मेरो धरातल, मेरो पाइला संस्मरण-१

२७/२८ वर्षअघिको दशैँतिहार फर्केर हेर्दा...

 

मेरो धरातल, मेरो पाइला संस्मरण-१

२७/२८ वर्षअघिको  दशैँतिहार फर्केर हेर्दा…

 डा.लोकबहादुर लोप्चन

पूर्व उपसभामुख डा.शिवमाया तुम्बाहम्फेज्यूले भन्नुभएको कथन मननीय छ- हामी जो कोही आज जुन पद र सत्ता वा राजनीतिक तहमा छौँ भन्दैमा कसैले हिजोको आफ्नै धरातल बिर्सनु हुँदैन।उहाँ त्यतिखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रतिनिधि सभाको उपसभामुख जसले महिला भएकै कारण सभामुखको पद खाली हुँदा उम्मेवार समेत हुन पाउनु भएन तर उहाँले आफू के कारणले त्यस पदको निम्ति अयोग्य हो र ? भन्ने अधिकारमुखी जिज्ञासा वा प्रश्न गर्नुभएको थियो तर सुनुवाइ भएन।अन्ततः अग्नि सापकोटा सभामुख हुन पुग्नुभयो भने उहाँ उपसभामुख पदै त्यागेर कानुन तथा संसदीय व्यवस्था मन्त्री हुन पुग्नुभयो।

त्यसैगरी आफ्नै धरातल सम्झँदा आज भन्दा २७-२८ वर्ष अघि काभ्रे जिल्लाको डाँडापारि फलामेटार तालढुंगा वा हालको खानीखोला गाउँपालिकाको भौगोलिक विकटता, गरीबी, पछौटेपनको नोस्टाल्जिक हुन्छ आज पनि ममा। २-४ वर्ष अघि खोपासी ताल्ढुंगा कच्ची सडकले जोड्यो डाडापारि वा काभ्रेको कर्नाली भनिने यस क्षेत्रलाई । यसले यस भेगलाई काठमाडौँदेखि करिब १०० कि.मि.पर रहेको एउटा अस्पृश्य, विकट र सहरको छाँयामा परेको दुर गाउँलाई सडक यातायातसँग जोड्यो । हुनतः खोपासी ताल्ढुंगा सडक निर्माण कार्य एडीबीको ऋण सहयोगमा आजभन्दा २०-२२ वर्ष अगाडि नै थालिएको हो स्थानीय उपभोक्तामार्फत हरियाली सडकको नाममा । तर दुर्भाग्य, सडकका केही भागहरू खनीखोस्री त भयो तर ट्रयाक समेत खोल्ने कार्य भएनत्यतिखेरसम्म कार्यान्वयन गरिएका दुई तीनओटा आयोजनाको कार्यक्रम र बजेट सकियो तर काम भने पूरा भएन । जसको कारण आजभन्दा २०-२२ वर्षअघि सडक यातायातमा जोडिनुपर्ने डाँडापारिको विकट गाउँ जस्ताको तस्तै रह्यो । यसले हाम्रा विकास पद्धति, आयोजना, कार्यक्रम र बजेटको कार्यान्वयन कस्तो छ, राज्यदेखि जनस्तरसम्मको हाम्रो सोच, संस्कार  र कार्यशैली कस्तो छ भन्ने कुरा प्रतिबिम्बित हुन्छ ।

आफ्नै जन्मस्थान वा धरा डाडाँपारिको त्यस बेलाको ग्रामीण जीवन अत्यन्तै कष्टकर मात्र थिएन, पूरै गाउँ आधुनिक सेवा सुविधाबाट तिरोहित थियो, बहिष्कृत थियो अनि काभ्रे जिल्लाको बनेपा, धुलिखेल, पनौती खोपासीजस्ता सहरको सामू बत्तीमुनिको अध्याँरोजस्तो भएको थियो।त्यही विकटतामा रूमलिएको गाउँबासी म, २७-२८ वर्षअघिको आफ्नै विगतलाई फर्केर हेर्दा भर्खरै एस.एल.सी.उत्तीर्ण गरी जागिरको खोजीमा भौँतारिएको आफ्नै अल्लारे युवा वयको स्मरण हुन्छ, त्यतिबेला जागिरको बारेमा मलाई प्रावि तहको शिक्षक बन्न सकिन्छ भन्ने मात्र थाहा थियो । लोक सेवा आयोगको बारेमा त मैले ३० वर्षपछि मात्र थाहा पाएँ। वि.सं.२०४८ सालमा एस.एल.सी. परीक्षामा सहभागी भई २०४९ सालको भदौमा प्रवेशिका परीक्षा पास भइसकेको थिएँ तर पारीवारिक आर्थिक दारूणताको कारण क्याम्पस पढ्ने कल्पनासम्म गर्न सकिएको थिइनँ । त्यसपछि एउटै बाध्यता थियो शिक्षक जागिर खाऊ, परिवार बचाऊ भन्ने । तर २ वर्षसम्म जागिर पाउँदै पाइएन किनकि विद्यार्थी राजनीतिमा लागेको हुँदा आफ्नो भन्दा इतर पार्टीको सरकार थियो र गाउँमै आफूविरूद्ध जागिर नखुवाउन माथिसम्म रिपोर्टिङ हुन्थ्यो ।

यो पनि पढ्नुहोस

तर करिब २ वर्षजति वि.सं.२०४९/५० सम्म एकातिर जागिरको खोजी गर्दै अर्कातिर गाउँमै सामाजिक क्षेत्रमा कार्य गरी दिनहरू बित्न थाले । त्यतिखेर राजनीतिक रूपमा डाँडापारिको यी गाउँहरू प्रभावित हुन थालेको थियो । तथापि गाउँका पढेलेखेका युवाहरूमाझ सामाजिक परिवर्तनका लागि युवाले के गर्न सकिन्छ भनेर छलफल हुने गर्थ्यो । त्यसै क्रममा  वि.सं.२०५० सालको तिहारको बेला देउसी खेल्ने र गाउँमा पुस्तकालय स्थापना गर्ने सोच ममा आयो र मैले साथी अकलबहादुर थिङसँग उक्त कुरा राखेँ ।उहाँ तयार हुनुभयो त्यसका लागि । साथै साथीहरू नारायणप्रसाद दाहाल, सुरेन्द्र लामा, पूर्णमान थिङसहित बहिनीहरू चन्द्रिका लामा, सरस्वती श्रेष्ठसँग कुराकानी गरी पुस्तकालयको कार्यसमिति गठन भयो। सुरूमा फलामेटार जनसांस्कृतिक पुस्तकालय नामकरण गरिएको उक्त पुस्तकालय पछि फलामेटार पुस्तकालयमा नामकृत पनि गरियो । वि.सं.२०५० सालमै देउसी भैलो खेलेर केही रकम जम्मा भयो जसमा शिक्षक गोविन्द दाहाललगायका गाउँका युवा युवतीसहित अभिभावकहरूको उत्साहपूर्ण सहयोग  र सहभागिता रह्यो। उक्त कार्यक्रमबाट जम्मा भएको रू.७००० बाट गाउँमा पुस्तकालय स्थापना भयो । जसलाई साथी अकलबहादुर थिङले कोठा उपलब्ध गरेको हुँदा उहाँकै घरमा पुस्तकालय राखियो ।

पहिलो वर्षको देउसीबाट उठेको रकमबाट पुस्तकालय स्थापना गर्न सकेको र आफूले चाहेजस्तो पुस्तक पढेर अधिकाँश लाभान्वित हुन पाएको थियो । यसको मूल जरो चाहिँ श्री जनविकास माविमा कृषक (कृष्ण खुला, सनद बराल र कर्ण) थापाले स्थापना गरेको पुस्तकालयको प्रभाव थियो। यसरी हामीमा ताल्ढुंगाको जन विकास माविमा स्थापित पुस्तकालयबाट पुस्तक पढ्न पाएको प्रभावले पुस्तकालय स्थापनासम्म पुर्‍याएको थियो । त्यसैगरी देउसीभै कार्यक्रम गर्ने सोच आउनुमा पनि जनविकास माविका प्रअ कर्ण थापा हुँदा देउसीभैलो खेलिएको अनुभवको छाप परेको थियो।जुनबेला जन विकास माविका सरहरूले देउसीभैलो खेलेर आर्थिक सङ्कलन गरी विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि योगदान गर्नुभएको थियो।वि.सं.२०५१ सालमा भने देउसीभेलौलाई निरन्तरता दिने र गाउँमा नाटक प्रदर्शन गर्ने सल्लाहअनुसार नै नाटक प्रदर्शनको तयारी गरी मोदनाथ प्रश्रित लिखित नाटक गाउँकै बाल विकास प्राविको प्राङ्गणमा मन्चन गरिएको थियो।जसमा अकलबहादुर थिङ, पूर्णमान थिङ, नारायण दाहाल, सुरेन्द्र गोले, सरस्वती श्रेष्ठल, ऋतुपर्ण श्रेष्ठ, टीका अविरल लगायत मेरो सहभागिता थियो ।मैले व्यवस्थापनको जिम्मेवारी लिएको थिएँ, साथी नारायणप्रसाद दाहालले नाटक निर्देशनको जिम्मेवारी लिनुभएको थियो । त्यसरी नै सबैका लागि जिम्मेवारी बाँडिएको थियो । नाटक तयारीकै क्रममा साथी इन्द्रबहादुर थिङ वा छिन्ताङको पनि सहभागिता रह्यो तर त्यतिखेर उहाँ भूमिगत माओवादीमा संलग्न हुनु भइसकेको थियो। जुन कुरा थाहा पाएर स्थानीय प्रहरीचौकीबाट निगरानी मात्र भएन अनेक बाधा व्यवधान पनि खडा भयो ।तापनि त्यसवर्ष नाटक प्रदर्शनका साथै देउसीभैलो कार्यक्रम सञ्चालन भयो । त्यसवर्ष नाटक मन्चनपछि ताल्ढुंगा र महादेवटार गाउँसम्म देउसीभैलो खेली रकम जम्मा गरियो । उक्त रकमबाट पुस्तकालयमा पुस्तक थप्नका साथै गितार, मादलजस्ता साङ्गीतिकसामग्री खरीद गरियो । यसरी राजधानी नजिक भएरै पनि ओझेलमा परेको त्यस गाउँमा युवाहरूको मेहनत र सामाजिक कर्तव्य र दायित्वले हामीलाई सक्रिय गराएको थियो त्यतिखेर । हामी भूगोलको दुर्गमता, विकटता र अभावको बीचमा पनि औँसीको अँधेरी रातहरूमा लालटिन बालेर शैक्षिक चेतना र जागरण फैलाउने काममा लाग्यौँ जानीनजानी सकीनसकी । जे होस् त्यति कलिलै उमेरमा हामीमा त्यसबेला नै समाजको लागि केही न केही गर्नुपर्छ, व्यक्तिले शिक्षा लिएको समाजकै  शिक्षा लागि हो भन्ने सोच आएको थियो । तर आजभोलि त्यसरी समाजका लागि सोच्ने भन्दा पनि व्यक्तिवादी सोच बढी हावी हुँदैछ भन्ने महसुस हुन्छ, गाउँहरू युवाविहीन हुँदैछन्, हाम्रा सिर्जनशील युवा र मस्तिष्क थौरै युरोपतिर र धेरै अरबका बाफिलो मरूभूमिमा श्रम चुहाइरहेछन्, पसिनाले नुहाइरहेछन्, केही कमाएर परिवार पाल्न, गरीबीको घाउलाई टाल्न र जीवनयापनको बाटो अँगाल्न । तर अचेल गाउँमा देउसीभैलो पनि खेलिन छोडिएको मात्र छैन, विगतमा थालनी गरिएका नाटक मन्चनको परम्परा पनि इतिहास बन्दै गएको देखिन्छ ।अझ, हाम्रा खेतबारीहरू बाँझिएका छन्, पुर्खाको थातथलो छोडिएका छन् किनकि अधिकाँश युवाहरू गाउँबाट सहर पसेका छन् र सहरबाट विदेश पलायन भएका छन् । यसले विगतमा कल्पना गरिएको विकसित एउटा गाउँ निर्माण हुने सपना कल्पनामा सीमित हुँदै गएको भान हुन्छ ।

फेरि, पुरानै विगत र आफ्नै धरातलको पुनःस्मृतिमा पुग्छु म । त्यतिखेरका साथी अकलबहादुर थिङ भूमिगत माओवादी राजनीतिमा लाग्नुभयो।उहाँको भाइ इन्द्रबहादुर थिङ त अगाडि नै लागिसक्नुभएको थियो । उहाँले भूमिगत राजधानीमा जानुभन्दा अघि नजिक साथी भएको हुनाले मलाई जाऊँ भन्नुभएको थियो तर म त्यतिखेर शिक्षण पेसामा आबद्ध थिएँ । एकातिर मलाई पढ्ने रहरले छोडेन भने परिवारको जेठो छोरा र पारीवारिक आर्थिक स्थितिको बोझ वा दायित्व ममा हुँदा म शिक्षण पेसामै रहन पुगेँ ।त्यतिखेर मैलै प्राइभेट रूपमा आइ.ए. उत्तीर्ण गरी बी.एड. पढ्न लागेको थिएँ । अकलबहादुर थिङ भूमिगत राजनीतिमा लागेपछि उहाँकी श्रीमती अनिताले मलाई रूँदै किन पठाउनु भएको भनी सोधनी गरेको घटना कम मर्माहत पूर्ण छैन । तर बाध्यतावश उहाँ पनि पछि त्यही आन्दोलनमा नलागी धरै भएन । अकलबहादुर थिङ (महेश) त वि.सं.२०६४ सालको सविधान सभाको चुनावमा यस क्षेत्रबाट सभाषदमा विजय भई संसदसम्मको यात्रा तय गर्नुभयो, एउटा इतिहास कोर्नुभयो यस्तो ठाउँमा जन्मेर संसदमा छिर्ने उच्च व्यक्तित्व बनेर । उहाँ हाल जनता समाजवादी पार्टीको नेता हुनुहुन्छ भने इन्दबहादुर थिङ नेकपा बाग्मती प्रदेश स्तरमा प्रतिनिधित्व गर्नुहुन्छ।मेरो यात्रा भने फरक रह्यो । मैले आफ्नो शिक्षण पेसा र अध्ययनलाई निरन्तरता दिँदै पेसा बदल्दै गएँ । निजामति सेवामा वि.सं. २०६६ सालमा प्रवेश गरी ३ जिल्लाको जिल्ला शिक्षा अधिकारीको भूमिका निर्वाह गर्ने अवसर मिल्यो भने वि.सं.२०७६ सालमा विद्यावारिधि तहको अध्ययन पूरा भयो। अन्य साथीहरू पनि कोही व्यवसाय, कोही शिक्षण पेसा र केही न केही कार्यमा संलग्न हुनुहुन्छ।

त्यही मेरो धरातल, मेरो खानीखोला गाउँमा २ वर्षअघि खानीखोला गाउँपालिकाले सम्मान कार्यक्रम राखेको बेला पुँगेको थिएँ, खानीखोला ल्होछार कार्यक्रममा । प्रमुख अतिथि तात्कालीन सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटा हुनुहुन्थ्यो । उहाँसँग कक्षा ८ मा पढ्दा २०४६ सालमा यही जनविकास माविको प्राङ्गणमा मैले सहिद दिवसको कार्यक्रममा स्वागत भाषण गरेको थिएँ भने २०७६ साल अर्थात् ३० वर्षपछि एउटै मन्चमा उभिने संयोग मात्र मिलेन मलाई । म खानीखोला गाउँपालिकाबाट सरकारी जागिरको उच्च तहमा पुगेको व्यक्तिका रूपमा सम्मानित हुने पुँगे।तथापि अन्य साथीहरू पनि यस गाउँपालिकाबाट क्षेत्रमा प्रतिनिधित्व गरिरहेका छन् । त्यसपछि २०७६ सालमा भाषा आयोगको मातृभाषामा शिक्षासम्बन्धी कार्यक्रमको सिलसिलामा आफ्नै गाउँमा पुगियो र १ दिने कार्यक्रम सकिपछि मातृभाषा शिक्षासम्बन्धी विद्यालयको कक्षा अवलोकन गरी फर्कियो ।

२७-२८ वर्षअघिको डाँडापारिको त्यस गाउँ अहिले ४ ठाउँबाट सडक यातायातले जोडिएको छ । जसमा खोपासी ताल्ढुंगा सडक, ढुङ्खर्क च्याम्राङबेसी सडक, ललितपुर ताल्ढुंगा सडक, ताल्ढुंगा मकवानपुर सडक रहेका छन्।यसरी अहिले भूगोलको विकटतालाई सडकले निकटतामा ल्याएको मात्र छैन, सेवा सुविधा पनि पहुँचयोग्य हुनाका साथै सहज उपलब्ध हुन्छ।तर मूल कुरो सडक, सेवा सुविधाको साथमा सामाजिक,शैक्षिक र आर्थिक रूपान्तरण के हुन्छ भन्ने कुरा मुख्य हो।जसको लाभांश त्यहाँका बासिन्दाले लिएर विगतको विरासतलाई पछिल्ला पुस्ताले निरन्तरता दिन्छन् कि दिँदैनन् र त्यसका लागि अघिल्ला पुस्ताले साथ र सहयोग गर्छन् कि गर्दैनन् त्यो मूल पक्ष हो जस्तो लाग्न थालेको छ । त्यसैले अबको मेरो धरातलप्रतिको मेरो पाइला  पुस्तैनी नासो/दायित्व हस्तान्तरणतर्फ मोडिनुपर्छ भन्ने लाग्न थालेको छ भने अबको युवा पुस्ता पनि विगतको विरासतसँग जोडिनुपर्छ अन्यथा हाम्रो धरातल छोडिने मात्र  छैन, हाम्रो पुस्तागत नाता समेत तोडिँदै जानेछ। जुनबेला आफ्नै पहिचान र इतिहास मेटिएको दुखद क्षण हुनेछ भनूँ त्यो बेला आफ्नै धरातल बिर्सिएको ठहरिनेछ । एकातिर हुनेछः छोडिएको आफ्नै विगत र आफ्नै धरातल भने अर्कोतिर हुनेछः भासिएको वर्तमान रसातल र बिर्सिएको आफ्नै धरातल ।

You might also like