न्हाङखोरको फापरे गीत, देवटार जात्रा र नेतृ नविनाको यात्रा

 

न्हाङखोरको फापरे गीत, देवटार जात्रा र नेतृ नविनाको यात्रा

डा.लोकबहादुर लोप्चन

जीवनमा कहिलेकाहीँ कामविशेष र घटना विशेष अतीततिर मात्र नभई पुर्खा, संस्कृति र समाजतिर फर्काउँदो रहेछ । भर्खरै दोर्जे सरको पदचाप नाटक विमोचनपछि विगतमा लेखिएका आधुनिक र बाल गीतहरूको पाण्डुलिपिलाई डिजिटलाइज्ड गर्दै सम्पादन गर्दै थिएँ,  आधुनिक भन्न मिल्ने ८८ गीतहरूका साथै बाल गीत १३ गरी १०१ गीत भएछन् ।यसलाई १०१ गीत सङ्ग्रहको रूपमा प्रकाशन गर्ने सोच पलायो  र यसको सुरूवाती नाम जुराउँदै थिएँ, गाइने दाइको सारङगीमा । त्यसै बेला भाषाविद् एवम् तामाङ भाषा र साहित्य स्रष्टा, द्रष्टा एवम् त्यागी व्यक्ति अमृत योन्जन तामाङको कल आयो र मलाई तामाङ न्हाङखोर संस्थाबाट आयोजित ३ दिन फापरे गीत गायन र विचारविमर्श कार्यक्रम सन्चालन गरिने बताउनु हुँदै सङ्क्षेपमा ३ दिनको कार्यक्रमको अवगत गराउनु भयो र मलाई तेस्रो दिनको फापरे ह्वाइको समीक्षा सेसनमा सत्राध्यक्ष गर्नको लागि निमन्त्रणा गर्नुभयो ।साथै उहाँले त्यसमा हामीजस्तै जान्ने भनी टोपलेका मान्छेहरूको सहभागितामा छलफल हुने र भाषा तामाङ नेपाली जुनसुकै प्रयोग गर्न सकिने तर सेसन र कार्यक्रममा पूर्णत तामाङ भाषाको मात्र प्रयोग हुनुपर्ने कुरा सुनाउनु भयो ।

सुरूमा फेसबुक वालमा धेरैजनाले कार्यक्रमको सेयर गरेको र टिकाटिप्पणी गरेको नदेखेको होइन । त्यसले मलाई खासै छोएको थिएन र प्रतिक्रिया जनाइनँ पनि । तर जब अमृत दाइले निम्तो दिनुभयो, जान्ने भनी टोपलेको व्यक्तिको जमघट र छलफल भन्दै ठट्यौली गर्दै मलाई सहभागीको लागि निम्तो गर्नुभयो । मलाई साँच्चै अमृत दाइले जति तान्नु भयो त्यो भन्दा बढी फापरे गीतले तान्न थाल्यो । प्रथमतः डाँडापारि मेरो गाउँ फलामेटारको देवीथानमा विगतमा कार्तिक मङसीरतिर लाग्ने जात्राको सम्झना गरायो । नियमति जात्रा लाग्थ्यो त्यहाँ । फलामेटाको धार्ने, दयागाउँ, ढोका, सिम्ले, खानीडाँडाका साथै पल्ला गाउँ चित्रे र लाप्चेसम्मका तामाङ बूढाबूढीदेखि युवा तन्नेरी र केटाकेटीसम्मको भेला हुन्थ्यो जात्रामा । कक्षा ६-७ पढ्दाखेरि बाबआमालाई घुर्क्याई घुक्याई देवटार जात्रामा गएको थाहा छ साथीहरूसँग रमाइलो गरेको याद झल्झली आउँछ अझै ।अनि झुण्ड झुण्डमा फापरे गीत गाएर तामाङ र तामाङनिहरू र तामाङ युवायुवतीका बीचमा दोहोरी खेलेको धेरै बेर सुनिन्थ्यो। कतिपय त भोलिपल्टसम्म हाम्रै घर तल चौतारा हुँदै चित्रेतिर र खानीडाँडातिर लाग्थे ।कसले जित्यो र कसले हार्यो, जवाफ दिन आयो किन आएन ? जवाफमा कत्तिको ठट्यौली र घोचपेच हुन्छ त्यसलाई असाध्यै उत्साहपूर्वक सुनिन्थ्यो। गीत गायनमा चिनेका आफन्तहरू पनि हुन्थे भने जात्रामा कतिपय टाढाटाढा गाउँका अपरिचित हुन्थे, प्रायजसो तामाङ पुरूषले चरीला कामाइ दोङ्ला नाइ भन्दै तामाङ महिलालाई फापरे दोहोरीका लागि स्वागत गर्थे । कहिलेकाँही भने तामाङ पुरूषपुरूषकाबीच पनि फापरे दोहोरी हुने गर्थ्यो ।त्यतिखेर हार्नेले जित्नेको घर जानुपर्ने जो भए पनि भन्दा अनौठो लाग्थ्यो, बाबाआमाहरूले सुनाउनुहुँदा खेरि । पछि कक्षा ९/१० सम्म नै उक्त जात्राको निरन्तरता थियो ।यो गाउँको लागि वर्षेनी रमाइलो गर्ने, दुःखसुख साट्ने भेटघाट गर्ने र सानो हाट लाग्थ्यो जात्राको बेला । किनमेलको लागि अवसर पनि हुन्थ्यो । त्यतिखेर शायद विकट ग्राम्य जनजीवनको लागि त्यही जात्रा नै ठूला सिनेमा हल, नाटयघर, ठूला बजार र त्यहाँ गाइने फापरे गीत नै अपार र अमूल्य गीत सङ्गीतसरि थियो । त्यो नै  नेपाली भाषा, संस्कृति, कला र पुर्ख्यौली धरोहर मात्र नभई विरासत थियो ।

तर वि.सं. २०५०/५१ सालदेखि देशको सशस्त्र विद्रोहात्मक राजनीतिक परिवेशको कारण नियमित रूपमा जात्रा लाग्ने क्रम टुट्यो । किनकि नेकपाका नेता इन्दबहादुर थिङ वा छिन्ताङको घर त्यही जात्रा लाग्ने देवटारमै छ । संविधान सभाका पूर्व सभाषद अक्कलबहादुर थिङको घर केही माथि झाँक्री टोल छ। मेरो पनि पारिपाट्टि चुनिखोलामा एकलासमा एक्लो घर थियो । यसरी राजनीतिक घटनाक्रमसँगै करिब २७ वर्षजति भयो होला देवटारको जात्रा लाग्न छोडेको । त्यसैबेला देखि फापरे गीतहरू शायद विवाह र मृत्यसंस्कारमा बाहेक गाइएका छैनन्, गाइए पनि जात्रामा खुलेर गाउन पाएका छैनन् । त्यसै बेलादेखि त्यसभेगका तामाङहरूको मनमनमा नै फापरे गीतहरू कुँजिए, हराए, बिलाए । लाग्छ पछिल्ला पुस्ताका लागि कतै एकादेशको कथा त भएन देवटारको जात्रा र फापरे गीतको रौनकता, रोमान्चकता र पुर्ख्यौली आदिम सम्पतिको विरासत ।हो, यहीँनेर मलाई तामाङ डाजाङको फापरे गीतसम्बन्धी कार्यक्रमहरू र त्यसको डिटिजल अर्काइभिङबाट केही ठाउँ र गाउँमा फापरे गीत गाइने प्रचलन रहेको जानकारी मिल्यो । तेमाल जात्रा, लिशङखु जात्रा, बौद्ध जात्रा र स्वयम्भू जात्राका श्रव्यदृश्य सामग्रीहरू हेरियो र  देवटारको जात्रामा सुनिने फापरे गीतको तृष्णा अलकति मेटियो भनूँ । तर आजकल देवटारमा मात्र होइन, बौद्ध जात्रा, तेमाल जात्रा, लिशङ्खु जात्रा पनि लाग्छ कि लाग्दैन ? प्रश्न उठको छ। लागे पनि कम लाग्ने गर्दछ। त्यसो हुँदा फापरे गीत गाउने थलो नै नभए पछि स्वतः, सहज र मौलिक रूपमा फापरे गीत गाउने र जोगाउने कार्य विस्तारै लोपको गर्भतिर लम्किरहेको त होइन भन्ने लाग्न थालेको छ ।

दोलखा जिल्ला साक्षरता घोषणा कार्यक्रमको लागि म तात्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय आनन्द पोखेरेललाई भेट्न मन्त्रीको स्वकीय सचिव कहाँ बसिरहेको थिएँ । एक जना कोही महिला पनि कुर्दै हुनुहन्थ्यो मैले चिनिनँ  तर स्वकीय आज त लामा नै लामाले मन्त्रीलाई भेट्ने दिन रहेछ भनी जिस्क्याउनु भयो । मैले म एक्लै छु त कसरी त्यस्तो भयो र ? प्रश्न गरेँ । उनले उहाँ दिदी नविना लामा के त भनेर परिचय गराउनुभयो । त्यसपछि हाल माननीय नविना लामाजीले म तपाईको फलामेटारको देवटारमा राहत बाँड्न पुगेको छु भन्नुभयो ।मैले सुरूमै भने कसरी जानुभयो भनी सोधिहालेँ । उहाँले राहत उद्धारको लागि हेलिकोप्टरमा भनेपछि स्वभाविक लाग्यो। तत्काल राहतका लागि छिटो साधनको प्रयोग बाहेक विकट ठाउँमा पहुँचको अन्य विकल्प नै के रह्यो र ? साथै हाम्रा नेता साथी छिन्ताङ र महेशजीको घर पनि त्यही हो भन्ने कुराकानी भयो । त्यसपछि मन्त्री ज्यूकहाँ निम्तो गर्ने कार्य सम्पन गरी फर्किएँ ।

तर मलाई मेरो विगत ३० वर्षअघिको देवटारको सम्झना गरायो, भूगोल विकटताको याद गरायो  र अहिले गाउँसम्म सडक जोडिएको, यातायातको साधन पुगेको कुराले अलिकति आत्मिक शान्ति दिलायो । तर विगतमा बिरामी हुँदा रातरात डोकोमा बोकिएर दुई दिनमा धुलिखेल अस्पतालमा आइपुगेको  विगतको पीडा अझै पूरा निको भएजस्तो लाग्दैन मलाई। अझ तामाङ न्होङखोरबाट आयोजित फापरे गीत गायन र विचारविमर्श कार्यक्रमले मलाई अतीतको स्मरण मात्र गराएन, फापरे गीत र मेरो विगतसहित गाउँमा गरिने देवाटार जात्राबारे लेख्न झकझक्यायो । त्यसका लागि अमृत योन्जन या तामाङ भाषा साहित्यको पर्यायलाई मेरो हार्दिक नमन र सलाम ।

तामाङ गीति परम्पराको थालनी बुद्धिमान मोक्तान इं.सं. १९६५ मा सङ्कलित ताम्बा काइतेन व्हाइ रिमठिमबाट सुरू भएको देखिन्छ । जङ्गीवीर बोमजन र हर्कवीर पाख्रीनले तामाङ गीद (इं.१९६३) सँगै फुल्दै फल्दै अहिलेको तामाङ गीति यात्रासम्म आइपुगेको देखिन्छ।भाषाविद् अमृत योन्जन तामाङकाअनुसार फापरे गीत भनेको फाSपा गीत हो अर्थात् सवाल जवाफसहित गीत हो नेपालीको दोहोरो गीत जस्तै । रे चाहिँ थेगो भन्ने भनाइ छ योन्जनको। त्यसैगरी कसैले फापरजस्तै हलुका रूपमा लिने गीत भनेको पनि देखिन्छ। ताम्बा काइतेन पुस्तकमा पनि केही गीत फाल्तु गीत शीर्षकमा सङ्ग्रहित छन् ।यसरी फापरे गीतका बारेमा  चर्चा परिचर्चा हुँदै आएको पाइएको छ। आफ्नै  भूगोलको विकटताबीच रहेको गाउँकै जात्राहरूमा फापरे गीत गाइने प्रचलन नै रहेको देखाइ र भोगाइको आधारमा योन्जनले भनेजस्तै फापरे गीत तामाङ लोक जनजिन्दगीको परम्परागत मौलिक गीत वा सिर्जना हो भन्नुपर्ने हुन्छ ।यो तामाङ लोक जीवनमा मौखिक गायन परम्परामा पुस्तारन्तर हुँदै आएको अमूल्य र अमूर्त तामाङ पुर्ख्यौली सम्पदा वा सम्पत्ति हो । जसरी सेलो  तामाङ मौलिक गीत हो, त्यसरी नै फापरे गीत पनि तामाङको अहिलेसम्मकै भर्जिन गीत हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।खालि यी दुईमा भाषागत भिन्नता रहन्छ, सेलोमा नेपाली भाषाको प्रयोग भए पनि तामाङ गीति लय वा धुनको प्रयोग हुन्छ भने यसमा तामाङ धुन वा लयको साथमा तामाङ भाषाकै प्रयोग हुन्छ भन्ने कुरा फापरे गीतमा प्रयोग हुने शब्द र लय वा गायनको ताल सुरबाट ठम्याउन सकिन्छ ।

तामाङ भाषा, साहित्य र इतिहासको गहन अध्ययन र अनुसन्धान गर्नुपर्ने धेरै विज्ञहरू बताउँछन् । केही विदेशी विद्वान र स्वदेशी विज्ञबाट अध्ययन भए पनि ती अध्ययन सामग्रीहरूको उपलब्धता सहज रूपमा हुँदैन र पहुँचयोग्य समेत रहेको लाग्दैन मलाई । जसको कारण आलेख/लेखमा व्यक्त कुराहरू द्वितियक स्रोतमा आधारित हुने र कतिपय अनुमानमा आधारित भई अभिव्यक्त गर्नुपर्ने अवस्था रहेको छ। जे होस् बुद्धिमान मोक्तानको १२० औँ जन्मजयन्तीको अवसरमा तामाङ न्हाङखोरले आयोजना गरेको कार्यक्रममा निम्ता आएको सन्दर्भमा मैले आफ्नै गाउँ, जात्रा र फापरे गीतसम्बन्धी आफ्नो भोगाइसापेक्ष भई आत्मालापको माध्यमबाट लेखी टोपलेको छु । तामाङ न्हाङखोरबाट आयोजित कार्यक्रमले यस विधामा विशेष उपलब्धि हुने र त्यसको अर्काइभिङ भई आम पाठक लाभदायी हुने विश्वास गर्दछु ।कार्यक्रमबाट धेरै कुरा सिक्न म आतुर छु ।अन्तमा कवि एवम् कथाकार फूलमान बलको कवितांशसँगै यहीँ बिसाउँछुः

यो पनि पढ्नुहोस

वर्षौंदेखि तिम्रो इतिहासले—

विस्मृतिको बुइँगलमा मिल्काइदिएको 

पेङदोर्जेको उही प्राग्ऐतिहासिक डम्फू बजाउँदै 

गाएकै हो मैले

नयाँ युगको फापरे व्हाई

स्रोतः कान्तिपुर दैनिक कोसेली स्तम्भ ।

 

 

 

 

 

 

 

You might also like