खानीखोला गाउँपालिकामा देवकोटा जयन्ती र साहित्यिक कार्यक्रम

 

खानीखोला गाउँपालिकामा देवकोटा जयन्ती र साहित्यिक कार्यक्रम

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्तीको अवसर पारेर अविरल साहित्य समाजले खानीखोला गाउँपालिका, काभ्रेपलान्चोकको ताल्ढुङगामा एक साहित्यिक कार्यक्रम आयोजना गर्‍यो। श्री जन विकास माविको प्राङ्गणमा सन्चालित उक्त साहित्यिक कार्यक्रमको अध्यक्षता अविरल साहित्य समाजका अध्यक्ष एवम् साहित्यकार श्री टीका अविरलले गर्नुभएको थियो । प्रमुख अतिथि खानीखोला गापा अध्यक्ष श्री कृष्ण खुलाल रहेको उक्त कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष क्षेत्र ध्यावा, स्थानीय शेखर लामा, विष्णु तिमल्सिनालगायतका व्यक्तिहरू विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।कार्यक्रममा नेपाल सरकारका उपसचिव तथा नाटककार डा.लोकबहादुर लोप्चन पनि विशेष अतिथिका रूपमा भर्चुअल माध्यमबाट सहभागी हुनुभएको थियो ।

स्थानीय युवा प्रेम प्रकाश लामाले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय साहित्यप्रेमी युवायुवतीका साथै स्थानीय अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिसहित सहभागीबाट मन्तव्य र कविता वाचन गरिएको थियो ।जसमा स्थानीय साहित्यकारप्रेमी स्रष्टाहरूबाट कविता वाचन गरिएको थियो । भर्चुअल माध्यमबाट सहभागी डा.लोकबहादुर लोप्चनले दिपावलीको शुभकामनाका साथै मन्तव्यसहित प्रकाशोन्मुख १०१ गीत सङ्ग्रहको शीर्ष गीत गाइने दाइको सारङ्गीमा सुनाउनु भएको थियो ।साथै कार्यक्रममा सहभागी सबैलाई डा.लोप्चन लिखित दोर्जे सरको पदचाप नाटक वितरण गरिएको थियो । उक्त गीतका शब्दहरूः

गाइने दाइ तिम्रो सारङ्गीमा

गाइने दाइ,

तिम्रो सारङगीमा दुःख मात्रै रेटिन्छ कि ?

सुख पनि रेटी हेर कतै समेटिन्छ कि ?

पीरब्यथा मात्रै सुन्छु तिम्रो सारङगीको धुनमा

गर्छौँ  रे गर्व तिमी, गाउँदागाउँदै नेपाली हुनमा ।

गाइने दाइ,

यो पनि पढ्नुहोस

तिम्रो सारङगीमा दुःख मात्रै रेटिन्छ कि ?

रेटी हेर खुशी पनि कतै समेटिन्छ कि ?

खोज्छौ रे तिमी जिन्दगीलाई,

तिम्ले गाउने हरेक गीतको अन्तराअन्तरामा ।

बोकी हिँड्छौँ रे तिमी,

नेपाली कला/संस्कृतिलाई गाउँबस्ती अनि कुनाकन्दरामा ।

गाइने दाइ,

तिम्रो सारङगीमा आँसु मात्रै रेटिन्छ कि ?

रेटी हेर कतै हाँसो पनि समेटिन्छ कि ?

कार्यक्रममा उत्साही युवायुवतीहरूले स्थानीय परिवेश, जीवनका विविध पाटापक्ष र भोगाइसम्बद्ध सुन्दर कविताहरू वाचन गरी साहित्यिक माहोल तयार  भएको थियो । त्यसपछि विशेष वक्ता स्थानीय समाजसेवा एवम राजनीतिकर्मी विष्णु तिमल्सिना, क्षेत्र घ्यावा, शेखर लामाका साथै प्रमुख अतिथिको साहित्यिक कार्यक्रमसम्बन्धी मन्तव्य र दिपावलीको शुभकामना आदानप्रदान पछि कार्यक्रमका अध्यक्ष श्री टीका अविरलको मन्तव्यसँगै कार्यक्रम सम्पन्न भएको थियो ।यसरी विगतमा काभ्रे जिल्लाको कर्णाली भनिएको डाँडापारिको ताल्ढुङगामा देवकोटा जयन्तीको अवसरमा साहित्यक कार्यक्रम  आयोजना भए सम्पन्न हुनु सङ्घीयता, स्थानीय विकासको प्रभाव र जागरूकताको सुखद नतिजा वा उपलब्धि मान्न सकिन्छ ।

 

 

You might also like