सुनुवार भाषा विशेषः  मातृभाषा सिकाइमा भाषिक पर्यावरण

सुनुवार भाषा विशेषः  मातृभाषा सिकाइमा भाषिक पर्यावरण

डा. लाल-श्याँकारेलु रापचा

सारसङ्क्षेप

संज्ञानात्मक मनोविज्ञान (Cognitive psychology) लाई आधार बनाएर ई.१९६० को दशकमा भाषावैज्ञानिक नोम चोम्स्कीले जन्मदेखि नै मानिसको दिमागमा विश्वव्यापी व्याकरण (Universal Grammar)। युजी इम्प्रिन्टि हुने भएकाले बालकले संसारभरको कुनै पनि मातृभाषा सिक्ने क्षमता राख्दछ भन्ने सिद्धान्तलाई अघि सारे।यस सिद्धान्तको पुनर्विचार र बहस चलिरहे पनि उनको निष्कर्षलाई धेरै हदसम्म विश्वभर स्वीकारिएको पाइन्छ। अपितु आज संसारभरि नै धेरै भन्दा धेरै मातृभाषा मारिने एवम् मर्ने क्रम जारी छ। नेपालमा पनि वि.सं. २०६८ को जनगणनाले १२५ जात र जातिले १२३ भाषा बोल्ने तथ्याङ्क अगाडि सारेको छ । अब प्रश्न उठ्छ ? नेपालमा के कुसुण्डा, राउटे, दुरा, किराँती-कोँइच ९बाह्य नाम सुनुवार/मुखिया इत्यादि आदि मूल बासीका बालबालिका जन्मँदा युजी बेगर नै जन्मन्छ ? चम्स्कीको खोज र तर्कअनुसार जन्मँदा सबै बालबालिकाले अपवादबाहेक युजी नै लिएर जन्मेका हुन्छन् । त्यसो हो भने नेपालमा राउटे, तिलुङ, किराँती-कोँइच (सुनुवार/मुखिया) आदि भाषाहरू किन दिनानुदिन मर्दैछन् वा मरिसके त र ? फेरि उनीहरूले कोरियाली, जापानी, चीनियाँ, अङ्ग्रेजी आदि भाषाहरू त सिकेकै छन् त ? आफ्नै मातृपितृ भाषाको सिकाइ भने किन शून्यप्रायः नै छ रु यसको मतलब के हो भने युजी आफैँमा मातृभाषा सिकाइका लागि पर्याप्त वातावरण होइन । यो त केवल मातृभाषा सिक्न सक्ने बीउ (seeds) वा क्षमता मात्र हो । कुनै विशेष मातृभाषी नेपालीले कोरियाली, जापानी, चीनियाँ, अङ्ग्रेजी आदि भाषाहरू सिकेजस्तो बीउ उम्रनको लागि त समुचित पर्यावरण (अक्सिजन, मल, जल, वायु आदि तत्व) हुनु नितान्तै आवश्यक छ भन्ने तथ्य हालै चीनले चन्द्रमामा केराउको बिरुवा उमार्न खोजेको प्रयासको उदाहरण यथेष्ट छ । चन्द्रयानमा विशेष वातावारणसहित पठाइएको कपास चन्द्रमामा उम्रन त उम्र्यो तर साँझ पर्ने बित्तिकै मर्‍यो। यसरी नै कुनै पनि मातृभाषा सिकाइको लागि समुचित भाषिक पर्यावरण पहिलो शर्त हो। नेपालको सन्दर्भमा मातृभाषा कुनै पनि समाजको आत्मा र पहिचानको आधार हुँदाहुँदै पनि दिन दुई गुना रात चौगुना मातृभाषाहरू लोपोन्मुख अवस्थामा पुगेका छन्। बिना लगानी भाषिक विविधता जोगाउने अभियान चन्द्रमामा कपास उमार्ने पहिलो प्रयासजस्तै भइरहेको छ।चीनले दोस्रो वा तेस्रो प्रयासमा उसको सफल चमत्कार देखाउने नै छ।हामीलाई भने चन्द्रमा नभएर हाम्रो साझा घर पृथ्वी, त्यसमा पनि नेपाल धर्तीमाताको वक्षस्थलमा हाम्रो आत्मा मातृभाषा साथै बहुल पहिचानको आधार मातृभाषालाई समृद्ध बनाउन मातृभाषा सिकाइमा समुचित भाषिक पर्यावरणको सिर्जना सङ्घीय परिवेशमा कसरी गर्न सकिएला भन्ने घोत्ल्याइँ नै यस लेखको मूल अभीष्ट हो ।

१. परिचय

नेपालभूमि वास्तवमै विविधतापूर्ण छ । यो परीकथा नभएर वास्तविकता नै हो । सौन्दर्यशास्त्रको दृष्किोणमा माधव घिमिरे, मविवि शाह, भूपि शेरचन आदिको साहित्य सिर्जना नेपालजस्तो भूमिको लागि कमै हुन्छ । विदेशी अन्वेषक, पदयात्री, अनुसन्धाता, लेखक आदिले पनि मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको भाष्य लेखेको पाइन्छ । यहाँको जैविक, प्राकृतिक तथा भौगोलिक विविधता, मानव, भाषिक र सांस्कृतिक विविधता संसारकै निर्विवाद अनुपम उदाहरण हुन्। तथापि नेपाल भाषिक रूपमा पनि विविधतायुक्त र धनी छ भन्ने तथ्य उजागर हुनका लागि वि.सं. २०६८ (ई. २०११) को जनगणना नै कुर्नुपर्‍यो । त्यो १२३ भाषाको सङ्ख्या वि.सं. २०५८ (२०१) को जनगणनामा ९२ मात्रै थियो ।

तथापि नेपालको भाषिक इतिहासमा भाषाको बहस तथा उन्नति धेरै लामो समयसम्म ओझेलमै रह्यो । अर्को अर्थमा ओझेलमा पारियो । त्यो अत्यन्तै दुर्भाग्यपूर्ण स्थिति वा समय थियो । नेपालमा पहिलो पटक १० वर्षे जनगणना ई. १९११ मा प्रारम्भ भएको थियो।यसमा भाषाको महल थपिन जम्माजम्मी ४ दशक १ वा ४१ वर्ष लागेछ । ई. १९५२-५४ को जनगणनामा मात्रै नेपालमा ४४ मातृभाषा बोलिन्छ भन्ने तथ्य बाहिर आयो । सो मातृभाषाको सङ्ख्या ई. १९६१ मा ३६ मा झर्‍यो । ई. १९७१ मा ५०% नै घटेर जम्मा १७ मा मात्रै रह्यो । यसरी नै १९८१ मा १ मातृभाषा बढेर १८ पुग्यो। फेरि १८ को सङ्ख्या झण्डै ५०% बढेर ई. १९९१ को जनगणनामा ३२ पुग्यो। तर यस दशकको तथ्याङ्कमा पंक्तिकार स्वयम्कै मातृभाषा किराँती-कोँइचलाई हटाइएको थियो ।

त्यो ३२ को सङ्ख्या ई. २००१ मा जायन्ट लीप गरेर ९२ मा पुग्यो । यहाँ नक्सा १ मा प्रस्तुत गरिएको डा। हर्क गुरुङको भाषिक नक्सामा परेका ग्लोटोनिम वा भाषानामहरू धेरै जसो परम्परागत नै छन्।आदिवासी दृष्टिकोण तथा डा. गुरुङ आफैँ बितेको वर्ष ई. २००६ पश्चात्देखि ई. २०१९ सम्ममा निकै परिवर्तन भइसकेको अवस्था छ।मातृभाषीहरूको चेतनास्तरको विकासमा क्रमैसँग बढोत्तरी भएको छ । मेरो वा हाम्रो मातृभाषा भनी स्वामित्व लिने चेतना बढ्दैछ ।

पहिलो जनआन्दोलन वि.सं. २०४६ र २०६२/६३ को दोस्रो जनआन्दोलनले कतिपय दमित मातृभाषी समूहलाई भाषिक तथा सांस्कृतिक रूपमा भने ब्युँताएको छ । ब्युउँझिएको स्थिति भए पनि भाषा आयोगको हालैको होमपेज प्रतिवेदनमा उल्लेख भएअनुसार १०४ भाषाहरूको वक्ता सङ्ख्या ४५ मात्रै छ भने बाँकी १० भाषाको वक्ता सङ्ख्या ९६५ देखिएको छ । यस तथ्यले के सङ्केत गर्दछ भने १०४ भाषाको मातृभाषा सिकाइ डामाडोल अवस्थामा छ । वक्ता सङ्ख्याको आधारमा १ लाख भन्दा बढी वक्ता भएको भाषा १९, १० देखि ९९ हजार वक्ता भएका ३०, १ देखि ९,९९९ हजारसम्म वक्ता भएका ३७ र १ हजार भन्दा कम वक्ता भएका भाषाहरूको संख्या ३७ रहेको बताइएको छ । यो सङ्ख्या र सातै प्रदेशमध्ये बढी भाषा सङ्ख्या भएको प्रदेश नं। १ हो, जहाँ १०४ मातृभाषाहरू बोलिने हालैको एक प्रतिवेदनले देखाएको छ ।

विशेषतः नक्सा १ मा प्रस्तुत गरिएको भाषिक नक्साले प्रदेश नं. १ को भाषिक विविधतालाई समेट्न नसकेको प्रस्टै छ किनभने हैकमवादी/सामन्ती राज्य व्यवस्थामा कतिपय मौलिक भाषिक पहिचानलाई राज्यसत्ताले गुमराहमा राखेको तथ्य विगतको विभिन्न जनगणनामा देखिएको भाषाहरूको फरकफरक सङ्ख्याको नतिजा नै हो । भाषा र वक्ताको सङ्ख्यामा नै राज्य अनभिज्ञ रहेको दमित अवस्थामा मातृभाषा सिकाइको कुनै मौकाको सट्टा विखण्डनकारीको टाँचा लाग्दथ्यो।यस्तो परिवेशमा सघन भाषिक पर्यावरण सृजना हुने कुरै आएन।यसै अनभिज्ञताको मेसोमा आजसम्म पनि किराँती भाषा परिवारको बारेमा राज्य अनभिज्ञ (हेर्नू) । भाषा नक्सा १ पनि नै छ । भाषावैज्ञानिक अध्ययनको नतिजाले ओल्लो, माझ र पल्लो किराँत भूभागका किराँती भाषाहरू रहेको देखिन्छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका समयमा ओल्लो, माझ र पल्लो किराँत नामले चिनिने आदि मूलबासी भूभागमा अस्तित्वमा रहेका यी मातृभाषाहरूको सिकाइ अवस्था वा पुस्तान्तरणको स्थिति अत्यन्तै नाजुक रहेको छ । तमाम यी मातृभाषाहरूमध्ये पल्लो किराँतमा बोलिने याक्थुङ पाःन (लिम्बू भाषा) बाहेक बाँकी कतिपय भाषाहरूको सिकाइ तथा सबलता समुचित भाषिक पर्यावरणको दृष्टिले चन्द्रमामा उम्रेको केराउको बिरुवाजस्तै छ।यसरी भाषिक पर्यावरण मासिनुको केही ऐतिहासिक तथा समाजमनोवैज्ञानिक कारणहरू मुनिका अनुच्छेदहरूमा मनन गर्नेछौँ ।

२. मातृभाषा सिकाइको अवस्था

नेपालको हालको मातृभाषा सिकाइको अवस्था नाजुक रहनुको मुख्य कारणको गहिराइमा डुबुल्की मार्दै जाँदा हिजोको निषेधात्मक ऐतिहासिक पृष्ठभूमि जिम्मेवार रहेको प्रस्टिन्छ । यसको समाजमनोवैज्ञानिक ट्रमा (trauma) मानसिकताका कारण नै वक्ताहरूमाझ आफ्नो मातृभाषाप्रतिको वितृष्णा आजसम्म पनि व्याप्त रहेको छ । १०४ भाषाहरूको वक्ता सङ्ख्या मात्रै ४५ रहनु त्यसको द्योतक हो । अबको सङ्घीय परिवेशमा त्यस्तो स्थितिलाई सुधार्न एकपटक त्यस्तो जमानाबाट हामीले केही सिक्नुपर्ने भएकाले नै यहाँ त्यसको पुनःस्मरण गर्नुपर्ने हुन्छ । त्यो जमानाले यसो भन्दथ्यो र गर्दथ्यो:

“गोल्खा राज्यमा लिम्बू अक्षर लेख्छु, पढ्छु, देखेँ सुनेँ नभन्नू, लेखेँ, पढेँ, देखेँ, सुनेँ भनेमा गोल्खा राजाले ज्यान सजाय लिन्छन्, त्यसकारण कसैलाई नभन्नू ।” ९रापचा, यालुङछा र तुम्याहाङ (इ.२००८: ५३७ मा उद्घृत)।

त्यही बेलादेखिको यस्तो राजनैतिक मनोवैज्ञानिक दबावका कारण विभिन्न प्रतिकूल समस्याहरूले नेपाली समाजलाई गाँज्दै लगेर अहिलेसम्म गाँजी नै रहेको छ । यसै नीतिलाई मलजल गर्न केही समयपछि राममणि आ।दी।, कृष्णचन्द्र अर्याल र वैजनाथ जोशी (सेढाइँ) को जन्म भयो उनीहरू जाति र भाषाको बारेमा यसो भन्छन्—

जातिको बारेमा

तिघ्रे र पर्वते स्वाँठे जुन हाम्रा दाजुभाइ छन्।ती तही रही बाँचून्, हुनु पर्दैन सभ्य ती पस्यो भने मण्डलमा राज्य उठ्ठा गराउँछ ।बाहुन क्षेत्रीबाटै मन्त्रमण्डल जोरनू राज्यको सधैँ ।”

भाषाको बारेमा

“आजसम्म एकहि “गोरखा भाषा” को सर्वव्यापकता हुन सकेको छैन । किन्तु नेवार, भोटे, मगर, गरुङ, लिम्बू, सुनुवार, दनुवार, थारु प्रवृत्तिका जंगली भाषाहरूले पनि आफ्नाजन्मस्थानलाई एकदम छाड्न सकेका छैनन् । जहाँसम्म एक मात्र “गोरखा भाषा” ले अरू सबै भाषालाई अर्धचन्द्र (गलहत्ती) लगाउन्न, त्यहाँसम्म “गोरखा भाषाको उन्नति हुन्छ” भन्नू र “मुख्य भाषा कहिनु योग्य छ” भन्नु केवल मनको लड्डू मात्र हो ।”

माथिको परम्परागत जातीय, भाषिक, धार्मिक आदि विभेदहरूले धेरैजसो मातृभाषीहरूमा प्रत्यक्ष रूपले साक्षरता तथा शिक्षामा प्रभाव पारिरहेको हुनाले भाषिक पर्यावरणलाई नष्ट गर्दै लगेर आजको नाजुक स्थितिमा ल्याई पुर्‍याएको प्रस्टै छ।फलस्वरूप १०४ भाषाहरूकोवक्ता सङ्ख्या मात्रै ४५ वक्तामा झरेको हो । ई. १९११ को जनगणनामा भाषा महल  नपर्नु र ई. १९१७ उसो यस्तो विभेदकारी भाषा नीति र राष्ट्रनिर्माणमा बहिष्करणको गाथा प्रजातन्त्र स्थापनापछि ई. १९५६ मा पनि निरन्तर नै रहेको थियो ।तत्कालीन राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदनले पनि त्यही कुराको प्रतिबिम्बन गरेको छः

And it should be emphasized that if Nepali is to become the true national language, then we must insist that its use be enforced in the primary school….Local dialects and tongues, other than standard Nepali, should be vanished [banished] from the school and playground as early as possible in the life of the child. (Education in Nepal,Report of the Nepal National Education Planning Commission, Kathmandu, College of Education, 1956, p.97 )

नेपालीइतर मातृभाषीलाई गरिएको यस्तो विभेदले असमानताको खाडल सिर्जना गरेको तथ्यलाई नेपालको संविधान (२०४७) ले पनि निरन्तरता नै दियो । फलस्वरूप जेठ १८, २०५६ मा नेवाः र मैथिली मातृभाषालाई कार्यालयमा प्रयोग गर्न प्रतिबन्ध नै लाग्यो।भदौ ७, वि.सं.२०६१ मा फोनमा मातृभाषा प्रयोगमा प्रतिबन्ध (हेर्नू,रापचा इ.२००९ खः १७१) लाग्यो।मातृभाषा विभेदसम्बन्धी यस्ता खाले दुर्घटना, घटना र परिघटनाले नेपालभूमिमा भाषिक पर्यावरणलाई कमजोर पार्दै लगेको हुनाले आज हामी चन्द्रमामा कपासरूपी विश्वको दृष्टान्तमा आइपुग्न बाध्य पारिएका छौँ ।

समुचित र सकारात्मक भाषा नीति तथा व्यवहार हुँदा मातृभाषा सिकाइमा समुन्नतिको गाथा पंक्तिकार यहाँ आफ्नै मातृभाषा किराँती-कोँइचबाट पेस गर्न चाहन्छ।त्यो सफलता भारतको २२ औँ प्रान्त सिक्किमको हो।किराँती-कोँइच भाषा अहिले आफ्नै मौलिक लिपिमा कक्षा ७ सम्म मातृभाषा शिक्षा (तस्वीर ४ र ५) तथा सञ्चार आदिमा प्रवेश गरी मातृभाषा सिकाइ उन्नतिको चुली आरोहण गर्दैछ ।

अहिले सिक्किम राज्यभरिका ६ वटा शिक्षालयहरूमा विभिन्न तहहरूमा गरी जम्मा ८० शिक्षार्थीहरूले किराँती-कोँइच मातृभाषा विषयको रूपमा सिक्ने तथा अध्ययन गर्ने अवसर पाएका छन्।पठनपाठनको लागि शिक्षा विभागद्वारा ८ जना शिक्षक/शिक्षिकाको नियुक्ति गरिएको छ । जस्तैः प्रेमकुमारी (लक्ष्मी) मुखिया, रूपा सुनवार, श्याम सुनवार, रन्जिता मुखिया, भारती सुनुवार, पुष्पा मुखिया, सुजित मुखिया र युगल मुखिया (हेर्नू, बाकस १ पनि) ।

यसैगरी सिक्किम विधान सभा (legislative assembly) मा किराँती-कोँइच भाषा अनुवादकको रूपमा एनवि जिजिचा-सुनुवारले नियुक्ति पाई अहिले उपसचिव तहमा कार्यरत छन् । नैनकला कोर्मोचा (मुखिया) शिक्षिका पदबाट हाल शिक्षा विभागमा कार्यरत छिन् । सिक्किम हेराल्ड र सिक्किम टिभीमा चाहिँ सुनमाला दिगरचा (मुखिया) अधिकृत तहमा कार्यरत छिन् । यसवर्ष श्रेणी ७ को पाठ्यपुस्तक मौलिक जातीय लिपिमै लेखन/प्रकाशनसँगै सिबिएसइ कोर्समा प्रवेश तयारी गरिरहेको छ ।

सिक्किमको पूरा जनसङ्ख्याको थोरै हिस्सा वा ३,०४२ (०.५२%) जनसङ्ख्या भएको भाषाको शिक्षा र सञ्चारमा यस्तो अवसर पाउनुलाई ठूलो उपलब्धिको रूपमा नै लिन सकिन्छ।शिक्षा एवम् पाठ्यपुस्तकको स्थितिलाई प्रस्ट्याउन पुनः तलका अनुच्छेदहरूमा बहस गरिएको छ ।

पंक्तिकारले ई. २००१ (वि.सं. २०५८) देखि नै विद्यावारिधि अनुसन्धानको स्थलगत कार्यका साथै कडा परिश्रमको फलस्वरूप लाल रापचा, आरबी मुखिया र कमलादेवी मुखियाको संयुक्त सहकार्यमा अप्रिल २८, २००२ मा किराँती-कोँइच भाषा कार्यशाला गोष्ठी सिक्किमको राजधानी गान्तोकमा सम्पन्न गरेको थियो ।

अप्रिल २८, २००२ भन्दा अघि नै मौलिक किराँती-कोँइच लिपिको खोजी, वर्णनिर्धारण कार्य, कार्यपत्र लेखन, वर्णमाला पुस्तक लेखन र पाठ्यपुस्तक तथा व्याकरण लेखन (किराँती-कोँइचआ थेःसी ख्योँपत तथा ‘किराँती-कोँइचआ थेःसी तरन्दो/ पाण्डुलिपि सेप्टेम्बर २००१) जस्ता अमूल्य कार्यहरू सम्पन्न भइसकेका थिए । कार्यशाला गोष्ठी सम्पन्न हुनुभन्दा एकहप्ता अघिदेखि नै लाल रापचाद्वारा हस्तलिखित मौलिक लिपिमै किराँती-कोँइच/सुनुवार भाषाले सिक्किम हेराल्डमा समाचार ९२(अप्रिल २००२) प्रकाशित भएको थियो ।

यस कार्यमा भीमकाय फड्को जाएन्ट लीप  (Giant leap) को नेतृत्व अतिरिक्त मुख्य सचिव पोपो आर.वी. रूजिचा-मुखिया (आइएएस) ले गर्नुभएको थियो । उनकै नेतृत्वमा सिक्किम सुनुवार (मुखिया) कोँइचबु नाम भएको संस्थालाई १८ सेप्टेम्बर १९९० मा ल्याण्ड रेभेन्यु डिपार्टमेन्ट, गान्तोक, सिक्किम राज्यमा निवेदन गरेपश्चात् ३० मई १९९१ मा दर्ता नं. ४७१ पायो । यसरी राज्य सरकारमा मान्यता दर्ता पाएर सुरू भएको सङ्घ सिक्किम सुनुवार (मुखिया) कोयचबुले दुई दशकको अवधिमै भाषा तथा चिनारीमा कायापलट गर्‍यो।

उक्त गतिविधिहरूसँगै कर्ण जेँःतिचाले आविष्कार गरेको किराँती-कोँइच भाषाको लिपिको रिफर्मेसन तथा मोडिफिकेसन (परिमार्जन तथा पुनःपरिमार्जन हेर्नू., रापचा ई. २००१ डी) गर्ने कार्यमा पनि बृहत्तर छलफल तथा कार्यशालाको आयोजना गरेर लेख्य परम्पराको जग बसाल्यो । सङ्घर्षका ती वर्षहरू पहिले नै आजका उपसचिव तहका एनवि जिजिचा-सुनुवारले सिक्किम विधान सभा (legislative assembly) मा किराँती-कोँइच भाषा अनुवादकको रूपमा नियुक्ति पाइसकेका थिए । अध्ययन, लेखन तथा प्रकाशनको क्रममा ई.२००३ मै किराँती-कोँइचआ थेःसी तरन्दो (तस्वीर २० र किराँती-कोँइच ब्लेसेथेँःकामा छापिएको थियो।सो छपाइ कार्यमा सक्रियतापूर्वक हातेमालो गर्नेमा डिके ङावचा-मुखियाको नाम अग्रपङ्तिमा आउँछ ।

यद्यपि किराँती-कोँइच भाषाले राज्यस्तरको मान्यता पाउनलाई भने निकै सङ्घर्ष गर्नु परेको तथ्य प्रोसिडिङस् अफ द सिक्किम लेजिस्लेटिभ एसेम्ब्ली-भाग १, १२-२८ सितम्बर, इ. १९९६) पढ्दा छर्लङ्गिन्छ । त्यसवर्ष सिक्किम अफिसियल अमेन्डमेन्ट बिल ई. १९९६ सदनमा पेस हुँदा सिक्किमेली जातिमा पर्ने सुनुवार जातिले बोल्ने सुनुवार (किराँती-कोँइच भाषावैज्ञानिक तथ्य) मातृभाषालाई सिक्किम राज्य भाषा बनाउने बिल आएकोमा स्पीकर मिङमा छिरिङ शेर्पा, गिरीशचन्द्र राई, टी.टी.भुटिया, के.बी.चाम्लिङ र सी. एम. पवन चाम्लिङले हर्ष व्यक्त गर्दै विषद छलफल गर्नुभएको सङ्केत उक्त प्रोसिडिङस्ले दिन्छ । साथै विधान सभाका ओजस्वी र सिनियर सदस्य के. एन. उप्रेतीले “सुनार कि सुनुवार भाषा ? र यो “कसरी बोलिन्छ ?” भनी गरेको प्रश्नले यस जाति र भाषाको अस्तित्व यहाँ झण्डै नामेट भइसकेको रहेछ भन्ने कुरा प्रस्टिन्छ ।

सङ्घर्ष तथा प्रयासलाई निरन्तरता दिने क्रममा सेप्टेम्बर २००१ मै तयार भएको किराँती-कोँइचआ थेःसी ख्योँपत (Elementary Reader of Sunuwar) कक्षा १ र २ को लागि भनेर पुस्तकाकारमा मे २००४ मा प्रकाशनमा आयो । यसमा पनि डिके मुखियाको सक्रियता रहेको थियो।यस्तो प्रकाशन उपलब्ध भइसकेपश्चात् प्राथमिक विद्यालय शिक्षामा किराँती-कोँइच भाषा ई. २००५ देखि नै प्रवेश गर्‍यो ।

यसरी ईङ २००१ देखि २०१९ सम्म १८ वर्षमा सिक्किमले किराँती-कोँइच मातृभाषा सिकाइ र विस्तारमा मारेको फड्को हाम्रो देशको वर्तमान परिवेशलाई अत्यन्तै सान्दर्भिक र अपनाइनुपर्ने रोल मोडेलको रूपमा लिन सकिन्छ । सङ्घ, प्रदेश तथा स्थानीय तहले यसको ढाँचा अपनाउँदा मातृभाषा सिकाइ, संरक्षण र विकासमा फड्को मार्न सक्ने सम्भावना प्रबल रहेको देखिन्छ ।

पंक्तिकार आफैँले सहभागिता जनाएर भएको यस्तो उपलब्धिको पछाडि वेलफेयर स्टेट (welfare state, पोषक राज्य) को सकरात्मक चरित्र तथा नीति नै मुख्य हो । बाकस १ मा प्रस्तुत गरिएको तथ्य सोही चरित्र र नीतिबाट सम्भव भएको हो ।

३.सैद्धान्तिक पक्ष

यो पनि पढ्नुहोस

स्रष्टा र सिर्जना (गीत), नभेटेको भए…

मेरो धरातल, मेरो पाइला संस्मरण-१

आज नेपाललगायत विश्वभरका सबै देश तथा समाजहरूमा सामाजिक न्याय (Social justice) को लागि हरप्रयास भइरहेको छ । किनभने वर्तमान समयमा कुनै पनि सभ्य मानव समाज अस्तित्वको लागि पहिलो मापदण्ड भनेकै सामाजिक न्याय हो । दिगो शान्ति र समृद्धिको लागि सामाजिक न्याय नै एक मात्र निर्विकल्प मन्त्र हो । सिद्धान्ततः सामाजिक न्यायको मूल भनेको पाश्चात्य विज्ञान (western science) नभएर आदिवासी विज्ञान (indigeneour or native science) नै हो।पाश्चात्य विज्ञानको सारभूत ज्ञान सर्भाइभल फर् द फिटेष्ट (survival for the fittest) हो (तुल. Darwin इ. १८५९) भने आदिवासी विज्ञानको सारभूत ज्ञान भनेको सर्भाइभल फर् अल (survival for the fittest) नै हो । यसको मतलब हो: पारस्पारिक सम्मान, प्रकृतिको नियममा आधारित पारस्पारिक भर तथा सबैले बाँच्न पाउनुपर्ने अधिकार । यहाँ मानव (भाषा, संस्कृति, जीवनवृत्त आदि) को मात्रै बाँच्न पाउने अधिकार नभएर स्रोतको समुचित बाँडफाँड, बोटबिरुवा, जनावर र बसोबास क्षेत्र (सिङ्गो प्रकृति) समेत (हेर्नू Gregory Cajete 2000) पनि हो ।

नेपालको अहिलेको समावेशी सिद्धान्तको बहस नै आदिवासीवादमा आधारित सर्भाइभल फर् अल (सबैका लागि जियाइ) नै हो । यस सन्दर्भमा नेपालको दीगो शान्ति र विकासको लागि समावेशिता भनेको तस्वीर ६ मा देखाइएको जस्तो समानता (equality) नभएर समता (equity) मा आधारित हो । यसको उदाहरणस्वरूप अघिल्लो अनुच्छेदहरूमा सिक्किम प्रान्तमा पंक्तिकारको मातृभाषा सिकाइको सकरात्मक समृद्धिलाई लिन सकिन्छ ।

नेपालमा पनि सिक्किममा जस्तो समतामूलक (equitable) अवसर मातृभाषीहरूले पाएको भए सिक्किममा १८ वर्षमा भएको भाषिक समृद्धि नेपालमा चाहिँ नहुने भन्ने नै हुँदैथ्यो । पंक्तिकार लगायतले सिक्किममा जतिको मातृभाषा सिकाइमा सेवा गर्ने अवसर पाएको भए आज किराँती-कोँइच वा १०४ भाषाकै वक्ता ९६५ हुने सम्भावना रहन्थ्यो भन्नेमा हामी आशावादी हुनुपर्दछ । एउटै कुरा के हो भने सिक्किममा गर्न सक्ने पंक्तिकारले नेपालमा गर्न नसक्ने प्रश्नै उठ्दैनथ्यो ।

राज्यको स्रोतसाधन बाँडफाँडको हिसाबले भाषिक पर्यावरण पातलिदै गएका १९४४ भाषाहरूलाई तस्वीर नं. ६ दायाँतिरको जस्तो समतामूलक (equitable) स्रोतसाधन लगानी (तस्वीर ६) गर्ने हो भने चीनले चन्द्रमामा कपास उमार्न गरेको प्रयास सरह (तुल. टेबल १ पनि) हुनेछ । चीनको मिसन त एक दिन सफल हुने सम्भावना छ तर नेपालका १०४ भाषाको समुन्नति प्रयास नाराकै भरमा मात्रै चाहिँ आधा शताब्दीे जतिको हाराहारीमा अन्तिम वक्ता समेत पनि पाउन नसकी भाषाहरू नै नेपाल आमाको मुहार र नेपाल धर्तीबाट पत्तासाफ हुने तथ्यमा दुई मत हुँदैन । त्यो तथ्य निश्चितै छ ।

यसरी भाषिक पर्यावरण बक्ल्याउनको लागि स्रोतसाधन बाँडफाँडमा सिक्किमको जस्तो समतामूलक (equitable) विधि अपनाइयो भने माथि टेबल १ को साइड ए मा प्रस्तुत गरिएको औपनिवेशका शुभ सङ्केतहरू क्रमशः देखा पर्न थाल्नेछन् र मातृभाषा सिकाइको सकरात्मक प्रभावहरू देखा पर्न थाल्नेछन् । भाषा आयोगको अस्तित्व, उद्देश्य र भाषा विकास आयोजनाहरूको दीर्घकालीन प्रभाव सम्झन लायकको हुनेछ ।

४. सान्दर्भिकता र व्यावहारिक पक्ष

पुरानो राज्य व्यवस्थाको सिद्धान्तबाट हामी अत्यन्तै कष्टपूर्ण तरिकाले नयाँ राज्य व्यवस्था सिद्धान्तमा प्रवेश गरेको अवस्था छ । आजको सङ्घीय परिवेशमा बाक्लो भाषिक पर्यावरण वा अवसरको सिर्जना गर्दै नेपालको भाषिक विविधता जोगाउन मातृभाषा सिकाइमा बढोत्तरी अति नै सान्दर्भिक छ । राज्य व्यवस्थाले यो गरेर देखाउनु पर्नेछ । तथापि पुरानो राज्य व्यवस्थाकै बिँडो थाम्दै सङ्घीय नेपाल राज्यको चरित्र सुध्रेर वेलफेयर स्टेट (welfare state<‘पोषक राज्य, टेबल १ साइड ए) हुनुभन्दा पनि भ्याम्पायर स्टेट (vampire state, ‘चुसक राज्य, टेबल १ साइड बी) कै जस्तो रहेको छ। विगतको एकल वर्चश्व भाषा योजना, जातीय असमावेशिता र असहिष्णुताले त्यही प्रमाणित गरेको देखिन्छ।नेपालको सङ्घीय राज्य व्यवस्था भ्याम्पायर स्टेटकै चरित्रमा चल्ने हो भने महँगो लोकतन्त्र ल्याउनुको खासै अर्थ रहँदैन ।

यस अर्थमा मातृभाषा सिकाइको लागि समुचित भाषिक पर्यावरण सिर्जना गर्नुको अर्को विकल्प छैन।यसको लागि राज्यको स्रोतसाधन बाँडफाँडमा समतामूलक विधि अपनाउनै पर्ने हुन्छ। माथि भाषा नक्सा १ मा प्रस्तुत भएका भाषाहरूको विशेष पकेट क्षेत्रमा हिजो नेपाली भाषा सिके जस्तै आज त्यहाँको स्थानीय भाषा सिक्ने/सिकाउने, लेख्ने÷लेखाउने परिवेश सिर्जना गर्दा भाषिक पर्यायवरण बाक्लिँदै जान्छ ।समाजमनोवैज्ञानिक असर पर्ने हिजोको जस्तो गाई खाने भाषा वा मान्छे खाने भाषाको निरुत्साहनलाई प्रोत्साहन गर्नको लागि त्यस मातृभाषामा राज्यद्वारा गरिने व्यवहारमा नै भर पर्ने हुन्छ । सिक्किमको मरणासन्न एक स्थानीय मातृभाषा किराँती-कोँइचलाई दिइएको जस्तो अवसर नेपालमा पनि दिने हो भने आफ्नो भाषा बोल्दा वा सिक्दा लजाउनु पर्ने स्थितिमा अवश्य पनि बदलाव आउने सम्भावना रहन्छ । यो राज्यमा हामी पनि बस्छौँ, हाम्रो पनि अस्तित्व छ, हाम्रो पनि राज्यको सम्पर्क भाषाजस्तै आफ्नै मातृभाषा छ भन्ने चेतना जगाउन राज्यको चरित्र भ्याम्पायरबाट वेलफेयरमा परिणत हुनु नितान्तै आवश्यक छ । ऐतिहासिक रूपमै आजसम्म राज्यको चुसक (भ्याम्पायर) चरित्रले नै मातृभाषा सिकाइको व्यवहारिकतामा कठिनाइ सिर्जेको छ ।

५.समस्या विश्लेषण तथा समीक्षा

लामो कालखण्डको ऐतिहासिक विभेदीकरणले गर्दा मातृभाषीहरूबीच आफैँ पनि समाजमनोवैज्ञानिक विशृङ्खलता (trauma) कायमै छ । १०४ राष्ट्रिय मातृभाषाहरूको मात्रै ४५ मातृभाषीहरू बाँकी रहनु त्यसैको नतिजा हो । समाजमनोवैज्ञानिक ट्रमामै रहेका कुनै मातृभाषीले “मेरो मातृभाषामा साहित्य लेख्यो भने कसले पढ्छ र ? भनी कान्तिपुर दैनिकमा अन्तर्वार्ता छपाएपछि नै पुरस्कार पाइने नजीर छ हाम्रो समाजमा ।मातृभाषामा लेख्दा पुरस्कार पाइने वातावरण वा पर्यावरण नै छैन।दाता सङ्घसंस्थाको पनि खेडेरी नै छ।भएको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानजस्तो संस्थाको पनि हविगत नै छ। झर्ला र खाउँला भन्नुभन्दा पनि दीर्घकालीन सोचमा स्रोतसाधन जुटाउनतिर लाग्न अबेर भइसकेको छ।मातृभाषामा शिक्षा नै नभएपछि साहित्य सिर्जना, पाठ्यसामग्री र शिक्षक/शिक्षिकाहरू नै चाहिएन । आजको हाम्रो स्थिति त्यही छ ।

९६% वक्ता भएका सीमित १० भाषाहरूका केही रूपमै भए पनि त्यस्ता सिर्जनात्मक साहित्य, पाठ्यसामग्रीहरू र शिक्षा पनि उपलब्ध छ । यद्यपि राष्ट्रिय मातृभाषाहरूको संस्थागत सबलीकरणका लागि राष्ट्रभाषा पुस्तकालय, विद्यालय, महाविद्यालय, विश्वविद्यालय नहुनु लाजै मर्दो स्थिति हो ।

नेवाः, मैथिली, संस्कृत आदिको महाविद्यालय र विश्वविद्यालयमा शैक्षिक अवसर पनि छ । संस्कृतको लागि त विश्वविद्यालय नै छ । नियमित राज्यको स्रोतसाधन बाँडफाँडको हिसाबले पनि ठूलै धनराशी खर्चिएको अवस्था छ । ती भाषाहरूको भाषिक पर्यावरण तुलनात्मक रूपले राम्रै छ । बाँकी १०४ भाषाको बारेमा राज्य बेखबर जस्तै छ । अझ कतिपयलाई त नेपाली भाषालाई अङ्ग्रेजीले विस्थापन गर्न लागेको कुरामा अति नै चिन्ता छ । आफ्नो देशको कार्यालयीय तथा राष्ट्रका मातृभाषाहरूको सबलीकरणमा सुको पनि स्रोतसाधन विनियोजन नगर्ने अनि ट्रिलियन डलरको व्यवसाय गर्ने अङ्ग्रेजीलाई दोष लगाएर नेपालका भाषिक तथा सांस्कृतिक सम्पदाहरूको समृद्धि हुने हो र ? अवश्य होइन ।

कार्यालयीय तथा सम्पर्क भाषा नेपालीकै संस्थापिच्छे एवम् लेखकपिच्छेकै पेवा हिज्जे हुनाले शिक्षार्थी वर्ग र सिकारुहरूमा असहज वा मर्का परेको छ सिकाइमा । त्यही रोग राष्ट्रका मातृभाषाहरूको लेखन व्यवस्थामा सरेर दीर्घ (chronic) समस्या देखा पर्दैछ।आत्मआलोचना गर्दै आफैँले सुधार्नुपर्ने प्रसस्तै स्थान छ।आफैँ सुध्रनु नै समस्या समाधानको अतिउत्तम उपाय हो ।

६. समाधानका विकल्प              

बौद्धिकसँगै मातृभाषाको कुपोषण नै नेपाली समाजको राष्ट्रिय चरित्र बन्न गएकाले विगतमा भएका निरुत्साहन (harassment) का दुर्घटना, घटना र परिघटनालाई आत्मसात् गर्दै चाँडोभन्दा चाँडो सुधार गर्नका लागि आदिवासीवादी वैज्ञानिक सोच तथा व्यवहार सर्भाइभल फर् अल (survival for all) लाई सामाजिक न्यायको आधारमा राज्यले स्रोतसाधन बाँडफाँड गर्दा समतामूलक (equitable) वितरण (तस्वीर ६) नै सबैभन्दा उत्कृष्ट समाधानको विकल्प हो । अनि मात्रै सर्भाइभल फर् अलसँगै सबैको लागि अवसर सिर्जना हुन्छ।यसो हुनु भनेको राज्यको चुसक (vampire) चरित्र कल्याणकारी (welfare) चरित्रमा परिणत हुनु हो । यस्तो रूपान्तरण मात्रै समाधानको एक उचित विकल्प हो।

स्रोतसँगै बौद्धिक सत्तामा पहुँचको लागि पनि अवसर नै महत्वपूर्ण खुड्किलो हो । अवसरबाट बञ्चित हुनुको कारणले नै आफ्नो मातृभाषा सिकाइ र समुन्नतिमा लाग्न सहभागिता शून्य स्थितिमा भाषिक पर्यावरणमा सुधार ल्याउन असम्भव प्रायः हुन्छ ।

७. निष्कर्ष

बोटबिरुवाको बीउ उमार्न समुचित पर्यावरण (अक्सिजन, मल, जल, वायु आदि तत्व) को नितान्तै आवश्यक भएजस्तै भाषा बचाउन तथा यसको विकास गर्न समुचित भाषिक पर्यावरण नभई हुँदैन । किनभने बोटबिरुवाजस्तै भाषा पनि लिभिङ अर्गानिज्म (living organism) हो। बोटबिरुवालाई अक्सिजन, मल, जल, वायु आदि तत्व आवश्यक भएझैँ भाषाको भाषिक पर्यावरण तन्दुरुस्त राख्न पनि आदिवासीवादी वैज्ञानिक सोच तथा व्यवहारमा आधारित समतामूलक स्रोतसाधनको बाँडफाँड एवम् लगानी जरुरी हुन्छ । यसका लागि राज्यको चरित्र र व्यवहार चुसक नभएर पोषक हुनु नितान्तै आवश्यक छ । भाषिक पर्यावरण नास भयो भने मातृभाषाको मरुभूमीकरण हुन्छ। त्यस समयमा नेपाल बहुभाषिक मुलुक हो भनी चर्चा गर्नु अर्थहीन हुने भएकाले मातृभाषा सिकाइमा भाषिक पर्यावरणको समुचित संरक्षणको आवश्यकता पर्दछ। यसमा आजै गम्भीर भएर अघि बढौँ । दिगो शान्ति र समृद्धिको मात्रै एक मन्त्र सर्भाइभल फर् अल नै हो । यसको खातिर स्रोतसाधनको समतामूलक वितरण प्रणाली नै उचित हो ।

 

(लेखक भाषाविद्, अध्येता एवम् स्वतन्त्र अनुसन्धानकर्ता हुनुहुन्छ)

सन्दर्भसूची

गुरुङ, हर्क (इ. २००६), ‘भाषा-भाषिका सम्बन्धमा, विषय विविध (प्रतिनिधि लेख-रचनाहरू), पाटनढोका, ललितपुरः हिमाल किताब ।

………… (ई.२००४, वि.सं. २०६१), जनजातिको सेरोफेरो, काठमाडौः नेपाल आदिवासी जनजाति महासङ्घ ।

रापचा, लाल-श्याँकारेलु (ई. २००९) नेपालको आदिवासी किराँती जाति सेरोफेरोः ओल्लो, माझ र पल्लो किरात, काठमाडौः  किरातविज्ञान अध्ययन संस्थान ।

रापचा, लाल-श्याँकारेलु र अरू (ई. २००८), इन्डो-नेपाल किराँती भाषाहरूः विगत, समकालीन परिवेश र भोलिका चुनौतीहरू, काठमाडौँः किराँतविज्ञान अध्ययन संस्थान ।

रापचा, लाल-श्याँकारेलु, आर.वी. रूजिचा-मुखिया र के.डी. ङावचा-मुखिया (ई. २००४), किराँती-कोँइचआ थेःसी ख्योँपत (आधारभूत किराँती-सुनुवार पाठ)। सिक्किमः सिक्किम कोँइचबु ।

………….(ई.२००३ ए), किराँती-कोँइच ब्लेःसेथेँका (किराँती-सुनुवार अल्फावेट), सिक्किमः सिक्किम कोँइचबु ।

…………….(ई. २००३वी.), किराँती-कोँइचआ थेःसी तरन्दो (आधारभूत किराँती-सुनुवार व्याकरण), सिक्किमः सिक्किम कोँइचबु ।

Bradley,David. 1997.Tibeto-Burman Languages and classification. Papers in Southeast Asian linguistics No.14:[Tibeto-Burman Languages of the Himalayas] 1-72.

Cajete, Gregory. 2000. Native Science : Natural Laws of Interdependence. Santa Fe, New Mexico: Clear Light Publishers.

Chung, Sae Hoon Stan.2019. The Courage to Be Altered: Indigenist Decolonization for Teachers, New Directions for Teaching and Learning, # 157, Spring 2019 © 2019 Wiley Periodicals, Inc. Published online in Wiley Online Library (wileyonlinelibrary.com) • DOI: 10.1002/tl.20327.

Chomsky, Noam. 1965. Aspects of the Theory of Syntax.Cambridge, Massachusetts: MIT Press.

Darwin, Charles. 1859.On the Origin of Species. London: John Murray, Albemarle Street.

Rapacha, Lal.2000. A Descriptive Grammar of Kiranti-Kõits.PhD Thesis, Centre for Linguistics and English, School of Languages, Literature and Culture Studies, Jawaharlal Nehru University, New Delhi.

—–. 2001d. Modification,reformation and systematization of Jẽ:ticha Bre:se. A paper presented on the occasion of the 5th Sunuwar Language Day, Gangtok, 15 October [revised in March 2002a].

 

You might also like