शैलुङ अनलाइन र तामाङ समाज जापान: ल्होछार कार्यक्रम केही प्रतिबिम्बहरू

शैलुङ अनलाइन र तामाङ समाज जापान: ल्होछार कार्यक्रम केही प्रतिबिम्बहरू

डा.लोकबहादुर लोप्चन

२०७७ साल माघ २४ गते शनिबार २ बजे शैलुङ अनलाइनले सोनाम ल्होछार २८५७ को अवसरमा शुभकामना कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा राजनीतिक क्षेत्र, निजामति, भाषा, सामाजिक क्षेत्रका साथै सञ्चार जतगतका युवा पुस्तादेखि माथिल्ला पुस्ताका व्यक्तिव्यक्तिहरूको उपस्थितिका साथै सबैबाट आफ्नो शुभकामना मन्तव्यसहित देशको समसामयिक राजनीतिक विषय, तामाङ समुदायको राज्यको हरेक संरचना, तहमा समानुपातिक सहभागितासहितको सार्थक उपस्थितिको बारेमा विचारहरू सम्प्रेषित भए । साथै तामाङ समुदायको संस्कृति, संस्कार, भाषासहित मौलिक पहिचानको विषयमा समेत वक्ताहरूबाट मन्तव्यमा आफ्ना आफ्नो दृष्टिकोण, बुझाइ, भावना प्रस्तुत गरिए । तामाङ घेदुङ सङ्घको विषयवस्तुको पनि कार्यक्रममा उठान भए भने घेदुङकै पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। बिगतदेखि नेपाल तामाङ घेदुङको पहलमा टुँडिखेलमा निरन्तर सोनाम ल्होछार मनाउँदै आएकै छ । यसपल्ट भने कटनी भएको विदालाई पुनः कायम गर्न तामाङ घेदुङको पहल विशेष रह्यो र सरकारले त्यसको सुनुवाइ गर्दै सार्वजनिक विदा दिई ल्होछार मान्ने तामाङलगायत अन्य समुदायको भावनाको कदर गरेको छ जबकि यो विदा केही वर्ष अघिदेखि कटौती गरिएको थियो । लोछारको माहोल कोरोनाको कारण यसपल्ट टुँडिखेलमा नमनाइए पनि देशका स्थानीय तहहरू र विदेशमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भर्चुअल माध्यमबाट मनाएर मौलिक संस्कृतिका रूपमा रहेको ल्होछार चाडलाई समुदायसापेक्ष बनाउने यत्न प्रयत्न गरिएको छ ।

गंगाजमुना गाउँपालिका धादिङका भाइ सरजक तामाङले बडो आत्मीयताका साथ त्यहाँको ल्होछार कार्यक्रममा प्रमुखको भूमिका निर्वाहको लागि निमन्त्रणा गर्नुभयो। जहाँ तामाङ भाषा समेत लोप भएको परिस्थिति सुनाउनुभयो। त्यहाँ गएर ल्होछारको शुभकामना प्रदान गर्दै तामाङ समुदायसँग ल्होछार उत्सव मनाउने अभीप्सा नभएको होइन, तथापि व्यक्तिगत र कार्यालयगत कारण उपस्थिति भई जिम्मेवारी निर्वाह गर्न सकिन त्यो अवसर गुमाउनु परेकोमा दुःख लाग्यो। तथापि मैले भाइलाई विकल्पका रूपमा डा. मुक्त सिं लामाको ज्यूको सम्पर्क उपलब्ध गराएर आफू असमर्थता जनाएँ । जे होस् ल्होछारको सुखद क्षणले तामाङलगायत अन्य ल्होछार मान्ने समुदायको हरेक व्यक्तिको मन र मस्तिष्क उद्वेलित भएको पाइन्छ। त्यसैगरी तामाङ अन्तराष्ट्रिय परिषद जापानका महासचिव बलराम लामाजीले फागुन २ गरेका लागि भर्चुअल माध्यमबाट ल्होछार शुभकामनामा निम्तो गर्नुभएको छ यसले विश्वभरि छरिएका समस्त तामाङ समुदायलाई ल्होछारले आपसमा जोडेको अनुभूत हुन्छ नै । यसरी नेपालको सन्दर्भमा बितेका ३०० वर्षको राजनीतिक इतिहासमा कैयनपल्ट शासकीय हेजेमनीका कारण एक धर्म, एक भाषासहित एक चाडपर्वरूपी दमन, शोषण र अस्तित्वहरणको बाबजुद पनि खास गरी वि.सं.२०४७ पछि आफ्नै संस्कार, संस्कृति र भाषालेथौरै भए पनि स्थान पाउन थालेको छ । यसमा जाति, भाषी, सांस्कृतिक संस्था र व्यक्तिगत प्रयासहरूको प्रशंसनीय भूमिका र जिम्मेवारी निर्वाह रहेको पाइन्छ ।

वि.सं.२०६६ सालदेखि हुनुपर्छ मैले टुँडिखेलको ल्होछारमा सहभागी हुन थालेको । तामाङ निजामति कर्मचारीहरू साथीभाइसँगको भेटघाट र शुभकामना आदानप्रदान मात्रै हुन्थेन ल्होछारको भेलामा । तामाङ समुदायको विभिन्न क्षेत्र व्यक्ति व्यक्तित्वहरूको जमघट र भेटघाट, चिनापर्ची र शुभेच्छा आदानप्रदान हुने गर्थ्यो। यसरी २०७७ सालसम्म आइपुग्दा करिब ११ वर्षको ल्होछार मनाइरहँदा यसले संस्थागत रूपमा मात्र ग्रहण गरेन, यो सङघीय व्यवस्थापछि स्थानीय तहसम्म सीमित नरही गाउँटोलसम्म विस्तारित भई स्थापित हुँदैछ स्वदेशको हकमा । विदेशमा पनि यसलाई उत्ति नै महत्वकासाथ मनाउँदै आएको प्रसङ्ग माथि नै उठान भइसकेको छ । तथापि यसलाई घरपरिवारमा दशैँ, तिहार जसरी नै स्थापित गर्न सकिएको छ त ? अन्तरमनमा जिज्ञासा उब्जन्छ।  सयौँ वर्षको दर्बियानमा स्थापित गरिएका अन्य राष्ट्रिय चाडबाडसँग तुलना गर्दा ल्होछारलाई घरघरमा प्रतिस्थापित गर्न समय लाग्ने देखिन्छ । हुनतः केही समुदायमा यसले मौलिक चाडबाडकै रूपमा घरपरिवार र समुदायमा अनुपालना गरिएको परिवेश नभएको होइन । तर पनि यसलाई प्रत्येक समुदायका हरेक व्यक्तिले अन्य राष्ट्रिय चाडपर्वभन्दा विशेष चाडको रूपमा मनाउनका लागि ल्होछारकै मौलिक संस्कारको स्थापना, अनुसरण र निरन्तरता दिनुपर्ने देखिन्छ। हरेक कुराको विकल्प आवश्यक पर्दो रहेछ । नेपालको सन्दर्भमा सशस्त्र आन्दोलनको बेलामा दशैँतिहार बहिष्कारको अभियान पनि नचलेको होइन, विकल्प नहुँदा र भएका विकल्पको सही उपयोग गरी मन मस्तिष्कसम्म प्रतिरोपण गर्न नसक्दा संस्कार र व्यवहारमा रूपान्तरित हुन नसक्दो रहेछ भन्ने कुराको अनुभूति वा समानुभूति सबैको गरेको हुनुपर्छ भन्ने लागेको छ । कुनै पनि चाडपर्वले संस्कार वा संस्कृतिजन्य क्रियाकलाप खोज्दो रहेछ, के के कार्य गरिने, को को भेला हुने, खानपिन के हुने, भेषभूषा के हुने, कसरी मनाउने जस्ता सांस्कृतिक पाटा पक्षहरू हुँदा रहेछन् । त्यसलाई संस्कार, संस्कृति अनि व्यवहारमा नै अनुसरण गर्न नसकिएमा  औपचारिक उत्सवतिर बढी केन्द्रित हुँदै जाँदो रहेछ, जीवन्त, अकाट्य, अविभेद्य एउटा संस्कृति बन्नुभन्दा यान्त्रिकतातिर ढल्किँदो रहेछ । तसर्थ तततत् व्यक्ति, घरपरिवार, समुदायको लागि अविभेद्य, अकाट्य, अविछिन्न, अनुभूतिजन्य बन्न र बनाउनका लागि  त्यसका थिति, विधि, पद्धतिरूपी संस्कारको विकास गरी स्थापना गर्दै जानुपर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस

ल्होछारसहित राज्यका मूलबाट सयौँ वर्ष किनारीकृत वर्गको संस्कृतिको स्थापनाको लागि यसलाई विद्यालय, कलेज, विश्वविद्यालय, सामुदायिक सङ्घसंस्थाको क्रियाकलापसँग आबद्ध गरी मनाउने परिपाटी बसालिनुपर्छ । यो चाडलाई सरकारले बिदा दिइसकेपछि उल्लिखित संस्थाहरूले अन्तरसंस्कृति अन्तरपुस्ता हस्तान्तरण हुने गरी सार्वजनिक रूपमा मनाइनु पर्दछ । जसले नेपाल जस्तो विविध जाति, भाषा, धर्म, संस्कृति भएको मुलुकमा पारस्परिक सदभाव, सहिष्णुता र आत्मीयता विकास गर्न मद्दत पुग्छ । जसरी नेपालका हरेक समुदायले विभिन्न धर्म, संस्कृति, चाडबडलाई समान रूपमा आदरसम्मान गर्दछन्, यदि अन्तर्समुदायको सहकार्यमा यसलाई संस्थागतीकरण गरी विभिन्न संस्था, समुदाय, भेलासम्म विस्तार गरेमा अन्तरसमुदाय सिकाइ मात्र बढ्दैन, भावनात्मक रूपमा सानीध्यताको विकास हुन्छ । परिणामतः सबै नेपालीले नजिकबाट यसको संरक्षण, संवर्धन र विकासमा योगदान गर्न सक्छन् जुन राष्ट्र निर्माणको मुख्य आधारशिला मात्र नभई उत्तम उपाय मानिन्छ ।

सयथरि फूलका एकै माला, सयथरि बाजा एउटै धुन भन्ने नेपाल राज्यमा शासकीय एकात्मकता हुँदाका मिथकीय बिम्बहरू हुन् राष्ट्र निर्माणका । सयथरि फूलका एउटै मालारूपी नेपाल हुनु सबैका लागि गौरव नहुने भएन । सयथरि बाजाका एकल धुन नभई अनेक धुन निस्कन्छन्, त्यसलाई राष्ट्रिय इन्द्रेणी रङग वा बहुधुनको स्वातन्त्र्यता हुनुपर्थ्यो, हुन सकेन र त मुलुक अहिले ठूलो राजनीतिक परिवर्तनपछि लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा रूपान्तरित भएको छ । यसको सार, मर्म भनेको विविधतालाई सम्बोधन गर्नु हो । सबै क्षेत्र, वर्ग, लिङ्ग र समुदायको मौलिक पहिचानसहित राष्ट्रियताको हारमा पुष्पित र प्रल्लवित गरिनुपर्छ । अन्यथा सीमित क्षेत्र, वर्ग, समुदाय, भाषा, जाति, लिङग मात्रको पक्षपोषण भई देशको ऐनामा बहुल अनुहारहरू देखिँदैन । त्यसबेला संरचनात्मक रूपमा बहुल देखिए पनि भावनात्मक रूपमा उक्त पक्ष चरितार्थ हुँदैन । जबसम्म बहुल राष्ट्रियताको सम्बोधन सही ढङ्गले गरिँदैन, तबसम्ब सबै समुदायले गौरव गर्ने राष्ट्र स्थापित हुँदैन, साँचो अर्थमा राष्ट्र निर्माण भइसकेको हुँदैन । त्यसैले भन्ने पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरी नेपालको संरचना उभ्याए तर पनि सांस्कृतिक, भाषिक जस्ता भावनात्मक पक्षहरूको एकीकरण बाँकी रह्यो । जसलाई सङ्घीयतापछि मूर्तता दिने प्रयास भने नभएको होइन ।

नेपालको वर्तमान राजनीतिक रङ्गमन्च र दृश्य परिदृश्यले तमाम नेपालीको समृद्ध नेपाल र सुखी नेपालको आकाङक्षा मात्र होइन प्राप्त लोकतान्त्रिक बहुलता र जनताको सार्वभौम स्वतन्त्रतामाथि शङ्का उब्जेको विश्लेषण हुन थालेको छ । यसका पछाडि जति राजनीतिक संस्कार जिम्मेवार छन् त्यति नै हाम्रा पुरातन शिक्षा, परम्परा, थितिविधि र अनुत्तरदायीपन जिम्मेवार देखिन्छ। परिवर्तित सन्दर्भअनुसार विद्यालय, कलेज र विश्वविद्यालयका शैक्षिक पाठ्यक्रम र पाठ्यवस्तुहरू समयसन्दर्भित र युगसापेक्ष परिमार्जन र संशोधन भई हरेक जाति, भाषा, धर्म र संस्कृतिसम्बद्ध पक्षहरूको समावेश भई अन्तर्सांस्कृतिकको परिवेश सिर्जना हुन सकेको छैन। तथापि हर नेपालीमा आपसी सद्भाव, सहिष्णुता र समभाव नेपालको अत्यन्त सुन्दर पक्ष हो जुन जनसमुदायस्तरमा रहेको छ । तथापि राजनीति परिपाटीसँगै दलगत स्वार्थ गाँसिन पुग्दा नेपाली विविध सामाजिक सहिष्णुतामा केहिलेकाँही भाँचो हाल्ने खोजेको अनुभूत हुने समेत गरेको छ ।  नेपाली समाजमा रहेको सहिष्णुताको विरासत एकातिर कायम छ भने अर्कातिर एकल शासकीय चिन्तन र  आधिपत्यपूर्ण व्यवहारबाट सिर्जित विभेद र असमानताका संरचनात्मक पर्खालहरू समन्यायिकता  र सन्तुलित विकासका लागि तगारो बनिरहेको तथ्यलाई नजरअन्दार गर्न सकिँदैन । पछिल्ला पुस्तामा अर्चुअल र मानवतावादी चिन्तनले जाति र वर्गविहीन समतावादी सोच विकास हुनु चाहिँ उज्यालोतिरको यात्रा भन्न सकिन्छ । तथापि अघिल्लो पुस्ताभरि गलत शासकीय अभ्यासको अवशेषको कारण सामाजिक रूपमा कतिपय जाति समुदाय भ्रान्तिपूर्ण उच्चता र कतिपय वर्ग भ्रान्तिपूर्ण हीनताकोभासभित्र रूमलिरहेको अवस्था हाम्रो सामाजिक जीवनको वर्तमान पाटापक्ष हो भन्न हिचकिच्याइ रहनुपर्ने स्थिति छैन ।

नेपाल तामाङ समाज जापान केन्द्रीय कार्यसमिति २०७७ साल फागुन २ गते भर्चुअल माध्यमबाट मनाइएको ल्होछार शुभकामना कार्यक्रमले विश्वभरिका तामाङहरूलाई जोड्नु पुलेको काम मात्र गरेन। यसपालीको ल्होछार घरघरमा मनाऔँ र आफ्नो मौलिक पहिचानलाई जोगाऔँ भन्ने सन्देशमूलक विचार सम्प्रेषण भइरहँदा ल्होछार सांस्कृतिक आन्दोलनका रूपमा स्थापित भएको भए पनि अब संस्कार र संस्कृतिमा जोडिनुपर्ने परिस्थितिमा पुगेको देखिन्छ। वरिष्ठ सेलो गायक चन्द्रकुमार दोङकाअनुसार ल्होछार वि.सं.२०४८ सालमा नेता सीताराम तामाङको अगुवाइमा डम्फू र हार्मोनियम बजाएर सुरू गरेको बिगतलाई स्मरण गर्नभयो । जापान तामाङ समाजको अध्यक्ष रूबिना तामाङको सभाध्यक्षमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि बाग्मती प्रदेशका उपसभामुख श्री राधिका तामाङ रहनुभएको थियो भने विशेष अतिथिमा भाषाविद अमृत योञ्जन तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा, भाषा आयोगका उपसचिव डा.लोकबहादुर लोप्चन, नेपाल तामाङ घेदुङका अध्यक्ष श्री मोहन गोले तामाङ र नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष श्री कुमार घिसिङसहित व्यक्तिहरूको उपस्थिति र मन्तव्य अभिव्यक्त गर्ने कार्य गरिएको थियो । लामा मोलमबाट सुभारम्भ गरिएको यस कार्यक्रममा जापान तामाङ समाजका महासचिव श्री बलराम थिङले कार्यक्रमको उद्देश्य र यसको औचित्यको बारेमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अन्तराष्ट्रिय तामाङ परिषदहरूमध्ये कतार, कोरियाका प्रतिनिधिसहित आदिवासी जापान समाज र गैरआवासीय जापानका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि राधिका तामाङले ल्होछार कार्यक्रमले विगत ३० वर्षको अवधिमा संस्थागत रूप धारण गरेको र सांस्कृतिक पहिचान कायम गरेको उद्घोषण गर्नुभयो । उहाँले ल्होछार साङगीतिक मनोन्जनमा मात्र सीमित नगरी ल्होछारले तामाङ समुदायको उत्थानका लागि सन्देश प्रवाह गर्दै जागरण गर्नुपर्ने विचार समेत व्यक्त गर्नुभएको थियो भने अबका दिनहरूमा यसले प्रत्येक तामाङहरूको मनमस्तिष्कमा पुर्‍याई घरघरमा मनाउने संस्कारको विकास गर्नुपर्ने मनसाय अभिव्यक्त गर्नुभयो । अधिकांश वक्ताहरूले यसलाई तामाङ संस्कार र संस्कृतसँग अभिन्न रूपमा गाँसेर हरेक तामाङको घरघरमा मनाउने रिमठिमको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।

बिगत ३०० वर्षको एकल सामन्ती राज्यसत्ताको जाँतोमा पिसिएको विभिन्न जातिमध्ये तामाङ जातिले पनि ल्होछार पर्व मानेर मौलिक पहिचानको पुनस्थापना गर्न थालेको ३० वर्षमा विभिन्न स्थानीय तहहरूदेखि देशविदेशसम्म विभिन्न तरिकाबाट ल्होछार मनाउदै आउनु यस पर्वले संस्थागत स्वरूप ग्रहण गरेको छ । यसले थप विकास, विस्तार र प्रयोगका लागि प्रत्येक तामाङका लागि संस्कृति, संस्कार र तामाङ सभ्यतासम्बन्धी शिक्षालाई ल्होछारको चाडपर्वसँगै जोडेर जान सकेमा यसले थप पुस्तालाई उत्साहित गर्ने आशा र अपेक्षा गर्न सकिन्छ । अन्तमा, पुनः सम्पूर्ण तामाङहरूमा २८५७ ल्हाङ ल्होछारको अवसरमा ज्याबामान्बा, हार्दिक हार्दिक शुभकामना ।

 

 

 

 

 

You might also like