लोप हुनै लागेको तिलुङ भाषा, बाँच्ने झिनो आशा (स्थलगत रिपोर्ट)

 

लोप हुनै लागेको तिलुङ भाषा,  बाँच्ने झिनो आशा (स्थलगत रिपोर्ट)

१.परिचय

भाषा आयोगबाट आ.व.२०७५/७६ बाट लोपोन्मुख तिलुङ भाषाको संरक्षणको लागि हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मीटारमा तिलुङ भाषा कक्षा सञ्चालनको थालनी गरिएको थियो। तिलुङ भाषामा राम्ररी बोल्न सक्ने वक्ता ३ जना मात्र रहेको हुँदा उक्त भाषाको संरक्षणका लागि भाषा कक्षा सञ्चालन निर्देशिका,२०७५ अनुसार भाषा कक्षा सञ्चालनका लागि निर्धारित ४ वटा तहहरूमध्ये पहिलो चरणको कार्यक्रम सञ्चालन गरिएको थियो । आ.व.२०७६/७७ मा कोरोनाको कारण तिलुङ भाषामा दोस्रो चरणको कार्यक्रम सञ्चालन हुन सकेन । आ.व.२०७७/७८ मा पनि तिलुङ भाषामा कक्षा सञ्चालनका लागि कार्यक्रम निर्धारण गरिएको थियो । यसपटकको कार्यक्रम राई किराँत तिलुङबुगा किमको सहकार्यमा भाषा आयोगबाट सञ्चालन गरिएको हो । यही संस्थाको संयोजनमा तिलुङ भाषाको सिकाइका लागि आधारभूत तहको तिलुङ ब्लामा नामक तिलुङ भाषा सिकाइका लागि आधारभूत तहको पाठ्यसामग्री तयार गरिएको छ । उक्त पाठयसामग्रीको लेखनमा भाषाविज्ञ डा.तारामणि राई र किरात राई तिलुङबुगा किम संस्थाका पदाधिकारीहरूको योगदान रहेको छ ।

कार्यक्रम सञ्चालनका लागि तिलुङ भाषा शिक्षक र स्रोत व्यक्तिसहित स्थानीय तिलुङ अभिभावकका लागि अभिमुखीकरण गर्दै थप लोक पाठ्यसामग्री समेत सङ्कलन गर्न आवश्यक रहेकाले भाषा आयोगबाट मिति २०७७ साल माघ २६ गतेका दिन हलेसी तुवाचुङ नगरपालिकाको पिप्चाइमा तिलुङ भाषा कक्षा सञ्चालन तथा तिलुङ भाषामा लोक पाठ्यसामग्री सङ्कलनसम्बन्धी १ दिने कार्यशाला सञ्चालन गरियो ।

२. कार्यक्रमका उद्देश्यहरू

यस कार्यक्रमका उद्देश्यहरू देहायअनुसार रहेका छन्-

  • तिलुङ भाषालाई लोप हुनबाट बचाउन वक्ताको सङ्ख्या विस्तार गर्नु,
  • तिलुङ भाषामा पाठ्यसामग्री तयार गर्नु,
  • विद्यालयमा तिलुङ भाषा विषय पठनपाठनको व्यवस्था गर्नु,
  • स्थानीय हलेसी तुवाचुङ नपासँग सहकार्य गरी तिलुङ भाषामा थप कक्षा सञ्चालन गर्नु ।
यो पनि पढ्नुहोस

३. तिलुङ भाषा कक्षा सञ्चालन तथा पाठ्यसामग्री सङ्कलन कार्यक्रम

२०७७ साल माघ २७ गतेका दिन हलेसी तुवाचुङ नगरपालिकाको पिच्चाइस्थित श्री बाल विकास प्रावि पिच्चाइमा तुलुङ भाषा कक्षा सञ्चालन तथा लोक पाठ्यसामग्री सङ्कलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो।यस कार्यक्रममा तिलुङ ब्लामा पाठ्यपुस्तकका लेखक डा. तारामणि राई, किरात राई तिलुङबुगा किम संस्थाका सहअध्यक्ष हरिबल राई, भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चन र भाषा आयोगकै प्राविधिक सहायक बाल बिक्रम राई भाषा आयोगको तर्फबाट उपस्थित रहनु भएको थियो । त्यसैगरी पिच्चाइस्थित स्थानीय अभिभावक, विद्यार्थी, शिक्षकहरूको कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रममा तिलुङ भाषा कक्षाका शिक्षक निमन तिलुङ, स्रोतव्यक्ति उत्तम तिलुङ, आशबहादुर तिलुङको उपस्थिति रहेको थियो ।

यस कार्यक्रमको सञ्चालन भाषा आयोगका प्रा.स.बालविक्रम राईले गर्नुभएको थियो । कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य किरात राई तिलुङबुगा किमका सहअध्यक्ष हरिबल राईले गर्नुभएको थियो । उहाँले यस संस्थाले तिलुङ भाषाको संरक्षणको लागि सकेको प्रयास गर्ने क्रममा पाठ्यपुस्तक लेखन गर्नुका साथै भाषा आयोगसँग सहकार्य गरी भाषा कक्षा सञ्चालनको प्रारम्भ गर्न लागिएको बताउनु भयो ।त्यसपछि स्थानीय अभिभावकले तिलुङ भाषामा बोल्न आग्रह गरेअनुसार पाठ्यपुस्तक लेखक डा. तारामणि राईले आफ्नो मन्तव्यको प्रारम्भ तिलुङ भाषाबाट गर्नुभयो । उहाँले तिलुङ भाषाको संरक्षणको लागि आफूले पाठ्यपुस्तक लेखेको तर त्यसमा धेरै सुधार गर्नुपर्ने हुँदा कक्षा सञ्चालनको क्रममा प्राप्त सुझावलाई समावेश गरी थप परिमार्जन र लेखन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले तिलुङ भाषामा शब्द र व्याकरणिक संरचनामा समेत समस्या देखिएकोले त्यसका लागि थप मेहनत र प्रयास सबैबाट हुनुपर्ने मनसाय अभिव्यक्त गर्नुभयो ।

त्यसपछि भाषा आयोगका डा. लोकबहादुर लोप्चनले नाति पुस्तालाई तिलुङ भाषा सिकाइएको छ वा छैन भनी सोधनी गर्दै भाषाको पुस्तान्तरण हुन नसक्दा भाषाको मृत्यु भएको बताउनुभयो ।उहाँले सरकारी कामकाजको भाषा र विद्यालयको शिक्षाको माध्यम भाषा समेत नेपाली वा अङ्ग्रेजी मात्र रहेको हुँदा समुदायले घरपरिवारमा मातृभाषा सिकाउन छोडेको कारण भाषाको लोप हुन थालेको जिकिर गर्नुभयो ।साथै उहाँले कक्षा सञ्चालनको समय निर्धारण, विद्यालयमा समेत मातृभाषा विषयका रूपमा पठनपाठन गर्न र शिक्षक, स्रोतव्यक्ति तथा सहभागीले पाउने सेवा सुविधाको विषयमा सहभागीलाई प्रस्ट पारिदिनु भयो ।सहभागीसँगको अन्तर्क्रियाको निष्कर्षअनुसार फागुन १ गते ,२०७७ सालबाट १ महिनासम्म श्री बाल विकास प्राविमा बेलुका ५ बजेदेखि ७ बजेसम्म कक्षा सञ्चालन गरिने सहमति भयो । थप स्वाध्यापन कक्षा चाहिँ हरेक सहभागीलाई गृहकार्य र लोक पाठ्यसामग्रीको सङ्कलन गर्न लगाउने र उक्त सामग्रीलाई भाषा आयोगमा पठाइने सरसल्लाह भयो । अन्तमा चिया र खाजापछि कार्यक्रम सम्पन्न भयो ।

४. निष्कर्ष

यस कार्यक्रममा उपस्थित तिलुङ अभिभावक, युवायुवती, विद्यार्थी सबै जना तिलुङ भाषा जोगाउनका लागि कक्षामा सहभागी भई सिक्न र घरपरिवारमा प्रयोग गरी बोल्न तयार देखिन्थे।आफ्नो भाषाको मायाले दिलदिमागमा छोएको जस्तो भान हुन्थ्यो।सबै सहभागीले आफूहरू उक्त भाषा सिकेर तिलुङ भाषा संरक्षण गर्न र आफ्नो जातिकै पहिचान जोगाउन परम दायित्व र कर्तव्य पूरा गर्न तत्पर रहेको प्रतिबद्ध थिए।

                  

You might also like