समालोचनाः दोर्जे सरको पदचाप नाटकमा घोत्लिँदा

 

समालोचनाः दोर्जे सरको पदचाप नाटकमा घोत्लिँदा

प्रा.डा.विद्यानाथ कोइराला

यो नाटकले ६ वटा दृश्यमा सामाजिक मुद्धा उठाएको छ । पहिलो, दृश्यले दुईवटा मुद्दा उठाएको छ । पहिलो मुद्दा हो अभिभावकले छोराले पढ्न पठाउने र छोरीलाई काम लगाउने । दोस्रो, मुद्धा हो दलितले स्कुलमै जातीय छुवाछुतको पीडा भोग्नुपर्ने । तेस्रो, दृश्यमा मालिक र लठैतहरूको दिनचर्या छ । लठैतले मालिकलाई सुनाउने र मालिक सन्किने जानकारी छ । तेस्रो, दृश्यमा शिक्षक परिवर्तनको संवाहक हुन्छ भन्ने सन्देश छ । चौथो, दृश्यमा मालिकको ताबेदारी गर्ने लठैतको ज्यादती र गरीबको निरीहता छ । पाँचौँ, दृश्यमा गरिबको मौन संस्कृति तोड्न शिक्षकले गरेको प्रयास छ । छैठौँ, दृश्यमा गरिब र गरिब पक्षधरहरूको विजय छ । साहू वा मालिक तथा तिनका लठैतहरू सदैव हार्छन् भन्ने सन्देश छ ।

यो पनि पढ्नुहोस

प्रत्येक दृश्यमा सशक्त प्रस्तुति छ । चौथो, दृश्यले भने साहू वा मालिक तथा तिनका लठैतहरूको अमानवीय व्यवहार देखाएको छ । छैठौँ, दृश्यमा कानुन हातमा लिएर ज्यानको बदला ज्यान लिने तरिका हृदयविदारक छ । यसरी हेर्दा नाटकका प्रत्येक दृश्यहरू आफैँमा पूर्ण छन् । पाठकले कतै थप्ने र कतै घटाउने ठाउँ भेटिँदैन ।

प्रस्तुत नाटकमा डा. लोकबहादुर लोप्चनले शास्त्रीय साम्यवादी सिद्धान्त अनुसरण गर्नुभएको छ । नेपाली परिवेशजन्य पुट दिनुभएको छ । सर्वहाराको पक्षधर हुनुपर्छ भन्ने धर्म निर्वाह गर्नुभएको छ । शास्त्रीय प्रगतिशील साहित्यको लेखन शैली समात्नु भएको छ । त्यसो गर्दा पुतलीमाथिको अमानवीयता देखिएको छ । गुन्जनसिंह मार्दा कानुन हातमा लिएको दोष चाहिँ बिर्सनु भएको छ । यहाँ ज्यानको बदला ज्यानको न्याय छ । सामन्तीको भुँडी फोर्ने चिन्तन बोकिएको छ । त्यस्तो बेलामा परिवर्तनका संवाहक दोर्जे सरलाई पनि जोडिएको छ । लठैतलाई पेटको निम्ति भनेर बचाउने दोर्जे सर । छोरीको बदला लिएका हौँ भनेर गुमेलाई बुझाउने दोर्जे सर । गुन्जनसिंलाई मार्दा विषाद नगर्ने दोर्जे सर । यसरी हेर्दा दोर्जे सर पनि “रातो पन्जा”मा दीक्षित  भएको महसुस हुनुहुन्छ । नायकमार्फत् आफ्नो दर्शन प्रसार गर्नमा डा. लोप्चनको लेखनी सफल भएको छ । तर आफूले उठाएका सबै मुद्धाको उत्तर आयो त ? यसको उत्तर लेखकसँग छैन । शायद अरू नाटकमा दिनुहोला । अथवा लेखकको विगत पृष्ठभूमि दृढ निश्चयी संरचनावादी साम्यवादी जस्तो देखिन्छ । सर्वहाराले सामन्ती वा साहू मारेपछि सबै मुद्धाको छिनोफानो हुन्छ । यसको टुङ्गो लेखकमै छाडेँ । लेखन शैलीमा भने सरलता छ । प्रस्तुतिमा क्रान्तिकारिता छ । यस निम्ति लेखकमा नमनसहित ।

 

 

 

You might also like