प्रत्यक्ष सन्देश दिने एक अमूल्य नाटक: दोर्जे सरको पदचाप

 

प्रत्यक्ष सन्देश दिने एक अमूल्य नाटक: दोर्जे सरको पदचाप

डा. गोविन्दराज भट्टराई

निकैदिन पश्चात् आज एक नाटक पढ्ने संयोग मिल्यो।यो नाटक हो डा.लोकबहादुर लोप्चनद्वारा लिखित दोर्जे सरको पदचाप।एकदिन प्रसङ्गवश भाइ डा. लोप्चन ‘भट्टराई निवास’मा आउनुभयो।भाषा आयोगसित जोडिएका हाम्रा साझा कर्तव्य थिए, तिनमा कुरा गर्‍यौँ।अन्त्यमा भाइले आफूसित भएको नाटकको एक प्रकाशोन्मुख पाण्डुलिपि प्रदान गर्दै मलाई केही शब्द लेखिदिन आग्रह गर्नुभयो।

मलाई त्यो क्षणमा बिर्सिनसक्नुको खुसी उठेर छोप्यो।साहित्य सिर्जना गर्नु एक सर्वोत्कृष्ट कर्म पनि हो।एउटा सरकारी कर्मचारी भइसकेको व्यक्तिको मन यस्तो पवित्र कला–कर्ममा  लाग्नु चाहिँ ठूलो संयोगको कुरा हो।

यता काठमाडौँ उपत्यकालाई कोरोना आतङ्कले अलमल्याएका दिनमा ‘सेल्फ क्वारेन्टाइन’मा बसेर यो पाण्डुलिपि पढ्ने अवसर निकालेँ।पढ्दा मेरो खुसी दुईगुना भएर चुलियो।त्यसको प्रथम कारण हो यस नाटकको प्रत्यक्षता अर्थात् यसको प्रभावको प्रत्यक्षता।

लोकको रक्तमा नै नाटक–प्रेम पसेको रहेछ।भूमिकाले भन्छ विद्यालय जीवनमा नै नाटकभित्र शक्ति हुन्छ भन्ने कुराको बोध भइसकेको रहेछ।केही अभ्यास पनि त्यही चेतनाले उनलाई यो हाम्रो विकृत संस्कार सुधारमा लक्षित कृति रचना लेख्न अह्राएको कुरा स्मरण गराएका छन्।

लोकबहादुरको यो नाटिका अत्यन्त सरल र हाम्रा गाउँहरूले युगौँयुगदेखि भोग्दै आएका समस्याको अन्त्य गर्ने प्रत्यक्ष प्रयत्नमा लक्षित छ । हाम्रो समाजमा विद्यमान एक ठूलो बाधा छ जातिपातिको विभेद र अस्पृश्यतासम्मको अपराध। भारतीय हुलाक विभागद्वारा जारी गरिएका हवाईपत्रमा महात्मा गान्धीका वाणी यसरी छापिन्थे “अस्पृश्यता एक अपराध है ।” तर यस्तो अपराध अझै नेपाली गाउँमा स्वीकृत कर्मको रूपमा अभ्यास गरिन्छ/गराइन्छ।हामी कति पछि छौँ।यहाँ सर्वत्र व्याप्त अशिक्षा, अज्ञान र अन्धविश्वासले त्यस्तो कुरीतिलाई निरन्तरता दिइरहेको छ।अनि सामन्त साहूहरूको अत्याचारले शोषित गाउँहरू अन्धकार गर्तमा छन्।हालै रुकुम जिल्लामा आयोजित जघन्य अपराध कर्म सम्झिँदा सभ्य हुँ भन्ने, शिक्षित हुँ भन्ने तथाकथित माथ्लो जातको हुँ भन्ने नेपालीले मुख छोप्नुपर्ने भएको छ।

लोप्चनले नाटकद्वारा दुवै कुप्रथालाई गाउँबाट उखेलेर फ्याँक्ने प्रयत्न  गरेका छन्। यो तिनै गाउँका अन्धकार भोक्ता पात्र र परिवेशको कथा हो।गाउँमा एकातिर परमदुःखी निमुखा हुनु अर्कातिर तिनैलाई तर्साउने धम्क्याउने र शोषनेसामन्त हुनु-यही नै नेपालले मुक्ति पाउन नसकेको मूल कारण हो।धेरै परिवर्तनले पनि परिवर्तन ल्याउन नदिने कुरा मुख्यता जातपात छुवाछुतलाई समाजले त्याग्न बदल्न नसकेर हो, नदिएर हो।लोप्चनले यही मान्यतामा  नाटक रचेका छन्।भित्री गाउँको दर्द बुझेका भोगेका उनले गाउँको मर्म बुझेर यस्तो नाटक लेखेका छन्।नेपाली नाटक घरमा एकातिर ब्रेख्त, ह्यारोल्ड पिन्टर, अल्वेयर कामु, अमिरी बराका खेलिन्छन् अर्कातिर अर्कातिर आदिम  समाजलाई जंगली युगबाट  पाखा निकाल्न लेखिएका दोर्जे सरको पदचाप अथवा काले दमाईं जस्ता कृति लेखिँदैछन्, खेलिँदैछन्।गाउँ मात्र दोषभागी छैनन्, त्यो विकृति शहरभित्र पनि गाडिएको छ अझै।

प्रधान लक्ष्य अचेतावस्थाका गाउँसम्म शिक्षाको महत्व बुझाउनु र बञ्चित नानीहरूलाई शिक्षालय पुर्‍याउनु हो।तर त्यसको  मार्गमा उही अवरोध छ जातपात र अस्पृश्यताको ।गुमे नामक कामी थरको एक प्रतिनिधि पात्र एक साहूको सबै उपेक्षा घृणा मात्र होइन जघन्य हिंसा सहन बाध्य छ।कथावस्तुको विस्तारण यहाँ प्रस्तुत गर्न चाहन्न किनकि त्यो सरल पाठमा सबैले पढेर आस्वादन गर्ने कुरा हो।

गाउँको अत्याचार भयावह छ।गुन्जनसिं साहूको दलन, अनेक लठैत गुण्डाको प्रयोग,  उसको मात्तिएको छोराले गुमेका छोरामाथि गरेको अन्यायले विद्यालयमा  भयावह रूप लिन्छ।अविवेकमै प्रतिशोध लिन गरिएका कर्म कथामा छन्।गुमे पुत्री पुतलीको यौन शोषणपछि त्यसले अकल्पनीय अत्याचार प्रदर्शन गर्दछ तर अबको समाज मौन रहने छैन भन्ने देखाइन्छ।विद्यालयको शिक्षक दोर्जे नामक सरले न्यायको पक्षमा लागी परेर सारा अत्याचारीलाई परास्त गराउँछ।त्यहाँ पाठकलाई अलिकति न्याय भएझैँ लाग्छ।तर पुतलीको व्यर्थ बलिदान भयावह छ।

यो पनि पढ्नुहोस

२०७६ आश्विनमा  मलाई इलामबाट निमन्त्रणा आयो।त्यहाँ डा. देवी क्षत्री दुलालले लेखेको काले दमाईं नामक नाटकको विमोचन गर्ने अवसर मिल्यो।त्यो पूर्वका दलितले भोगेको कष्ट र वीरताले विजय प्राप्त गरेको गाथा हो।सानो छ संग्रह तर कति शक्तिशाली।त्यसले मेची अञ्चल ब्युँझाउँछ।त्यो मञ्चित नाटक हो।त्यसमा मेरो भूमिका छ।यो ठूलो संयोग हो, छ महिनापश्चात् आज देशको राजधानीसँग जोडिएका एक जिल्लाको पृष्ठभूमिमा रचित समकालीन स्थितिको दलित गुमे कामीका बारेमा लिखित नाटक यो माथि फेरि अर्को भूमिका लेख्ने अवसर प्राप्त गरेँ।म यस्ता हाम्रो अग्रणी साहित्यिक अभियन्ता समाजमा चलिरहेका घोर कुरीति देखेर, त्यहाँ अझै ठूलो दलन चलेको देखेर यसको निराकरणको प्रभावकारी माध्यम (नाटक) तिर आकर्षित देखेर अत्यन्तै प्रसन्न छु।

तामाङ स्रष्टाहरूले नेपाली फिल्म संगीतमा प्रशस्त योगदान  दिएका छन् तर साहित्यमा कम्ती छन्।नाटक लेखनमा कोही भए जस्तो लाग्दैन।यस्तो पृष्ठभूमिका डा.लोप्चनको स्थान नेपाली साहित्यमा अति सुरक्षित देख्तछु।उनी अमर रहनेछन् ।

मुख्य कुरा छ सीमान्तीकृत ‘मार्जिनल’ समुदायको।अबको राजनीति, शिक्षा, सरकार, समाजसेवा सर्वक्षेत्रमा सबैको स्थान बराबर हुनुपर्ने दावी गर्नाले बहुदलवादी राजनीति सफल भएको हो।तर यसले पनि युगौँका बाधा भत्काएर केही परिवर्तन ल्याउन सकिँदैन भने बाटामा कुर्लेर भित्तामा टाँसेका न्याय र समानताका नारा सबै व्यर्थ छन् ।परिवर्तनको नारा सबै चतुर राजनीतिक वर्गको मागीखाने वर्तनमात्र भयो।लोप्चन निर्ममतापूर्वक त्यस स्थितिको भण्डाफोर गर्दछन्।

सर्वबाधा जातपात, अस्पृश्यता र उचनीच कुरा रहेछन्।त्यसमाथि दलन भैरहेछ। दशकौँ अघि खगेन्द्र संग्रौलाले लेखेको कथा छ “संग्रामबहादुर सार्की”।पहाड आठराईको परिवेशमा संग्रामबहादुर सार्कीले स्कुलमा पढ्न प्रवेश पाउँछ तर अरू बस्छन् बेञ्चीमा, संग्राम बस्छ घरबाट ल्याएको बोरामा।त्यसको भन्दा कठोर छ प्रस्तुत नाटकको स्थिति।

नाटक लक्ष्यमा सफल छ।संरचनात्मक  रूपले हेर्दा यो दुखान्तक छ।मृत्यु छन्, अवसाद छ, विनाशलीला छ।तर गाउँले युवाहरू सचेत भएका छन् र उनीहरू भन्न सक्छन् “शोषक फटाहाहरूको समय होइन यो, यो ता गरिबगुरुवा र सोझाको युग हो ।” यो नै नाटकको सन्देश र सफलता हो। यसले  अन्त्यलाई  सकारात्मक उज्यालो देखाउँछ ।

अन्त्यको गीतले  दिएको सन्देश नै यसको  निचोड  प्राप्ति र नयाँ समाजको  गन्तव्य हो ।

सबैभन्दा भयावह त पुतलीको अपहरण, बलात्कार र हत्या छ।हत्याको बदला हत्या देखाएर स्कुल टिचर दोर्जेले चेतना ल्याउने काम गरे तर नाटक अत्यन्तै तीव्र गतिमा दौडिन्छ।घटनाको बेग ज्यादा छ। लेखकमा आक्रोश तीव्र छ र निमुखाको विजयतर्फ बलिदानी अन्त्यमा पुग्दछ ।

३ साउन, २०७७

सुकर्म टोल, कीर्तिपुर

स्रोतः दोर्जे सरको पदचाप नाटकको भूमिकाबाट साभार

 

 

 

You might also like