कामपाले नेवार भाषा मात्र बोक्ने कि बहुभाषा ?  शिक्षाविद कोइराला

कामपाले नेवार भाषा मात्र बोक्ने कि बहुभाषा ?  शिक्षाविद कोइराला

काठमाडौँ, २०७७ साल मंसीर ११ गते ।

भाषा आयोग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा २०७७ साल मङसीर ११ गते भर्चुअल माध्यममा आयोजित काठमाडौँ महानगरपालिकामा मातृभाषाको कार्यान्वयनसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। भाषा आयोग मातृभाषा शिक्षा शाखाका प्रमुख डा.लोकबहादुर लोप्चनबाट सन्चालन भएको उक्त कार्यक्रमको अध्यक्षता भाषा आयोगका माननीय अध्यक्ष डा. लवदेव अवस्थीले गर्नुभएको थियो। काठमाडौँ महानगरपालिकाका उपमेयर श्री हरिप्रभा खड्की श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा भाषा आयोगका माननीय सदस्य  श्री उषा हमालको समेत उपस्थिति रहेको थियो । नेपाल भाषासम्बद्ध नेवा दय दबू, नेवा शिक्षा अभियान, नेवा बस्ती नेवा स्कुल अभियानका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ, सुनुवार सेवा समाज, तमु गुरुङ, राई किराँत यायोख्खाका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा भाषा आयोगका कर्मचारीसहित विभिन्न सामुदायिक र संस्थागत विद्यालयका प्रअ तथा प्रिन्सिपलहरूको सहभागिता रहेको थियो ।साथै विभिन्न पत्रकारहरूसहित मातृभाषा शिक्षासम्बन्धी इच्छुक व्यक्ति वा व्यक्तित्वहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

कामपाका शिक्षा विभाग प्रमुख श्री मोतीराज खनालको स्वागत एवम् भाषा शिक्षासम्बन्धी मन्तव्यबाट सुभारम्भ गरिएको थियो । उहाँले कामपा शिक्षा समितिको २०७७ साल भदौ ४ गते बैठकले नगरपालिकामा नेपाल भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी विद्यालयमा पठनपाठन गर्न निर्णय गरिएबमोजिम कार्यपालिकाको मिति २०७७ साल असोज ६ गते बसेको बैठकमा स्थानीय विषय रूपमा नेपाल भाषा विषयलाई स्वीकृत भएको हुँदा यसै शैक्षिक सत्रबाट कार्यान्वयन हुन जानकारी गराउनुभयो ।

भाषिक तथा जातीय संस्थाहरूबाट सम्बद्ध भाषाहरूमा मातृभाषामा शिक्षासम्बन्धी गरिएका पहल र प्रयासको विषयमा प्रस्तुति गर्ने क्रममा नेवा बस्ती नेवा स्कुल अभियानका दिपक तुलाधरले नगरपालिकाका १०५ विद्यालयमा नेपाल भाषा पठनपाठन भइरहेको बताउनुभयो ।जसमध्ये २६ वटा सरकारी विद्यालयहरूमा पनि नेपाल भाषा विषय पठनपाठन भएको कुराको जानकारी गराउनुभयो । तथापि  कुनै पनि जिम्मेवार निकायहरूबाट औपचारिक रूपमा यससम्बन्धी अवलोकन तथा मूल्याङ्कन हुने नगरेको गुनासो गर्नुभयो । त्यसैगरी नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले घेदुङले २ दर्जनभन्दा बढी स्थानीय तहसँग भाषा आयोग, तामाङ घेदुङ र स्थानीय तहको सहकार्यमा स्थानीय भाषा नीति निर्माण तथा मातृभाषा शिक्षासम्बन्धी कार्यक्रम सन्चालन गरिने बताउनुभयो । साथै नेपाल तामाङ घेदुङले काठमाडौँ महानगरपालिकामा यस वर्ष सहकार्य गर्नको लागि कोरोनाको कारण सम्भव नभएको तर यस नगरपालिकाको भाषिक जनसङ्ख्यामा नेवार समुदायको २२% पछि तामाङ जातिको ११% रहेको हुँदा तामाङ घेदुङले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तमु गुरूङ परिषदका आरबी गुरूङले गुरूङ मातृभाषामा शिक्षाका लागि स्थानीय तहहरूसँग सहकार्य भइरहेको सुनाउनुभयो भने राई किराँत यायोख्खाका महासचिव जनक राईले राई भाषा समूहका २६ वटा भाषाहरूमध्ये केही भाषा समूहहरूमा स्थानीय तहसँग सहकार्य गरी पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरिएको बताउनुभयो ।त्यसैगरी सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले पनि भाषा आयोगले सुनुवार मातृभाषामा शिक्षाका लगि कार्यक्रम सन्चालन गरेको हुँदा आफूहरूले पनि सुनुवार भाषामा पठनपाठनका लागि ओखलढुंगा जिल्लाका केही स्थानीय तहमा पहल गरी पठनपाठनमा लैजाने प्रयास गर्दै आएको बताउनुभयो ।भाषाविद् पदम राईले राई भाषाहरूमा पनि मातृभाषा विषय र माध्यमका रूपमा पठनपाठन हुँदै आएको र राई किराँत यायोख्खाबाट पनि यसका लागि पहल हुँदै आएको जानकारी गराउनुभयो ।राई किराँत यायोख्खा संस्थाका महासचिव जनक कुमार राईले राई समूहका २६ भाषा समूहका लागि स्थानीय तहसँग निरन्तर ७/७ दिनसम्म भर्चुअल माध्यमबाट अन्तर्क्रिया सन्चालन गरिएको जसमा ७०% जति स्थानीय तहहरू समेटिको जानकारी गराउनुभयो ।साथै पाठ्यक्रम विकास केन्द्रबाट केही राई समूहका भाषाहरूमा कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक तयार गरिएको र कार्यान्वयन भएको चर्चा गर्नुभयो । तथापि इलाम र भोजपुर जस्ता जिल्लामा राई समूहका भाषा १२/१५ भन्दा बढी विद्यालयहरूमा पठनपाठन हुने गरेकोमा अहिले ६/७ विद्यालयहरूमा झरेको कटु अनुभव सुनाउनुभयो । दुलुङ दुधकोशी गापा सोलुखुम्बुमा स्थानीय तहकै पहलमा कक्षा १ देखि ३ सम्मका लागि थुलुङ भाषामा पाठ्यपुस्तक तयार भई छपाइ समेत भएको बताउनु भयो ।उहाँले धनकुटाको सहिदभूमि गाउँपालिकामा राई भाषी शिक्षक समेत व्यवस्था गरिएको थप जानकारी गराउनुभयो ।

यो पनि पढ्नुहोस

कार्यक्रमका प्रमुख अतिथि एवम् कामपाका उपमेयर श्री हरिप्रभा खड्गी श्रेष्ठ संविधानतः मातृभाषामा बालबालिकालाई पठनपाठन गर्ने व्यवस्था भए तापनि स्थानीय तहका विद्यालयहरूमा मातृभाषा पठनपाठन नहुँदा स्थानीय भाषाहरू लोप हुँदै गएको विषयको उठान गर्नुभयो । नगरपालिकाका विद्यालयहरूमा विगतमा स्थानीय विषयको सट्टा अङ्ग्रेजी, कम्प्युटर जस्तो विषय पठनपाठन हुन्थ्यो तर नपाले कक्षा १-८ सम्मका सबै बालबालिकाका लागि स्थानीय विषयको सट्टा नेपाल भाषा पढाउने निर्णय गरी कार्यान्वयनमा गएको बताउनुभयो ।जसको लागि मानपाले सामुदायिक ९१ विद्यालयहरूमा नेपाल भाषाको पाठ्यपुस्तक नै उपलब्ध गराउने र ६ सयभन्दा बढी संस्थागत विद्यालयका लागि उक्त नेपाल भाषाका पाठ्यपुस्तकको पिडिएफ प्रति उपलब्ध गराइने व्यवस्था गरिएको जानकारी गराउनुभयो । साथै नगरपालिकाभित्रका विद्यालय सेवा क्षेत्र निर्धारण गरी त्यहीँ पढ्ने प्रबन्ध गर्ने दिशा नगरपालिका अघि बढिरहेको बताउनुभयो । त्यसपछि भाषिक अभियन्ता डा.चुन्दा बज्रचार्यले काठमाडौँ नगरपालिकामा नेपालमा भाषामा नेवारी रहनसहन, जात्रा, खानपान, चाडपर्व, स्थानीय परिवेश समेटिएको स्थानीय विषय पठनपाठन हुने कुराको जानकारी गराउनुभयो । उहाँले आफूहरूको सहजीकरणमा काठमाडौँ मानपाले नेपाल भाषाको माध्यमबाट नेवारी संस्कार, संस्कृतिको पठनपाठन हुने कुरालाई प्रष्ट पार्ने प्रयास गर्नुभयो ।

कार्यक्रममा विज्ञको प्रस्तुति भन्दा अघि लिइएको प्रतिक्रियामा उदय लामाले काठमाडौँ नपाभित्र नेवार, तामाङ,गुरूङ लगायत अन्य भाषाका विद्यार्थीहरू रहेको हुँदा नेपाल भाषा मात्र पढाउँदा बहुभाषिक नीति अनुरूप र विद्यार्थीको आवश्यकता अनुरूप नहुने भएकाले भाषाविज्ञ तथा शिक्षाबाट छिनोफानो गरी नपालाई मार्गनिर्देश गर्नुपर्ने सुझाव राख्नुभयो । त्यसपछि भाषाविद अमृत योन्जन तामाङले काठमाडौँ नगरपालिकामा स्थानीय भाषा नीति र मातृभाषा शिक्षासम्बन्धी विषयक कार्यपत्र प्रस्तुत गर्दै काठमाडौँ नपामा १०१ भाषाभाषीहरू रहेको हुँदा नगरपालिकाले वैधानिकताका लागि सर्वप्रथम स्थानीय भाषा नीति तयार गरी लागू गर्नुपर्ने बताउनुभयो । त्यसका लागि शिक्षाविद्, भाषाविद, भाषिक संघसंस्थाका प्रतिनिधिसहित कानुनविदको सहभागिता रहन सक्ने बताउनुभयो । त्यसपछि मातृभाषा शिक्षा निर्देशिका र कार्यविधि बनाई त्यसैको आधारमा नगरपालिकामा मातृभाषालाई माध्यम र विषयका रूपमा लैजाने सकिने सुझाव राख्नुभयो । साथै नपामा १०१ भाषाहरू भएकाले सबै भाषाको संरक्षण र विकासको लागि स्थानीय भाषा सङ्ग्रहालय स्थापना गरी अघि बढ्न सकिने उल्लेख गर्नुभयो ।साथै उहाँले बहुभाषिक नीतिको सन्दर्भमा एकल नेपाल भाषा लागू हुने कुराले आफूलाई अप्ठेरो महसुस भएको र त्यसले सबै भाषा र समुदायलाई कति न्याय गर्छ भन्ने सोच्न गम्भीर बनाएको विचार व्यक्त गर्नुभयो ।त्यसपछि विद्यालय प्रअको तर्फबाट राय राख्ने क्रममा महेन्द्र मावि बौद्धका प्रअ धर्मेन्द्र खकुरेलले कक्षा १-८ सम्म आफ्नो विद्यालयमा ४८ प्रतिशत तामाङ भाषी बालबालिकाहरूले पढिरहेको र हाल कक्षा १-५ सम्म तामाङ भाषा विषयको पठनपाठन भइरहेको हुँदा नेपाल भाषा अनिवार्य गरिँदा तामाङलगायत अन्य बालबालिकाका लागि कति न्यायसंगत र व्यावहारिक हुन्छ भन्ने प्रश्न राख्नुभयो ।तथापि आफूहरूले तामाङ विषयलाई रोकेर नेपाल भाषा विषय लागू गर्ने कि त्यसलाई निरन्तरता दिने भन्नेमा अन्योलमा रहेको बताउनुभयो। तथापि आफ्नो विद्यालय  नगरपालिका गरेको निर्णय लागू गर्नेमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।त्यसैगरी निजी विद्यालयका प्रिन्सिपल राजन आचार्यले नगरपालिकाले आफ्नो विद्यालयहरूमा नेपालभाषी भन्दा अन्य भाषी विद्यार्थी बढी अध्ययनरत रहेको हुँदा संस्थागत ६४३ विद्यालयहरूमा नेपाल भाषा मात्रै अनिवार्य गर्दा कस्तो होला भन्दै संस्थागत विद्यालयलाई पनि स्थानीय विषयको पाठ्पुस्तक निशुल्क हुनुपर्ने माग गर्नुभयो ।

शिक्षाविद् विद्यानाथ कोइरालाले काठमाडौँ नगरपालिकाले नेपाल भाषालाई ऐच्छिक विषयका रूपमा लागू गर्न निर्णय  गरेको भए उक्त राम्रो कदम हुने तर सबै विद्यालय र विद्यार्थीलाई नेपाल भाषा विषय नै  अनिवार्य गर्न खोजिएको हो भने त्यो फसाद वा फसेको भन्नुभयो । उहाँले नगरपालिका सबै जनता, भाषिक समुदायको साझा संस्था भएको हुँदा नेपाल भाषा मात्र बोक्दा त्यो सरकारको कार्य नभई अभियन्ताको कार्य जस्तो भएको चर्चा गर्नुभयो । साथै त्यो कार्य संविधान र मौजुदा कानुन विपरीत भएको हुँदा गहन छलफल र संवाद गरी सही निष्कर्षमा पुगी अघि बढ्नुपर्ने जिकिर गर्नुभयो । त्यसका लागि भाषाविद अमृत योन्जनले देखाउनु भएको स्थानीय भाषा नीति निर्माण, मातृभाषा शिक्षा निर्देशिका तयार गरी बहुभाषिकतालाई सम्बोधन गरी विद्यार्थीको आवश्यकलाई प्राथमिकता दिई जानुपर्ने बताउनुभयो । बहुभाषिकतालाई जोडेर जान सकेमा सही हुने तर नेपाल भाषा एउटा मात्र लिएर हिँड्दा त्यो नेपालमा एकल भाषाको उपक्रम जोडिने जसले सामाजिक न्याय वा सन्तुलन बिगार्ने हुँदा कामपा साझा भाषा, जाति, संस्कृतिका हुनका लागि बहुभाषिकता नगई नहुने विकल्प अगाडि सार्नुभयो ।

मन्तव्यको क्रममै नेपाल भाषा केन्द्रीय विभागका प्रा.डा. ओमकारेश्वर श्रेष्ठले उच्च तहमा नेपाल भाषामा विद्यावारिधिसम्म अध्ययनअध्यापन हुँदैआएको विषयको चर्चा गर्दै नगरपालिकाले एकल नेपाल भाषा मात्र नबोकी सबै भाषालाई बोक्नुपर्नेमा आफ्नो विमति नहरेको बताउनुभयो । नपाले सबै विद्यालयको भाषिक नक्साङ्कन गरी भाषिक विद्यार्थीको माग र आवश्यकताको आधारमा कुनै पनि भाषालई माध्यम र विषयको रूपमा विद्यालयस्तरमा लागू गर्न सकिने बताउनुभयो । त्यसपछि मन्तव्यकै क्रममा भाषा आयोगका माननीय सदस्य उषा हमाले सबै क्षेत्र र सहभागीबाट आएको विभिन्न दृष्टिकोणले नगरपालिकालाई दिशानिर्देश गर्दै आएको बताउनुभयो । त्यसपछि कार्यक्रम सन्चालक एवम मातृभाषा शिक्षा प्रमुख डा. लोकबहादुर लोप्चनले भाषा आयोगले मातृभाषा शिक्षासम्बन्धी तीन तहकै सरकारलाई विगत ४ वर्षदेखि वार्षिक प्रतिवेदन मार्फत सिफारिस गर्दै आएको हुँदा उक्त सिफारिसभन्दा भिन्न तरिकाले सरकारहरू जान नमिल्ने बरू त्यसका लागि स्थानीय सरकारलाई भाषा आयोगले प्राविधिक र प्राज्ञिक सहयोग गर्दै जाने बताउनुभयो । कार्यक्रमको अन्तमा भाषा आयोगका माननीय अध्यक्ष डा. लवदेव अवस्थीले काठमाडौँ नगरपालिकाले गरेको प्रयास सह्रानीय र पहिलो कदम भएको हुँदा त्यसले अगाडिको बाटो तय गरेको प्रस्ट पार्नुभयो ।भाषा आयोगले प्रस्ट रूपमा संवैधानिक प्रावधानअनुसार हरेक बालबालिकालाई कक्षा १-३ सम्म आफ्नै मातृभाषामा पठनपाठन गर्न सिफारिस गरिसकेको र माथिल्लो तहमा विषयका रूपमा मातृभाषालाई निरन्तरता दिने तथा अन्यका लागि स्थानीय विषयका रूपमा अनिवार्य पठनपाठन गर्नुपर्ने गरी सरकारहरूलाई सिफारिस गरिसकेको हुँदा सोअनुसार कार्यान्वयन गर्न अनुरोध गर्नुभयो । अबको भाषा शिक्षाको यात्रा कुनै एक भाषा भन्दा पनि बहुभाषिक बाटो वा फराकिलो बाटोमा हिँड्नुको विकल्प नरहेको स्मरण गराउनु हुँदै भाषा आयोगले स्थानीय तहहरूमा निरन्तर बहस, छलफल र अन्तर्क्रिया गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । जसले गर्दा  सबै सरकारले सही मार्ग पक्रन सक्ने र बहुभाषिकताको गन्तव्यमा पुग्न सकिने मननीय विचारका साथ कार्यक्रमको समापन गर्नुभयो ।

You might also like