लोकवार्ता र यसको अध्ययन तथा संरक्षण

लोकवार्ता र यसको अध्ययन तथा संरक्षण

प्रा.डा.चुडामणि बन्धु

लोक, वार्ता र लोकवार्ता

अङ्ग्रेजी भाषाको फोकलोर (folklore) शब्दको नेपालीमा लोकवार्ता शब्दको प्रयोग गरिन्छ।अङ्ग्रेजी भाषाको फोक (folk) को समानार्थी शब्द लोक शब्दको प्रयोग गरिएको छ।लोक शब्दले गाउँ र शहर दुवै क्षेत्रमा बस्ने सामान्य जनसमुदायलाई समेटेको छ।तर लोक आभिजात्य संस्कार, शास्त्रीयता र पाण्डित्य चेतनारहित भई परम्पराको प्रवाहमा जीवित रहन्छ ।वार्ता शब्द अङ्ग्रेजी भाषाको लोर (Lore)  का निम्ति आएको छ । यसको अर्थ होज्ञान अथवा जान्नुपर्ने कुरा । यसरी लोकवार्ताको अर्थ भयो- सामान्य जनताको ज्ञान । लोकवार्ताको निम्ति लोकसंस्कृति शब्दको पनि प्रयोग गरिएको छ।लोकको ज्ञानलाई यहाँ ४ क्षेत्रमा राखिएको छः क) मौखिक लोकवार्ता ख) सम्पादनमूलक लोकवार्ता ग) व्यवहारमूलक लोकवार्ता घ) भौतिक लोकवार्ता ।

लोकवार्ताको कुरा गर्दा मौखिक लोकवार्तामा जोड दिने चलन व्याप्त छ । त्यसैकारण केही विद्वानहरूले लोकसाहित्यका अर्थमा लोकवार्ता शब्दको प्रयोग गरिएको पाइन्छ ।लोकवार्तलाई सम्पदामा पनि  समेट्ने प्रयास गरिएको छ । युनेस्कोले मूर्त र अमूर्त सांस्कृतिक  सम्पदा भनी वर्गीकरण गरेको छ । युनेस्कोको सन् २००३ मा भएको महासभामा अमूर्त सांस्कृतिक सम्पदाको बचाउका निम्ति प्रस्ताव पारित गर्‍यो र त्यसमा अमूर्त सांस्कृतिक सम्पदाका रूपमा लोकवार्ताका निम्न लिखित पक्षहरूलाई समेटेको छः

  • मौखिक परम्परा र अभिव्यक्तिहरू (oral traditions and expressions, including language as a vehicle of the intangible culture heritage ख) सम्पादनकारी कलाहरू (Performing arts) ग) सामाजिक व्यवहारहरू, अनुष्ठानहरू र पार्विक घटनाहरू (Social practices, rituals and festive events) घ) प्रकृति र विश्वसम्बन्धी ज्ञान र प्रयोगहरू (Knowledge and practices concerning nature and the universe), ङ) परम्परागत शिल्पकला ( Trational craftsmanship)  । नेपालले सन् २०१९ मा यसको समर्थन गर्‍यो र यसका निम्ति आफ्नो सांस्कृतिक नीति निर्माण पनि गरेको छ ।

लोकवार्ता क्षेत्र विभाजन

बहुसांस्कृतिक नेपालको सन्दर्भमा नेपाली लोकवार्ता क्षेत्रलाई चार प्रकारमा विभाजन गरिएको छः क) मौखिक परम्परा (Oral traditions) ख) सम्पादनमूलक लोककलाहरू (Performing folkarts) ग) व्यवहारमूलक लोकवार्ता (Behavioural folklore) घ) भौतिक लोकवार्ता (Material folklore) . मौखिक परम्परालई मौखिक लोकवार्ता भनिन्छ।भाषाका माध्यममा हुने लौकिक अभिव्यक्ति, लोकगाथा, लोक कविता, लोककथा, चुटकिल, उखान र गाउँखाने कथा आदि पर्दछन्।सम्पादनमूलक लोककलामा नृत्य, गीत, खेल, चटकर लोकनाटक आदि पर्दछन् भने भौतिक लोकवार्तामा मूर्त संस्कृतिअन्तर्गतका विषुय पर्दछन् ।यसमा पनि एकथरि घर र घरेलु वस्तु, कृषि, पशुपालन, घरेलु उपयोगका सामग्री जस्ता व्यवहारोपयोगी वस्तु छन् भने अर्काथरि भाँडाकुँडा, गरगहना, बाजागाजा जस्ता सामग्री पनि छन्।हाम्रा चालचलन, रीतिस्थिति, चाडपर्व, मूल्यमान्यता र विधिविधानका कुरा भने व्यवहारमूलक लोकवार्ता अन्तर्गत राखिएका छन् ।

  • मौखिक लोकवार्ता

वि.सं.२०६८ मा भएको नेपालको जनगणनामा नेपालमा १२३ भाषाहरू छन् । एथ्नोलग (२०१६) ले नेपालमा बोलिने १०२ भाषाहरूको नाम दिएको छ।मौखिक लोकवार्तामा भाषा, भाषाका नाम र वैकल्पिक नामहरू, लोक व्युत्पत्तिका कुरा, भाषा र जातिसँग जोडिएको किम्बदन्ती र कथाहरू पर्छन् ।भाषाको समाजभाषिक अध्ययनको क्रममा भाषागत विविधता, क्षेत्रीय र सामाजिक भाषिका, विभिन्न कार्यमा त्यस भाषाको प्रयोग, आदर, अभिवादन, मान अपमान र अन्य विविध सन्दर्भमा भाषाको प्रयोग, लेखन पद्धति, साक्षरताको स्थिति, मानकीकरणका विविध प्रयासहरू आदिबारे पनि व्यवस्थित अध्ययन गर्नुपर्ने हुन्छ । मौखिक परम्पराकै रूपमा कविता, गाथ र काव्य, कथा, चुटकिला, उखान, टुक्का र मन्त्रहरू पर्दछन् ।

  • सम्पादनकारी लोककला

नेपालका विविध जातिको लोक नाच र लोकनाटकहरू प्राचीनकालदेखि नै प्रचलनमा रहेका छन् । विभिन्न भाषाका लोकगीत र सङ्गीत, लोकनाच र लोकनाटक तथा खेल मनोरन्जनका अन्य प्रकारहरू पनि सम्पादनकारी लोकवार्तामै पर्दछन्।लोक बाजाहरू भौतिक संस्कृतिका विषय हुन् तापनि सम्पादनकारी लोकवार्तामामै पनि बाद्यवादन र बाजाहरूबारे जानकारी र अध्ययन आवश्यक मानिन्छ ।

गन्धर्व र हुड्केहरूको त लोकगीत र गाथाहरूको गायन पेसा रहेको छ ।नेपालको विभिन्न जातिमा लामा र छोटा गीत गाउने लामो परम्परा छ । परम्पराका सम्पादनकर्ता र सम्वाहकहरूको व्यक्तिगत जीवन, तिनका कार्यकलाप र  समाजमा तिनले गरेको योगदानको अध्ययन पनि लोकवार्ताका मुख्य विषय हुन आउँछ । भाषाका ज्ञाता, गायक, बादक, धामी, पुरेत आदि वास्तवमा लोकवार्ताका जीवित सम्पदा हुन् । तिनको मृत्यु हुनु एउटा पुस्तकालय नै डढेर खरानी हुनु हो ।

  • व्यवहारमूलक लोकवार्ता

मान्छे सामाजिक प्राणी हो । समाजको सञ्चालनका क्रममा मान्छेले गर्ने समस्त कार्यहरू, सामाजिक तथा आर्थिक सङ्गठनहरू, परिवार, जात र थर, नाता सम्बन्ध, पेसा र जीवननिर्वाहका विधिहरू, रीतिथिति, चालचलन र मान्यताहरू पर्दछन् ।सबै विषयमा जीवनका विभिन्न चरणमा सम्पन्न गरिने संस्कारहरू हुन्छन् । जन्म, छैँठी र न्वारनकर्म, चुडाकर्म, ब्रतबन्ध, विवाह र मृत्यसंस्कारका चालचलन, रीतिथिति, मूल्य, मान्यता आदि लोकजीवनका अभिन्न अङ्ग हुन् । लोकजीवनका विविध आयामहरूको व्यापकताले गर्दा अचेल लोकवार्ताको अध्ययन लोकजीवनसँग जोडेर गर्ने चलन बढेको छ । चाडपर्वहरू एकातिर जीवनका मूल्य र मान्यतासँग जोडिएका छन् भने अर्कातिर समाज, परम्परा र प्रकृतिसँग पनि सम्बन्धित हुन्छन् । विभिन्न चाडपर्वका सङ्गीत, नृत्य र गीतहरूले लोकवार्ताका अन्य पक्षलाई पनि एकीकृत गरेको हुन्छन् । शास्त्रीय कर्मकाण्डका साथै लोकजीवनमा व्याप्त आस्था, विश्वास, देवी देउता, भूतप्रेत, बोक्सी, डङ्किनी आदि सबै लोकजीवनका यथार्थ अभिव्यक्ति हुन् ।

  • भौतिक लोकवार्ता

लोक जीवनमा बसोबासको ढाँचा, गृहनिर्माण प्रविधि, उपलब्ध प्राकृतिक स्रोतको उपयोग र त्यसका बारेको ज्ञान र प्रविधि अनि ज्ञान र प्रविधिको हस्तान्तरणको प्रक्रिया पनि हुन्छ।कृषि, आखेट तथा पशुपालनका पद्धति, जीवनयापनका तरिका, खानपान, पहिरन, आभूषण, औषधोपचार तथा कलात्मक तथा व्यवहारोपयोगी वस्तुको निर्माण  र प्रयोग भौतिक लोकवार्ताका मुख्य विषय हुन्। खाद्य र अखाद्य वस्तुका रूपमा लोकजीवनका आआफ्ना मूल्य र मान्यता हुन्छन्।वेशभूषाका रूपमा पुरूष र महिलाका पहिरन, दैनिक र विशेष अवसरका पहिरन,  विभिन्न उमेर र अवसरमा प्रयोग गरिने गरगहना, शृङ्गार, केशविन्यास, गोदना आदि जातिका आफ्ना जातिका आफ्ना परम्परागत ज्ञान, कला र प्रविधि हुन्छन् । कृषि, पशुपालन र औषधोपचारका मान्यता, प्रक्रिया र व्यवहार, कलात्मक वस्तुहरूको निर्माण तथा उपयोग, ज्ञान र सीपबारेका मान्यता र विश्वास बारेका जानकारी पनि तिनका संवाहकबाटै प्राप्त गर्न सकिन्छ ।

अहिलेसम्मका लोकवार्तासम्बन्धी अध्ययनमा अपूर्णता र अपर्याप्तता

नेपालमा विविध भाषाभाषीको लोकवार्ताको अहिलेसम्मको अध्ययन अपूर्ण र अपर्याप्त छ जसलाई निम्न रूपमा प्रस्तुत गरिएको छः

क) कतिपय जातिका लोकवार्ताको अध्ययन भएकै छैन । कतिपय जातिका लोकवार्ताहरूको आंशिक अध्ययन मात्र भएको छ ।पहाडी क्षेत्रको लोकवार्ताको अध्ययन केही बढी भए पनि तराई र हिमाली क्षेत्रका जातिको अध्ययन कम भएको छ ।

यो पनि पढ्नुहोस

स्रष्टा र सिर्जना (गीत), नभेटेको भए…

मेरो धरातल, मेरो पाइला संस्मरण-१

ख) लोकवार्ताका विभिन्न क्षेत्रमध्ये लोकसाहित्यको अध्ययन बढी भएको छ । यसको कारण के हो भने लोकवार्ता वा लोक लोकसंस्कृतिमा लोकसाहित्य महत्वपूर्ण विधि हो । धेरैको रूचि यसमा रहन्छ ।तापनि यो मौखिक परम्परा र सम्पादनकारी कला भएकाले हुनुपर्ने  किसिमले अध्ययन भएको छैन । उदाहरणका निम्ति पहाडी क्षेत्रका सोरठी, घाटु, लीला, बालन, भारत, चैत आदि सम्पादनकारी कलालाई आद्यन्त भिडियोमा हेर्न वा सुन्न सकिने व्यवस्था छैन । अनुसन्धाताहरूले गरेका सङ्कलन अपर्याप्त र अपूर्ण छन् । लोकवार्ताको अध्ययनका सैद्धान्तिक र प्रयोगात्मक ज्ञान नभएका वा कम भएका, श्रव्यदृश्यका उपकरणको प्रयोगमा राम्रो ज्ञान र अभ्यास नभएका, सीमत साधन र स्रोतका साथ काम सक्नुपर्ने स्थितिमा रहेकाले नेपाली विद्वानहरूले गरेका अध्ययन अपर्याप्त र अपूर्ण छन् ।

ग) नेपालको लोकजीवन, नेपालीको रीतिस्थिति तथा मूल्यमान्यताको अध्ययन नेपाली तथा विदेशी संस्कतिविद् र मानवशास्त्रीहरूले पनि गरेका छन् ।यस्ता कतिपय पक्षहरूमा लोकवार्तविद्हरूबाट ज्यादै कम अध्ययन भएको छ।लोकवार्ताविद्हरूको अध्ययनमा मौखिक परम्परा, सम्पादनकारी कला र भौतिक लोकवार्तालाई एकीकृत रूपमा हेरिने हुनाले विशुद्ध सांस्कृतिक अध्ययनभन्दा यो फरक हुन्छ । विषयको स्थापना, व्याख्या विवेचना र प्रस्तुतिमा भिन्नता छ ।

घ) व्यावहारिक कला, प्रविधि र शिल्पको अनुसन्धान तथा परम्परागत ज्ञान, सीप र प्रविधिको अध्ययनको क्रममा केही कार्य अवश्य भएका छन् । केही व्यावसायिक कला र सीपको विकासका निम्ति कार्यक्रम पनि बनेका छन् । नेपालको विविध क्षेत्रमा बसोबास गरिरहेका जातिका परम्परागत ज्ञान र सीपको ह्रास स्थिति झन भयावह छ ।

लोकवार्ताको संरक्षण तथा संवर्धन

१.लोकवार्ता विषयको अध्ययन अध्यापन

लोकवार्ताको विषयका रूपमा अध्ययन अध्यापन कार्य त्रिभुवन विश्वविद्यालयका नेपाली, नेपालभाषा तथा मैथिली विभागहरूमा आंशिक रूपमा भइरहेको छ । यसमा साहित्यिक पक्षमा विशेष जोड दिइन्छ ।लोकवार्ता अध्ययन गर्नेले अध्यापन, अनुसन्धान तथा अन्य विविध पक्षका काम गर्न सक्छ । यसकारण नेपालका विविध भाषा लोकवार्तालाई अध्ययनको विषय बनाउनु आवश्यक छ ।

२. बालबालिकालाई लोकवार्ताको शिक्षा

रेडियो, टेलिभिजन, विद्यालयहरूमा बालबालिकहरूलाई लोकगीत, लोकनृत्य नाच्ने, लोककथा सुन्न सुनाउने अवसरले गर्दा लोकगीत, लोककथा, उखानटुक्काको हस्तान्तरण केही मात्रमा भएको छ।पर्यटककै निम्ति भए पनि हस्तकलाका नाम भौतिक लोकवार्ताका सामग्री तयार भएका छन् ।तर पनि लोकसंस्कृतिको सम्बर्धनप्रतिको आवश्यक सचेतना र योजनाबद्ध प्रयासको अभावमा बाह्य प्रभावको विस्तारलाई कम गर्न सकिएको छैन । विद्यालयका बालबालिकाहरूलाई आफ्ना परम्परागत गीत, नृत्य र लोककथाहरूप्रति विशेष रूपले आकर्षित गर्ने कार्यको कमीले नयाँ पुस्तालाई आफ्ना पहुचानका आधारहरू दिन सकिएको छैन ।

३.अनुसन्धाताहरूलाई प्रोत्साहन

नेपालका विविध जातिका लोकवार्ताको क्षेत्रमा अनुसन्धान गर्न चाहनेहरूको सङ्ख्या बढ्दो छ। तर आवश्यक शिक्षण प्रशिक्षण दिई चाहिने सुविधाको व्यवस्था मिलाएर अनुसन्धान कार्यलाई अझ पूर्ण, प्रामाणिक र स्तरीय बनाउनु आवश्यक छ। अघिको प्रभावकारी व्याख्या विश्लेषणबाट आजका लोकवार्ताका अनुसन्धाताहरू सार्थक तथ गहन व्याख्या र सैद्धान्तिक आधारमा विश्लेषण गर्ने पद्धतितिर आकर्षित भएका छन् तर सैद्धान्तिक र पद्धतिगत  पक्षमा उचित प्रेरणा र अवसर दिन सकिएको छैन ।

आफ्ना लोकवार्ताको पहिचानका निम्ति राज्यले सर्वप्रथम सर्वेक्षण अनुसन्धानलाई प्रोत्साहन गर्नुपर्छ । यसका निम्ति संस्थाहरूको सूची बनाउने, पहिचान र अभिलेखनको पद्धति तयार गर्ने र विभिन्न संस्थाबाट उपयोगमा आइरहेकालाई समेत आवश्यकतानुसार सुधार गरी व्यवस्थित वर्गीकरणको सूची तयार गर्ने, लोकवार्ताको मानक प्रकार निर्धारण गर्ने, अन्य देशमा समेत प्रयोग गर्नका लागि सामान्य रूपरेखा तयार गर्ने तथा क्षेत्रीय तहमा क्षेत्रकार्यका लागि लोकवार्ताको वर्गीकरण गर्ने काममा लाग्न पनि युनेस्काले सुझाव दिएको छ।

  • लोकवार्ताको सङ्ग्रहालय स्थापना

संरक्षणको कार्य लोक परम्परा तथा लोकले बनाएका सामग्रीको भण्डारणसँग सम्बन्धित छ। यसका निम्ति राज्यले सासमग्री राख्न र अनुसन्धातालाई उपलब्ध गराउन अभिलेखालयको स्थापना गर्नुपर्छ, लोकवार्ता सङ्ग्रहालयको स्थापना गर्नुपर्छ, सङ्कलन र संरक्षणमा संगति हुनुपर्छ।सङ्कलन, भण्डार र विश्लेषण गर्ने सबैलाई प्रशिक्षित गराइनुपर्छ। भण्डार गरिएका सामग्री आवश्यकप्रति बनाई सबैको पहुँचमा राख्नुपर्छ  भनी युनेस्कोले जोड दिएको छ।

लोकजीवनबाट सङ्कलित सामग्री राख्ने कुनै उपयुक्त सङ्ग्रहालय छैन । लोकवार्ता सङ्ग्रहालय स्थापना गर्नुपर्छ। अझ सुविधासम्पन्न अभिलेखालयसहितको राष्ट्रियस्तरको लोकवार्ता प्रतिष्ठानको स्थापना गरी नेपालका विविध भाषाका लोकवार्ताको अध्ययनलाई गति दिनुपर्छ ।

लोकप्रविधि, लोकपहिरन र आभूषण तथा लोकवार्ताको परिचय दिने विविध प्रकारका सामग्रीको सङ्ग्रहालय केन्द्रीय तथा प्रदेश तहमा खोल्न आवश्यक छ। यस प्रकारका सङ्ग्रहालयले लोप हुन लागेका लोकवार्ताका विशेषताहरूको सङ्कलन तथा अध्ययन कार्यलाई प्राथमिकता दिनुपर्छ।समयमा नै यस्ता सङ्ग्रहालय खोली स्थानीय जनताका सीपले बनेका वस्तुहरूको सङ्कलन गरिएन भने कतिपय वस्तुहरूको निर्माण हुन छाडिसकेकाले भएका वस्तु पनि नष्ट हुने र हराएर जाने सम्भावना रहन्छ । विभिन्न क्षेत्रका जनताले संस्कृति र पम्पराका सामग्रीहरूको र तिनको कला र सीपको प्रदर्शन गर्ने व्यवस्था हुनुपर्छ।यस्ता सामग्रीहरूको समयमा नै सङ्कलन भएन भने ती वस्तुहरूको निर्माण कार्य बन्द भई लोककला र सीपको ह्रास मात्र होइन नाश पनि हुने सम्भावना रहन्छ।विभिन्न क्षेत्रमा लोकवार्ता सङ्ग्रहालयहरूको स्थापना दीर्घकालीन योजना बनाउनु आवश्यक छ ।

६.लोकवार्ताको संरक्षण तथा संवर्धनमा जनसहभागिता

लोकवार्ताको सङ्कलन, संरक्षण तथा अध्ययनमा जनताक सहभागिता आवश्यक सर्त हो।समाजको व्यवहारमा नै संस्कृति झल्किने हुनाले यसको संरक्षणमा सामाजिक सचेष्टता एउटा महत्वपूर्ण पक्ष हो ।समाजका विभिन्न वर्ग र क्षेत्रका व्यक्तिहरूलाई राष्ट्रिय संस्कृतिका विविध पक्षहरूको सङ्कलन, संरक्षण तथा संवर्धनको काममा प्रेरणा र प्रोत्साहन दिएर सक्रिय पारी सरकारी तहबाट आवश्यक सहयोग र पृष्ठपोषण हुनुपर्छ।सांस्कृतिक संवर्धनका कार्यक्रमहरूमा सामान्य जनतालाई बढी मात्रमा सरिक बनाउनु पर्छ।सरकारले सहयोग र पोषण दिनुपर्छ भन्ने आधारभूत नीतिको अनुसरण गरी लोकवार्ताका सबै पक्षको प्रयोजनका लागि कार्यक्रमहरू सञ्चालित हुनुपर्छ।लोकवार्ताको क्षेत्रमा  विशिष्टता देखाउने र अध्ययनअनुसन्धान, सङ्कलन, संरक्षण र संवर्धन जस्ता अनेक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई पुरस्कृत र सम्मानित गर्नुपर्छ र नेपाली संस्कृतिमा कतिपय पक्षको समयमा नै सङ्कलन गरिएन भने हराएर वा नष्ट भएर जाने सम्भावना हुनाले सङ्कलन, अध्ययन र प्रकाशन तथा प्रसारप्रसारका निम्ति केही लघुकालीन र दीर्घकालीन योजनाहरूको सञ्चालन हुनु पनि आवश्यक छ।

६.कार्यशालाहरूको आयोजना

लोकवार्ताको क्षेत्रकार्यमा जानेहरूका निम्ति आवश्यक कार्यशाला र गोष्ठीको आयोजना गरिरहनु आवश्यक छ।यसमा भाषा र संस्कृतिका सामग्रीको सङकलन विधिको जानकारीका साथै सैद्धान्तिक र प्रायोगिक पक्षबारे चर्चा हुनुपर्छ।लोकवार्ताको क्षेत्रकार्य र सर्वेक्षण पद्धतिको ज्ञान दिए मात्र लोकवार्ताको अध्ययन अनुसन्धान कार्यलाई स्तरीय बनाउन सकिन्छ।लोकवार्ताको गहिरो रूचि भएका तर अध्ययन र प्रशिक्षणक मौका नपाएकालाई यसले ठूलो सहयोग गर्छ । विशेष गरी सामग्री सङ्कलनका क्रममा गर्नुपर्ने कार्यका साथै श्रव्यदृश्य सामग्रीको प्रयोगको जानकारी क्षेत्रकार्य गर्नेले पाउनुपर्छ ।

स्रोतः भाषा आयोगको कर्मचारी क्षमता विकासको क्रममा सम्पादकलाई वितरित कक्षापत्र ।

 

You might also like