बनराजा याने कुसुन्डा भाषाको पठनपाठन (स्थलगत रिपोर्ट)

 

बनराजा याने कुसुन्डा भाषाको पठनपाठन (स्थलगत रिपोर्ट)

घोराही उपमहनगरपालिका दाङ धरना र सुपैलाकुटी ।

भाषा आयोगबाट आ.व.२०७५/७६ बाट नेपालकै लोपोन्मुख कुसुन्डा भाषामा कक्षा सञ्चालन गरिँदै आएको छ । संसारमै भएका भाषिक परिवारहरूभन्दा फरक भाषा परिवारका मानिने कुसुन्डा भाषाको २ जना जीवित वक्ताहरूमध्ये ज्ञानीमैयाँ कुसुन्डाको मृत्युपछि अर्की  एक्ली वक्ता कमला कुसुन्डा मात्र यस धर्तीमा जीवित छिन् । जसलाई भाषा आयोगले ठिमी इट्टा भट्टाबाट केही महिना अघि उद्धार गरी भाषा कक्षा सञ्चालन गर्न र स्थानीय तहमै बसोबास गराउनको लागि नेपाल कुसुन्डा विकास समाज दाङ वा माइती धनबहादुर कुसुन्डालाई जिम्मा लगाई घोराही नगरपालिका वडा नं.१५ स्थित सुपैलागुटीमा बसाबास गर्ने प्रबन्ध गरेको छ । साथै आयोगले विगतदेखि नै कुसुन्डा भाषी दुई जना वक्तालाई मासिक भाषावृत्ति प्रदान गर्दै आएकोमा आयोगले यस वर्षदेखि कमला कुसुन्डालाई मासिक १३,४५०। र उर्मिला कुसुन्डलाई मासिक ६,०००। का दरले आजीवन भाषावृत्ति प्रदान गरेको छ । यसबाट लोपको डिलमा उभिएको विश्वकै भाषाहरूमध्ये एउटा कुसुन्डा भाषाको संरक्षण भई पुनर्जीवित हुने अपेक्षा गरिएको छ ।

भाषा आयोगले गतवर्ष आ.व.२०७६/७७ मा कोरोनाको कारण कुसुन्डा भाषामा दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्न सकेन । तर यस आ.व.२०७७/७८ मा आयोगबाट तिलुङ, बराम र कुसुन्डा भाषाको कक्षा सञ्चालनका लागि विज्ञ समूहको सहभागितामा सम्बद्ध भाषामा पाठ्यपुस्तक लेखन गरी प्रत्येक भाषाहरूमा २०/२० को सहभागितामा कुसुन्डा भाषाको दोस्रो चरणको कक्षा सञ्चालन गरेको छ । संस्मरणीय के छ भने कुसुन्डा भाषाको पाठ्यपुस्तक लेखनका लागि तालिम कार्यशालामा विज्ञको तर्फबाट सहजीकरण भाषाविद अमृत योञ्जन तामाङले गर्नुका साथै पाठ्यपुस्तक लेखनका लागि ३० दिने कक्षाको भाषिक खाका तयार पारी विशेष योगदान पुर्‍याउनु भएको छ । भाषा कक्षा सञ्चालनको सिलसिलामा खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मीटास्थित पिप्चाइमा तिलुङ भाषामा २०७७ साल फागुन १ गतेदेखि कक्षा सञ्चालन भइरहेको छ भने गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा फागुन ९ गतेदेखि बराम भाषामा कक्षा सञ्चालन भइरहेको छ । त्यसैगरी घोराही उपमहानगरपालिका दाङको वडा नं. ५ स्थित श्री महेन्द्र मावि धर्ना र वडा नं.१८ को सुपैलागुटीमा २०७७ साल फागुन १८ गतेदखि कुसुन्डा भाषा कक्षा सञ्चालन हुँदैछ । यसका लागि भाषा महेन्द्र मावि धर्ना र वडा नं.१८ को सबैलाकोट गुटीमा २०७७ साल फागुन १८ गतेदखि कुसुन आयोगबाट २०७७ साल फागुन १४ गतेका दिन घोराही नगरापलिका वडा नं ५ स्थित श्री महेन्द्र मावि धर्नामा कुसुन्डा भाषाका सिकारू विद्यार्थीको सहभागितामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो भने वडा नं.१८ स्थित सुपैलागुटीमा कुसुन्डा बासिन्दासँग  कुसुन्डा भाषा कक्षा सञ्चालनका लागि घरदैलोसहितको भेटघाट, अवलोकन र अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।

श्री महेन्द्र मावि धर्नामा कुसुन्डा भाषा कक्षा सञ्चालनका लागि आयोजित कुसुन्डा भाषा कक्षाको अभिमुखीकरण कार्यक्रमको अध्यक्षता भाषा आयोगका का.मू.सचिव श्री लक्ष्मीप्रसाद भट्टराईले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा घोराही उपमहानगरपालिका मेयर श्री नरूलाल चौधरीले भर्चुअल माध्यमबाट सहभागी हुनुभएको थियो । कार्यक्रममा भाषा आयोगका मातृभाषा शिक्षाका प्रमुख डा.लोकबहादुर लोप्चन, कुसुन्डा भाषाका अध्येता तथा कुसुन्डा भाषाका पाठ्यपुस्तक लेखक श्री उदयराज आले मगर, घोराही उपमहानगरपालिकाका शिक्षा प्रमुख  श्री विनोद गौतम, वडा नं. ५ का वडाध्यक्ष श्री विष्णुमणि दाहाल, महेन्द्र माविका विव्यस अध्यक्ष श्री जितबहादुर के.सी., प्रअ श्री ऋषिराम अधिकारी, नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष श्री धनबहादुर कुसुन्डा, विद्यालयका शिक्षक, कुसुन्डा भाषा प्रशिक्षार्थीहरू र राष्ट्रिय समाचार समितिका साथै नेपाल टेलिभिजनका पत्रकारको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भाषा आयोगका भाषा संरक्षण तथा संवर्धन शाखाका प्रमुख उपसचिव श्री गेहनाथ गौतमले गर्नुभएको थियो भने प्रशासनिक व्यवस्थापन आयोगका प्राविधिक सहायक श्री बालबिक्रम राईले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस

कार्यक्रमको प्रारम्भमा सहभागीहरूको परिचयात्मक कार्यक्रम राखिएको थियो जसमा विगतमा कुसुन्डा भाषा कक्षामा सहभागी कुसुन्डा समुदायका विद्यार्थीहरूले कुसुन्डा भाषामै परिचय दिएका थिए । यस विद्यालयमा कुसुन्डा भाषा कक्षामा सहभागी विद्यार्थीहरूमा एक जना अस्मिता वादी पनि रहेकी छन् । सहभागी विद्यार्थीहरूमा मनबहादुर कुसुन्डा कक्षा ९, रमेश कुसुन्डा कक्षा ७, खम्बा रोकाय, प्रेमी कुसुन्डा कक्षा ८, फाली कुसुन्डा कक्षा ९, निर्मला कुसुन्डा कक्षा ६, तिमा कुसुन्डा कक्षा ६, श्याम कुसुन्डा कक्षा ८, अनिल कुसुन्डा कक्षा २ र हिमा कुमारी कुसुन्डा रहेकी छन्  । भाषा आयोगबाट सञ्चालित गरिएको पहिलो चरणको कुसुन्डा भाषा कक्षामा सहभागी हिमा कुसुन्डाले कुसुन्डा भाषामा लेखिएको गीत कार्यक्रमम वाचन गरेकी थिइन् भने त्यसको नेपाली अनुवाद कुसुन्डा भाषाका पाठ्यपुस्तक लेखक उदयराज आलेले गर्नुभएको थियो ।

कुसुन्डा भाषा कक्षा सञ्चालनको महत्व, औचित्य र प्रक्रियाका बारेमा सहभागीहरूलाई बताउँदै सहभागी सबैलाई स्वागत गर्ने कार्य भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा. लोकबहादुर लोप्चनले गर्नुभएको थियो । उहाँले सरकारी कामकाज र विद्यालयको माध्यम मातृभाषा नहुँदा घरमा नै अभिभावकले नेपाली भाषा सिकाउँदा नेपालका मातृभाषाहरू लोप हुँदै गएकाले विद्यालय र सरकारी कामकाजमा बहुभाषिकता अवलम्बन गर्दै घरपरिवारमा मातृभाषालाई अनिवार्य बोल्नुपर्ने र मातृभाषाको वंशान्तरण गर्नुपर्ने विचार राख्नुभयो । साथै उहाँले हरेक विद्यालयमा मातृभाषा विषय पठनपाठन गरेर लोप भएको वा हुन लागेको भाषालाई पुनर्जीवन दिन सकिने हुँदा महेन्द्र मावि धरनामा पनि आधारभूत तहसम्म पाठ्यक्रमले व्यवस्था गरेको मातृभाषा वा स्थानीय विषयमामा कुसुन्डा भाषा विषय राखेर पठनपाठन गर्न विव्यस र विद्यालयलाई सुझाउनुभयो । कुसुन्डा भाषा प्रशिक्षार्थी श्री हिमा कुसुन्डाले आफूहरू कुसुन्डा भाषा सिकेर यसलाई बोलीचालीमा ल्याउन लालायित भएको विचार राखिन् । विद्यालयका प्रअ ऋषिराम अधिकारीले भाषा कला भएको र हाम्रो अहिलेको यात्रा प्रकृतितिर फर्कको सिद्धान्तमा आधारित रहेको हुँदा मातृभाषामा आधारित शिक्षामा जोड दिँदै बजारलाई समेत सँगसँगै लैजानुपर्ने विचार राख्नुभयो ।

विगतमा आयोगबाट सञ्चालित पहिलो चरणको भाषा कक्षाको प्रभावकारिताको समीक्षा गर्दै कुसुन्डा भाषाका शिक्षक उदयबहादुर आलेले कुसुन्डा बालबालिकाहरूले यस अघिको भाषा कक्षामा शिष्टाचार र कुसुन्डा भाषाको शब्दहरू सिकेको बताउनुभयो । साथै उहाँले कुसुन्डा भाषामा पनि ध्वनि र शब्दगत रूपमा भिन्नता रहेकोमा आफूले यसै भाषामा १० वर्ष काम गर्दा यस भाषाको विभिन्न विशेषताहरू पहिचान गरी लिपिबद्ध गर्न सकिएको बताउनुभयो । त्यसपछि वडा नं.५ का अध्यक्ष श्री विष्णुमणि दाहालले कुसुन्डा भाषाका बालबालिकालाई पठनपाठनको लागि नेपाल सरकारले आवासीय सुविधासहित छात्रवृत्ति प्रदान गरिएकोमा प्रशंसा गर्दै घोराही उपमहानगरपालिकामा सरकारी कामकाजको भाषाका रूपमा थारू भाषालाई नगर कार्यसमितिले निर्णय गरी लागू गरिएको, शिक्षातर्फ निजी र सामुदायिक विद्यालयमा अङ्ग्रेजी भाषामा अभिभावकको आकर्षण रहेको भनिए पनि वास्तवमै अभिभावकहरूमा अङ्ग्रेजी भाषामा भन्दा पनि गुणस्तरीय शिक्षा प्राप्त गर्ने अपेक्षा रहेको बताउनुभयो । त्यसपछि नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले कुसुन्डा समुदायको विकासको लागि सीपमूलक तालिमहरू सञ्चालन गर्नका साथै विगतमा भाषासम्बन्धी तालिम पनि सञ्चालन गरिएको तथापि त्यसले निरन्तरता पाउन नसकेको चर्चा गर्नुभयो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा कुसुन्डा भाषाको शब्दकोश तयार गर्नका साथै नेपालभरिका कुसुन्डाको स्थलगत अध्ययन गरी तथ्याङ्क सङ्कलन गरेर  कुसुन्डा जातिको सङख्या यकिन गरेको उल्लेख गर्नुभयो । उहाँले हाल १७७ जना भन्दा कम सङ्ख्यामा कुसुन्डाको जनसङख्या रहेको उल्लेख गर्दै जसमा एक्ली वक्ता कमला कुसुन्डा रहेको र प्रेमबहादुर शाहीले भने ७५% प्रतिशत कुसुन्डा भाषा बोल्न सक्ने तथ्य पनि सुनाउनुभयो ।

त्यसैगरी यस उपमहानगरपालिकाका शिक्षा प्रमुख विनोद गौतमले यस नगरपालिकाले कक्षा १-३ सम्म थारू भाषालाई माध्यम र विषयका रूपमा शिक्षामा प्रयोग गर्ने र सरकारी कामकाजको माध्यम भाषा समेत थारू भाषा हुने नगर कार्य समितिबाट निर्णय भइसकेको खुलासा गर्नुभयो । कुसुन्डा जस्ता लोपोन्मुख भाषाको संरक्षणको कार्यक्रम आयोगबाट  सञ्चालित गरिँदा आफू हर्षित भएको र स्थानीय सरकारले यसका निम्ति सकेको योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसपछि कार्यक्रमका प्रमुख अतिथि एवम नगरपालिकाका मेयर श्री नरूलाल थारूले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मातृभाषा सबैभन्दा महत्वपूर्ण रहेकाले लोप हुन नदिई मातृभाषा बचाउनुपर्ने विचार अभिव्यक्त गर्नुभयो । मातृभाषा बोल्न नसक्नेका लागि बोल्नु सक्ने बनाउनुपर्ने हुँदा भाषा आयोगले गरेको कार्य वा पहल सह्रानीय रहेको बताउँदै उपमहानगरपालिकाबाट भाषा आयोगसँगै सहकार्य गरी कुसुन्डा भाषालगायतका मातृभाषाहरूको प्रयोग विस्तारमा लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको अन्तमा कार्यक्रमका अध्यक्ष एवम भाषा आयोगका का.मू.सचिव लक्ष्मीप्रसाद भट्टराईले भाषा सम्प्रेषणको माध्यम भएको विचार राख्दै विश्वका ७,००० हजार भाषामध्ये कुसुन्डा भाषा विशेष प्रकारको रहेको, प्रति दुई हप्ता आदिवासी जनजातिका एक भाषा लोप हुने गरेको र भाषा आयोगमा आएपछि आफूलाई कुसुन्डा जाति र भाषा बारेमा जानकारी मिलेको विचार व्यक्त गर्नुभयो । कुसुन्डा भाषा लोप हुनै लागेकाले भाषा आयोगको मात्र प्रयास पर्याप्त नहुने र स्थानीय भाषाहरूको संरक्षण तथा विकासको दायित्व स्थानीय सरकारको भएकाले त्यसका लागि स्थानीय तहबाट ठोस कार्यक्रम ल्याई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । अन्तमा उहाँले कार्यक्रम उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभयो ।

 

 

 

 

You might also like