प्रतियोगितात्मक परीक्षामा उत्कृष्ट लेखन कसरी ?

 

 प्रतियोगितात्मक परीक्षामा उत्कृष्ट लेखन कसरी ?

डा.लोकबहादुर लोप्चन

१. परिचय

लेखन मानवीय भावना वा विचार अभिव्यक्तिको माध्यम हो। लेखनशैली चाहिँ लेख्ने तौरतरिका, ढंग, ढाँचा वा बान्की हो । सशक्त र सफल लेखनको लागि कलात्मक र दमदार लेखनको आवश्यकता पर्दछ। निरन्तरको लेखन अभ्यास र साधनाले लेखनमा परिपक्वता र निखारता ल्याउँछ।जसले लेखनलाई मौलिक तथा सिर्जनात्मक बनाउनुका साथै जीवन्त बनाउँछ।जीवन्त र सशक्त लेखनले मनलाई छुने मात्र  हैन पगाल्छ पनि अनि सशक्त लेखनले मष्तिस्कलाई गाल्ने मात्र हैन प्रतिस्पर्धीलाई ढाल्छ पनि।तसर्थ उत्कृष्ट लेखन प्रतिस्पर्धात्मक लिखित परीक्षारूपी लडाइमा विजय प्राप्त गरी सफल हुने उपाय हो।

लोक सेवा आयोगमा होस् वा शिक्षक सेवा आयोगमा होस् यसमा सफल भई जागिर प्राप्त गर्नको लागि प्रतिस्पर्धाको संसारमा खरो उत्रन सक्नुपर्छ। लरतरो लेखाइ,गफ हँकाइ,असचेत लेखाइ, कापीको पाना भराई, समयको असन्तुलित विभाजन, अधैर्यताले सफलता हात लाग्दैन । त्यसैले प्रभावशाली, सशक्त र जीवन्त लेखनको लागि तथ्य, प्रस्तुतीकरण र समयको सन्तुलनमा असाध्यै सचेत हुनुपर्छ अन्यथा प्रतिस्पर्धारूपी युद्ध हारिन्छ ।

भनिन्छ, सूचना नै शक्ति हो (Information is Power)। जोसँग सूचना छ र जसले त्यसको  उच्चतम उपयोग गर्छ त्यो नै सफल हुन्छ। त्यसकारण हरेक प्रतिस्पर्धीले विषयवस्तुको विस्तृत, गहन अध्ययन गर्नुपर्दछ जुन सही, सत्य, आधिकारिक भने हुनै पर्दछ । विषयवस्तुको जतिसुकै राम्रो ज्ञान भए पनि यदि प्रस्तुतीकरण कलात्मक, सटिक, विश्लेषणात्मक, मौलिक र सन्तुलित नभए सफलता हात लाग्दैन । त्यसैले हरेक प्रतिस्पर्धीले लेखनलाई परिष्कृत, स्तरीय र प्रभावशाली बनाउनै पर्छ ।तर प्रश्नले मागे जति मात्र सटिक रूपमा प्रस्तुत गर्ने कुरामा विशेष ख्याल राख्नुपर्दछ।अर्थात् सफलताको लागि प्रश्नले जे  जति मागेको हो त्यत्ति मात्र लेख्नुपर्छ।उक्त लेखाइ तथ्यपूर्ण(factful )हुनुपर्छ तर भाव (sense) लेख्नबाट बच्नुपर्छ, भन्न खोजेको के हो भने नम्बर प्राप्त नहुने कुरा लेख्नुहुन्न । अर्थात् भावनामा बगेर लेख्ने होइन तथ्य(सत्य) मा टेकेर सही कुरालाई सटिक रूपमा पस्कने हो । भनाइको आशय प्रश्नले जे मागेको र जति मागेको हो त्यत्ति मात्र लेख्ने हो, आफूले जानेको सबै लेख्ने होइन।

अतः ३ घण्टाको लेखाइ सशक्त र सटिक भई प्रतिस्पर्धाको दुनियाँमा खरो उत्रन सकेमा शिक्षक पदमा सफलता सुनिश्चित छ।त्यसको लागि तपाईको इच्छाशक्ति वा आत्मविश्वास अत्यन्तै दर्बिलो हुनुपर्छ।किनकि संसारमा जति जित हासिल गरेका छन्, आत्मविश्वासले गरेका छन् अनि जित हार व्यहोरेका छन्, कमजोर मनोबल जिम्मेवार रहेका छन्।तसर्थ सफलता सुनिश्चित छ, खालि खाँचो छ उच्च इच्छाशक्ति र आत्मविश्वासको।त्यसैले त भनिन्छ, असम्भव भन्ने कुरा मूर्खको बगलीमा मात्र हुन्छ ।

२. लेखनको महत्व

उत्कृष्ट लेखन यस्तै हुन्छ र हुनुपर्छ भन्ने कुनै नापो र कसी त छैन तर जुन लेखनले अरूलाई छुन्छ वा प्रभावित तुल्याउँछ त्यसैलाई उत्तम मान्न सकिन्छ । साँचो अर्थमा त्यस्तो लेखन उत्कृष्ट लेखन हो जसले मानव मनमस्तिष्कलाई झकझक्याउँछ र तरङ्ग पैदा गर्न सक्छ अझ प्रतिस्पर्धात्मक लेखन त्यस्तो चमत्कारिक हुन्छ जसले परीक्षक वा जाँचकीलाई प्रभावित पारी राम्रो अंक झारिन्छ र आफ्नो जितको इतिहास दर्ज गरिन्छ । त्यसैले उत्कृष्ट लेखन जागिर प्राप्त गर्ने माध्यम मात्र होइन, मानव जीवनमा सफलता, महानता,अमरता ल्याउने सशक्त औजार मान्न सकिन्छ, देवकोटा,माधव घिमिरे, म्याक्सिम गोर्की, शेक्सपियर, कार्लमाक्र्स यसका दृष्टान्त होइनन् र ?  लेखनमा कति तागत हुन्छ भन्ने कुरा शारीरिक तागत गुमाउन विवश तर मानसिक रूपमा सबल पारिजात र झमकलाई हेरे हुन्छ, अझ दुई औेंलाको बलले ब्रम्हाण्डको अन्वेषण गरिरहेका स्टेफेन हकिन्स जो एक्काइसौं शताब्दीका आइन्सटाइन मानिन्छन् उनलाई पढ्दा सबै  अंग सही  सलाम  भएर पनि क्यै लेख्न नसक्ने र क्यै गर्न नसक्नेहरूका लागि कटाक्ष गरिरहेको भान हुन्छ। प्रतिस्पर्धात्मक लेखन फुर्सदको लेखाइ नभएर चुनौतीपूर्ण लेखाइ हो।निर्धारित समयमा सोधिएका सम्पूर्ण प्रश्नहरूको सटिक, सार्थक र उत्कृष्ट उत्तर लेखन गर्न प्रथमतः विषयको गहिराइ छिचोल्नुपर्छ भनूँ समुन्द्रको गहिराई छिचोल्न सके मात्र पिँधको मोती टिप्न सकिन्छ।यसो भनौं दही मथेर नौली निकाल्न सकेजस्तै विषयवस्तुमा स्पष्ट हुन सक्नुपर्छ।तर दूधले नुहाएर नौली देख्न नसक्ने गोलमटोलपूर्ण अध्ययन सफलताको लागि पर्याप्त हुँदैन किनकि प्रतिस्पर्धात्मक परीक्षामा आफूले कति पढें, जानें र लेखें भन्नुभन्दा अरूले के गरे भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

तसर्थ भारतीय पूर्व राष्ट्रपति अब्दुल कलाम आजादले भनेका छन् “सानोतिनो लक्ष्य राख्नु नै अपराध हो ।” लक्ष्य नै सानो राखेपछि उपलब्धि ठूलो हुने कुरै भएन । तर महान लक्ष्य राख्नेहरू केही समय असफल होलान् तर सफल भएको दिन महान  भई छाड्छन् नेल्सन मन्डेलाहरू यसका जीवित साक्षी होइनन् र ? अर्कोतिर महानताको सपना नदेख्नेहरू संघर्ष पनि गर्दैनन्, सफल या विफल क्यै हुँदैनन् । त्यसैले डा. योगी विकासानन्द भन्छन् — धेरै मानिसहरू झारपातसरि जिउँछन् र मर्छन् । अतः सपना र संघर्षलाई सफलताको मूलमन्त्र  मान्न सकिन्छ ।

३. उत्कृष्ट लेखन कसरी ?

प्रतिस्पर्धात्मक लेखनलाई ३ पक्षमा राखेर हेर्नु उपयुक्त हुन्छ:

क) तथ्य (Facts)

यसमा विषयवस्तुको सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई लिन सकिन्छ । विषयवस्तुको गहिरो, विस्तृत, विश्लेषणात्मक, स्पष्ट(ऋभिबच) अध्ययनले सूचना वा तथ्यमा सम्पन्न हुन्छ । यसलाई परीक्षामा प्रस्तुत गर्ने गुदी वा कच्चा पदार्थ मानिन्छ । वास्तवमा परीक्षामा प्रश्नले सूचना वा तथ्यको माग गरेको हुन्छ जुन व्यावहारिक पनि हुन्छ । विषयवस्तुको सैद्धान्तिक ज्ञान मात्र फितलो हुने भएकाले व्यावहारिक ज्ञानको पनि जरूरत पर्दछ फेरि विषयवस्तुसम्बन्धी नवीनतम ज्ञान, सीप र प्रयोगसम्बन्धी सूचनाको अभावमा अध्ययन तथा लेखन अधुरो र अपुरो हुन जान्छ । तसर्थ प्रतिस्पर्धीले समय, साधन र क्षमताले भ्याएसम्म सम्बन्धित विषयको आधिकारिक पुस्तक, सहायक सामग्री, सन्दर्भसामग्री, पत्रपत्रिका, सम्बन्धित लेखरचना, अध्ययन अनुसन्धानका प्रतिवेदनहरू खोजीखोजी पढ्नुपर्दछ, समसामयिक सवाल सन्दर्भको जानकारीको लागि रेडियो समाचारदेखि इन्टरनेटसम्म पहुँच पुर्‍याउन सके सुनमा सुगन्ध नै हुन्छ।एउटा गेसपेपर पढेर तहगत परीक्षा उत्तीर्ण गरेजस्तो एउटा गाइड पढेर प्रतिस्पर्धामा सफल हुन सकिन्न । यसको लागि भेटेसम्मको सामग्री संकलन गर्ने, विश्लेषणात्मक अध्यन गर्ने, निष्कर्ष निकाल्ने, संभव भए छलफल गर्ने र सारांश नोट तयार पार्न सक्दा राम्रो हुन्छ । हुनत यसरी उसरी पढ्नुपर्छ भन्ने कुरा गफ गराइजस्तो पनि हुन्छ किनकि प्रत्येक व्यक्तिको अध्ययन शैली फरकफरक हुन्छ। तथापि सत्य के चाहिँ हो भने जसरी पढे पनि सफल भने हुुनै पर्‍यो । सफल  हुने पढाइ र लेखाइ नै उत्तम तरिका हो भन्नेमा कसैको विमति नरहला। त्यसको लागि सामान्य अध्ययन र लेखन पर्याप्त नहुने प्रष्ट छ । तसर्थ सफलताको दृढ आत्मविश्वासले कडा मेहनत गराउँछ जसले सफल होइन्छ । अन्यथा असफल होइन्छ वा सडकमै रहिन्छ । अतः आत्मविश्वास र लगनशीलताले सफलता सुनिश्चित गर्दछ ।

ध्ययनमा ध्यान दिनुपर्ने कुराहरू

१)   पाठ्यक्रममा निर्धारित विषयवस्तुको विस्तृत,गहन र विश्लेषणात्मक अध्ययन  गर्नुपर्छ,

२)   विषयवस्तुको सैद्धान्तिक तथा व्यावहारिक ज्ञानको साथै नवीनताको खोज गर्नुपर्छ, जस्तो बालमैत्री शिक्षणको अवधारणा, समाहित शिक्षा आदि,

३)   विषयवस्तुकेन्द्रित अध्ययन हुनुपर्छ, विषयगत ज्ञान तथा सीपको लागि विषयगत शिक्षण विधिका पुस्तक, तालिम प्याकेज, शिक्षक निर्देशिका, शिक्षणसिकाइसम्बन्धी लेखरचना, विषय, विधा, क्षेत्रगत शिक्षणका नवीनतम विधि र प्रविधिको अध्ययन,    विषयगत पाठ्यक्रम, पाठ्यांश, विषयसूची, पाठ्यभार, मूल्यांकन प्रक्रिया, पाठ्यपुस्तकको पाठगत  अध्ययनका साथै सहयोग र सन्दर्भसामग्रीको अध्ययन गर्नुपर्छ ।

४) आधिकारिक पाठ्यसामग्रीको अध्ययन गर्नुपर्छ जस्तो शिक्षा ऐन, नियमावली, विषयगत पाठ्यक्रम, शिक्षण विधि, विशिष्टीकरण तालिका आदि,

५)   अध्ययन वस्तुगत र तथ्यपूर्ण हुनुपर्छ, तथ्य वा तथ्यांकले भनाइलाई पुष्टि गर्नुपर्ने,  जस्तो नेपालको साक्षरता ६५.९% (जनगणनाः २०६८),

६)   आवश्यक सामग्रीको छनोट, संकलन, अध्ययन, मुख्य बुँदा टिपोट, मनन र  लेखन  अभ्यासले अध्ययन स्थायी र  प्र्रभावकारी बनाउँछ,

७)   नोट तयार पार्न सके राम्रो हुन्छ,

८)   कुनै सामग्रीलाई  धेरैभन्दा धेरै पढेर, टिपोट गरेर, मनन गरेर सम्झन सकिन्छ,

९)   परीक्षाको १०-१५ दिन अघिदेखि विषयवस्तुकेन्द्रित(Focused) अध्ययन गर्नुपर्छ,

१०) स्मरण गर्नुपर्ने बुँदालाई बढी अभ्यास गर्नुपर्छ, स्मरणको लागि संकेत बनाई   प्रयोग गर्न सकिन्छ,

११) बुझेर पढ्ने बानीको विकास गर्नु पर्छ,

१३) लेखेर पढ्ने गरेमा अझ सिकाइ स्थायी हुनाका साथै लेखनमा सुधार एकसाथ हुन्छ,

१४) विषयवस्तुको सांगोपांगो वा व्यापक (द्यचयमभच क्तगमथ) अध्ययन गर्नुपर्दछ,  नोट बनाउने, सम्झने, विश्लेषण गर्ने, कण्ठ गर्ने आदि गर्नुपर्दछ,

१५) सूत्रात्मक अध्ययन वा महत्वपूर्ण घटनाको टिपोट सफलता सहज बनाउँछ,

१६) अध्ययनको सार रूप (Compact Form) तयार गर्न सके अचूक हतियार बन्न   सक्छ,

१७) सूचनाको संकलन व्यवस्थित र एकीकृत रूपमा गर्नुपर्छ,

१८) धेरैभन्दा धेरै सामग्री धेरै पटक अध्ययन गर्नु नै अध्ययनको उत्तम विधि हुन  सक्छ ।

ख) लेखन वा प्रस्तुतीकरण (Presentation)

विषयवस्तुको जतिसुकै राम्रो, व्यापक र गहन ज्ञान भए पनि प्रस्तुतीकरण वा लेखन अरूको भन्दा पृथक, आकर्षक र सटिक नभए सफलता हात लाग्दैन । सयौं कपी परीक्षण गर्ने जाँचकीलाई सफा, स्पष्ट अक्षरमा सरल, संक्षिप्त तर सटिक र कलात्मक उत्तरले सहजै प्रभाव पार्न सकिन्छ। तथ्यांक, ग्राफ, चार्ट, तालिका, उदाहरणले उत्तरलाई तथ्यपूर्ण, मौलिक, आकर्षक बनाउन मद्दत गर्छ। उत्तर लेखन  स्तरीय, प्राज्ञिक .बनाउन पुराना तथा नमूना प्रश्नहरू वा आफैंले प्रश्न बनाई निर्धारित समयमा लेख्ने अभ्यास गरेमा फलदायी हुन्छ। प्रतिस्पर्धात्मक परीक्षामा सफल हुनको लागि प्राविधिक पक्षमा उत्तिकै ध्यान दिनुपर्छ।यसमा समयको उचित विभाजन, चित्रको प्रयोग, उदाहरण, बँुदागत लेखन आदि पर्दछन् । लामो पृष्ठभमि नबाँधी छोटो परिचय दुई तीन हरफ लेखेपछि प्रश्नमा सोझै प्रवेश गर्नु उपयुक्त मानिन्छ । प्रश्नले मागेको कुरालाई उपशीर्षकमा विभाजन गरी बुँदागत रूपमा गरिने प्रस्तुति प्रभावकारी हुन्छ। अन्तमा छोटो तर सारपूर्ण निष्कर्ष लेख्नु पर्दछ।यसमा मुख्य कुरालाई अण्डर लाइन गर्ने, जार्गन प्रयोग गर्ने, बोलीचालीको ठेट भाषाको प्रवाहपूर्ण प्रस्तुतिले जाँचकीको ध्यानाकर्षण गर्न सकिन्छ।त्यसैले परीक्षा भनेको पर इच्छालाई जितेर सफल हुने खेल भन्ने गरेको पाइन्छ। फेरि छोटो उत्तर आउने ,लामो उत्तर आउने र समस्यामूलक प्रश्नको उत्तर लेखन वा प्रस्तुतीकरण फरकफरक हुन्छ ।

लेखन वा  प्रस्तुतीकरणमा ध्यान दिनुपर्ने कुराहरूः

१.   सर्वप्रथम प्रश्नको प्रश्नको २-३ पटक अध्ययन गसिसकेपछि सजिलो लाग्ने     प्रश्नबाट उत्तर लेखनको सुरूवात गर्नुपर्छ, उत्तरको शीर्षक वा उपशीर्षक दिनु     राम्रो मानिन्छ साथै कथन वा भनाइ साभार पनि गर्न सकिन्छ ।

२.   प्रश्नले के सोधेको वा मागेको हो पटकपटक पढेर मूल शब्दमा अण्डर लाइन गर्नुपर्छ, लेख्ने क्रममा बीचबीचमा प्रश्नको मूल शब्दमा ख्याल राख्नुपर्छ अन्यथा    उत्तर अन्यत्र बहकिन पनि सकिन्छ,जस्तो तुलना गर्नु, विश्लेषण गर्नु, मूल्यांकन गर्नु, समीक्षा गर्नु, वर्णन गर्नु आदि,

३.   एउटै प्रश्नमा उपप्रश्न गाँसिएको भएमा उपशीर्षकमा  उत्तर दिनुपर्ने हुन्छ जस्तो निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली प्रभावकारी कार्यान्वनका नहुनुको कारण      लेखी सुधारको लागि सुझाव लेख्नुहोस् भन्ने प्रश्नमा कार्यान्वयन नहुनुको कारण र       सुझाव सोधिएकोले दुई उपशीर्षकमा उत्तर लेख्नुपर्छ ।

४.   उत्तर भाषागत रूपमा लेख्न नसकिने होइन तथापि क्रमांकसहित बुँदागत रूपमा उत्तर  दिनु अझ प्रभावकारी हुन्छ किनभने जाँचकीलाई बुँदागत उत्तर परीक्षण      गर्न सहज हुन्छ तर प्रसंग र उदाहरणले यथास्थानमा भाषिक रूपमा पुष्टि      गर्नुपर्छ,

यो पनि पढ्नुहोस

मेरो धरातल, मेरो पाइला संस्मरण-१

बूढानीलकण्ठ मा.वि.काठमाडौँको सफलताको कथा

४)   धेरै लेख्नुभन्दा सोधेको कुरा गुणस्तरीय रूपमा लेख्नु उचित हुन्छ,

५)   उत्तर गोलमटोल लेख्ने र दोहोर्‍याउने नगरी स्पष्ट, क्रमबद्ध , व्यवस्थित तथा    सन्तुलित हुनुपर्छ,

६)   उत्तरमा सकारात्मक दृष्टिकोण राख्नुपर्छ,

१०) उत्तर लेख्नु अगाडि उत्तरको थालनी, विस्तार र टुङ्ग्याउनी यसरी गर्छु भन्ने     दिमागी खाका बनाई लेखनको थालनी गर्नुपर्छ,

११) प्रत्येक प्रश्नमा अरूले यसरी र यस्तो लेख्न सक्छन् म अरूभन्दा यसरी पृथक,  आकर्षक र स्तरीय लेख्ने योजनाकासाथ लेख्नुपर्छ,

१२) उत्तर खँदिलो, तार्किक, विश्लेषणात्मक हुनुका साथै मौलिक हुनुपर्दछ,

१३) छोटो वाक्य र सानो प्याराग्राफमा उत्तर लेख्नु राम्रो ठानिन्छ,

१४) नम्बर प्राप्त नहुने मूल्य (Value) लेख्नबाट बची मागेको तथ्य(facts) लेख्नुपर्छ,

१५) भाषिक चातुर्य, शब्दचयनमा ख्याल राख्ने र सकेसम्म जार्गन प्रयोग गर्दा राम्रो    हुन्छ जस्तो childfriendly, Continuous Assessment System आदि ।

१६) उत्तर लेखनमा समसामयिक मुद्दा वा सवालसन्दर्भलाई साभार गरेर लेखेमा बढी प्रभावकारी हुने संभावना रहन्छ,

१७) उत्तरपुस्तिकाको देब्रे र दाहिनेपट्टि १.५ इन्च जति मार्जिन छोड्नुपर्छ सकेमा    स्केलले मार्जिन रेखा तान्न पाए राम्रो हुन्छ,

१८) कालो वा नीलो मसीवाला पाइलोट पेन वा अन्य लेखनी, अक्षरको राम्रो टाँका   बस्ने लेखनको साधन प्रयोग गरेमा राम्रो हुन्छ,

१९) प्रश्नले मागेको कुरामा स्पष्ट भएर मात्र लेख्नुपर्छ जस्तो नेपालमा गरीबी धेरै     हुनुको मुख्य ५ कारण लेख भनिएकोमा साधारण कारण नभई मुख्य कारण    लेख्ने हो, बेरोजगारी एउटा मुख्य कारण हो,

२०) पुष्टि गर्ने प्रश्न वा मनसाय बुझ्ने प्रश्नमा आधारसहित पुष्टि गर्ने र हो, होइन  निर्णय गर्नुपर्छ, जस्तो सामुदायिक विद्यालयमा विद्यार्थी कम हुँदै जानुमा   गुणस्तरीय शिक्षा नहुनु भनिन्छ हो, होइन ? एउटाको पुष्टि गर्नुपर्दछ ।

२१) एउटा प्रश्नको उत्तर लेखिसकेपछि केही ठाउँ छोडेर मात्र अर्को प्रश्नको उत्तर   लेख्नुपर्छ,

२२) प्रश्नले मागेको मूल उत्तरलाई बुँदामा अण्डरलाइन गरी तालिका, ग्राफ, उदाहरण दिई हाइलाइट गरी परीक्षकको ध्यान आकर्षण गर्न सकिन्छ।

२३) धेरै जना हतपतमा प्रश्न पढेर नबुझी उत्तर लेखेर असफल हुने भएकोले प्रश्नको २-३ पटक अध्ययन गरी प्रश्नले सोधेको वा मागेको कुरामा स्पष्ट भएर मात्र उत्तर लेख्नुपर्छ । अर्थात् प्रश्नको गम्भीर अध्ययन गरेर मात्र उत्तर लेख्नुपर्छ,

२४) उत्तरको भाषाशैली सरल, स्पष्ट, सिलसिलाबद्ध अझ पत्रकारिताको भाषाशैली   उपयुक्त मानिन्छ,

२५) वस्तुगत प्रश्नका लागि तथ्यांक, तथ्य, नियम र नम्बर समेत याद गर्नुपर्ने भएकोले   संकेत बनाएर अध्ययन गर्नु उपयुक्त हुन सक्छ,

२६) परीक्षाको पुराना प्रश्नपत्रको संकलन गरी लेखन अभ्यास गर्नुका साथै त्यसको   आधारमा थप सामग्री खोजीखोजी अध्ययन गर्नुपर्दछ,

२७) परिमार्जन भएका ऐन नियमावली र निर्देशिकाहरूमा अद्यावधिक हुनुपर्छ,

२८) विषय वा प्रसंगअनुसार विद्वानको भनाइ, उखान उद्घृत गर्न सकिन्छ, समसामयिक विषय वा सवाललाई प्रसंग मिलेमा साभार गर्नु राम्रो हुन्छ,

२९) राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयोग, अभ्यासलाई समेत उत्तरमा समावेश गर्न सकिन्छ

३०) लेखनको सुरूवात असाध्यै आकर्षक, प्रभावकारी र मौलिक रूपमा गर्नुपर्छ   किनकि पहिलो प्रभाव नै अन्तिम प्रभाव भनिन्छ ,

३१) लेखनमा बहुव्यापक शैली (Comprehensive) छोडी छोटो तर मीठोपनामा ध्यान   दिनुपर्छ अर्थात् गागरमा सागर अटाउने (गाग्रोमा समुन्द्र अटाउने) लेखन      शैली अपनाउनु पर्छ, धेरै लेख्दा धेर अंक प्राप्त गर्ने होइन सही कुरा सशक्त    रूपमा प्रस्तुत गरेमा राम्रो  अंक पाउन सकिन्छ,

३२) पहिलो अनुच्छेद विषयवस्तु चिनाउने र अन्तिम अनुच्छेद आफ्नो विचार दिने    तथा बीचको अनुच्छेद बुँदागत वा बुँदामा प्रस्तुत गर्न नसक्ने भएमा २-३    अनुच्छेदमा प्रस्तुत गर्नु वेश मानिन्छ,

३३) सफलताको लागि ज्ञान र लेखनसीप दुवैको आवश्यकता पर्दछ भन्ने मनन गर्नुपर्दछ ।

ग) समयविभाजन (Time Bound)

प्रतिस्पर्धात्मक परीक्षा समयको समेत परीक्षा हो, किनभने निर्धारित समयमा सबै प्रश्नहरूको जसले सही, सन्तुलित र उत्कृष्ट उत्तर प्रस्तुत गर्न सक्छ उसले प्रतिस्पर्धामा सफलता हात पार्छ तर धेरै परीक्षार्थीले कुनै प्रश्नमा लामो लेख्नाले अन्य प्रश्नको उत्तर दिन छुटाउँछ र बाँकी प्रश्नको उत्तर सन्तुलित रूपमा लेख्न नभ्याई हतपत गरी परीक्षा बिगारेको पाइन्छ।त्यसैले प्रत्येक प्रश्नको अंकअनुसार समय विभाजन गरेर लेख्न नसके अध्ययन, श्रम र लगानी व्यर्थ हुन जान्छ । यसको लाागि प्रश्न पढ्न, रूजु गर्न र पानीपिसाब गर्न समय छुट्याएर अन्य समय तोकिएको अंकको आधारमा प्रश्नलाई विभाजन गरी उत्तर लेख्नुपर्छ।३ घण्टाको समयमा ५ नम्बरको प्रश्नको लागि ९ मिनेट हुन जान्छ भने १० नम्बरको प्रश्नको लागि १८ मिनेट हुन जान्छ त्यसमा पनि केही समय प्राविधिक कार्यमा कट्टा हुने भएको १/१ मिनेट कटाउनुपर्ने हुन्छ। यसमा विचारणीय कुरा के छ भने ५ अंकको लागि जति लेखे पनि सीमामाथि गएर नम्बर प्राप्त हुँदैन जबकि अरू प्रश्नले कम समय पाउनु भनेको प्रतिस्पर्धामा कमजोर हुनु हो । यसबाट के बुझिन्छ भने प्रत्येक प्रश्नको भार बमोजिम नै उत्तर लेख्न सक्नु सफलताको उपाय हो।अतः प्रतिस्पर्धात्मक परीक्षा तथ्य वा बढी सूचना वा जानकारीको मात्र नभई यसको कलात्मक, प्रभावशाली र उत्कृष्ट प्रस्तुतीकरण र ३ घण्टाको समयसीमामा सन्तुलित लेखन क्षमता, सामर्थ्य र सीपको पनि परीक्षा हो भन्न सकिन्छ ।

समय विभाजनमा ध्यान दिनुपर्ने कुराहरू

१)   सबै प्रश्नलाई समान रूपमा समयको वर्गीकरण गर्नुपर्छ,

२)   छोटो उत्तरवाला प्रश्नको उत्तरको सुरूवात छोटो परिचय, मूल उत्तर र निष्कर्षमा     दिँदा उचित हुन्छ, मूल उत्तर भाषिक रूपमा पुष्टि गर्नुपर्ने बाहेक बुँदामा प्रस्तुत गर्न सकेमा उत्तम हुन्छ,

३)   लामो उत्तरमा पनि लामो भूमिकामा नअल्मलिई सानो परिचय पछि मूल प्रश्नमा सोझै प्रवेश गरी प्रश्नको उपशीर्षक अनुसार उत्तर लेख्नुपर्छ किनकि उपप्रश्नको अंकभार कति छ सोही अनुसार समय दिनुपर्छ जस्तो पाठ्यक्रमको परिभाषा दिई    यसको प्रयोग कसरी गर्न सकिन्छ? भन्ने प्रश्नमा ३ र ५ गरी जम्मा ८ अंक    रहेको छ भने पहिलो उपप्रश्न र दोस्रो उपप्रश्नलाई अंकअनुसार नै समय दिनु   बुद्धिमानी हुन्छ ।

४)   अनावश्यक कुरा लेखेर समय खर्च गर्नु भनेको प्रतिस्पर्धामा पछि पर्ने आत्मघाती     कार्य हो, जस्तोः पाठ्यक्रम र पाठ्यपुस्तककाबीच नङ र मासुको सम्बन्ध छ र      एकको अभावमा अर्कोको अर्थ रहन्न।त्यसैले यिनीहरूबीच अन्योन्यास्रित     सम्बन्ध छ जस्ता लेखाइ स्तरीय, सटिक सही नभएर गफ भए, नम्बर आउँदैैन तर जाँचकीको लागि हाँस्ने मसला चाहिँ बन्छ त्यसर्थ यसलाई यसरी प्रस्तुत    गर्दा तथ्यपूर्ण र सटिक हुन्छ: पाठ्यक्रम साध्य र पाठ्यपुस्तक साधन हो ।   पाठ्यक्रमको उद्देश्य पूरा गर्न पाठ्यपुस्तक तयार पारिन्छ।पाठ्यक्रम    शिक्षणसिकाइको उद्देश्य प्राप्ति गर्ने मार्गचित्र (roadmap) हो भने पाठ्यपुस्तक आधिकारिक सामग्री हो । अतः पाठ्यक्रम उद्देश्य प्राप्त गर्नेयोजना हो भने         पाठ्यपुस्तक कार्यान्वयन हो ।

४) निष्कर्ष

स्वस्थ, निष्पक्ष र उच्चतम प्रतिस्पर्धात्मक परीक्षाप्रति विश्वास,  मेहनत र कर्ममा विश्वास र हरेक ठाउँमा योग्य, दक्ष र इमानदारिताको कदर हुन्छ आखिर सफलता पनि अन्ततः तिनैको पोल्टामा पर्छ भन्ने सकारात्मक सोच राख्नेहरू नै सफलताका सशक्त उम्मेदवार मात्र होइनन्, सफलताका सच्चा हकदार हुन् किनकि भूपि शेरचनले यो हल्लैहल्लाको देशमा भनेर कविता लेखेजस्तै थुप्रै जनालाई हौवाले पन्छाइ सकिसकेका हुन्छन् उनीहरू कि त हाम्रा कोही छैनन् भनेर परीक्षामै संलग्न हुँदैनन्, सहभागी भए पनि उत्कृष्ट प्रस्तुतितिर नलागी अन्य विकल्प वा भ्रमका पछाडि लागेर सफल हुने दिवास्वप्नमा लागिरहेका हुन्छन्।जुन नितान्त गलत वा मूर्खताबाहेक केही होइन किनकि दुनियाँको प्रतिस्पर्धात्मक परीक्षामा कहिले पनि हल्लामा भएजस्तो गलत क्रियाकलाप हुने गर्दैन।कहिलेकाहीँ घट्ने घटनालाई लिएर योग्यता प्रणाली माथि नै  हवाला दिनेको खाँचो त नहोला तर ती सब दिवालियापन हुन् भन्दा फरक पर्दैन । तसर्थ योग्यता प्रणालीमा विश्वास गरेर त्यसको निमित्त त्याग र साधनाकासाथ लाग्न सके सफलता अवश्यम्भावी छ अन्यथा अरूको भागमा सफलता र आफ्नो भागमा असफलताबाहेक अरू केही पर्ने छैन। त्यसैले भनिन्छ हामी जे सोच्छाैँ त्यो हाैँ सफल सोचेर प्रयास गरेमा सफल हौं, असफल सोचेर प्रयास गर्दै नगरेमा विचरा असफल पनि हौँ । तसर्थ खाँचो बोलाइ र लेखाइको उपदेशको होइन, गराइको खाँचो हो, जीवन बदल्ने आँट र साहसको खाँचो हो अनि कुनै न कुनै क्षणमा सफल हुने  कुरा पनि सोह्रै आना साँचो हो। होइन र ?

(शिक्षक प्रतियोगिता सफलता कुञ्जिका २०६९ पुस्तकबाट  साभार)

 

You might also like