तामाङ घेदुङको पहलमा भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा कार्यक्रम हुने

 

तामाङ घेदुङको पहलमा भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा कार्यक्रम हुने

नेपाल तामाङ घेदुङले स्थापना भएको ६४ वर्षको अवधिमा तामाङ जाति, भाषा, संस्कृतसम्बन्धी विविध खाले जनचेतनासम्बन्धी कार्य मात्र नभई स्वायत्त ताम्सालिङ क्षेत्र  जस्ता राजनीतिक अभियान समेत सञ्चालन गर्दै आएको देखिन्छ।बाग्मती प्रदेशको नामकरण नेवा ताम्सालिङ हुनुपर्ने भनी विगतमा पटकपटक सडक आन्दोलन गरेको पाइन्छ । राजधानी काठमाडौँ वरिपरिका जिल्लामा बसोबास गर्ने तामाङ जाति विगतमा राज्यले अपनाइएको जातिगत विभेदीकरण/बहिष्करण गर्ने नीतिको कारण राज्य संरचना वा तह तप्कामा उपस्थिति कम रहेको छ । फलतः काठमाडौँ आसपास बसे पनि तामाङहरू आर्थिक, सामाजिक, शैक्षिक दृष्टिमा निकै पछि परेका छन् । यिनै तामाङ समुदायको उत्थानको लागि वि.सं.२०१३ सालमा स्थापना भई निरन्तर तामाङ समुदायको आवाज र अधिकारको मुखर गर्दै आएको छ तामाङ घेदुङले।तथापि तामाङ जाति/समुदायको सामाजिक, आर्थिक अवस्था भने दिनानुदिन खस्कँदो अवस्थालाई नजरअन्दाज गर्न सकिन्न ।

नेवा ताम्सालिङ नामकरण गर्ने अभीष्ट पूरा नभएपछि तामाङ घेदुङको यु टर्न भएको जस्तो देखिन्छ।तत्पश्चात तामाङ घेदुङले बाग्मती प्रदेशका ३२ भन्दा बढी स्थानीय तहहरूसँग सम्झौता गरी भाषा नीति निर्माण र मातृभाषा शिक्षा कार्यक्रम कार्यान्वयनका लागि कोरोना महामारीको बीचमा पनि पहल र प्रयास गरेको छ । घेदुङले कार्यक्रमलाई प्राज्ञिकता तथा वैधानिकता प्रदान गर्नको लागि भाषा आयोगसँग सहकार्य गरी कार्यक्रम अगाडि बढाएको छ।परिणामस्वरूप नेपाल तामाङ घेदुङको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा कार्यक्रमले फराकिलो आधार प्राप्त गरेको छ भने त्रिपक्षीय सहाकर्यमा गरिने यो कार्यक्रम बाग्मती प्रदेशभरि लागू हुन सक्ने सम्भावना बढेर गएको छ । यसबाट बाग्मती प्रदेशमा नेपाली भाषापछि दोस्रो स्थानमा बोलिने तामाङ भाषालाई यस प्रदेशको सरकारी कामकाजमा प्रयोगका लागि आधार तयार हुने देखिन्छ ।

यो पनि पढ्नुहोस

यसै शैक्षिक सत्र २०७७/७८ मा लागू गर्न तयारी गरिएको यस कार्यक्रमका लागि घेदुङले तामाङ भाषाको पाठ्यपुस्तको नमुना तयारी, लिपि प्रशिक्षकका लागि प्रशिक्षण र केही स्थानीय तहहरूमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिसकेको छ । भाषा आयोग, घेदुङ र स्थानीय तहको सहकार्य रहेको उक्त कार्यक्रमको मोडलअनुसार प्रत्येक स्थानीय तहमा भाषा नीति तयार हुनेछ जसलाई स्थानीय तहले स्वीकृत गरेपछि लागू गर्न सकिनेछ ।त्यसैगरी मातृभाषा शिक्षातर्फ प्रत्येक स्थानीय तहको हरेक विद्यालयहरूमा बाल कक्षादेखि कक्षा ३ सम्म बहुभाषिक शिक्षा कार्यक्रम  सन्चालन हुने छ । साथै हरेक विद्यालयमा तामाङ विद्यार्थीका लागि तामाङ मातृभाषा विषय र अन्य विद्यार्थीका लागि स्थानीय विषयको पठनपाठन हुने देखिन्छ ।

घेदुङका अध्यक्ष मोहन गोलेबाट प्राप्त जानकारीअनुसार यस प्रदेशका देहायका तालिकामा उल्लेख भएका स्थानीय तहहरूमा स्थानीय भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा कार्यक्रम यसै आर्थिक वर्षदेखि सञ्चालन हुने भएको छः

जिल्ला सम्झौता भएका स्थानीय तहहरू
ललितपुर कोन्ज्योसोम बाग्मती
मकवानपुर बाग्मती राक्सिराङ कैलाश थाहा हेटौँडा
नुवाकोट ककनी पन्चकन्या मेघाङ किस्पाङ दुप्चेश्वर
धादिङ खनियाँबास नेत्रवती रूविभ्याली
सिन्धुपाल्चोक चौतारा लिशंखुपाखर इन्द्रावती
सिन्धुली मरिन हरिहरपुर कमलामाई
काभ्रे चौँरीदेउराली तेमाल रोशी महाभारत नमोबुद्ध मन्डनदेउपुर खानीखोला पाँचखाल
चितवन राप्ती
रामेछाप सुनापति दोरम्बा खाँडादेवी
रसुवा आमाछोदिङमा नौकुन्ड उत्तरगया

 

 

You might also like