भाषिका, क्षेत्रीय भाषिका र सामाजिक भाषिका

  

 भाषिका, क्षेत्रीय भाषिका र सामाजिक भाषिका

प्रा.डा.जीवेन्द्रदेव गिरी

१. भाषिका

भाषिकालाई चिनाउन निम्न लिखित कुराहरूमा ध्यान दिनु उपयुक्त हुनेछः

१.१ भाषिक भेदका रूपमा भाषिका

भाषिका भनेको कुनै भाषाको भौगोलिक वा सामाजिक भेद हो । भौगोलिक भेदलाई नै क्षेत्रीय भेद भनिन्छ । भाषाका अन्य प्रकारका भेदहरू हुने भए तापनि यिनै दुई भेदलाई भाषिका भन्ने गरिन्छ । अझ भाषिकाका रूपमा सुरुदेखि चिनिँदै आएको त क्षेत्रीय भाषिका नै हो र सुरु सुरुमा भाषिकाको अध्ययन यसैमा केन्द्रित रह्यो तर वर्तमान विश्वमा सामाजिक भाषिकाले पनि उत्तिकै महत्त्व पाएको छ । भाषाका अन्य प्रकारका भेदहरु पनि हुन्छन् । जस्तै;  विषयसँग सम्बन्धित  कानुनी भेद, प्रशासनिक भेद, वाणिज्य सम्बन्धी भेद, विज्ञान प्रविधि सम्बन्धी भेद आदि । तर यिनलाई भाषिका नभनेर प्रयुक्ति (Register)भनिन्छ । भाषिकाको  अध्ययन भाषिका विज्ञान (Dialectoloy)ले गर्दछ ।

.२.उत्पत्तिका कारण

(क) भौगोलिकता

(ख)सम्पर्कको कमी

(ग)वक्ताहरूको सङ्ख्या

(घ)समयको अन्तराल

(ङ)भाषाद्वीपको स्थिति

(च) बसाइसराइ

(छ)बहुभाषिकता

(ज) सामाजिक अवस्था

(झ) राजनैतिक अवस्था

१.३ भाषा र भाषिकामा भिन्नता

भाषा र भाषिकाका भिन्नतालाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ः

(क) कुनै भाषाका क्षेत्रीय  र  सामाजिक भेदहरु भाषिका हुन् भने विभिन्न भाषिकाहरुको समष्टि  भाषा हो । नेपालीका पुर्बेली, माझाली, ओरपच्छिमा, मझपच्छिमा र परपच्छिमा भेदहरु भाषिका हुन् भने तिनको समष्टि भाषा हो ।

(ख) भाषिकाहरू परस्पर बोधगम्य हुन्छन् भने भाषा भाषाका बिच परस्पर बोधगम्यता रहँदैन ।

(ग) भाषाको क्षेत्र त्यसका भाषिकाको भन्दा व्यापक हुन्छ ।

(घ) भाषिकाको प्रयोग प्रायः कथ्यमा सीमित हुन्छ भने भाषाको प्रयोग कथ्य र लेख्य दुबैमा हुन्छ ।

.(ङ) भाषाको विस्तारबाट भाषिकाको जन्म हुन्छ भने भाषिका विकसित भएर भाषा पनि बन्दछन् ।

(च)भाषिका कथ्य रूपमा रहने भएकाले परिवर्तनको गति तीव्र हुन्छ भने भाषाको लेख्य      रूपका कारण परिवर्तनको गति अपेक्षकृत मन्द हुन्छ ।

(छ) सामान्यतः भाषिकाको स्तरीय भेदलाई भाषा भन्ने गरिन्छ र प्रशासन, सञ्चार, शिक्षा आदिमा त्यसको प्रयोग गरिन्छ तापनि स्तरीय भेद पनि एक प्रकारको भाषिका नै हो ।

१.४ भाषिका निर्धारणका आधार

भाषिका निर्धारणका मुख्य आधारहरू यस प्रकार छन्-

(क) बोधगम्यता

बोधगम्यता भाषिका निर्धारणको एक प्रमुख आधार मानिन्छ । कुनै एउटा भाषाका दुई भेद बोल्नेहरुले एक अर्काको कुरा बुझ्छन् भने ती दुईले बोल्ने भेदहरु एउटै भाषाका भाषिकाहरु कहलाउँछन् भने एक अर्काका कुरा बुझ्दैनन् भने ती भिन्न भिन्न भाषा मानिन्छन् । अझ के पनि भनाइ छ भने कुनै भाषाको  भेदमा ५० प्रतिशतभन्दा अधिक बोधगम्यता छ भने त्यो सम्बन्धित भाषाको भाषिकामा समेटिन्छ तर त्यसभन्दा कम बुझिन्छ भने त्यो अलगै भाषा मानिन्छ । ८१ प्रतिशतभन्दा बढी शब्दहरू बोधगम्य भए भने कुनै बोली सम्बन्धित भाषिकाको सीमाभित्र पर्छ भन्ने मान्यता अमेरिकाली भारतीय भाषाका सन्दर्भमा स्वादेसले बनाएको पाइन्छ तर यो मान्यता पनि सर्वत्र लागु हुन सकेन । त्यसैले बोधगम्यताको मात्रा किट्ने काममा जटिलता रहन गएको छ तापनि भाषिका निर्धारणमा यो धेरै महत्त्वपूर्ण आधारका रूपमा रहेको छ ।

(ख) सांस्कृतिक सन्दर्भ तथा राष्ट्रियता

बोधगम्यता कम भए पनि सांस्कृतिक सन्दर्भ र राष्ट्रियतालाई ख्याल गरेर कतिपय भाषिक भेदहरुलाई एउटै भाषाका भाषिका मानिएको पाइन्छ । भारतमा अवधी, बघेली, छत्तीसगढी आदि हिन्दीका भाषिका कहलाउनु अनि चीनमा क्यानटोन, हाक्का, ऊ र मन्दारिनबिच कम बोधगम्यता भएर पनि एउटै भाषासँग सम्बन्धित भाषिका मानिनुको कारण सांस्कृतिक सन्दर्भ र राष्ट्रियता नै हो ।

(ग) राजनैतिक सीमा

एउटै भाषाका भेदहरूमा परस्पर बोधगम्यता भए पनि भिन्न भिन्न राजनैतिक सीमा छ भने अलग अलग भाषाका रूपमा अस्तित्वमा रहेको पनि पाइन्छ । जस्तै; हिन्दी र उर्दू तथा कुमाउनी र डोट्यालीका बिच परस्पर बोधगम्यता भए पनि ती बेग्लाबेग्लै भाषाका रूपमा परिचित छन् । भाषाविद् म्याक्स वेनरिचको मार्मिक भनाइ छ, ”भाषा भनेको  सेना र जलसेना सहितको भाषिका हो ।“

२.क्षेत्रीय भाषिका

क्षेत्र वा भूगोलमा आधृत भाषिक भेद नै क्षेत्रीय भाषिका हो । त्यसैले यो खास स्थानमा बस्ने खास व्यक्तिहरु वा एकभन्दा बढी व्यक्तिहरुको समुदायले बोल्ने भाषिका हो ।  भाषिकाको कुरा गर्दा कतिपयले क्षेत्रीय भेदलाई नै भाषिकाका रूपमा लिन्छन् । भाषिक (Linguistic Geography), भाषिका भूगोल (Dialect Geography), क्षेत्र भाषा ( Area Linguistics), क्षेत्रीय भाषा विज्ञान (Areal Linguistics) आदि सबैको सम्बन्ध क्षेत्रीय भाषिकासँग छ । विकट पहाड, अगम्य हिम शृङ्खला, विशाल मरुभूमि, पार गर्न कठिन नदी र सागर, घना जङ्गल आदिका कारण आवागमन र सम्पर्कमा आउने कमीले गर्दा एउटै भाषा बोल्नेहरुका बोलीमा अनेकता आउँछ र क्षेत्रीय भाषिकाको जन्म हुन्छ । नेपालमा बोलिने नेपाली, मैथिली, भोजपुरी, थारु, तामाङ, नेवार, अवधी, मगर, लिम्बू, राई, गुरुङ आदि भाषाका विभिन्न क्षेत्रीय भाषिका छन् ।

२.१ भाषा, भाषिका, उपभाषिका र व्यक्ति बोली

.भाषिकाले एकातिर भाषाको सीमालाई स्पर्श गर्दछ भने अर्कातिर व्यक्ति बोलीसम्म पहुँच राख्तछ।कुनै एक भाषिक क्षेत्रमा बस्ने एकभन्दा बढी व्यक्तिहरूको बोलीबाट भाषिकाको अस्तित्व देखा पर्दछ ।व्यक्ति बोलीबाट उपभाषिका र उपभाषिकाबाट भाषिका बन्दछन् र तिनको समग्रता भाषा कहलाउँछ।व्यक्तिले कुनै एक निर्धारित समयमा बोल्ने बोली नै व्यक्ति बोली हो । व्यक्तिबोलीलाई व्यक्ति भाषिका पनि भनिएको पाइन्छ ।

२.२ क्षेत्रीय भाषिकाको अध्ययन

सम्बन्धित  भाषिकाका ध्वनि, रूप, वाक्य, अर्थ र शब्दावलीको आधार लिएर विभिन्न व्यक्तिहरुले बोल्ने बोलीबाट तथ्यहरुको सङ्कलन गर्दै भाषिकाका स्थानीय विशेषताको  अध्ययन गरिन्छ । प्रश्नावली, ध्वन्याङ्कन यन्त्र आदि आवश्यक सामग्री र सहयोगीहरू लिएर अध्ययन क्षेत्रमा पुगिन्छ । तथ्य सङ्कलनका लागि उपयुक्त स्थान र सूचकहरूको चयन गरिन्छ र प्रश्न, अन्तर्वार्ता, निरीक्षण, अवलोकन, विमर्श, मौखिक सामग्रीको ध्वन्याङ्कन आदिबाट तथ्यहरुको सङ्कलन गरिन्छ । तथ्यहरुलाई केलाएर भाषिकाहरुका समानता र असमानताको विश्लेषण गरिन्छ । भाषिकाको अध्ययन वर्णनात्मक, तुलनात्मक वा ऐतिहासिक जुनसुकै पद्धतिले पनि गर्न सकिन्छ।सूचकहरूलाई प्रश्नावली पठाएर तथ्याङ्कहरुको सङ्कलन गर्ने परम्परा पनि रहेको छ तर  क्षेत्रकार्यबाट सामग्री सङ्कलन गर्नु नै उत्तम मानिन्छ ।

२.३ भाषिका निरन्तरता

भाषिका निरन्तरता (Dialect continuum) क्षेत्रीय भाषिकाको अध्ययनमा एक महत्त्वपूर्ण पक्ष हो । सीमा जोडिएका क्षेत्रमा एक क्षेत्रका वक्ताले बोलेको भाषिका अर्को क्षेत्रको वक्ताले बुझ्ने स्थिति भाषिका निरन्तरता हो । जति निकटता उति बोधगम्यता अखण्डित हुनुमा भाषिक तत्त्वहरुको समानताको मात्रा बढी हुनु स्वाभाविक छ । यसरी नै जति दूरता उति बोधगम्यता खण्डित हुँदै जानुमा पनि भाषिक तत्त्वहरुको विभेदताको मात्रा बढी  हुनु हो भन्ने कुरा स्पष्ट छ  ।

२.४ समभाषांश रेखा, सम्मिलन क्षेत्र, सीमाङ्कन र नक्साङ्कन

समभाषांश रेखाहरू (Isoglosses) भनेका भाषिक क्षेत्र छुट्याउने काल्पनिक रेखाहरु हुन् । अध्ययनमा प्रयोग भएका ध्वनि, रूप, वाक्य, अर्थ, शब्द आदि भाषिक तत्त्वका आधारमा यस्ता रेखा कोरिन्छन् । यी रेखा ज्यामितिका जस्ता मसिना  नभएर मोटामोटी रूपमा भाषिक क्षेत्र सङ्केत गर्ने रेखाहरु हुन् । वास्तवमा दुई वा बढी भाषाहरूको मिलन हुने  सम्मिलन क्षेत्रमा विभिन्न भाषिक तत्त्वका आधारमा कोरिएको यस्ता रेखाहरुको गुजुल्टो देखा पर्दछ। सम्मिलन क्षेत्र पनि थरी थरीका हुन्छन् । कुनैमा एक  भाषाका तत्त्वहरु अर्को भाषाका क्षेत्रमा पर परसम्म पुगेका हुन्छन् भने कुनैमा वरै रहेका हुन्छन् । उदाहरणका लागि नदीको पुल भएका ठाउँमा आवागमनको सुविधाले ती पर पर पुग्न सक्छन् भने सो सुविधा नभएका ठाउँमा वरै रोकिन्छन् । यी रेखाहरूका आधारमा सीमाङ्कन गर्दै भाषिका क्षेत्र निर्धारण गर्ने नक्सा तयार गरिन्छ ।

२.५ अध्ययनको प्रयोजन

यो पनि पढ्नुहोस

क्षेत्रीय भाषिकाको अध्ययनबाट भाषिक क्षेत्र त लाभान्वित  हुने नै भयो, नीति निर्माताहरु पनि लाभान्वित हुन्छन् । यसका आधारमा सम्बन्धित भाषिकाका विशेषता प्रकाशमा आउँछन् र वाङमयकोश व्याकरण लगायतका सामग्री प्राप्त गर्न सक्छ । भाषिकाको वस्तुनिष्ठ र वैज्ञानिक सर्वेक्षण एवम् सीमाङ्कनका साथै वक्ताहरूको स्थिति पनि थाहा हुने हुनाले यसमा राजनैतिक, आर्थिक, सांस्कृतिक, सामरिक, कूटनैतिक र समाज शास्त्रीय महत्त्व अन्तर्निहित छ । भाषिकाका वक्ताहरूमा आत्मसम्मान जगाउँदै परस्पर एकता र सुसम्बन्ध स्थापनामा पनि यसले योगदान गर्मछ ।

३.सामाजिक भाषिका

समाजमा रहेका  विभिन्न सामाजिक समूह वा वर्गहरुले  बोल्ने भाषिका नै सामाजिक भाषिका हो । सामाजिक वर्ग, जातजाति, धर्म, लिङ्ग, शिक्षा, बसाइको स्थिति, उमेर, पदप्रतिष्ठा, औपचारिकता आदिका  आधारमा सामाजिक भाषिकाका भेदहरू उत्पन्न हुन्छन् । क्षेत्रीय भाषिकामा एउटै तह र दिशा रहन्छ भने सामाजिक भाषिकामा  अनेक तहका भेदहरु रहन्छन् । त्यसैले समतलीय (Horizontal) विविधता रहने क्षेत्रीय भाषिकाभन्दा तहीय (Verticle) विविधता रहने सामाजिक भाषिका जटिल र बहुआयामिक मानिन्छ । यसमा  समाजको बनोटमा जति धेरै विविधता छ उति नै बढी भाषिकागत विविधता पाउन सकिन्छ । कस्तो व्यक्तिले कहाँ बसेर कोसँग कुरा गर्दै छ भन्ने कुराले सामाजिक भाषिकामा महत्त्वपूर्ण भूमिका खेल्दछ र कुराकानीमा तदनुरूप उच्चारण, शब्द चयन, शैली र विषयवस्तुको प्रतिपादन हुन्छ । सामाजिक भाषिकाकालाई विभिन्न आधारमा निम्न अनुसार वर्गीकृत रूपमा प्रस्तुत गर्न सकिन्छ

३.१ सामाजिक वर्गको आधार

उच्च सम्भ्रान्त वर्ग र निम्न वर्गको भाषिकामा अन्तर रहन्छ । जस्तै;

उच्च वर्ग: बुबा भुजा जिउनार गरि बक्सिन्छ ।

निम्न वर्ग: बा भात खान्छन् ।

३.२ जातजातिको आधार

तथाकथित उच्च जातजातिका व्यक्ति र दलित र निम्न ठानिएका जातजातिका व्यक्तिले प्रयोग गरेका भाषिकामा अन्तर रहेको पाइन्छ । जस्तै;

तथाकथित उच्च जातजातिः लोहार, ह्याँ आइज ।

दलित र तथाकथित निम्न जातजातिः बाबु साहेब, यता पाल्नु होस् ।

३.३ धर्मको आधार

बौद्ध, हिन्दु, इसाई, मुसलमान आदि विभिन्न धर्मावलम्बी व्यक्तिहरूले प्रयोग गर्ने भाषिकामा आआफ्नै विशेषता हुन्छन् । जस्तै;

बौद्ध: म नित्य विहारमा जान्छु ।

हिन्दु: म नित्य मन्दिरमा जान्छु ।

इसाई: म डेली चर्चमा जान्छु ।

मुसलमान: म हर रोज मस्जिदमा जान्छु ।

हिन्दुहरूले संस्कृत स्रोतकाका, इसाईहरुले अङ्गे्रजी स्रोतका र मुसलमानहरूले अरबी फारसी स्रोतका शब्दहरूको बढी प्रयोग गर्दछन् र अन्य भाषिक विशेषताबाट पनि प्रभावित रहेका पाइन्छन् ।

३.४ शिक्षाको आधार

पढेलेखेका र पढलेख नगरेका व्यक्तिका भाषिकामा अन्तर रहन्छ । जस्तै;

शिक्षित: उहाँले विद्याबारे प्रकाश पार्नु भयो ।

सामान्य: ह्वाँले बिद्देदबारे पर्कास पार्नु भयो ।

३.५उमेरको आधार

बालबालिका र प्रौढका भाषिकामा अन्तर रहन्छ । जस्तै;

बालबालिका: बाँको बुबु खान्छु ।

प्रौढ: गाईको दुध खान्छु ।

३.६ बसाइको स्थितिको आधार

कुनै व्यक्ति सहर वा गाउँ कस्तो परिवेशमा बस्छ भन्ने आधारमा पनि भाषिक भेद देखा पर्छ।सहरमा बस्नेहरू प्रायः स्तरीय भाषिकाको प्रयोग गर्छन् भने गाउँमा बस्नेहरु आआफ्नै परिवेशको भाषिका बोल्छन् । जस्तै;

गाउँले: काँट आयौ जेठा ह्याँ ?

सहरिया: कहाँबाट आयौ जेठा यहाँ ?

३.७ पद प्रतिष्ठा वा शक्तिको आधार

पद प्रतिष्ठा वा शक्तिका कारणले भाषिकागत भेद देखा पर्छ । जस्तै;

हाकिम: सन्ते, चिया ल्या ।

पियन: हस्, हजुर ।

३.८ लिङ्गको आधार

पुरुष र स्त्रीले प्रयोग गर्ने भाषिकामा पनि भिन्नता देखा पर्छ । जस्तै;

पति: सुशीला, तँ घरमा बस् ।

पत्नी: रामुका बा, तपाईं घरमा बस्नुहोस् ।

३.९ औपचारिकताको आधार

औपचारिक र अनौपचारिक प्रयोगले भाषिकामा भिन्नता उत्पन्न हुन्छ । सभा समारोह, बैठक आदिमा स्तरीय र औपचारिक भाषिकाको प्रयोग हुन्छ भने घर परिवारका सदस्यहरु,  साथीभाइ आदिसँगका कुराकानीमा अनौपचारिक भाषिकाको प्रयोग हुन्छ । जस्तै;

समाराहको सञ्चालक: प्रमुख अतिथिज्यूलाई आसन ग्रहण गर्न अनुरोध गर्दछु  ।

सामान्य कुराकानीको वक्ता: तपाईं आफ्ना ठाउँमा बस्नोस् ।

५.समापन

भाषाका भेदका रूपमा रहेका क्षेत्रीय र सामाजिक भाषिकामा कुनै पनि भाषाका महत्त्वपूर्ण अमूल्य सामग्री सुरक्षित रहेका हुन्छन् । यिनको अध्ययन र जानकारीबाट राष्ट्र र समाज विशेष रूपमा लाभान्वित हुन्छ । भाषिका भनेको निम्न तहको भाषिक अभिव्यक्ति र भाषा भनेको उच्च तहको अभिव्यक्ति हो भन्ने भ्रम पनि कताकति रहेको पाइन्छ तर भाषिक दृष्टिमा संसारको जुनसुकै भागमा होस् , सहरमा वा गाउँमा, मैदानमा  वा पहाडमा, मरुभूमिमा वा टापुमा, दरबारमा वा छाप्रामा जहासुकै बोलिने भए पनि सबै भाषिक भेद अमूल्य छन् । तिनको संरक्षण, अन्वेषण र संवर्धन  हाम्रो दायित्व हो ।

स्रोतः भाषा आयोगको तालिममा प्रदान गरिएको कक्षापत्र ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

You might also like