भुजेल भाषाको महत्व, विकास र सम्भाव्यता विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

 

भुजेल भाषाको महत्व, विकास र सम्भाव्यता विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

भुजेल विद्यार्थी केन्द्रीय तह काठमाडौँको अध्यक्ष ज्ञानु भुजेलको अध्यक्षतामा २०७७ साल  कार्तिक १ गतेका दिन बिहान भुजेल भाषाको महत्व, विकास र सम्भाव्यता विषय भर्चुअल  प्रशिक्षण/ अन्तर्क्रिया सम्पन्न भयो। भुजेल विद्यार्थी मन्चका अध्यक्ष ज्ञानु भुजेलबाट कार्यक्रमको औचित्यका बारेमा बताउँदै प्रारम्भ गरिएको उक्त कार्यक्रममा भुजेल समाजका महासचिव तिर्सन भुजेलले कार्यक्रममा स्वागत गर्नु भएको थियो ।विद्यार्थी मन्चका महासचिव लक्ष्मी भुजेलबाट सञ्चालित उक्त कार्यक्रमको प्रमुख अतिथि भुजेल समाज केन्द्रीय समितिका अध्यक्ष श्री लोकबहादुर भुजेल हुनुहुन्थ्यो भने प्रमुख वक्ता भाषाविद् प्रा.डा.दानराज रेग्मी रहनु भएको थियो।साथै कार्यक्रममा भाषा आयोगका मातृभाषा शिक्षा प्रमुख डा. लोकबहादुर लोप्चन र अखिल भारतीय भुजेल समाजका महासचिव विष्णु भुजेल वक्ता वा सहजकर्ताका रूपमा हुनुहुन्थ्यो ।

विभिन्न जिल्लाका भुजेल समुदायका व्यक्तिहरू सहभागी रहेको उक्त प्रशिक्षण कार्यक्रममा आँबुखैरेनी गापका उपाध्यक्ष पुष्पा श्रेष्ठ र बन्दीपुर गापा तनहुँका उपाध्यक्ष करूणा गुरूङसहित भुजेल समुदायका विद्यार्थीहरूको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा अखिल  भारतीय भुजेल समाजका महासचिव विष्णु भुजेलले सिक्किममा भएका भुजेल भाषासम्बन्धी अभिलेखन, पठनपाठन, लिपि निर्माणसम्बन्धी कार्यहरूको बारेमा प्रस्तुति गर्नुभएको थियो । उनकाअनुसार सिक्किम विश्वविद्यालयको लुप्तप्राय भाषा केन्द्रबाट  भुजेल भाषामा खारपा लिपि विकासका  साथै भाषाको लिखित दस्तावेजीकरणका अतिरिक्त डिजिटाइजेसन भएको कुरा उल्लेख गर्नुभएको थियो । तथापि ८० हजार भुजेल जनसङ्ख्या रहेको भारतमा भुजेल भाषी वक्ता श्रीभुजेल मात्र रहेको तथ्य भुजेल भाषाको जीवन्तताका लागि अवसर एकातिर हो भने ठूलो चुनौती खडा भएको देखिन्छ ।

यो पनि पढ्नुहोस

प्रमुख वक्ता प्रा. डा. दानराज रेग्मीबाट भुजेल भाषामा नेपालमा गरिएको विवरणको प्रस्तुतिका साथै भुजेल भाषाको महत्व, विकास र सम्भाव्यताका उपायहरू सुझाउनु भएको थियो । उनले भुजेल भाषामा वर्णनिर्धारण, शब्दकोश, व्याकरणजस्ता भाषिक संरचनात्मक पक्षहरूको विकास भइसकेको उल्लेख गर्नुभयो ।तथापि भुजेल बालपुस्तामा भुजेल भाषा नबोलिने हुँदा यसको लागी पुस्तान्तर गर्नुपर्ने र विद्यालय शिक्षामा माध्यम र विषयका रूपमा लागू नगरी नहुने सुझाव दिनुभयो । साथै भाषा आयोगका उपसचिव तथा मातृभाषा शिक्षाका भाषा आयोग प्रमुख डा.लोकबहादुर लोप्चनले भाषा आयोगबाट भुजेल समुदायको लोकवार्ता सङ्कलन र प्रकाशन गरिएको जानकारी गराउँदै भुजेल भाषाको संरक्षणको मूल उपाय भुजेल समुदायले भाषिक पुस्तान्तर गर्ने र पठनपाठनको व्यवस्था गर्नुपर्ने विचार राख्नुभुयो । साथै छलफलकै क्रममा सिक्किम विश्वविद्यालयका लुप्तप्रायः भाषा केन्द्रका प्रमुख डा.समीर सिन्हाले सिक्किममा राज्यले भाषाको मान्यता दिन लिपि अनिवार्य रहेको हुँदा खारपा लिपिको विकास गरिएको विचार राख्दै कसरी नेपाल र भारतमा व्यक्ति तथा संस्थाबाट गरिएका कार्यहरूलाई एकीकृत गर्ने हो त्यसमा विचार पुर्‍याई काम गर्नुपर्ने सुझाव राख्नुभयो ।

त्यसैगरी स्थानीय तहमध्ये आँबुखैरेनी गापाका उपाध्यक्ष पुष्पा श्रेष्ठले स्थानीय तहहरू स्थानीय तहमा बोलिने सबै भाषाको संरक्षण र विकासमा जिम्मेवार रहेको हुँदा आफ्नो गाउँपालिकाले भाषा र शिक्षामा विशेष जोड दिएको विचार राख्नुभयो ।त्यसैगरी बन्दीपुर गापा तनहुँका उपाध्यक्ष करूणा गुरूङले आफ्नो स्थानीय तहको केही वडाहरूमा भुजेल भाषी समुदायको बसोबास रहेको हुँदा गाउँपालिकाबाट कार्यक्रम र बजेट विनियोजन गरिएको जानकारी गराउँदै भुजेल भाषामा लागी पर्ने बताउनुभयो । त्यसैगरी भुजेल भाषासेवी बाबुराम भुजेलले नेपाल र भारतमा भुजेल भाषामा धेरै काम भए पनि कार्यान्वयन किन हुन नसकेको र केले रोकेको हो ? भन्ने प्रश्न गर्दै यसका लागि प्रतिबद्धताका साथ लाग्नुपर्ने चर्चा गर्नुभयो । त्यसैगरी सभाध्यक्ष लोकबहादुर भुजेलले आफूले नै सिक्किममा १५ दिन बसी सिक्किमका भुजेल समुदायलाई भुजेल भाषाको प्रशिक्षण दिएको र नेपालमा पनि संस्थाको तर्फबाट काम भइरहेको बताउनुभयो । आगामी दिनमा भुजेल समाज नेपाल, अखिल भारतीय भुजेल समाज र विश्वविद्यालय, स्थानीय तहका साथै भाषा आयोग समेतको सहभागितामा भुजेल भाषाको विकास र प्रयोग विस्तारको कार्य गर्ने मन्तव्य राख्नुभयो । स्मरणीय के छ भने कार्यक्रममा खुला छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ उपस्थित विज्ञहरूबाट दिने प्रबन्ध भएको हुँदा कार्यक्रम अन्तर्क्रियात्मक रहेको थियो ।

You might also like