बहुभाषिक नाम खोसिएका गौरीगन्ज झापाका दुई विद्यालयहरू

 

बहुभाषिक नाम खोसिएका गौरीगन्ज झापाका दुई विद्यालयहरू

डा.लोकबहादुर लोप्चन

समाजकल्याण परिषदबाट समर इनस्टिचुड अफ लिङ्गुइस्टिकको मातृभाषामा आधारित बहुभाषिक शिक्षा र साक्षरता शिक्षासम्बन्धी कार्यक्रमको मूल्याङ्कनका लागि स्थलगत अध्ययनको सिलसिलामा झापा जिल्ला गौरीगन्ज गापाका दुई विद्यालयहरूको अवलोकन र समुदायसँग अन्तरक्रिया भयो। विदयालुय जाने क्रममा बाटामा विद्यालय सोध्दाखेरि बताउनेहरूले समुदायको बहुभाषिक विद्यालय नै भन्ने गरेको पाइयो । ती विद्यालयहरू थिएः एउटा  गौरीगन्ज स्थित विष्णु बहुभाषिक विद्यालय वा हाल चीलहरा प्राथमिक विद्यालय र अर्को थियोः पहिला आमगाछि बहुभाषिक विद्यालय तर हाल चीलहरा प्राथमिक विद्यालय । यो विद्यालय चाहिँ गौरीगन्ज गापाको आमगाछी गाउँमा पर्दछ ।

यो पनि पढ्नुहोस

दुई विद्यालयमध्ये हालको चीलहरा प्राविमा कक्षा ४ सम्मको पढाइ हुन्छ । यो विद्यालय वि.सं. २०६४ सालतिर एसआइएल संस्थाको आर्थिक सहायतामा तिनकै विकास कार्यक्रमका साझेधार एनएनआइएलपीको सहयोगमा स्थापना भई अघिल्लो शैक्षिक सत्रसम्म संस्थाकै सहयोगमा सन्चालित थियो तर संस्थाको परियोजना सकिएपछि गाउँपालिकाको सहयोगमा शिक्षक व्यवस्थापन भई सन्चालन भइरहेको पाइन्छ । यस विद्यालयमा बालक्षामा पूर्णतः राजवंशी भाषाको माध्यमबाट पठनपाठन हुने गरेको पाइयो भने कक्षा १ देखि ४ सम्म राजवंशी भाषा विषय पठनपाठन गरिएको भेटियो । स्थापनाको समयदेखि नै विद्यालयलाई शिक्षकसहित सहयोगीका लागि तलब भत्ता, पाठ्यपुस्तकसहित भाषाका सामग्री संस्थाको तर्फबाट उपलब्ध गराउँदै आएको थियो । साथै संस्थाबाट विद्यार्थीका लागि दिवा खाजा र पोशाक उपलब्ध गराउँदै आएको थियो । तर गत शैक्षिक वर्षबाट संस्थाले गाउँ पालिकालाई यी  विद्यालयहरूको हस्तान्तर गरेको हुँदा पालिकाले शिक्षकका लागि तलब, पाठ्यपुस्तक र अन्य सामग्री उपलब्ध गरी निरन्तरता दिएको पाइयो तथापि यस विद्यालयमा स्थायी शिक्षक दरबन्दी भने उपलब्ध गरेको पाइएन ।

त्यसैगरी अर्को आमगाछी प्राथमिक विद्यालयको सुरूको नाम आमगाछी बहुभाषिक विद्यालय रहेको थियो । हाल कक्षा ५ सम्म पठपाठन हुने यस विद्यालयको स्थापनाकालको नाम आमगाछी प्राथमिक विद्यालय रहेको थियो भने समुदायले अझै पनि यस विद्यालयलाई आमगाछी बहुभाषिक विद्यालयकै रूपमा चिन्दछन् । यस विद्यालयमा पनि बहुभाषिक शिक्षाकै मोडलअनुसार बाल कक्षा र कक्षा १ मा अधिकांश राजवंशी माध्यम भाषाबाट पठनपाठन हुने गरेको पाइन्छ । कक्षा दुईमा ५० प्रतिशत राजवंशी माध्यम भाषा र ५०% नेपाली माध्यम भाषाको प्रयोग गरी पठनपाठन गर्दै कक्षा ३ बाट क्रमशः राजवंशी माध्यम भाषा हुँदै नेपाली माध्यम भाषामा भाषिक सङ्क्रमण गर्दै लगिएको पाइयो । यस विद्यालयलाई पनि संस्थाले गत शैक्षिक वर्षमा गापालाई हस्तान्तरण गरेदेखि भाषिक शिक्षक र सहयोगी गरी ४ जनाको लागि तलब र भत्ता उपलब्ध गराउँदै आएको पाइयो । साथै स्थानीय तहले ३ जना स्थायी शिक्षक दरबन्दी पनि उपलब्ध गराउँदै आएको छ । तथापि संस्थाले विद्यार्थीका लागि पोशाक तथा दिवा खाजा भने उपलब्ध गर्न छोडिएको पाइयो । नेपाल सरकारको पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गरिएको यस विद्यालयलाई उनीहरूले अझै पनि बहुभाषिक विद्यालयका रूपमा चिन्ने गरेको पाइयो ।

गौरीगन्ज गापाका अध्यक्ष बाबुराजा श्रेष्ठका अनुसार पालिकामा एसआइएलको सहयोग र समुदायको पहलमा स्थापित ३ विद्यालयहरूमध्ये अर्को एक तारा बहुभाषिक प्रावि हो । त्यस विद्यालयलाई गत वर्ष संस्थाले पालिकालाई हस्तान्तरण गरेपछि पालिकाले २ शिक्षक दरबन्दी र अन्य सेवा सुविधा उपलब्ध गराउँदै आएको पाइयो । यसरी यस पालिकामा संस्था र समुदायको पहलमा स्थापित तीनवटा बहुभाषिक विद्यालयलाई गौरीगन्ज गापाले निरन्तरता दिएको पाइयो । जुन काम प्रशंसनीय छ । तथापि विद्यालयले बहुभाषिक विद्यालयका रूपमा गापामा दर्ता नभएको हुँदा बहुभाषिक नाम भने हटाइएको पाइयो । जबकि नेपालको संविधान २०४७ देखि २०७२ ले समुदायको पहलमा बहुभाषिक विद्यालय स्थापना गरी सन्चालन गर्न पाउने प्रावधान छ । स्थानीय समुदायकाअनुसार तात्कालीन जिल्ला शिक्षा कार्यालय र हालको गापाले उक्त संवैधानिक प्रावधान र बहुभाषिक शिक्षासम्बन्धी नबुझ्दा बहुभाषिक विद्यालय दर्ता हुने कल्पनासमेत गर्न सकेनन् । बहुभाषिक विद्यालयको नामकरण चाहिँ बहुभाषिक विद्यालय बेगर राखी दर्ता गर्न पुगे । यसरी के देखिन्छ भने जनप्रतिनिधि र शिक्षाका कर्मचारीलाई बहुभाषिक विद्यालयसम्बन्धी अनविज्ञता रहनुका साथै संवैधानिक प्रावधानलाई समेत नहेरी निर्णय गर्दा कतिपय विद्यालय बहुभाषिक विद्यालहरूको नामबाट बहुभाषिकता हटेर सामान्यीकृत हुन पुगेका देखिन्छन्, कानुनी व्यवस्था हुँदाहुँदै बहुभाषिक विद्यालय हुनबाट बन्चित भएका पाइन्छछन् । साथै यस्ता कार्यले समुदायको भाषिक अधिकार नै अपरहित हुन पुगेको देखिन्छ । त्यसैले विष्णु बहुभाषिक विद्यालय चील प्रावि नाममा दर्ता हुन पुग्यो, आमगाछी बहुभाषिक विद्यालय चाहिँ आमगाछी प्राविमा नामकरित हुन पुग्यो र तारा बहुभाषिक विद्यालय पनि तारा प्राविमा नामकरित भए । अतः राजनीति र प्रशासनिक निकायमा रहेको बहुभाषिक शिक्षासम्बन्धी निरक्षताको कारण समुदायमै स्थापित भाषिक विद्यालयले बहुभाषिक नाम पाउन सकेन भने जनप्रतिनिधि र कर्मचारी जसको अभिभावक भएर बहुभाषिक नामकरण गर्न प्रोत्साहन गर्नुपर्थ्यो तर यसबारे नजान्दा र नबुझ्दा त्यसलाई खोस्न पुगेका छन् । तसर्थ बहुभाषिक शिक्षासम्बन्धी साक्षरता कक्षाहरू जनप्रतिनिधि र कर्मचारीका लागि सन्चालन नगरिने हो भने यस्तै भाषिक अपराधिक कार्यहरू सदियौँ दोहोरिने सुनिश्चित छ ।

You might also like