा आफ्नो विषय बनेर साध्यको काम गर्ने विशेषता रहन्छ । भाषामा साध्यको काम गरेजस्तै अन्य विषय शिक्षणमा साधनको काम गरिरहेको हुन्छ । यस्तो भाषालाई माध्यम र विषयका रूपमा सिकाइ अघि बढाउने विषयलाई लेखमा विविध पक्षको विश्लेषण समावेश छ। मातृभाषा सिकाइलाई संज्ञानका रूपमा, सामाजिक सम्बन्धका रूपमा, सांस्कृतिक भाषाको विशेष रूपमा र मातृभाषाका विभिन्न आधारको विषयमा चर्चा गरिएको छ ।

२.विषय प्रवेश

मातृभाषा के हो ? के मातृभाषा पहिलो भाषा हो ? अथवा आमाले बोलेको भाषा वा परिवारको सञ्चारको भाषा हो ? वा समुदायको भाषा हो अथवा के हो ? यसलाई कसरी परिचित गराउने ? मातृभाषाका विषयमा विभिन्न तर्कहरू रहेको पाइन्छ । मातृभाषालाई कुनै विद्वान्ले प्रथम भाषा र कुनै विद्वान्ले स्वभाषा भनेर चिनाउने गरेका छन्। मातृभाषाका विषयमा विद्वान्हरूका बीचमा निरन्तर बहस भइरहेको छ। मातापिताको भाषा वा बच्चाले पहलिो पटक सिकेको भाषा आदि विविध चर्चा गरिएको पाइएको छ । नेपालको सन् २०११ को जनगणनाअनुसार नेपालमा १२३ भाषाको उपस्थिति देखिएको छ ।

नेपालजस्तो बहुभाषिक देशमा बालबालिकाको भाषा प्रयोगको दृष्टिले चर्चा गर्दा एकभाषी, द्विभाषी वा बहुभाषी रूपमा हेर्न सकिन्छ । नेपाली समाजका कतिपय परिवारमा बाबुको मातृभाषा र आमाको मातृभाषा फरकफरक प्रयोग गर्ने पृष्ठभूमि रहेको देख्न सकिन्छ । धेरैजसो परिवारमा मातृभाषाका रूपमा नेपाली र अर्को एक भाषाको उपयोग हुने अवस्था देखिएको छ । कतिपय परिवारहरू भने बहुमातृभाषी रूपमा रहेको पाइएको छ । यति भए पनि भाषा प्रयोगका दृष्टिले हेर्दा एक भाषालाई औपचारिक र अन्यलाई स्थानीय सञ्चारमा उपयोग गर्ने रूपमा देखिएका छन् । उदाहरणका रूपमा स्थानीय सञ्चार तथा व्यवहारका रूपमा उपयोग हुने कतिपय भाषा स्थानीय रूपमा प्रयोग भए पनि त्यस्ता भाषालाई औपचारिकताको सरकारी कामकाज, विद्यालयको पठनपाठनको माध्यम वा अन्य व्यवहारमा उपयोग हुने अवस्था निर्माण हुन सकेको छैन ।

मातृभाषा व्यक्ति र समाजको शक्तिको अक्षय स्रोत हो । समाजको अवस्थाको विकास तथा व्यक्तिको व्यक्तित्व विकासमा मातृभाषाको प्रयोगले सहज बनाएको हुन्छ । मातृभाषा प्रयोगकै माध्यमबाट व्यक्तिले आफ्नो अस्मिताको पहिचान बनाउन सक्छ । सामाजिकीरण मातृभाषा प्रयोगको अर्को आधार बन्न गएको छ। व्यक्ति बाँचेको समाज तथा त्यहाँको संस्कृतिमा व्यक्तिले आफ्नो स्थानको पहिचानका लागि पहिलो भाषाको सहयोग चाहिन्छ । यसैले व्यक्तिको बौद्धिक व्यापारको आधार मातृभाषा नै हो । मातृभाषाको अर्को आधार भनेको साक्षरता हो। साक्षरता व्यक्तिले सहजै बुझ्ने, बोल्ने र व्यवहार गर्न सक्ने भाषामा आधारित हुन्छ। यस्तो अवसर मातृभाषाबाट प्राप्त हुन सक्छ । यस्तो भाषामा बोल्ने र सुन्ने तथा सहज हुने क्षमता रहन्छ । यसको सहयोगबाट पढाइ र लेखाइ सीपको विकास गर्न सकिने हुनाले भाषा सिकाइ सहज हुन्छ । सिकाइ बोझका रूपमा देखिँदैन।शिक्षाको माध्यमका रूपमा उपयोग हुने मातृभाषामा यो प्रक्रिया सहज हुन्छ अन्यथा सिकाइमा कठिनाइ देखिन्छ । सहज हुने भए पनि अव्यावहारिक देखिन पुग्छ।मातृभाषालाई माध्यम तथा साक्षरताको आधारका रूपमा उपयोग गर्दा विभिन्न प्रयोजनका लागि अभिव्यक्ति क्षमता, अभिव्यक्तिलाई बौद्धिक उच्चाइमा लैजान आन्तरिक क्षमता, भनाइलाई प्रौढ र बलियो बनाउन व्यावसायिक क्षमता, जानकारीमा सार्थक प्रयास, सहज सूचना प्रवाह, आनन्दपूर्वक अभिव्यक्ति दिन सक्ने क्षमताको शक्ति पैदा गर्न सक्ने शक्ति मातृभाषा सिकाइमा हुने गर्दछ । भाषा स्वयम् आफ्नो विषय बनेर साध्यको काम गर्ने विशेषता रहन्छ । भाषामा साध्यको काम गरेजस्तै अन्य विषय शिक्षणमा भाषाले साधनको काम गरिरहेको हुन्छ ।

३.प्रयोगका आधारमा मातृभाषाका रूप 

भाषाको उपयोगका आधारमा विविध रूप देख्न सकिन्छ। भाषा प्रयोगको विषयवस्तुको क्षेत्र, भाषाको उपयोग माध्यम वा विषय क्षेत्र, अभिव्यक्तिको रूप र अभिव्यक्तिको शैलीका आधारमा मातृभाषा प्रयोगका विभिन्न रूप देख्न सकिन्छ । देहायअनुसारका विभिन्न क्षेत्रमा मातृभाषाको उपयोग हुँदै आएको पाइएको छ ।

३.१ भाषा प्रयोगको विषय क्षेत्र

भाषाको उपयोगको क्षेत्र, उपयोगको विषय र प्रयोगको प्रकृतिअनुसार भाषा प्रयोगमा फरकपना देखिन्छ । प्रत्येक सन्दर्भले भाषाको उपयोगमा परिवर्तन देखिन्छ । प्रयोग गर्ने प्रविधि तथा प्रविधिको उपयोग नगर्दा समेत भाषा प्रयोगमा फरकपना देख्न सकिन्छ ।

३.२ भाषा प्रयोगको आधार

यहाँ भाषा प्रयोग अवस्था विशेष हेरिन्छ । कस्तो अवस्थामा भाषाको प्रयोग भएको छ ? भाषाको प्रयोग गर्ने व्यक्ति औपचारिक स्थान वा अनौपचारिक स्थान वा कस्तो परिवेश छ ? यस्ता परिवेशगत अवस्था विशेषले भाषा प्रयोगको कोणमा परिवर्तन हुन्छ । यसमा भाषाको प्रयोगकर्ताको स्थान विशेष आवश्यकताले भूमिका निर्वाह गरेको हुन्छ । कतिपय अवस्थामा समेत मौखिक रूपमा भाषा प्रयोग भएको देखिए पनि भाषाको लिखित रूपको प्रयोग भएको हुन्छ।अनौपचारिक सन्दर्भमा अधिक रूपमा मौखिक औपचारिक सन्दर्भमा अधिक रूपमा लिखित रूपको उपयोग हुने अवस्था रहन्छ । भाषा प्रयोगको औपचारिक सन्दर्भ छ र लिखित रूपको प्रयोग भएको छ भने त्यस्तो अवस्थामा भाषाको उच्च कोडको उपयोग हुन्छ । अनौपचारिक सन्दर्भमा भने न्यून कोडको उपयोग हुने गर्दछ।यसरी भाषाको प्रयोग गर्दा उत्तेजना अनुक्रियाको अवस्था देखिन्छ । दुई पक्ष छन् त्यहाँ उत्तेजना तथा अनुक्रियाको अवस्था देखियो भने त्यस अवस्था विशेषलाई भाषाको उपयोगको सकारात्मक अवस्थाका रूपमा लिन सकिन्छ । मातृभाषाको प्रयोगमा यो अवस्था देखिन्छ ।

३.३ भाषा प्रयोगको शैली 

भाषाको व्यवहारमा संलग्न व्यक्तिहरूका आधारमा भाषा प्रयोगको शैली निश्चित हुन्छ । सबै व्यक्तिहरूको शैली तथा भाषा प्रयोग गर्ने तरिका फरकफरक हुन्छ । भाषा प्रयोगको अवस्था विशेषताका आधारमा औपचारिक र अनौपचारिक शैलीको प्रयोग भएको हुन्छ । भाषा प्रयोगको शैलीले भाषाको संस्कृति तथा परम्पराको सङ्केत गरेको हुन्छ । भाषाको प्रयुक्त शैलीका आधारमा त्यस भाषाको गहिराइ बुझ्न सहज हुन्छ । बालबालिकामा मातृभाषा प्रयोग गर्ने र बुझ्ने क्षमता हुन्छ।यो क्षमता नै बालबालिकाको शक्ति हो । यही शक्तिका आधारमा विभिन्न परिस्थितिअनुरूप भाषा प्रयोग हुने गर्दछ। व्यक्तिको व्यक्तित्वको सांस्कृतिक पक्षको आँकलन तथा विश्लेषणमा शैलीले सहयोग पुर्‍याउँछ । व्यक्तिको जीवनदृष्टि र व्यवहार आदिको विश्लेषणमा सहयोग पुग्दछ ।

क) ज्ञान रूप 

यहाँ भाषालाई स्वयम्सिद्ध रूप र विषयको माध्यमको रूपमा देखिन्छ । ज्ञानमा भाषाको संरचना तथा यसका सैद्धान्तिक सन्दर्भलाई प्रयोक्ताले कसरी प्रयोग गरेको छ ? भनेर हेरिन्छ । यसमा भाषा प्रयोग गर्ने व्यक्तिले भाषाको प्रकृतिको जानकारीका आधारमा भाषाको प्रयोग गरेको देखिन्छ । अन्य क्षेत्रका ज्ञानको सन्दर्भ समेतमा भाषाको उपयोग गरी सिकाइ अघि बढाइन्छ । विविध क्षेत्रको ज्ञानलाई मातृभाषाको माध्यमबाट सिकाउन यसले प्रेरित गरेको हुन्छ ।

ख) शक्ति रूप

व्यक्तिको क्रियात्मक दक्षताका आधारमा भाषाको शक्तिको पहिचान हुन्छ । व्यक्तिले आफूलाई अब्बल बनाउन क्रियात्मक दक्षताको प्रस्तुति आवश्यक हुन्छ।जति प्रभावकारी प्रयोग देखिन्छ त्यति नै भाषाको शक्ति देखिन्छ। भाषा प्रयोक्ताको सामाजिक परिस्थितिअनुरूप भाषा सिकाइ अघि बढाउने विषय अघि बढाइएको छ ।

यी विविध आधारमा हेर्दा मातृभाषाको उपयोग स्वभाविक छ भन्ने देखिएको छ । बाल्यकालमा अनायसै सिकिने भाषा प्रथम भाषा हो । पहिलोपटक सिकेको भाषा भएका कारण प्रथम भाषामा नाम राखिएको देखिन्छ । प्रथम भाषा बालकहरूले कतिखेर र कसरी सिक्छन् ?  त्यसको सहज उत्तर सम्भव छैन । बालबालिकाले स्वतः भाषा सिक्दछन् । यसप्रकार पहिलोपटक सिकाइ भएको भाषा मातृभाषाका रूपमा परिचित छ । शैशववस्थादेखि नै बालबालिकाहरूबाट श्रवण गर्ने, ग्रहण गर्ने र अनुकरण गर्ने अनवरत प्रक्रिया भइरहन्छ । यस प्रक्रियाका कारण बालबालिकाहरू जन्मपूर्वबाट नै भाषा स्वतः प्रयोग गर्न सिक्छन् र जान्दछन् । यस आधारमा मातृभाषाको माध्यमबाट सञ्चार, अनुभव र तादात्म्य व्यवहार निर्माण गर्दछ । यस भाषामा नै बालकले सोच्ने, विचार गर्ने र अनुभव गर्ने सार्थक प्रयास हुने गर्दछ । यो प्रयासको सहयोगी माध्यम मातृभाषा वा पहिलो भाषा हो । पहिलो भाषाको प्रयोग विभिन्न सन्दर्भ  र अवस्थामा स्वतन्त्रतापूर्वक हुने गर्दछ । यस भाषाको प्रयोगमा कुनै कठिनाइ हुँदैन र सहयोगी चाहिँदैन । यस भाषालाई (क्रिष्टोफर्सन पाउल, १९७३) शिशुको भाषा, कोठाको भाषा वा घरको भाषा भनेका छन् । मातृभाषालाई बालबालिकाको सामाजिकीरणको भाषा हो भनेर पनि उल्लेख गरेको पाइएको छ।यस भाषाको व्यवहारमा परिवारमा पहिलो, दोस्रो र तेस्रो पुस्ता सबैमा सहज रूपमा उपयोग हुने गर्दछ । यो दैनिक व्यवहारको भाषा हो । यदि परिवारमा पहिलो भाषा छुट्याउन कठिन भएको अवस्थामा भने स्थानीय समुदायको भाषालाई हेरिन्छ । मातृभाषालाई जन्मसँग जोड्नु हुँदैन । यसलाई प्रारम्भिक सिकाइसँग जोड्नु पर्दछ । मातृभाषा सामाजिक यथार्थ हो । यसले व्यक्तिलाई सामाजिक सन्दर्भसँग जोडेको हुन्छ । व्यक्तिको सामाजिक अस्मिता निर्धारण गर्ने गर्दछ । मातृभाषाकै आधारमा व्यक्तिलाई समाज र संस्कृतिसम्म सम्बन्ध कायम गरेको हुन्छ । बालबालिकाको बौद्धिक विकास यसै मातृभाषाको आधारमा प्रारम्भ हुन्छ । बौद्धिक विकाससँगै व्यक्तिमा वेदना अनुभूति र अभिव्यक्तिको विकास हुन्छ । अनुभूति र अभिव्यक्तिले बालबालिकाको बौद्धिक चेतनाको विकास हुन्छ । यस कार्यका लागि मातृभाषामा विविध सीप सिक्ने अवसर निर्माण हुनु आवश्यक देखिएको छ । भाषामा दक्षता बढाउन सबै सीपको विकास आवश्यक हुन्छ ।

मातृभाषा वा पहिलो भाषाको चर्चाका क्रममा भाषा -१ र भाषा -२ को पनि चर्चा हुन्छ । सामान्यतया भाषा-१ भनेको पहिलो भाषा वा मातृभाषा हो भनेर चिन्न सकिन्छ । भाषा-१ र भाषा-२ का बीचमा भिन्नता के हो ? त्यसको उत्तर पनि कठिन छ । ह्यालिडेले विद्यालय जानुपूर्व प्रयोगमा रहेको भाषालाई भाषा-१ भनेका छन् (तिवारी, सन् १९८५) । एउटै परिवारका समानस्तरका भाषा समान रूपमा उपयोग हुन्छन् भने त्यस्तो अवस्थामा सहमातृभाषा भनेर पनि व्यवहार गरेको पाइएको छ । मातृभाषालाई शिक्षासँग जोड्दा तीनवटा पक्षहरू प्रत्यक्ष रूपमा देखा पर्दछन् । मातृभाषाको प्रयोग अघि बढाउँदा शिक्षा, समाज र व्यक्तिलाई समन्वयात्मक रूपमा हेरिनु पर्दछ ।

४. मातृभाषामा सिकाइको प्रयोजन

४.१ बालबालिकाको संज्ञान क्षमताको विकास गर्न

क)  संरचनावादीहरूको भाषाको अभ्यास, प्रयोग र विश्लेषणमा मौखिक वा कथ्य रूपको उपयोग गरे । भाषाको कथ्य रूप भनेको नै मातृभाषी रूप हो । सस्युरले भाषालाई सङ्केत विज्ञानसँग सम्बन्धित धारणा अघि सारे । ग्रीकबाट आएको क्झष्यल बाट बनेको सङ्केतबाट भाषा सिकाइ हुने विचार व्यक्त गरेका छन् । उनले भाषालाई सङ्केत व्यवस्था मानेको पाइन्छ । यस आधारमा भाषा विज्ञान सङ्केत विज्ञान हो । वाक्क्रिया तथा वाक्परिपथ सङ्केत हो । यहाँ वाक्परिपथ वक्ताको मस्तिष्क हो । यहाँ सर्वप्रथम मस्तिष्कले धारणा निर्माण गर्ने गर्दछ । भाषिक ध्वनि विभिन्न ध्वनि अवयवबाट उच्चारण हुन्छ । एउटै ध्वनि भाषा तथा स्थानअनुसार फरकफरक उच्चारण हुने गर्दछ । स्रोताले भनेको सुनेर ध्वनिका बिम्ब निर्माण गर्दछ । यस अवसरमा पनि मस्तिष्कको अधिक उपयोग हुने गर्दछ । धारणा र ध्वनि बिम्ब मनोवैज्ञानिक प्रक्रिया हुन् । यसैले भाषा संज्ञान हो र यसका अभ्यास मनोवैज्ञानिक प्रक्रियामा आधारित हुन्छन् । यो सन्दर्भ मातृभाषी सन्दर्भसँग जोडिएको छ ।

ख)   वास्तविक चीज वस्तु भाषा होइन । भाषा देखिँदैन तर सार्थक रूप तयार हुन्छ । यसको उपयोगबाट नै जीवमा मानिसको उपस्थिति फरक देखिएको छ । यस आधारमा हेर्दा भाषा वस्तु नभएर रूप हो । विचार र ध्वनि बिम्ब मिलेर रूप बन्छ । वस्तुलाई धारणा र ध्वनि बिम्बसँग मिलेर अर्थ व्यक्त हुन्छ । ध्वनि, बिम्ब र धारणा मनोवैज्ञानिक प्रक्रिया हुन् । शब्दसूची भाषा होइन । ध्वन्यात्मक अभिव्यक्ति भाषा हो । विचार र ध्वनि बिम्बको मेलबाट भाषा बन्छ । मातृभाषा बालकको आधार भाषा हो । यसैले भाषालाई संज्ञानका रूपमा हेरिनु पर्दछ ।

ग)   संरचनावादीहरूको अभ्यासमा प्राग सम्प्रदायले भाषाको प्रयोग फरक सन्दर्भमा हुन्छ भन्ने धारणा व्यक्त गरेका छन् । यस समूहले भाषा प्रायोगलाई मुख्य रूपमा सम्प्रेषण र अभिव्यक्ति दुवै हो भनेर चर्चा गरेका छन् । यति मात्र नभएर भाषाको प्रयोग फरक सन्दर्भमा हुने विचार व्यक्त गरेका छन् । भाषाले कुनै न कुनै रूपमा स्रोता वा अध्येतालाई प्रभाव पार्ने गर्दछ । यो प्रभाव पार्ने सन्दर्भ दृश्यात्मक नभएर भावात्मक हुन्छ । यसैले भाषामा भाव र ज्ञान हुन्छ । यस आधारमा भाषालाई प्रभावक प्रकार्य भन्न सकिन्छ । कुनै सन्दर्भको अध्ययनपछि स्रोता वा अध्येतालाई यसले उकास्छ । पढेपछि विचार वा धारणा निर्माण हुन्छ अनि मात्र कुनै काम गर्ने वा नगर्ने भन्ने निर्णय गरिन्छ । स्रोता वा अध्येतामा निर्माण हुने भाव वा धारणाको स्रोत भने मातृभाषा हो । भाषाको यस्तो कार्यलाई प्रकार्यका रूपमा लिइन्छ । भाषाको प्रकार्य भनेको समुदायमा भाषाको प्रयोग र समसामयिक सञ्चारमा आधारित हुन्छ । यसमा वाक्य रचना र शब्द प्रयाोग अरू भाषाभन्दा फरक हुन्छ । यसको सम्बन्ध उस्तै भाषासँग मिले पनि प्रयोग तथा लय प्रणालीमा भिन्नता रहन्छ । मातृभाषामा यी पृथक् विशेषता रहेको देख्न सकिन्छ ।

घ)   भाषामा सम्प्रेषणात्मक प्रकार्य, अभिव्यक्तिपरक प्रकार्य र ज्ञानात्मक प्रकार्यको समन्वयात्मक रूप रहन्छ । यस्तो प्रयोगलाई समष्टिगत प्रकार्यका रूपमा हेरिन्छ । माथिका कार्य बेग्लाबेग्लै अवसरमा उपयोग हुन्छन् तर यो कार्यले भाषाका सबै प्रयोग परक सन्दर्भलाई जोड्ने गर्दछ।जस्तै धोती, कमिज, टोपी, दौरा र सुरुवाल । यी शब्दले बेग्लाबेग्लै काम गर्दछन् । समष्टिमा नेपाली पोशाकको काम पनि गर्दछ । प्रत्येक भाषाको आफ्नो बेग्लै निजता हुन्छ। भाषाको मानकको विषय र शुद्धताको विषय भाषाको समष्टिगत कार्यमा पर्दछ । कुनै पनि वस्तुको रूप परिवर्तन विज्ञानसम्मत् धारणा हो । भाषामा स्थान, प्रयोग सन्दर्भ, स्रोता वा प्रयोगको अवस्थाका आाधारमा रूप परिवर्तन भएको देखिन्छ । एउटै सन्दर्भका विविध रूप विज्ञानसम्मत धारणा हो । यी सबै विषयमा मातृभाषा आकर्षित हुन्छ ।

४.२ सामाजिक सम्बन्धको विकास गर्न

क)  भाषामा अन्तर्क्रियात्मक कार्य सम्पादन गर्ने विशेषता हुन्छ । भाषा सिकाइ वक्ता र श्रोतामा आधारित हुन्छ । यी दुईका बीचमा प्रत्यक्ष सम्बन्ध हुन्छ । समाजमा प्रयोग हुने भाषाको कोडका कारण भाषा प्रयोगमा फरक अवस्था देखिन्छ । साथी, भाइबहिनी, छिमेकी, बाआमा, सम्मान गर्ने व्यक्ति आदिसँग भाषिक व्यवहार गर्दा सामाजिक शैली भेदका कारण सिकाइमा प्रभाव परेको हुन्छ । यस्तो प्रत्यक्ष सम्बन्ध मातृभाषामा देखिन्छ  ।

ख)   माथि उल्लेख गरिएजस्तै भाषा प्रयोगलाई बोधगम्य बनाउन मानक आवश्यक हुन्छ । मातृभाषामा भने भाषाको मानक रूप भन्दा प्रयोगको रूप उपयोगमा हुन्छ । प्रत्येक भाषामा नियामक सन्दर्भ देखिन्छ । मानकीकरणले भाषा प्रयोगलाई सर्वग्राह्य बनाउन सहयोग गरेको हुन्छ । भाषा प्रयोगलाई सहज बनाउन शब्द निर्माण, शब्दकोश, व्याकरण, लोकवार्ताका विविध अभ्यासहरू र त्यस भाषासम्बन्धी साहित्यको उपयोग आवश्यक हुन्छ । यस आधारमा हेर्दा भाषामा नियामक प्रक्रियाले भूमिका खेलेको हुन्छ ।

ग)   भाषाका विज्ञहरूले भौतिक, मनोवैज्ञानिक र अन्य विविध रूपमा चर्चा गरिएको भेटिन्छ । भौतिक दृष्टिले हेर्दा भाषा ध्वनिहरूको  समूह हो । भाषाविज्ञानमा ध्वनि अवयव र ध्वनि उच्चारण प्रक्रिया र यस प्रक्रियासँग सम्बन्धित उच्चारण संयन्त्रको चर्चा गरिएको हुन्छ।जस्तो स्वरयन्त्र, ध्वनि उच्चारण अवयव आदि । यसै सन्दर्भमा बोलाइको शैली र उच्चारण संलग्न यन्त्र समेतको चर्चा तथा प्रक्रियाको विश्लेषण गरिएको हुन्छ । भाषाको सही ध्वन्यात्मक रूप मातृभाषामा देखिन्छ । संरचनाको अध्ययन तथा विश्लेषणमा यसको अधिक चर्चा हुने गरेको छ । जब भाषाको कथ्य रूपको आधार लिइन्छ, त्यहाँ मातृभाषा आकर्षित भएको हुन्छ ।

घ)   मान्छे एक्लै रहन सक्दैन । उसको उपस्थिति, व्यवहार, सञ्चार, सबै कुरा ऊ बसेको समाजसँग आबद्ध हुन्छ । भाषा मानव व्यवहारको आधार भएको हुनाले मानव तथा भाषाको सम्बन्ध सामाजिक दृष्टिकोणमा आधारित हुन्छ । भाषाको उपयोगलाई समाज चाहिन्छ । मानिसका आपसी व्यवहार सञ्चालन गर्न भाषा चाहिन्छ । मानिस र समाजको सम्बन्धबाट भाषामा कोडको प्रयोग थालिएको छ । यस कोडका आधारमा भाषा प्रयोगका विविध अभ्यास भेटिन्छ । यसको प्रयोग भाषापिच्छे फरकफरक हुन्छ । जस्तो नेपालीको भाषिक कोड अङ्ग्रेजी भाषाको भन्दा फरक देखिन्छ । यस्तो कोडको प्रयोग समाजको बनोट तथा काम र पेशाले निर्धारण गरेको हुन्छ । मातृभाषामा यस्तो प्रयोग अधिक भेटिन्छ । दोस्रो भाषामा यस्तो कोडको प्रयोगमा न्यूनता देखिँदै जाने अभ्यास हुन्छ ।

४.३ सांस्कृतिक भाषाको विशेष प्रयोगको विकास गर्न

मानव समुदायको इतिहास र परम्परा भाषामा आधारित हुन्छ । नयाँ पुस्ता र पुरानो पुस्ताले प्रयोग गर्ने भाषामा यस्तो भिन्नता देखिन्छ । समाजका सांस्कृतिक व्यवहारमा भाषाको विशेष रूपको उपयोग हुने गर्छ । समाजका विशेष सांस्कृतिक अवसरमा प्रयोग हुने भाषा तथा त्यसको व्यवहार जानेको मानिसको खोजी गर्ने गरिन्छ । यस्तो अवसरको भाषा प्रयोगमा विशेष सन्दर्भ तथा अर्थ र सन्दर्भ रहन्छ । नयाँ पुस्ताको भाषा प्रयोगमा यो भाषिक रूपको कमी भइसक्छ तर स्थानीय समुदायमा विशेष अवसरमा भाषाको निश्चित रूपको उपयोग हुन्छ । जस्तै सुदूर पश्चिमको तराईमा राना थारु भाषाको उपयोग हुन्छ । यहाँका थारु समुदायमा तिनै पुस्ताले राना भाषाको उपयोग गरे पनि थारु समुदायको स्थानीय विशेष अवसरमा निश्चित गरिएका मुखिया मध्येका व्यक्तिको खोजी गरी विशेष पर्वमा भाषाको प्रयोग हुने गर्दछ । यस्तै मारेके याख्खा भाषा प्रयोग हुने क्षेत्रमा यस्ता सांस्कृतिक अवसरमा मुन्धुमको उपयोग हुने गर्दछ । यस्तो कार्य गराउने बेग्लै पाका मानिस हुन्छन् । परवानीपुर क्षेत्र भोजपुरी भाषा प्रयोगको क्षेत्र हो तर यहाँ अरू मातृभाषी पृष्ठभूमिका मानिसहरूले आफ्ना विशेष अवसरमा मैथिली,उर्दू र बज्जिका क्षेत्रका मानिसहरूले यस्ता अवसरमा मैथिली तथा भोजपुरी भाषाका विशेष मानिस खोजी गरी यस्ता कार्य गर्ने गर्दछन् । मातृभाषी व्यक्तिहरूमा उही भाषाको ज्ञान जानेको मानिसको खोजी गरी भाषाको विशेष उपयोग हुने गर्दछ ।

४.४ शुद्ध बोलाइको विकास गर्न

मातृभाषा भाषाको प्राथमिक बोली हो । बोलीमा भाषाका विभिन्न शब्दका अर्थ लुकेका हुन्छन् । बोलाइको विकास गर्नु भाषा सिकाइको मुख्य उद्देश्य हो । विशेषतः जुन वक्ताले आफ्नो मातृभाषा बोल्न सक्दैन, उसको समुदायका सबै बालबालिकाहरू मातृभाषी भए पनि भाषाको स्थानिक भेदका कारण भाषिका प्रभावित बोली हुन्छ र शुद्ध मातृभाषा बोल्न सक्दैन, यस्ता स्थानमा शुद्ध बोलाइको विकास गर्न पहिलो भाषा वा मातृभाषाका रूपमा त्यस भाषाको सिकाइ अघि बढाइन्छ । पठनपाठनको अवसरबाट नै बालबालिकाको बोलाइमा शुद्धता देखिन्छ । यसैले प्रारम्भमा सिकाइका सबै क्षेत्रमा मातृभाषा उपयुक्त हुन पुग्दछ ।

४.५ अभिव्यक्ति क्षमताको विकास गराउन

प्रारम्भमा सिकारूहरू लेखाइमा कमजोर हुन सक्छन् । तर सिकाइ तथा अभ्यासको निरन्तर लेख्ने अभ्यासले सिकारूहरूको लिखित अभिव्यक्ति प्रभावकारी बन्दै जान्छ । नेपाली भाषाका सिकारुहरू मात्रा, हलन्त, अनुनासिक, विसर्ग, समास, चिन्ह प्रयोग र पदयोग एवम् पदवियोगसम्बन्धी नेपाली भाषाका विशेषताको जानकारी र प्रयोगसम्बन्धी अभ्यासमा निपुण हुनुपर्दछ।यसैगरी अरू मातृभाषाहरूमा समेत यस्तै प्रकारका विशेषता रहन सक्छन् । यसको अभ्यासका लागि मातृभाषा सिकाइको आवश्यकता पर्दछ । शब्द रचना, वाक्य रचना अनुच्छेद रचना, निबन्ध लेखन र पत्रलेखन आदिमा कुशल बनाउन मातृभाषाका अभ्यासले मद्दत गर्दछ ।

४.६ बोध क्षमताको विकास गर्न

बालबालिकाहरूले अरूले भनेका वा लेखेका कुराहरू सुनेर वा पढेर भाव ग्रहण गर्दछन् । अरूले भनेका कुरा सकेसम्म पूरै बुझ्न सक्ने बनाउनु पनि यसको उद्देश्य हो । साहित्यमा अभिव्यक्त विचार वा भाव पढेर ग्रहण गर्न सक्ने बनाउनु पनि यसको उद्देश्य हो । प्राथमिक स्तरमा कथाहरू आकर्षक हुन्छन् जीवनी सरल हुन्छन् र कविता बढी भावकारी हुन्छन् भने विस्तारै माथिल्लो तहमा आआफ्नो रुचिअनुसार फरकफरक किसिमका साहित्य पढ्ने प्रवृत्तिको विकास हुन्छ । यो अभ्यास भाषाको सिकाइ तथा अधिक प्रयोगबाट मात्रै सम्भव छ । शब्दभण्डारको विकास गर्न पहिलो भाषाका रूपमा बालबालिकाले पहिले जानेको भाषाको उपयोगले मद्दत गरेको हुन्छ । यस प्रकारको अभ्यासले पढाइको गतिमा समेत विकास हुन्छ ।

४.७ सिर्जनात्मक क्षमताको विकास गर्न

मातृभाषाको शिक्षणसिकाइबाट विद्यार्थीको सिर्जनात्मक क्षमताको उजागर हुन पुग्छ । यसले सिकारूको अनन्त क्षमताको प्रस्फुटित गर्न मद्दत गर्दछ । विभिन्न किसिमका सिर्जनात्मक लेखाइले नै मानिसलाई लेखाइमा प्रवीण बनाउन र बढी प्रतिस्पर्धी बनाउन मद्दत गरेको हुन्छ । कथा, कविता, जीवनी, दैनिकी र रूपकजस्ता साहित्यिक रचनाहरू तयार गरी युगीन जनजीवनका जल्दाबल्दा अवस्था आदिको चित्रण गर्न सक्छन् । साहित्यिक रचनाहरू तयार गरी युगीन जनजीवनका जल्लाबल्दा अवस्था आदिको चित्रण गर्न सक्ने व्यक्तित्वको निर्माण गर्न मातृभाषा सिकाइले मद्दत गरेको हुन्छ ।

४.८ समालोचनात्मक क्षमताको विकास गर्न

बालबालिका आफूले उपयोग गरिरहेको भाषाको निरन्तर उपयोग गर्ने र त्यसै भाषामा साहित्यका विभिन्न क्षेत्रमा संलग्न गराउन पनि मातृभाषा सिकाइको प्रयोजन हो । साहित्यप्रति परिचित गराउनु, त्यसको अभ्यास गराउनु, त्यसको विवेचना गर्न प्रोत्साहन गर्नु मातृभाषा सिकाइको उच्चत्तम प्रयोजन हुन सक्छ। आफ्नो भाषाका सामग्री हेर्ने र आफूलाई लागेको विचार व्यक्त गर्नु यसको प्रयोजन हो। यस्तो अभ्यासले बालबालिकामा समालोचनात्मक क्षमताको विकास गर्न सहयोग पुग्दछ।

५. मातृभाषामा शिक्षणसिकाइका उद्देश्यहरू

निम्न उद्देश्यहरू पूरा गर्न पहिलो भाषाका मातृभाषा सिकाइ गरिएको पाइन्छः

क)   लक्षित भाषाका उद्देश्य र विशेषताहरूप्रति सिकारूलाई परिचित गराउनु ।

ख) मातृभाषाकै माध्यमबाट विभिन्न विषयको ज्ञान प्राप्त गर्नसक्ने क्षमताको      अभ्यासमा संलग्न गराउन ।

ग)   मातृभाषाका भाषिक कुशलताहरूको ख्याल गरी आवश्यकताअनुसारको भाषिक अभ्यासमा संलग्न गराउन ।

यो पनि पढ्नुहोस

घ)   मातृभाषामा तयार भएका लिखित साहित्य पढ्न । त्यसको रसास्वादन एवम्   मूल्याङ्कन गर्न ।

ङ)   विश्लेषणात्मक क्षमताको विकास गर्न ।

च)   सिकारूको व्यक्तित्वको विकास गर्न ।

भाषाको सन्तुलित अभ्यास नभएसम्म मातृभाषी वक्ता वा सिकारूहरूले उपयुक्त ढङ्गले सिकाइको उद्देश्य पूरा हुन सक्दैनन् । भाषाको जेजस्तो किसिमको वक्ता भए पनि बढीभन्दा बढी अभ्यास र पुनरावृत्तिको अवसर निर्माण गर्नु आवश्यकता ठानिन्छ । अभ्यासले मानिसलाई दक्ष र सीपमूलक बनाउन मद्दत गर्दछ । मातृभाषाका रूपमा शिक्षणसिकाइ अघि बढाउन माथिका उद्देश्य पूरा गर्ने दृष्टिलाई अघिसारे पनि त्यसका लागि पाठ्यसामग्रीको प्रभाव, उपयुक्त भाषिक वातावरण, स्थानीय सामग्रीको प्रयोग आदिको आवश्यकता पर्दछ । मौखिक परीक्षा, लिखित परीक्षा, श्रुतिबोधजस्ता निरन्तर अभ्यासले नै मातृभाषाका रूपमा पहिलो भाषाको सिकाइलाई स्थायी र प्रभावकारी बनाउन सकिन्छ ।

६. मातृभाषा सिकाइको स्वरूप

बालबालिकका आवश्यकता, रुचि र लक्ष्यलाई सार्थक बनाउन सिकाइमा मातृभाषाको निरन्तर उपयोगको जरुरी छ । शिक्षण सिकाइमा मातृभाषा प्रयोग विविध रूप तथा सन्दर्भ छन्।बालबालिकाको प्रभावकारी सिकाइका लागि विविध आधारमा मातृभाषाको उपयोग गर्ने गरिन्छ।शिक्षणसिकाइमा मातृभाषाको उपयोग निम्न आधारमा गरिएको पाइएको छः

६.१  निर्देशात्मक

निर्देशनात्मकमा भाषाको समसामयिक प्रयोगका आधारमा शुद्धता हेरिन्छ। प्रयोगमा रहेको भाषाको प्रयोगमा स्थायित्वका लागि मानक आवश्यक ठानिन्छ । बहुभाषिकताका कारण मातृभाषामा प्रभाव पर्दछ । यो अभ्यास तोकिएकै मानकका आधारमा भाषा प्रयोग गर्ने हो । यस्तो मानक अन्य भाषाको समकक्षी भएमा त्यो भाषाको उपयोग अधिक हुन्छ र कठिन मानक भएमा अन्य भाषाले अधिक उपयोग हुने अवसर पाउने गर्दछ । यस आधारमा सिकाइका लागि निश्चित आधार तथा मानक तोकिन्छ ।

क)   भाषाको समसामयिक प्रयोजनमा आधारित व्याकरण तयार गरेर सिकाइ अघि बढाउनु पर्दछ । यस्तो व्याकरण तयार गर्दा परम्परित र वर्णनात्मक दुवै हुनसक्छ । यस्ता कृतिका आधारमा भाषा र उसको प्रयोग क्षमता हेर्ने काम हुन्छ । भाषाको प्रयोग र त्यसको अभ्यासमा अभ्यस्त बालबालिका नै सफल बन्न सक्छन् । मातृभाषालाई माध्यमका रूपमा उपयोग गर्दा स्थानीय क्षेत्रमा उपयोगका दृष्टिले हेरिन्छ र सोही आधारमा सिकाइ अघि बढाइन्छ । विभिन्न स्थितिमा भाषाले कसरी काम गर्दछ । भाषाको कुन रूप शुद्ध हो । भाषाको प्रयोजनका आधारमा यसको शुद्धता हेरिन्छ । भाषाको प्रयोग गर्दा मानकसँग सचेत भई सिकाइ अघि बढाउने कार्यलाई यसले आधार बनाएको छ । भाषाको मानक नतोकिए पनि कुनै रूपलाई शुद्धताको आधार बनाएको हुन्छ । यसै आधारमा भाषाको शुद्धताको ख्याल गरिएको हुन्छ । शुद्धताको आधार मान्ने गरेको भाषिका वा भाषाको रूपका आधारमा ख्याल गरी भाषालाई माध्यमका रूपमा अघि बढाउन सकिन्छ । यस सन्दर्भका आधारमा सही र गलतको अवधारणा दिएर सिकाइ अघि बढाउन सकिन्छ ।

ख)   बालबालिकाको आन्तरिक आवश्यकतालाई ख्याल गरी विभिन्न भाषा बाहेकका विषयमा शिक्षण अघि बढाउन सकिन्छ । यस प्रकारका भाषा बाहेकका विषय शिक्षणमा माध्यमका रूपमा मातृभाषालाई उपयोग गर्दा नियन्त्रित र नियोजित तरिका अवलम्बन गर्न सकिन्छ । यसमा अरू कुनै तरिका पनि उपयोगमा ल्याउन सकिन्छ । यस्तो अवधारणाले भाषा प्रयोगको स्थायित्वमा ध्यान दिइएको हुन्छ । यस अभ्यासलाई नियमभित्र बाँधेर समरूपी बनाउने प्रयास हुन्छ । यो अभ्यासलाई अनुमोदक पनि भनिन्छ । मातृभाषाको कुनै रूपिमलाई मानकको आधार र व्याकरणको कुनैलाई तोकेर सिकाइ अघि बढाउने हुनाले यसलाई अनुमोदक भनिएको छ ।

ग)   मातृभाषाको यस्तो अभ्यास गर्न तयार गरिएको सामग्री सचेत सिकारुका लागि तयार गरिएका हुन्छन् । यस्ता सामग्री भाषाको लिखित रूपबाट लिइएका हुन्छन् । यो अभ्यासका केही सीमाहरू रहेका छन् । यस्ता सीमा देहायअनुसार रहेका छन् ः

अ)   मातृभाषा माध्यमका रूपमा उपयोग गर्न तयार गरिएको उल्लिखित सामग्री तथा विधिले भाषाको मौखिक रूपलाई ख्याल गरिएको पाइँदैन । कुनै निश्चित भाषिक रूपलाई मानक मान्ने हुनाले यसले भाषाको स्तरीय रूपलाई मात्र ख्याल गरेको छ ।

आ)  यस्तो अभ्यासले मातृभाषाको साहित्यिक रूपको आधार लिने हुनाले भाषा प्रयोगमा देखिने प्रयुक्तिगत भेदलाई ख्याल गर्न सकेको देखिँदैन । यस्तो अभ्यासले सचेत सिकारु मात्र ख्याल गर्ने हुनाले यसले सबैलाई ध्यान दिन सकेको छैन ।

इ)   यस्तो सिकाइ संज्ञानमा आधारित हुन्छ । भाषाको यस्तो अभ्यासले भाषिक शक्तिको अवहेलना भएको छ । भाषाको मानकलाई ख्याल गरेर सिकाउने र समरूप बनाउने अभ्यास तथा ध्येयले स्थान, समय र प्रयुक्तिगत भेद लुप्त हुने डर हुन्छ ।

ई)   यस अभ्यासले बालबालिकाको बहुआयामिक पक्षलाई ख्याल नगरी केवल मानकका आधारमा शुद्धअशुद्ध मात्र ख्याल गरेर भाषासिकाइ अघि बढाइन्छ । यसले समग्र सिकाइ अधुरो हुने अवस्था रहन्छ ।

६.२ विवरणात्मक

मातृभाषालाई माध्यमका रूपमा उपयोग गर्दा प्रयोगमा रहेको भाषाको रूपका आधारित भई सिकाइ अघि बढाउन सकिन्छ । यो अभ्यासमा प्रयोगमा आधारित भाषाको रूपका आधारमा सिकाइ अघि बढाउने अभिप्राय रहन्छ । भाषाले विभिन्न परिस्थितिमा कसरी काम गरेको हुन्छ ?

६.३ सिर्जनात्मक

बालकको व्यक्तित्व विकास सामाजिक र भावनात्मक आधारमा हुने गर्दछ । बालकको वास्तविक अनुभवलाई भाषाको माध्यमबाट प्रकटित गर्नु यसको मुख्य आधार हो । मातृभाषा भाषाको स्वयम्सिद्ध रूप हो । प्रत्येक भाषाको आफ्नो संरचनात्मक स्वरूप हुन्छ । भाषावैज्ञानिक दृष्टिले हेर्दा कुनै सम्पन्न विकसित भनिएका भाषाभन्दा समुदायमा उपयोग हुनै कुनै भाषालाई भिन्न रूपमा हेरिनु हुन्न । भाषा सम्पन्न वा विकसित भनेको त्यस भाषाको प्रयोग निरन्तरतामा आधारित अवस्था हो । नेपालमा सन्थाल समुदायले बोल्ने भाषा अल्पसङ्ख्यक समूहमा बोलिने भाषाका रूपमा पुगिसकेको छ तर अन्यत्र यो भाषा सरकारी कामकाजको भाषाका रूपमा समेत उपयोग हुँदै आएको उदाहरण देखिन्छ । प्रयोग निरन्तरताले भाषालाई विकसित हुने अवसर प्राप्त हुन्छ । यस आधारमा पनि शिक्षामा मातृभाषालाई माध्यमका रूपमा उपयोग गर्ने रणनीतिले भाषाको विकास तथा विस्तारमा महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको छ । कुनै भाषा वा विषय शिक्षणको आधार मातृभाषा बन्न सक्छ । यसलाई भाषेत्तर विषयको सिकाइको लागि प्रकृति र प्रकाशक दुवैको काम गर्दछ । भाषालाई शक्तिका रूपमा हेरिन्छ । व्यक्तिको क्रियात्मक दक्षताका लागि भाषाले शक्तिका रूपमा काम गर्दछ । यी आधारमा भाषा सांस्कृतिक दृष्टिले पृथकता र नयाँ विशेषता भएको मानव उपयोगको विचार विनिमयको साधन हो । यी दुवै शक्तिका आधार हुन् । भाषा प्रयोगलाई परिस्थितिसँग जोडेर हेरिन्छ । भाषा प्रयोगकर्ताको सामाजिक वस्तुनिष्ठ परिस्थितिले भाषाको प्रयोगमा परिवर्तन, नियन्त्रण र क्रियात्मक सम्बन्ध देखिन्छ । बालकलाई सिकाइमा प्रभावित गर्ने काम नै भाषाले गर्ने गर्दछ । यी आधारमा मातृभाषा सिकाइ विविध रूपमा हुँदै आएको पाइएको छ ।

७. सिकाइमा मातृभाषाको उपयोगको आधार

सिकाइमा मातृभाषा सिकाइका निश्चित आधारको चर्चा गर्न सकिन्छ । बालबालिकाले बाल्यावस्थामा समुदाय तथा परिवारबाट सिक्ने भाषा मातृभाषा हो । मातृभाषा सिकाइका देहाय अनुसारका आधार हुनसक्ने देखिएको छ ।

क) संज्ञान

बालबालिकाको शारीरिक विकाससँगसँगै विकास संज्ञानात्मक विकास पनि हुने गर्दछ । बाल बालिकाको शारीरिक विकाससँगै संज्ञानात्मक विकासमा भाषाको उपयोगको महत्व अधिक हुने गर्दछ । उसका आरम्भिक सिकाइको सोच, धारणा, आधारभूमि र चिन्तन मातृभाषामा आधारित हुन्छन् । प्रारम्भमा बालबालिकामा पहिलो पटक हुने सिकाइको आधार भाषा मातृभाषा हो । प्रारम्भमा संज्ञान र भाषाको उपयोग सँगसँगै भए पनि पछि बौद्धिक विकासमा भाषाको अधिक उपयोग हुने गरेको हुन्छ । यस आधारमा हेर्दा भाषा बालबालिकाको बौद्धिक विकासको पहिलो आधार मातृभाषा हो । मातृभाषा संज्ञान, बौद्धिक विकास र जीवनको सिर्जनशीलताको आधार मातृभाषा हो ।

ख) विचार विनिमयको साधन

मातृभाषा विचार विनिमयको प्रमुख आधार हो । बालबालिकाले प्रारम्भमा सिक्ने, सोच्ने र चिन्तन गर्ने आधार भनेको मातृभाषा नै हो । यसै भाषाका आधारमा उसको प्रत्येक क्रियाकलाप सञ्चालन गरिन्छन् । बालबालिकाको विचार र भावनाको उपयुक्त अभिव्यक्ति मातृभाषाकै उपयोगबाट हुने गर्दछ । सिकाइमा अरू भाषाको उपयोग भए पनि सिकारुले चिन्तन गर्ने पहिलो भाषा मातृभाषा हो । भाव तथा चिन्तनको आधारमा बालबालिकाको मनमस्तिष्कमा कोरिने चित्र मातृभाषाकै माध्यमबाट हुने गर्दछ । विनिमयमा उपयोग हुने अरू भाषा भए पनि आरम्भ र कार्यमा मनभित्र मातृभाषा र अनुवादबाट अर्को भाषाको उपयोग हुने गर्दछ । यी आधारमा हेर्दा मातृभाषा विनिमयको आधार बनेको छ ।

ग) शिक्षणको माध्यम

शिक्षाको उत्कृष्ठ माध्यम मातृभाषा हो भन्ने विषयमा सबैजसो भाषाका विद्वान् र भाषा मनोवैज्ञानिक चिन्तकहरूको मत रहेको छ । मातृभाषामा हुने सरलता, बोधगम्यता, स्वभाविकता र सर्वसुलभ उपलब्ध हुने हुनाले शिक्षाको उपयुक्त माध्यम मातृभाषा हो । अन्य भाषामा यी गुण विद्यमान रहँदैनन् । मातृभाषामा सिकाइ अघि बढाउन जानेको सन्दर्भबाट नजानेको सन्दर्भतिरको सिद्धान्तका दृष्टिबाट सहज हुन पुग्दछ । बालबालिकाको सिकाइको आधार र विस्तारै अन्तर्भाषिक अवस्थातिर लैजान र अर्को भाषामा स्थानान्तरण गर्न समेत पुलको काम गरेको हुन्छ । राना थारु भाषा, भोजपुरी भाषा र बज्जिका भाषाको अध्ययनका सन्दर्भमा कक्षाको अवलोकन गर्दा नेपाली भाषाको सिकाइमा समेत सिकाइको आधार मातृभाषालाई बनाई कक्षामा बुझाउने र सिकाइलाई प्रभावकारी बनाउन उपयोग गर्ने गरेको पाइएको छ । नेपाली वा अङ्ग्रेजी भाषाको कक्षामा समेत अनुवाद पद्धतिमा आधारित भई सिकाइ अघि बढाएको भेटिएको छ (रिमाल २०७५,भोजपुरी भाषा र राना भाषाको प्रयोग सम्भाव्यता अध्ययन प्रतिवेदन)

ग)  व्यक्तित्व विकासको आधारशिला 

बालबालिकाको व्यक्तित्व विकासको आधार पनि मातृभाषा नै हो । बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सांस्कृतिक पक्षको विकासमा अधिक योगदान मातृभाषाले गरेको हुन्छ । बालक प्रारम्भको सिकाइको आधार अग्रजहरूबाट कथा सिकाइ हो । यस्तो सिकाइमा सचेत व्यक्तिभन्दा पनि घरका आमा तथा हजुरआमाको योगदान अधिक हुन्छ। यो समयको आधार भाषा मातृभाषा हो।मानसिक विकासमा विचार पक्षलाई मजबुत बनाउन मातृभाषाको उपयोग प्रभावकारी बन्दै आएको छ । आरम्भमा बालबालिकाहरू सामाजिक सम्पर्कमा जाँदा उपयोग हुने भाषा मातृभाषा नै हो। यी विविध आधारमा मातृभाषा सिकाइको आधारमा नै बालबालिकाको व्यक्तित्व विकासमा सहयोग पुगेको हुन्छ ।

८. सिकाइमा मातृभाषाको उपयोग माध्यम र साध्यका रूपमा 

भाषाबाहेक अन्य विषयहरू शिक्षणसिकाइका लागि माध्यम र भाषाका लागि साध्य तथा साधन दुवैका रूपमा मातृभाषाको उपयोग हुने गर्दछ । विषयको शिक्षण गर्ने माध्यम भाषा हो । जुनसुकै विषयको सिकाइ अघि बढाउँदा भाषाले साध्य र साधनका रूपमा काम गरेको हुन्छ । अरू विषयको सिकाइका लागि भाषा साधनका रूपमा उपयोग भइरहेको हुन्छ भने भाषा सिकाइमा साध्यको रूपमा उपयोग हुने गर्दछ । सिकाउने शैली भने फरक हुन सक्छ तर माध्यम भने भाषा नै हुन्छ । विषय र प्रयोजनअनुसार भाषाका भेद देख्न सकिन्छ । सिकारुको सिकाइको सफलता भाषामा आधारित हुन्छ । नेपालीमा उखान नै छ बोल्नेको पिठो बिक्छ तर नबोल्नेको चामल पनि बिक्दैन । यस आधारमा पनि भाषाको पारख सिकारुको प्रयोगमा आधारित हुन्छ । बालकहरूले अभ्यस्त भाषामा सिक्ने अवसर पाएको अवस्थामा कल्पना, योजना र सिर्जनामा भाषाको उपयोग हुन्छ । यसप्रकार मातृभाषा बालकको जीवनसँग जोडिएको हुन्छ ।

बालकको सामाजिक र सांस्कृतिक धरातल उसका बाबुआमाले उपयोग गरिरहेको वातावरणमा आधारित हुन्छ । बालकसँग भाषा प्रयोगको कोड सीमित वा विस्तृत दुवै वा कुनै एक हुन सक्छ । भाषाको प्रयोगका आधारमा हेर्दा सीमित कोड प्रयोग गर्ने समुदायका बालबालिका अवसरका कारण सिकाइमा कमजोर बनेको देखिन्छ । सरल भाषाको प्रयोग गर्ने बालकसँग शब्दभण्डार बलियो हुँदैन । दोस्रो भाषा र मातृभाषामा यही अवस्था देखिन्छ । साक्षरता शिक्षा आर्जनको पहिलो आधार पनि मातृभाषा नै हो । बालकको प्रारम्भिक लेखाइ र पढाइको प्रमुख आधार मातृभाषा नै हो । मातृभाषामा सिकाइ र सीप दुवै रूपमा अघि बढ्न सक्छन् । समाजको सांस्कृतिक पक्षको जानकारीको मुख्य आधार भनेको उसको पहिलो भाषा हो । भाषामा समाजका सांस्कृतिक पक्षसँग सम्बन्धित गतिविधि जोडिएका हुन्छन् । समाजका व्यवहार कसरी सञ्चालन हुन्छन् ? यसको आधार, तरिका तथा विधि भाषाकै माध्यमबाट खोजी गरिन्छ र सञ्चालन गरिन्छ । समाजका समसामयिक व्यवहार भाषासँग जोडिएको हुन्छ ।

९. निष्कर्ष

सिकाइको आधार उसको पहिलो भाषा हो । भाषा प्रयोगको स्थानका आधारमा कस्तो भाषाको प्रयोग ? गर्ने भन्ने आधार तय हुन्छ । सबै स्थानमा एकै प्रकारको भाषाको उपयोग हुँदैन । कहिले उही भाषा औपचारिक, कहिले अनौपचारिक रूपमा प्रयोग भई रहेको हुन्छ भने कहिले दुवै रूपमा प्रयोग हुने गर्दछ । यस कार्यको निर्धारक भनेको भाषा प्रयोगको समय हो । घरायसी परिवेशमा प्रयोग हुने भाषा, विद्यालय, समुदाय, शिक्षण सिकाइ वा अनौपचारिक कुराकानीमा भाषाको प्रयोग फरकफरक हुन्छ । कुनै अवस्थामा उच्च आदरार्थी, कहिले सामान्य कोड र कहिले न्यून कोडको उपयोग हुन्छ । उही व्यक्तिसँग प्रयोग गर्ने भाषा समयअनुसार फरकफरक हुन सक्छ। औपचारिक परिवेशमा उच्च कोडको उपयोग हुन्छ भने सामान्य व्यवहारमा न्यून कोडको उपयोग हुने गर्दछ । यी आधारमा हेर्दा भाषा प्रयोगको समयका आधारमा फरकफरक रूपको उपयोग हुने गर्दछ।भाषामा देखिने यस्तो विविध कोडको जानकारी मातृभाषामा अधिक हुने गर्दछ। भाषा प्रयोगमा अनुभवले ठूलो भूमिका खेलेको हुन्छ । भाषा प्रयोगको अनुभवका आधारमा अवस्था विशेषमा मिल्ने भाषाको प्रयोग हुने गर्दछ । यसको अर्को आधार भाषा प्रयोग गर्ने व्यक्तिको वैयक्तिक विविधता हो ।

(लेखक शिक्षा मन्त्रालयका पूर्वसहसचिव एवम् मातृभाषा शिक्षासम्बन्धी अध्येता हुनुहुन्छ ।)

सन्दर्भसामग्रीहरू

अधिकारी, हेमाङ्गराज (वि.सं. २०५८) प्राथमिक तहमा नेपाली भाषा शिक्षण समस्या र समाधानको दिशा, भक्तपुरः दूर शिक्षा केन्द्र ।

अधिकारी, हेमाङ्गराज र राई, विष्णुसिंह (वि.सं.२०६६) दोस्रो भाषाका रूपमा नेपाली शिक्षणका लागि शिक्षक निर्देशन, भक्तपुरः शिक्षा विभाग ।

अधिकारी, रेसराज र खत्री, बालकृष्ण, (वि.सं. २०५९) समाजशास्त्र र मानवशास्त्रका सैद्धान्तिक दृष्टिकोणहरू, काठमाडौः विद्यार्थी पुस्तक भण्डार ।

आचार्य, सुशन र अन्य (सन् २००९),नेपालमा बहुभाषिक शिक्षाका नीति तथा रणनीतिहरूको पुनरावलोकन, भक्तपुरः शिक्षा विभाग ।

आचार्य, सुसन, योञ्जन, अमृत र रिमाल, डिल्लीराम, (२०७४), अन्तर्राष्ट्रिय मातृभाषा दिवसको कार्यक्रममा प्रस्तुत कार्यपत्रका टिप्पणी कर्ताहरु, काठमाडौं ; लेखक ।

चोपडा, रविकान्त र व्यास, आनन्द प्रकाश (सन् १९९८), मातृभाषा हिन्दी शिक्षण, नयाँ दिल्ली; राष्ट्रिय शैक्षिक अनुसन्धान और प्रशिक्षण परिषद् ।

तिवारी, भोलानाथ, (सन् १९८५), आधुनिक भाषा विज्ञान, नयाँ दिल्ली; लिपि प्रकाशन ।

न्यौपाने, महेश्वर र घिमिरे, दिनेश, (२०७०), भाषाविज्ञानका प्रमुख सिद्धान्त,  कीर्तिपुर, काठमाडौँ ;  सनलाइट पब्लिकेशन ।

रिमाल, डिल्लीराम (२०७४), सामुदायिक विद्यालयका प्राथमिक तहमा भाषिक विविधताको उपयोग सम्बन्धी अभ्यासहरूको विश्लेषण, काठमाडौँ; विष्णु रिमाल ।

रिमाल, डिल्लीराम (२०५७), नेपाली शिक्षण (तेस्रो संस्करण), काठमाडौँ; विद्यार्थी पुस्तक भण्डार ।

शर्मा, केदार प्रसाद र पौडेल, माधव प्रसाद, (२०६८), नेपाली भाषा शिक्षणका सन्दर्भहरू, काठमाडौँ; विद्यार्थी पुस्तक भण्डार ।

श्रीवास्तव, रवीन्द्रनाथ, तिवारी, भोलानाथ र गोस्वामी, कृष्णकुमार, (सन् १९८०), अनुप्रयुक्त भाषा विज्ञान,  दिल्ली; आलेख प्रकाशन ।

श्रीवास्तव, रवीन्द्रनाथ (सन् १९९२), भाषा शिक्षण, नयाँ दिल्ली; वाणी प्रकाशन ।

ह्यालिडे, (सन् १९७३), एक्सल्पोरेशन इन द फङ्गसन इन द फ्युचर अफ ल्याङ्ग्वेज, लण्डन, तिवारी, भोलानाथ, (सन् १९८५), आधुनिक भाषाविज्ञान, नयाँ दिल्ली; लिपि प्रकाशन ।

You might also like