गढी गापा सुनसरी, मातृभाषामा शिक्षा कार्यान्वयन

 

गढी गापा सुनसरी, मातृभाषामा शिक्षा कार्यान्वयन

१.परिचय

भाषा आयोगको मातृभाषा शिक्षा शाखाको आ.व.२०७७/७८ मा विगतमा मातृभाषामा शिक्षाको प्रयोग सम्भाव्यतासम्ब्धी अध्ययन गरी प्रतिवेदन लेखन तथा प्रकाशन भएका स्थानीय तहहरूमा बहुभाषिक शिक्षा नमुना विकास कार्यक्रम सञ्चालन गर्ने नीतिगत निर्णय भएको छ । सोअनुसार गढी गापा सुनसरीमा उराँव भाषाका साथै स्थानीय तहमा बोलिने भाषाहरूको माध्यम र विषयको रूपमा विद्यालय शिक्षामा केकसरी प्रयोग गर्ने विषयक शिक्षा परामर्श कार्यक्रम सम्पन्न गरियो । बाल कक्षा र कक्षा १ मा पठनपाठन गर्ने शिक्षकहरूको सक्षमता विकास गरी बहुभाषिक शिक्षा नमुना विकास कार्यक्रम सञ्चालन गरिएको हो ।

२.कार्यक्रमका उद्देश्यहरू

उद्देश्यहरू

यस कार्यक्रमका उद्देश्यहरूलाई देहायअनुसार प्रस्तुत गरिएका छन्-

  • शिक्षामा मातृभाषाको प्रयोग सम्भाव्यतासम्बन्धी अध्ययन प्रतिवेदनलाई सार्वजनिकीकरण गरी स्थानीय तहलाई हस्तान्तरण गर्नु,
  • स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, शिक्षकसहित सरोकारवालाको उपस्थितिमा अन्तरक्रिया गरी स्थानीय तहका लागि भाषा नीति मस्यौदा तयार गर्नु,
  • बाल कक्षा र कक्षा १ मा अध्यापन गर्ने शिक्षकका लागि १ दिने अन्तरक्रियात्मक परामर्श कार्यशाला सञ्चालन गरी बहुभाषिक शिक्षाका लागि शिक्षकहरूको सक्षमता विकास गर्नु,
  • मातृभाषामा शिक्षासम्बन्धी भाषा आयोगको सिफारिसको कार्यान्वयन गर्न स्थानीय तहसँग सहकासर्य गरी कार्यक्रम सञ्चालन गरी निरन्तरता दिनु ।

कार्यक्रम विवरण

  • पहिलो दिनको कार्यक्रमः पुस २१ गते
यो पनि पढ्नुहोस

गापाका शिक्षा अधिकृतबाट सञ्चालित पहिलो दिनको कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्री श्रीप्रसाद यादवबाट गर्नुभएको थियो। साथै कार्यक्रममा अतिथिको आसन ग्रहण गापा उपाध्यक्ष श्री  राजकुमरी चौधरीज्यूले गर्नुभएको थियो । कार्यक्रममा वडा नं. ५ का वडाध्यक्षका साथै उराँब भाषाका स्थानीय विज्ञ बेचन उराँबको उपस्थिति रहनुका साथै नेपाल उराँब जनजाति प्रतिष्ठानका सदस्य कोषाध्यक्ष र अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो। पहिलो दिनको शिक्षक परामर्श कार्यक्रममा गापाभित्रका ३६ बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरू उपस्थित रहेका थिए । साथै कार्यक्रममा केन्द्रबाट भाषाविद अमृत योञ्जनत तामाङ, भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चन विज्ञ सहजकर्ताका रूपमा उपस्थित भएका थिए । साथै गापाका कर्मचारीसहित कार्याक्रम सञ्चालन गरिएको  कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रअ, लगायत अन्य सरोकारवालाहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन भएको शिक्षा अधिकृत छवि खड्काको स्वागत मन्तव्यबाट प्रारम्भ गरिएको उक्त कार्यक्रममा मगर भाषाका पाठ्यपुस्तक लेखक चौकुने गापामा मगर भाषा विषयको पठनपाठन र बहुभाषिक शिक्षाको विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो । त्यसपछि भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चनले स्थानीय तहको भाषा नीतिसम्बन्धी नमुना मस्यौदालाई प्रस्तुत गरी बहुभाषिक शिक्षाको कार्यान्वयनको औचित्य र आवश्यकताको बारेमा बताउनुभएको थियो । साथै उहाँले भाषा आयोगको संवैधानिक कार्यहरूको चर्चा गर्दै भाषा आयोगले आफ्नो वार्षिक प्रतिवेदनहरूमार्फत तीनै तहका सरकारलाई के कस्तो भाषा नीति र शिक्षामा कसरी भाषालाई प्रयोग गर्ने विषयमा सिफारिस गरिएको जानकारी गराउनुभयो।

भाषाविद अमृत योञ्जन तामाङले संविधान, कानुन सबैमा मातृभाषामा शिक्षासम्बन्धी व्यवस्था रहे पनि कार्यान्वयन पक्ष कमजोर रहेकाले स्थानीय तहले चाहिँ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार लागू गर्दै जानुपर्ने बताउनुभयो। साथै उहाँले पहिलो भाषाको माध्यमबाट बालबालिकाको शिक्षाको जगलाई बलियो बनाउन सकिने र त्यसका लागि शिक्षकले कर्तव्य निर्वाह गर्नुपर्ने स्मरण गराउनुभयो । किनभने शिक्षक नै विद्यालय शिक्षाको सम्वाहक मात्र नभई त्यसको नेतृत्व, कारक र सहायक तत्व रहेको विचार अभिव्यक्त गर्नुभयो । त्यसपछि सहभागीसँग खुला छलफलको क्रममा सहभागीबाट उठेका जिज्ञासाहरूलाई भाषा आयोगका उपसचिव डा.लोकबहादुर लोप्चनले सम्बोधन गर्नुभएको थियो । राजी समाजका अध्यक्षको मन्तव्यपछि विव्यस अध्यक्ष साथै यस कार्यक्रमको अध्यक्ष कार्यक्रम सम्पन्न हुनु अघि नै बाहिर जानुभएको हुँदा वडाध्यक्षले मन्तव्यसहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

  • दोस्रो दिनको कार्यक्रम (पुस २१ गते)

दोस्रो दिनको कार्यक्रमको अध्यक्षता अध्यक्ष विद्यालय प्रअले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन चाहिँ शिक्षा अधिकृत छवि खड्काले गर्नुभएको थियो।कार्यक्रममा कक्षा १ मा अध्यापन गर्ने विद्यालयका २४ भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको थियो। जसमा अघिल्लो दिनकै विज्ञ समूहसहित नेपाल उराँव आदिवासी प्रतिष्ठानका पदाधिकारीलगायत अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रारम्भ भाषा आयोगका सहभागीहरूको विज्ञसँग के अपेक्षा छ, शिक्षणसिकाइको क्रममा भाषिक बहुलतालाई कसरी व्यवस्थापन गर्नुभएको छ र अब कसरी भाषिक विद्यालयलाई कक्षाकोठामा व्यवस्थापन गर्न सकिन्छ भनी सहभागीबाट विचार लिइएको थियो । त्यसै आधारमा भाषाविद अमृत योञ्जन तामाङले मातृभाषामा शिक्षा संवैधानिक र कानुनी प्रावधानसहितको चर्चा गर्दै बालअधिकार रहेको हुँदा शिक्षकले पठनपाठनको क्रममा बहुभाषिकता अवलम्बन गर्नुपर्ने बताउनुभयो ।साथै नेपाल उराँव आदिवासी प्रतिष्ठानका अध्यक्ष श्री बेचन उराँवले आफूहरूले गापास्थित सबै विद्यालयहरूमा भाषिक नक्साङकन र शिक्षामा प्रयोग सम्भाव्यताको अध्ययन गरेको हुँदा त्यस आधारमा मैथिली, थारू र उराँव भाषी विद्यार्थी भएको हुँदा उक्त भाषाहरूमा बहुभाषिक कक्षा सञ्चालन गर्न सकिने उल्लेख गर्नुभयो । साथै उहाँले अध्ययन प्रतिवेदनको सारांश सुनाउनुभयो ।

त्यसपछि उपसचिव डा.लोकबहादुर लोप्चनबाट मातृभाषा शिक्षाको महत्व, चुनौती र भावी कार्यदिशाको बारेमा प्रस्तुतिबाट भएको थियो । उहाँले बाल कक्षादेखि कक्षा ३ सम्म बहुभाषिक माध्यम अवलम्बन गर्नुपर्ने, त्यसपछि विषयका रूपमा निरन्तरता दिनुपर्ने र नेपाली तथा अङ्ग्रेजी विषयलाई दोस्रो भाषाको रूपमा पठनपाठन गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । साथै उहाँले सामुदायिक विद्यालयको व्यवस्थापन सुधार गरेर निजी विद्यालयसँग खरो प्रतिस्पर्धामा उत्रिन नसकेमा सामुदायिक विद्यालयहरूको मृत्यु हुन सक्ने भएकोले शिक्षक उत्तरदायी र जिम्मेवार बन्नुपर्ने सुझाव दिनुभयो । साथै बालबालिकाले पहिलो भाषामा राम्रो गरेपछि अन्य जुनसुकै भाषा सरलता र सहजताकासाथ सिक्न सक्ने बताउनुभयो त्यसपछि खुला छलफलको क्रममा शिक्षकबाट राखिएका जिज्ञासाहरूको सम्बोधन भाषा आयोगका मातृभाषा शिक्षा प्रमुख डा.लोकबहादुर लोप्चनले गर्नुभएको थियो। कार्यक्रममा मन्तव्य दिने क्रममा मनबहादुर मगरले बाल आवश्यकता र संवैधानिक अधिकारको सुनिश्चितताको लागि मातृभाषामा शिक्षाको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।त्यसैगरी ‍कार्यक्रमको अन्तमा कार्यक्रम सन्चालति विद्यालयको प्रअबाट मन्तव्यसहित कार्यक्रमको समापन गर्नुभयो। साथै यस कार्यक्रमको प्रशासनिक र प्राविधिक व्यवस्थापन प्रा.स.श्री बालविक्रम राईले गर्नुभएको थियो ।

निष्कर्ष

व्यावहारिक रूपमा तल्लो तहका कक्षामा शिक्षकहरूले यदाकदा बालबालिकाको भाषामा सहजीकरण गर्ने गरेको पाइयो । तथापि बहुभाषिक शिक्षासम्बन्धी तालिम वा परामर्शको अभावमा अभिभावकदेखि शिक्षक तथा प्रअसम्ममा पनि मातृभाषामा शिक्षासम्बन्धी सही बुझाइ विकास हुन सकेको पाइएन।तथापि यस कार्यक्रमबाट बाल कक्षा र कक्षा १ मा पठनपाठन गर्ने ८० भन्दा बढी शिक्षकका साथै उपस्थित सबैमा मातृभाषामा शिक्षासम्बन्धी सही ज्ञान र सीपको विकासमा मद्दत पुगेको आशा र विश्वास लिइएको छ।

 

   

 

 

 

You might also like