कालिन्चोक गापा दोलखामा मातृभाषामा शिक्षाः थामी भाषाका शिक्षक नियुक्ति

 

कालिन्चोक गापा दोलखामा मातृभाषामा शिक्षाः थामी भाषाका शिक्षक नियुक्ति

कालिन्चोक गापा, दोलखा ।

भाषा आयोगले कालिन्चोक गापा दोलखामा आ.व.२०७४/७५ मा शिक्षामा मातृभाषाको प्रयोग सम्भाव्यताका लागि थामी भाषामा आधारित भएर गापाअन्तर्गतका ५२ विद्यालयहरूको भाषिक नक्साङ्कन गर्नका साथै विद्यालयस्थित समुदायमा बोलिने भाषाहरूको आधारमा गाउँपालिकामा बोलिने मातृभाषाहरूको स्तर पहिचान गरेको थियो । साथै आयोगको अध्ययनको क्रममा ३ वटा विद्यालयहरूमा थामी भाषाको शिक्षामा प्रयोग सम्भाव्यतासम्बन्धी अध्ययन गरिएको थियो । यस अध्ययन प्रतिवेदनलाई थामी भाषी अध्येता रमेश थामीले लेख्नुभएको थियो ।

यो पनि पढ्नुहोस

अध्ययन प्रतिवेदन २०७४/७५ काअनुसार यस गापामा नेपाली भाषा बोल्ने वक्ता ३६%, थामी भाषी २६%, तामाङ भाषी ६%, नेवारी भाषी ४%, शेर्पा भाषी ३%, मगरभाषी २% र माझी भाषी १% रहेको देखिन्छ । उक्त प्रतिवेदनअनुसार ११ वटा विद्यालयहरूमा थामीभाषी विद्यार्थी मात्र रहेका छन् भने अन्य बाँकी ४१ विद्यालयहरूमा कतै नेपाली र थामी भाषी गरी द्विभाषी विद्यार्थी रहेको पाइएको छ भने कतै नेपाली, थामी, तामाङ, शेर्पा, माझीसहित दुई भन्दा बढी भाषिक समुदायका विद्यार्थीहरू अध्ययनरत रहेको देखिन्छ । तथापि भाषा आयोगले थामी भाषाको शिक्षामा प्रयोग सम्भाव्यताको अध्ययन गरेको बखतमा यस गाउँपालिकामा सबै विद्यालयहरूमा कक्षा १ देखि ३ सम्मको शिक्षाको माध्यम भाषाका रूपमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरिएको थियो । जुन मातृभाषामा शिक्षाको विषयमा अभिभावक, शिक्षक, प्रअ र गापाका पदाधिकारीहरू समेत अवधारणागत रूपमा अस्पस्ट हुँदा सिर्जिएको गैरकानुनी कार्य थियो । त्यसबेला आयोगको कार्यक्रमको सिलसिलामा भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीसहित भाषाविद प्रा.डा.चुन्दा बज्रचार्यसहित भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख लोकबहादुर लोप्चनले त्यतिखेर नै अङ्ग्रेजी माध्यम विद्यालय शिक्षाको तल्लो तहमा लगाउनु बालस्तर, मनोविज्ञान, भाषिक आवश्यकता र संवैधानिक तथा कानुनी रूपमा समेत नभएको उल्लेख गरेको थियो । साथै त्यसैबेला नेपाली र अङ्ग्रेजी माध्यमलाई माथिल्लो कक्षाहरूमा अवलम्बन गर्न सकिने भनी विज्ञको तर्फबाट गाउँपालिकालाई सुझाएको थियो । अध्ययन प्रतिवेदनले पनि बालकक्षा देखि ३ कक्षासम्म मातृभाषामा आधारित बहुभाषिक शिक्षा लागू गर्नुपर्ने सिफारिस गरेको छ ।

भाषा आयोगले आ.व.२०७७/७८ को वार्षिक कार्यक्रमअनुसार कालिन्चोक गाउँपालिकाको सहकार्यमा बालकक्षा र कक्षा १ मा पठनपाठन गर्ने शिक्षकका लागि मातृभाषामा शिक्षासम्बन्धी परामर्श कार्यशाला आयोजना भयो । पहिलो दिनको कार्यशाला २०७७ साल माघ १२ गते र दोस्रो दिनको कार्यशाला माघ १३ गते सञ्चालन गरेको थियो । पहिलो दिनको कार्यक्रम माघ १२ गतेका दिन बाल कक्षामा अध्यापन गर्ने शिक्षक, गाउँपालिकाका शिक्षाका कर्मचारी तथा गाउँपालिकाका अध्यक्ष उपाध्यक्षसहित वडाध्यक्षहरूको उपस्थितिमा भाषा आयोग र विज्ञको तर्फबाट परामर्श कार्यमा सहजीकरण गरिएको थियो । जसमा भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा. लोकबहादुर लोप्चनले स्थानीय तहका लागि तयार पारिएको स्थानीय तहको भाषा संरक्षण र विकासका नीति मस्यौदा प्रस्तुत गरी सो नीति पारित गरी लागू गर्ने उपायहरूका बारेमा सहजीकरण गर्नुभएको थियो । त्यसैगरी भाषाविद् अमृत योञ्जन तामाङले मातृभाषामा शिक्षा सम्बन्धी विचार प्रस्तुत गर्नुभएको थियो भने अध्येता रमेश थामीले प्रतिवेदनको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो । दोस्रो दिन पनि यसरी नै तिनै जनाबाट सहजीकरण गरी कक्षा १ मा पठनापाठन गर्ने शिक्षकलाई प्रशिक्षित गरिएको थियो ।

पहिलो दिनको कार्यक्रम गापा उपाध्यक्ष कालिका पाठकले आफूले शिक्षक हुँदा पनि तामाङ भाषा सिकेर पठनपाठन गरेको उदाहरण प्रस्तुत गर्दै गाउँपालिका गापाभित्रको सबै भाषा संरक्षण तथा संवर्धन गर्दै मातृभाषाको माध्यमबाट शिक्षा दिन तयार भएको जानकारी गराउनुभएको थियो । त्यसपछि कार्यक्रमका अध्यक्षता गरिरहेका गाउँपालिका अध्यक्ष विनकुमार थामीले गाउँपालिकाले बिगतमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरू गरिए तापनि विद्यार्थीको आवश्यकतानुसार मातृभाषाको शिक्षालाई प्रारम्भ गरेको बताउनुभयो । साथैउनले दुई जना थामी मातृभाषी शिक्षक नियुक्ति गरेर मातृभाषामा शिक्षाको प्रारम्भ गरेको जानकारी गराउनुभयो । थामी भाषी शिक्षक नियुक्त गरिएका  २ विद्यालयहरू सूर्योदय आवि र दिव्यश्वरी आवि रहेका छन् । साथै भाषा आयोगको सहकार्यमा गाउँपालिका मातृभाषामा शिक्षाको कार्यान्वयनमा लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दोस्रो दिनको कार्यक्रममा गाउँपालिका शिक्षा प्रमुख रोशनी आचार्य र शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख शङ्करबाबु श्रेष्ठको उपस्थिति रहनुका साथै उनीहरूबाट मन्तव्य राखिएको थियो। उक्त कार्यक्रमको सञ्चालन भाषा आयोग मातृभाषा शिक्षा शाखाका अधिकृत लोकबहादुर शाहीले गर्नुभएको थियो भने प्राविधिक तथा प्रशासन व्यवस्थपन आयोगकै कम्प्युटर अपरेटर भूपेन्द्रप्रसाद जोशीले गर्नुभएको थियो ।

You might also like