चौकुने गापा सुर्खेतमा मातृभाषामा शिक्षा कार्यक्रम

   चौकुने गापा सुर्खेतमा मातृभाषामा शिक्षा कार्यक्रम

पृष्ठभूमि

भाषा आयोगबाट कर्नाली प्रदेशअन्तर्गत चौकुने गापामा शिक्षामा मातृभाषाको प्रयोग सम्भाव्यता (विद्यालयको नक्साङ्कन, मातृभाषाको स्तर पहिचान) सम्बन्धी एकीकृत अध्ययन गर्ने क्रममा मगर भाषामा केन्द्रित अध्ययन गरी प्रतिवेदन लेखन तथा सो प्रतिवेदनको सारांश समेत प्रकाशन गरेको छ। साथै भाषा आयोगले यस गापामा कक्षा १-३ सम्म बहुभाषिक शिक्षा र त्यसभन्दा माथि आधारभूत तहसम्म मातृभाषा विषय/स्थानीय विषयलाई ऐच्छिक विषयको रूपमा पठनपाठन गर्न नेपाल सरकारमार्फत वार्षिक प्रतिवदेनहरूमा स्थानीय तहमा कार्यान्वयन गर्नको लागि सिफारिस गरेको छ। यस गापामा बोलिने भाषाहरूको स्तर निर्धारण हुनुका साथै शिक्षामा मातृभाषाहरूलाई माध्यमका रूपमा अवलम्बन गरी कार्यान्वयनमा लैजानको लागि स्थानीय  तहमा भाषा संरक्षण तथा विकास नीति निर्माण गरी कार्यान्वयन गर्न अपरिहार्य देखिन्छ । साथै बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयनका लागि बाल कक्षा र कक्षा १ मा अध्यापन गर्ने शिक्षकलाई परामर्श प्रदान गर्नुपर्दछ । सोही उदेश्यअनुरूप भाषा आयोग र चौकुने गापाको सहकार्यमा यस गापामा बहुभाषिक शिक्षा विकास नमुना विकासका लागि २०७७ साल मङसीर २४ र २५ गते २ दिने अन्तर्क्रियात्मक कार्यक्रम सन्चालन गरी बहुभाषिक शिक्षाको कार्यान्वयनका लागि पहल र प्रयास गरेको छ ।

उद्देश्यहरू

यस कार्यक्रमका उद्देश्यहरूलाई देहायअनुसार प्रस्तुत गरिएका छन्-

  • शिक्षामा मातृभाषाको प्रयोग सम्भाव्यतासम्बन्धी अध्ययन प्रतिवेदनलाई सार्वजनिकीकरण गरी स्थानीय तहलाई हस्तान्तरण गर्नु,
  • स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, शिक्षकसहित सरोकारवालाको उपस्थितिमा अन्तरक्रिया गरी स्थानीय तहका लागि भाषा नीति मस्यौदा तयार गर्नु,
  • बाल कक्षा र कक्षा १ मा अध्यापन गर्ने शिक्षकका लागि १ दिने अन्तरक्रियात्मक परामर्श कार्यशाला सञ्चालन गरी बहुभाषिक शिक्षाका लागि शिक्षकहरूको सक्षमता विकास गर्नु,
  • मातृभाषामा शिक्षासम्बन्धी भाषा आयोगको सिफारिसको कार्यान्वयन गर्न स्थानीय तहसँग सहकासर्य गरी कार्यक्रम सञ्चालन गरी निरन्तरता दिनु ।

कार्यक्रम विवरण

  • पहिलो दिनको कार्यक्रमः मङसीर २४ गते

गापाका स्रोतव्यक्ति भानुभक्त घिमिरेबाट सञ्चालित पहिलो दिनको कार्यक्रमको अध्यक्षता श्री जन्ननाथ माविका विव्यस अध्यक्ष श्री कमलप्रसाद ढकालले गर्नुभएको थियो। प्रमुख अतिथिको आसन ग्रहण गापा उपाध्यक्ष श्री निर्मला मगरज्यूले गर्नुभएको थियो । कार्यक्रममा वडा नं. ५ का वडाध्यक्षका साथै मगर भाषाका स्थानीय विज्ञ मनबहादुर मगरको उपस्थिति रहनुका साथै मगर सङ्घ जिल्ला समन्वय समितिका सदस्य श्री रतनबहादुर दर्लामीको सहभागिता रहेको थियो। पहिलो दिनको शिक्षक परामर्श कार्यक्रममा गापाभित्रका ४६ बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरू उपस्थित रहेका थिए । साथै कार्यक्रममा केन्द्रबाट शिक्षाविद् प्रा.डा. वासुदेव काफ्ले, भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चन र आच्छामी भाषाविज्ञ सहप्राध्यापक डा. हर्कबहादुर शाही विज्ञ सहजकर्ताका रूपमा उपस्थित भएका थिए । साथै गापाका कर्मचारीसहित कार्याक्रम सञ्चालन गरिएको विद्यालयका प्रअ, राजी सङघ चौकुनेका अध्यक्षलगायत अन्य सरोकारवालाहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस

कार्यक्रम सञ्चालन भएको श्री जन्ननाथ माविका प्रअ श्री ठम्बर विष्टको स्वागत मन्तव्यबाट प्रारम्भ गरिएको उक्त कार्यक्रममा मगर भाषाका पाठ्यपुस्तक लेखक श्री मनबहादुर मगरले चौकुने गापामा मगर भाषा विषयको पठनपाठन र बहुभाषिक शिक्षाको विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो । त्यसपछि भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चनले स्थानीय तहको भाषा नीतिसम्बन्धी नमुना मस्यौदालाई प्रस्तुत गरी बहुभाषिक शिक्षाको कार्यान्वयनको औचित्य र आवश्यकताको बारेमा बताउनुभएको थियो । साथै उहाँले भाषा आयोगको संवैधानिक कार्यहरूको चर्चा गर्दै भाषा आयोगले आफ्नो वार्षिक प्रतिवेदनहरूमार्फत तीनै तहका सरकारलाई के कस्तो भाषा नीति र शिक्षामा कसरी भाषालाई प्रयोग गर्ने विषयमा सिफारिस गरिएको जानकारी गराउनुभयो। त्यसपछि आच्छामी भाषाविज्ञ सहप्राध्यापक डा. हर्कबहादुर शाहीले जगन्नाथ माविकै कक्षा अवलोकनको सन्दर्भलाई उदघृत गर्दै शिक्षकले बालबालिकालाई घरको वा मातृभाषामा सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

शिक्षाविद प्रा.डा. वासुदेव काफ्लेले शिक्षा र समृद्धि अन्तरसम्बन्धित रहेको विषयको उठान गर्दै समृद्धिको साधन भनेको शिक्षा हुनाले यसमा विशेष जोड दिनुपर्ने बताउनु भयो । साथै उहाँले पहिलो भाषाको माध्यमबाट बालबालिकाको शिक्षाको जगलाई बलियो बनाउन सकिने र त्यसका लागि शिक्षकले कर्तव्य निर्वाह गर्नुपर्ने स्मरण गराउनुभयो । किनभने शिक्षक नै विद्यालय शिक्षाको सम्वाहक मात्र नभई त्यसको नेतृत्व, कारक र सहायक तत्व रहेको विचार अभिव्यक्त गर्नुभयो । त्यसपछि सहभागीसँग खुला छलफलको क्रममा सहभागीबाट उठेका जिज्ञासाहरूलाई भाषा आयोगका उपसचिव डा.लोकबहादुर लोप्चनले सम्बोधन गर्नुभएको थियो । राजी समाजका अध्यक्षको मन्तव्यपछि विव्यस अध्यक्ष साथै यस कार्यक्रमको अध्यक्ष कार्यक्रम सम्पन्न हुनु अघि नै बाहिर जानुभएको हुँदा वडाध्यक्षले मन्तव्यसहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

  • दोस्रो दिनको कार्यक्रम (मङसीर २५ गते)

दोस्रो दिनको कार्यक्रमको अध्यक्षता श्री जगन्नाथ माविका विव्यस अध्यक्ष श्री कमलप्रसाद ढकालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन चाहिँ स्रोतव्यक्ति श्री भानुभक्त घिमिरेले गर्नुभएको थियो।कार्यक्रममा कक्षा १ मा अध्यापन गर्ने शिक्षकहरूको सहभागिता रहेको थियो। जसमा अघिल्लो दिनकै विज्ञ समूहसहित मगर सङघका पदाधिकारीलगायत अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रारम्भ भाषा आयोगका उपसचिव डा.लोकबहादुर लोप्चनबाट मातृभाषा शिक्षाको महत्व, चुनौती र भावी कार्यदिशाको बारेमा प्रस्तुतिबाट भएको थियो । उहाँले बाल कक्षादेखि कक्षा ३ सम्म बहुभाषिक माध्यम अवलम्बन गर्नुपर्ने, त्यसपछि विषयका रूपमा निरन्तरता दिनुपर्ने र नेपाली तथा अङ्ग्रेजी विषयलाई दोस्रो भाषाको रूपमा पठनपाठन गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । साथै उहाँले सामुदायिक विद्यालयको व्यवस्थापन सुधार गरेर निजी विद्यालयसँग खरो प्रतिस्पर्धामा उत्रिन नसकेमा सामुदायिक विद्यालयहरूको मृत्यु हुन सक्ने भएकोले शिक्षक उत्तरदायी र जिम्मेवार बन्नुपर्ने सुझाव राख्नुभयो।तत्पश्चात आच्छामी भाषाविज्ञ डा.हर्कबहादुर शाहीले आच्छामी भाषाको उदाहरणसहित कसरी स्थानीय भाषाको प्रयोगले बालबालिकालाई पठपाठनमा सघाउ पर्‍याउँछ भन्ने विषयमा प्रस्ट पार्नुभयो । साथै बालबालिकाले पहिलो भाषामा राम्रो गरेपछि अन्य जुनसुकै भाषा सरलता र सहजताकासाथ सिक्न सक्ने बताउनुभयो ।शिक्षाविद प्रा.डा. वासुदेव काफ्लेले शिक्षा जगतमा विश्वस्तरमा केकस्ता अभ्यास भएका छन् भन्ने उदाहरण दिँदै मातृभाषाको माध्यमबाट प्रदान गरिएको शिक्षाले सिकाइ उपलब्धि वृद्धि भएको बताउनुभयो । साथै समाजमा अभिभावकहरूको इच्छा वा गलत बुझाइ रहन सक्ने भएको हुँदा त्यसलाई सही दिशानिर्देश गर्ने कार्य शिक्षकको रहेकोमा जोड दिनुभयो । साथै सामुदायिक विद्यालयको सुधारसहित समृद्धिको प्राप्तिको आधार शिक्षा रहेको उल्लेख गर्नुभयो ।

त्यसपछि खुला छलफलको क्रममा शिक्षकबाट राखिएका जिज्ञासाहरूको सम्बोधन भाषा आयोगका मातृभाषा शिक्षा प्रमुख डा.लोकबहादुर लोप्चनले गर्नुभएको थियो। कार्यक्रममा मन्तव्य दिने क्रममा मनबहादुर मगरले बाल आवश्यकता र संवैधानिक अधिकारको सुनिश्चितताको लागि मातृभाषामा शिक्षाको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।त्यसैगरी मगर सङ्घ सुर्खेतका सदस्य रतनबहादुर दर्लामीले सबै गुरू तथा गुरूआमाहरूले बालबालिकालाई मातृभाषामा सहजीकरण गरेर पठनपाठन गर्नुपर्ने बताउनुभयो।कार्यक्रमको अन्तमा विव्यस अध्यक्ष श्री कमलप्रसाद ढकालले मन्तव्यसहित कार्यक्रमको समापन गर्नुभयो। साथै यस कार्यक्रमको प्रशासनिक र प्राविधिक व्यवस्थापन प्रा.स.श्री बालविक्रम राईले गर्नुभएको थियो ।

निष्कर्ष

व्यावहारिक रूपमा तल्लो तहका कक्षामा शिक्षकहरूले यदाकदा बालबालिकाको भाषामा सहजीकरण गर्ने गरेको पाइयो । तथापि बहुभाषिक शिक्षासम्बन्धी तालिम वा परामर्शको अभावमा अभिभावकदेखि शिक्षक तथा प्रअसम्ममा पनि मातृभाषामा शिक्षासम्बन्धी सही बुझाइ विकास हुन सकेको पाइएन।तथापि यस कार्यक्रमबाट बाल कक्षा र कक्षा १ मा पठनपाठन गर्ने १०० भन्दा बढी शिक्षकका साथै उपस्थित सबैमा मातृभाषामा शिक्षासम्बन्धी सही ज्ञान र सीपको विकासमा मद्दत पुगेको आशा र विश्वास लिइएको छ।

 

You might also like