अन्तराष्ट्रिय मातृभाषा दिवस, फेब्रुअरी २१,२०२१

के बचाउन सकिएला त, बराम भाषा ? (स्थलगत रिपोर्ट)

अन्तराष्ट्रिय मातृभाषा दिवस, फेब्रुअरी २१,२०२१

के बचाउन सकिएला त, बराम भाषा ? (स्थलगत रिपोर्ट)

बारपाक सुलिकोट गापा, गोरखा (२०७७ साल फागुन ७ गते) ।

भाषा आयोगबाट आ.व.२०७५/७६ बाट बारपाक सुलिकोट गाउँपालिकास्थित अन्तर्ज्योति विद्यालयमा लोपोन्मुख बराम भाषाको संरक्षणको लागि भाषा कक्षा सञ्चालन गर्दै आएको छ । पहिलो चरणको कार्यक्रम आ.व.२०७५/७६ मा ३ महिना वा ९० घण्टाको बराम भाषामा कक्षा सञ्चालन भएपछि उक्त कक्षामा सहभागी २० भन्दा बढी विद्यार्थी र स्थानीय अभिभावकले आफ्नो परिचय आफ्नै भाषामा दिन सक्षम भएका छन् । आ.व.२०७६/७७ पनि बराम भाषामा दोस्रो चरणको कार्यक्रम तय गरिएको भए पनि विश्वव्यापी कोरोना महामारीको कारण सञ्चालन हुन सकेन । तर आ.व.२०७७/७८ भने भाषा आयोगले लकडाउनको अवसरलाई उपयोग गरी भर्चुअल माध्यमबाट कार्यशाला राखी बराम भाषामा पाठ्यपुस्तक लेखन कार्य अगाडि बढायो नेपाल बराम सङ्घ केन्द्रीय समितिको सहकार्य समेत जुटाएर। पुस्तक लेखनका लागि आयोगबाट विज्ञ समूह गठनको क्रममा डा. बलराम प्रसाईँलाई विज्ञ, श्री प्रेम बरामलाई पाठ्यपुस्तक लेखन र भद्राकुमारी बरामलाई संस्थागत संयोजकका रूपमा चयन गरेको थियो ।

आयोगले बराम भाषा कक्षाका लागि सहजीकरण गर्दै प्रदान गरेको जिम्मेवारीअनुसार पाठ्यपुस्तक लेखक श्री प्रेमबहादुर बरामबाट बराम भाषा वा बाल कुराको आधारभूत सामग्री लेखन कार्य सम्पन्न गरी कक्षा सञ्चालनका लागि ह्यान्डसआउट तयार भयो। भाषा आयोगले पनि २०७७ साल फागुन महिनाबाट बराम भाषा कक्षा सञ्चालन गर्ने कार्यक्रम राखेको थियो। सोहीअनुसार बराम भाषा कक्षा सञ्चालनका लागि मिति २०७७ साल फागुन ७ गतेका दिन बारपाक सुलिकोट गाउँपालिका उपाध्यक्ष श्री सनमाया गुरूङको प्रमुख आतिथ्यतामा कक्षा सञ्चालनका लागि श्री अन्तर्ज्योतिमा माविमा १ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा भाषा आयोगका सचिव श्री लक्ष्मीप्रसाद भटराई, भाषा आयोग केन्द्रीय विभागका प्रमुख डा.बलराइ प्रसाई, भाषा आयोग मातृभाषा शिक्षा शाखाका प्रमुख डा.लोकबहादुर लोप्चन, नेपाल बराम सङ्घका अध्यक्ष भद्रकुमारी बराम, बराम भाषाका पाठ्यपुस्तक लेखक श्री प्रेमबहादुर बरामुसहित बराम, बराम भाषा शिक्षक श्री रणबहादुर बराम, वडा समितिका पदाधिकारीहरूका साथै स्थानीय बराम समुदायका अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस

भाषा आयोग सचिव श्री लक्ष्मीप्रसाद भट्टराई सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन भाषा आयोगका उपसचिव डा.लोकबहादुर लोप्चनले गर्नुभएको थियो । बराम भाषाका पाठ्यपुस्तक लेखक प्रेमबहादुर बरामुबाट स्वागत मन्तव्यसहित बिगतमा सञ्चालन भएको कक्षाको औचित्य र समीक्षा गर्नुभएको थियो । त्यसपछि सम्पूर्ण सहभागीहरूबाट नेपाली र बराम दुवै भाषाबाट आफ्नो परिचय दिने कार्य सम्पन्न गरिएको थियो । परिचय कार्यक्रमम विगतमा बराम कक्षामा सहभागी भएका सबैले बराम भाषाबाट नै परिचय दिएको पाइएको छ। तत्पश्चात कार्यक्रम सञ्चालक डा.लोकबहादुर लोप्चनले कार्यक्रमको सहजीकरणका गर्दै अन्तर्क्रिया वा छलफल गराउनु भएको थियो । बराम भाषा किन पछिल्ला पुस्ताले सिक्न पाएनन् भनी सोधिएको प्रश्नमा विद्यालय र सरकारी कामकाजको भाषा नेपाली वा अङ्ग्रेजी मात्र रहँदा तिनै भाषा नै घरमा सिकाएको र अघिल्लो पुस्ताले बराम भाषा तल्ला पुस्तालाई नसिकाउँदा बराम भाषा लोपको सङ्घारमा पुगेको हो भन्ने सहभागीहरूको बुझाइ थियो । साथै विगतमा बराम भाषा पनि हुन्छ र ? भनी समाजमा बराम जाति र भाषाप्रति गरिएको हेला अर्घेलोको कारण पनि बरामहरूले बराम भाषा नबोली छोडेको भन्ने आम अभिभावकहरूको भनाइ रहेको थियो । त्यसैगरी बराम भाषा कक्षा कहिलेदेखि कहाँ सञ्चालन गर्ने भन्ने सन्दर्भमा सबैको सहमितअनुसार यही फागुन ९ गतेदेखि श्री अन्तर्ज्योती मावि बारपाक सुलिकोटमा दैनिक २ घण्टाका दरले गरिने निष्कर्षमा पुगिएको थियो।उक्त कक्षा सञ्चालनका लागि नेपाल बराम सङ्घको सिफारिसमा शिक्षक रणबहादुर बराम भाषा कक्षा प्रशिक्षकमा चयन गरिएको थियो भने स्रोतव्यक्तिमा श्री डम्बरबहादुर बराम र रामबहादुर बरामलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

कार्यक्रम सञ्चालक तथा सहजकर्ता डा.लोकहादुर लोप्चनले सहजीकरण गर्दै भाषा कक्षामा सहभागी अधिकांश विद्यार्थीहरू विद्यालयमा अध्ययन छात्रछात्राहरू नै रहेको हुँदा बराम विद्यार्थी अध्ययनरत सबै विद्यालयहरूमा आधारभूत तहको पाठ्यक्रम १-८ मा व्यवस्था गरिएको मातृभाषा वा स्थानीय विषयको कार्यान्वयन गर्नुपर्ने बताउँदै तयार भएको बराम भाषा विषय सबै विद्यालयमा सबै बराम विद्यार्थीलाई पठनपाठन गर्नुपर्ने र अर्को समुदायमा पनि बराम भाषा कक्षा सञ्चालन गर्न नेपाल बराम सङ्घले पहल गर्नुपर्ने र त्यसका लागि गाउँपालिका जिम्मेवार हुनुपर्ने सल्लाह दिनुभयो । छलफलकै क्रममा त्यही विद्यालयका प्रअबाट हाल स्थानीय विषय वा मातृभाषा विषय पठनपाठन नगरी अङग्रेजी भाषा विषय  पठनपाठन गरिँदै आएको खुलासा गर्नुभयो।जुन विद्यमान संविधान, शिक्षा ऐन, स्थानीय सरकार सञ्चालन ऐन मात्र नभई विद्यालय शिक्षाको पाठ्यक्रम विपरीत गैरकानुनी र अवैधानिक, गणतन्त्र  विपरीतको कार्य भएको हुँदा स्थानीय तहबाट आगामी शैक्षिक सत्रदेखि मातृभाषा विषय वा स्थानीय विषय पढाउनुपर्ने सुझाव सहभागीसहित विज्ञहरूबाट राखिएको थियो ।

सहभागीसँगको अन्तर्क्रियापछि भाषाविज्ञ डा.बलराम प्रसाइले मन्तव्य राख्नु भएको थियो । उहाँले कुनै पनि जाति बचाउनु छ भने भाषा बचाउनुपर्ने मनसाय राख्दै त्यसका लागि बराम जस्ता भाषालाई घरमा बोलेर पुस्तान्तरण वा भाषा दान गर्नुपर्ने विचार राख्नुभयो । साथै उहाँले इजरायलमा हिब्रु भाषालाई पुनर्जीवन दिइएको उदाहरण प्रस्तुत गर्दै बराम भाषाको अभिलेखीकरण र डिजीटाइजेसन गर्नुपर्नेमा जोड दिनुभयो। साथै उहाँले विगतमा भाषाविज्ञान केन्द्रीय विभागबाट बराम भाषाको अभिलेखीकरण गरिएको र त्यसकै बलमा गोरखापत्रमा नयाँ नेपाल पृष्ठमा बराम भाषामा एक पेज प्रकाशित हुने गरेको जानकारी दिनुभयो । त्यसपछि बराम भाषा शिक्षक रणबहादुर बरामले बराम भाषा बराम जातिको संस्कार, पहिचान, संस्कृति र सम्पति भएकाले हुँदा यसको संरक्षण गर्नुपर्ने बताउँदै आफूलाई बराम भाषा विषय पढाउने अवसर मिलेकोमा उक्त अवसरलाई सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसपछि मन्तव्यकै क्रममा नेपाल बराम सङ्घका अध्यक्ष भद्राकुमारी बरामले वि.सं.२०५६/५७ सालतिर नै बराम भाषा संरक्षण गर्नको लागि जिल्ला विकास समितिका सभापतिसँग कुराकानी गर्दा बराम भाषा पनि हुन्छ र ? भनेको स्मरण गर्नुभयो । त्यतिखेर नै बराम भाषालाई संरक्षणको लागि शब्दकोश तयार गर्न दुर्गाबहादुर बरामको अगुवाइमा चन्दा उठाएर बराम भाषामा पुस्तक प्रकाशन गरेको बताउनुभयो । साथै बराम भाषामा पुस्तक प्रकाशनका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले रू. २०,०००। सहयोग गरेको चर्चा गर्दै भाषाविज्ञान केन्द्रीय विभागबाट बराम भाषा परियोजना लागू गरेपछि बराम भाषाको अभिलेखनमा उल्लेखनीय काम भएको सुनाउनुभयो । उहाँले बराम भाषा कक्षा परियोजना वा आयोगको कार्यक्रम सकेपछि नटुङगियोस्, बरामबाहेक अन्य जातिले पनि बराम भाषा सिकेमा यसको संरक्षणमा मद्दत पुग्ने र स्थानीयमा यसलाई जसरी नै कार्यान्वयन गर्नपर्ने विचार राख्नुभयो ।

कार्यक्रममा मन्तव्यकै क्रममा वडा सदस्य श्री प्रेमप्रसाद पनेरूले बराम जातिका लागि १ करोडभन्दा बढी रकम सङ्घबाट स्थानीय तहमा आएकले उक्त रकमबाट बराम समुदायको सबै व्यक्तिको स्वास्थ्य बीमा गरिएको बताउनुभयो । उक्त रकममध्ये ४० लाख रकम बराम समुदायको जीविकोपार्जनमा लगानी गर्न विनियोजन गरिएको समेत सुनाउनुभयो । साथै यस पालिकाभित्र बोलिने तामाङ, बराम, गुरूङजस्ता भाषाहरू संरक्षण गर्नको लागि स्थानीय पालिकाले नीति पारित गरिसकेको उल्लेख गर्नुभयो । त्यसपछि प्रमुख अतिथि एवम् गापा उपाध्यक्ष सुनमाया गुरूङले बराम भाषा लोप हुन लागेको र भाषा आयोगले आफ्नो गाउँपालिकामा बराम भाषा कक्षा सञ्चालन गर्नको लागि केन्द्रीयबाट उपस्थित सबैलाई पालिकाको तर्फबाट धन्यवाद दिनुभयो । स्थानीय तहमा गुरूङ, बराम र तामाङ जातिले स्थानीय मातृभाषामा पठनपाठन गर्न र मातृभाषा विषय पठनपाठन गर्न माग गरिएको भए पनि  त्यसको बारेमा विज्ञ र प्राविधिक जानकारी नहुँदा अझै लागू गर्न नसकिएको जानकारी गराउनुभयो।उहाँले भाषा आयोगको सहजीकरण प्राप्त हुने अपेक्षा गर्दै पालिकामा स्थानीय विषय वा मातृभाषा विषय पठनपाठन गर्ने बचनबद्धता प्रकट गर्नुभयो ।

अन्तमा, भाषा आयोगका सचिव तथा कार्यक्रमका सभाध्यक्ष श्री लक्ष्मीप्रसाद भट्टराईले गत वर्ष कोरोनाको कारण भाषा कक्षा सञ्चालन गर्ने नसकिएको भए पनि विगतमा कक्षामा सहभागीले आफ्नै बराम भाषामा परिचय दिन सकेकोले यो उपलब्धिपूर्ण रहेको विश्लेषण गर्नुभयो । उहाँले नेपाल बराम सङ्घ र स्थानीय तहले  स्थानीय भाषा र समुदायप्रतिको जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्नुपर्ने बताउनुभयो । आयोगले सधैँ बराम भाषामा मात्र लगानी गर्न नसक्ने किनकि दुराजस्ता मृतभाषामा पनि कक्षा सञ्चालन गर्नुपर्ने भएकाले बराम भाषाका लागि नेपाल बराम सङ्घ र गाउँपालिकाले थप चासो र पहल गरी कार्य गर्नुपर्नेमा जोड दिनुभयो । अब स्थानीय सरकारले परिवर्तित सन्दर्भमा शिक्षा र भाषाका लागि गणतन्त्रात्मक दायित्व निर्वाह गर्न अनुरोध गर्दै कार्यक्रमलाई समापन गर्नुभयो । साथै यस कार्यक्रममा प्रशासनिक सहजीकरण आयोगका कम्प्युटर अपरेटर श्री भपेन्द्रप्रसाद जोशीले गर्नभएको थियो ।

 

 

 

You might also like