डा.लोप्चनको दोर्जे सरको पदचाप नाटक विमोचित

 

डा.लोप्चनको दोर्जे सरको पदचाप नाटक विमोचित

सुनहरी लोप्चन फाउन्डेसन बौद्ध काठमाडौँको आयोजना र उज्यालो नेटवर्क  अनलाइनको सहकार्यमा भर्चुअल माध्यमबाट आयोजित नाटक विमोचन तथा दिपावली, २०७७ शुभकामना आदानप्रदान कार्यक्रम यही २०७७ साल कार्तिक १६ गतेका दिन सम्पन भयो।सुहलो फाउन्डेसनका अध्यक्ष सङ्गीता तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन उज्यालो नेटवर्क अनलाइनका प्रधान सम्पादक बुद्ध लोप्चनबाट गरिएको थियो।

नाटककार डा.लोकबहादुर लोप्चनको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा साहित्यकार एवम् नाट्य निर्देशक टीका अविरलबाट २० वर्ष अघि मन्चित गरिएको उक्त नाटक अहिले पनि खानीखोला गाउँपालिकामा प्रदर्शनको लागि आम जनमानसमा माग भइरहेको कुरा अभिव्यक्त गरे।त्यसपछि कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा.गोविन्दराज भट्टराईबाट उक्त नाटकको विमोचन भयो भने नाट्य विज्ञ प्रा.डा.सावित्री मल्ल कक्षपतिबाट उक्त नाटकको समीक्षा गर्नु हुँदै नेपाली नाट्य साहित्यमा यो नाटक पनि पदचाप भएर आएको बताउनुभयो।साथै उहाँले नाटक भनेको उत्पादन हो, जबसम्म मन्चन हुँदैन त्यसको सार्थकता नरहने बताउनुभयो।उहाँले नाटकलाई नाट्य निर्देशकले पुनर्निर्माण गर्न सक्ने भएकाले २० वर्ष अघि लेखिएको यस नाटकलाई पनि नाटय निर्देशकले समयसान्दर्भिक बनाउन सक्ने विचार अभिव्यक्त गर्दै नाटकको सुधारका पक्षहरूको बारेमा चर्चा गर्दै सुधारसम्बन्धी सुझाउ राख्नुभयो ।

विमोचित नाटकको समीक्षाकै क्रममा शिल्पी थिएटरका प्रमुख एवम् कलाकार घिमिरे, युवराजले दोर्जे सरको पदचाप नाटक ग्रामीण स्थानिक परिवेशका साथै नाटकले विगत ४० वर्षको कालिक आरोहअवरोहलाई प्रतिबिम्बन गरेको कुरा उल्लेख गर्नुभयो। साथै यो नाटक परम्परागत शैलीमा लेखिएको हुँदा नायक र खलनायक अनि द्वन्दजस्ता पाटापक्षमा केन्द्रित रहेको विचार व्यक्त गर्नुभयो।साथै उहाँले नाटक समाजभन्दा माथि वा कलामा सीमित रहने विचार अभिव्यक्त गर्नुभयो।तत्पश्चात् साहित्यकार श्रीओम श्रेष्ठ रोदनले रूकुमको चौरजहारीमा दलितमाथि गरिएको निर्मम हत्याकाण्डका कारण अद्यापि यस नाटकले उठान गरेको शोषण, विभेद, अत्याचार जस्ता घटनापरिघटनाको सापेक्ष्यतामा नाटक सन्दर्भित रहेको विचार राख्नुभयो।यसका अतिरिक्त नाटकको डिजाइनलगायत आधुनिक शैलीमा लेखेर मन्चनीय बनाउन पाएको भए अझ अब्बल हुने विचार राख्नुभयो।त्यसपछि शिक्षाविद विद्यानाथ कोइरालाले दलित आन्दोलनको विगतलाई कोट्याउँदै वर्तमानमा कसले, के भूमिका निर्वाह गर्ने हो भन्ने प्रश्न गर्दै यसका लागि स्थानीय तहले नै जिम्मेवारी लिएर उत्पीडित तथा पिछडा वर्गका लागि कार्यक्रम  नै गर्नुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस

मन्तव्यकै सिलसिलामा विके मुक्ति समाजका पूर्व महासचिव गणेश विकेले सुधार वा परिवर्तन राजनीति वा बौद्धिक कुन वर्गले गर्ने हो भन्ने कुराको प्रसङ्ग उठान गर्दै दलित मुक्तिको लागि एकल प्रयास पर्याप्त नभएको, यसका लागि राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक सबै पक्षलाई समेट्नु पर्ने उल्लेख गर्नुभयो।उहाँले परिवर्तनको मुख्य पक्ष राजनीति र प्रशासन क्षेत्र रहे पनि ती संस्थाहरू समयअनुसार लोकतान्त्रीकरण भई दलितमैत्री हुन नसकेको गुनासो गर्नुभयो।साथै सबै वर्ग, तह र क्षेत्रबाट प्रयसा जारी राख्नुपर्ने विचार गर्नुभयो।त्यसपछि मन्तव्यकै क्रममा शिक्षाविद प्रा.डा.वासुदेव काफ्लेले वर्तमानको मूल मुद्दा नै सीमान्तीकृत वर्गलक्षित भएको हुनाले दोर्जे सरजस्तो परिवर्तनकारी पात्रको बाटो हिँड्नुपर्ने निष्कर्ष निकाल्नुभयो भने साहित्य कलाको लागि कि जीवनका लागि हो भन्ने अनन्त बहसको शृङ्खला अद्यापि रहेको चर्चा गर्नुभयो।उहाँले साहित्य समाजको लागि भएको हुँदा साहित्यमा निर्णय हुनुपर्ने वा समाजलाई मार्गदर्शन गर्नुपर्ने भनेर फरक विचार पस्कनुभयो।

वरिष्ठ सङ्गीतकार प्रदीप वमजनले उहाँले गीति क्षेत्रमा कलम चलाएको थाहा भए पनि नाट्य क्षेत्रमा कलम चलाएको बल्ल थाहा पाएको बताउँदै स्थानीय तह र विद्यालयमा सम्म नाटकलाई मन्चित गर्नुपर्ने विचार अभिव्यक्त गर्नु भयो।त्यसैगरी आफ्नो मन्तव्यको सिलसिलामा जापानका लागि पूर्व नेपाली राजदूत डा.गणेश योन्जनले नेपाली साहित्यमा नाटक विधा खडेरी पर्दै गएको हुँदा यसै विधामा कलम चलाउन लेखकलाई सुझाउनुभयो।उहाँले नेपाली समाजमा राज्य संरचना र राजनीतिक असमावेशी चरित्रको कारण नेपालमा विभिन्न जाति तथा समुदायको सीमान्तीकरण भएको विषयको उठान गर्नुभयो।त्यसैगरी नेपाल सरकारका पूर्व सचिव श्री धनबहादुर तामाङले मानवको जीवन नै नाटक भएको हुँदा यो नाटक पनि समाजमा पछि पारिएका वर्गको लागि लेखिएको र तामाङ भाषमा पनि लेखिएमा अझ प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले निजामित कर्मचारीले निजामति सेवाको मूल्य र कला साहित्यलाई समन्वित रूपमा अगाडि लानुपर्ने बताउँदै  समाजका सम्पूर्ण विषयलाई व्यक्त गर्न भाषाको तागत नपुगेको विचार राख्नुभयो।तर वर्तमानमा प्रविधिको अवसरले सिर्जनालाई आफ्नै प्रविधि पृष्ठ नै खडा गरेरै भए पनि त्यसमा प्रकाशन गरी पाठकसम्म पुग्न सकिने बताउनुभयो।त्यसपछि भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले लेखक नाटककार लोप्चन बहुप्रतिभाशाली भएको हुँदा निजामति क्षेत्रमा आबद्ध रहे पनि जीवन र समाज सन्दर्भित विषयमा नाटक लेखिएको कुराको उठान गर्नुभयो।नाटक साहित्यको सशक्त विधा भएको हुँदा यो अवसर र चनौती दुवै हो भन्नुहुँदै दलितका सन्दर्भमा समष्टित प्रयासको अभाव रहेको विषयमा चर्चा गर्नुभयो । साथै विद्यालय शिक्षादेखि उच्च शिक्षासम्म दलित वर्गको सहभागिता न्यून रहेको हुँदा त्यसप्रति गम्भीर हुनुपर्ने विचार अभिव्यक्त गर्नुभयो।

यस कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराईले यस खाले कार्यक्रम विश्वविद्यालयले गर्ने विद्वतसभा जस्तो भएको विचार अभिव्यक्त गर्दै साहित्य भनेको कला हो भन्नुभयो।समाज परिवर्तनको कुनै माध्यम छ भने त्यो शिक्षा र साहित्य रहेको ठोकुवा गर्नुभयो।सबै जाति, समुदाय, भाषा क्षेत्रका व्यक्तिबाट मातृभाषा र नेपाली साहित्यको सिर्जना हुनुपर्ने विचारका साथै साहित्यिक सिर्जना हृदय खोलेर गर्नुपर्ने विचार अभिव्यक्त गर्नुभयो।यस कार्यक्रमका अध्यक्ष संगीता तामाङले सुनहरी लोप्चन फाउन्डेसनले विगतमा बहुभाषिक शिक्षा मासिक पत्रिका प्रकाशन गरेको र त्यसलाई हाल बहुभाषिक शिक्षा अनलाइनका रूपमा सन्चालन गरिरहेको जानकारी दिनुभयो।संस्थाले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रूपान्तरणको लागि काम गर्नका लागि उपस्थित महानुभावहरूको साथ, सहयोग र सुझाव मिल्ने आशा र विश्वास रहेको विचार व्यक्त गर्नुभयो।अन्तमा, उपस्थित प्रमुख अतिथि, विशेष अतिथि र अतिथिलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो।

You might also like