काठमाडौँ उपत्यकाका २१ स्थानीय तहमा मातृभाषा शिक्षाको  कार्यान्वयन स्थिति

 

काठमाडौँ उपत्यकाका २१ स्थानीय तहमा मातृभाषा शिक्षाको  कार्यान्वयन स्थिति

काठमाडौँ, २०७७ साल फागुन २५ गते ।

भाषा आयोगले २०७७ साल फागुन २५ गरे अर्याल इन्टरनेसनल होटल बानेश्वरमा विश्व आदिवासी भाषा दशक (२०२२-२०३२ को सन्दर्भमा स्थानीय तहको शिक्षा प्रमुख तथा शिक्षा अधिकृत कर्मचारीको सहभागितामा आयोजित स्थानीय भाषा नीति निर्माण तथा मातृभाषा शिक्षाको कार्यान्वयन विषयक १ दिने परामर्श/अन्तर्क्रिया सम्पन्न भयो । भाषा आयोगका उपसचिव श्री कमला पाण्डे भण्डारीबाट सञ्चालित उक्त कार्यक्रम भाषा आयोगका माननीय अध्यक्ष डा.लवदेव अवस्थीज्यूको अध्यक्षतामा भएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव श्री दिपक शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव श्री लक्ष्मीकुमारी बस्नेतका साथै पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका संस्थागत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विज्ञ सहजकर्तामा भाषाविद् अमृत योञ्जन तामाङ, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, भाषिक अभियन्ता डा.चुन्दा बज्रचार्य, नेपाल भाषा केन्द्रीय विभागका प्रमुख प्रा.डा.ओमकारेश्वर श्रेष्ठका साथै भाषा विज्ञान केन्द्रीय विभागका प्रमुख डा.बलराम प्रसाईँको उपस्थिति रहेको थियो ।

कार्यक्रममा २१ स्थानीय तहका शिक्षा शाखाका प्रमुख तथा अधिकृत गरी जम्मा ३६ जना स्थानीय तहका शिक्षका कर्मचारीहरूको सहभागिता रह्यो। भाषा आयोगका का.मू.सचिव श्री लक्ष्मीप्रसाद भट्टराईको स्वागत एवम् कार्यक्रमको औचित्यसहितको मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा भाषा आयोगका माननीय सदस्य श्री उषा हमालले भाषा आयोगबाट सम्मानीय राष्ट्रपतिमार्फत नेपाल सरकारलाई पेस गरिएका ४ वटा प्रतिवेदनहरूमा मातृभाषामा शिक्षासम्बन्धी सिफारिसहरूको प्रस्तुति गर्नुभएको थियो । तत्पश्चात भाषा आयोगका मातृभाषा शिक्षा शाखाका प्रमुख डा.लोकबहादुर लोप्चनले स्थानीय तहमा स्थानीय भाषा नीति निर्माण तथा मातृभाषामा शिक्षा कार्यान्वयनको खाका प्रस्तुत गर्नुभएको थियो । उहाँको प्रस्तुतिपछि उपत्यकास्थित २१ स्थानीय तहहरूमा स्थानीय भाषा नीति निर्माण तथा मातृभाषामा शिक्षासम्बन्धी विषयमा प्रस्तुति राखिएको थियो ।

१.कागेश्वरी मनहरा नगरपालिका काठमाडौः नगरपालिकाका शिक्षा प्रमुख श्री गोविन्दप्रसाद शर्माकाअनुसार स्थानीय विषयमा कक्षा १-८ का लागि कागेश्वरी पुस्तक लेखन तथा प्रकाशन गरी पठनपाठन भएको पाइयो । नगरपालिकास्थित श्री बालउद्धार माविमा ९०% तामाङ समुदायको विद्यार्थी रहेको हुँदा तामाङ भाषा विषय पठनपाठन भएको छ भने स्थानीय भाषा नीति चाहिँ निर्माण भएको छैन ।

२.कीर्तिपुर नगरपालिका काठमाडौः नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री टंकलाल गैरेकाअनुसार यस नगरपालिकामा नेपालभाषी नेवार समुदायको बाहुल्यता रहेको छ। नगरपालिकामा स्थानीय संस्कृति, संस्कार, परिवेश र विषयवस्तु समेटेर कक्षा १-८ का लागि स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार भएको छ । यहाँ तामाङ जातिको समेत बसोबास भएको हुँदा स्थानीय तामाङ भाषा विषय र नेपाल भाषा विषय पठनपाठन गर्न सकिने देखिन्छ । यहाँ पनि भाषा नीति बन्न सकेको देखिएन ।

३.गोकर्णेश्वर नगरपालिका काठमाडौँ- नगरपालिका शिक्षा शाखा प्रमुख श्री विजय आचार्यकाअनुसार नगरपालिकाको प्राथमिकतामा स्थानीय पाठ्यक्रम, भाषा नीति र मातृभाषा शिक्षा परेको छैन । तथापि नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेर उदाहरणीय काम सम्पन्न गरेको छ । तर भाषा नीति भने अझै बनेको छैन ।

४.चन्द्रागिरी नगरपालिका काठमाडौँ- नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री कर्णबहादुर भुवाजीकाअनुसार यस नगरपालिकाका सामुदायिक विद्यालयको माध्यम भाषा नेपाली वा अङ्ग्रेजी रहेको छ भने संस्थागत विद्यालयको पठनपाठनको माध्यम भाषा अङग्रेजी रहेको छ ।  स्थानीय संस्कृति, संस्कार र नेवार भाषालाई समेत समेटेर नगरपालिकामा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरिएको छ तर स्थानीय भाषा नीति भने बनेको छैन ।

५. टोखा नगरपालिका काठमाडौँ- नगरपालिकाको शिक्षा अधिकृत श्री विजया भट्टराईकाअनुसार नगरपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यसामग्री निर्माणमा जोड दिएको छ । जसमा तामाङ र नेवार भाषा र लिपि समेत समावेश गरिएको छ । यस नगरपालिकामा पनि भाषा नीति भने बनेको पाइएन ।

६.तारकेश्वर नगरपालिका काठमाडौँ- नगरपालिकाका शिक्षा प्रमुख श्री होमनाथ न्यौपानेकाअनुसार  हाम्रो तारकेश्वर नामक स्थानीय विषयको पाठ्यपुस्तक तयार गरी कक्षा १-६ सम्म पठनपाठन भइरहेको छ । यसलाई नगरपालिकाले कक्षा १-८ सम्म नै पाठ्यपुस्तक तयार गरी लागू गर्ने योजना रहे पनि स्थानीय भाषा नीति भने निर्माण भएको छैन ।

७. दक्षिणकाली नगरपालिका काठमाडौँ- नगरपालिकाका शिक्षा शाखाको तर्फबाट प्रस्तुत गर्ने श्री जीवन पौडेलकाअनुसार यहाँ कक्षा १-५ सम्म स्थानीय पाठ्यक्रम तयार भई पठनपाठन भइरहेको छ । यहाँका तामाङ र नेवार बासिन्दाको संस्कृति र संस्कारलाई जोड दिएर स्थानीय पाठ्यक्रम बनाइएको छ तर पनि स्थानीय भाषा नीति भने यस नगरपालिकामा बनेको छैन ।

८. नागार्जुन नगरपालिका काठमाडौँ-नगरपालिकाका शिक्षा शाखाको प्रस्तुति गर्ने श्री कृष्णबहादुर कुँवरकाअनुसार नगरपालिकामा स्थानीय भाषा नीति र  कक्षा १-८ पाठ्यक्रम तयार भएको छैन ।

९.बूढानीलकण्ठ नगरपालिका काठमाडौँ-नगरपालिकाका शिक्षा प्रमुख श्री जगन्नाथ उपाध्यायकाअनुसार नगरपालिकामा २१% नेपाल भाषी, ११% तामाङ भाषी, २% शेर्षाभाषी वक्ता रहेका छन् भने बाँकी अन्य भाषी वक्ता रहेका छन् । यहाँ कक्षा १-८ सम्म स्थानीय पाठ्यक्रम लागू गरिएको छ । नगरपालिकाको विद्यालयको माध्यम भाषा नेपाली र अङ्ग्रेजी भाषा मात्रै रहेको छ । स्थानीय समुदायमा तामाङ भाषा कक्षा सञ्चालन गरिएको छ। यहाँ पनि स्थानीय भाषा नीति भने बनेको छैन ।

१०.शङकरापुर नगरपालिका काठमाडौँ-नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री बोधराज निरौलाकाअनुसार यस नगरपालिकामा ब्राम्हाण, क्षेत्री, तामाङ, नेवार, गुरूङ, मगर, भुजेल जातिको बसोबास रहेको छ । नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । त्यसमा स्थानीय समुदाय, भाषा र लिपिमा जोड दिइएको छ। क्रमशः आगामी वर्षहरूमा मगर, भुजेल भाषामा आधारित स्थानीय पाठ्यक्रम निर्माण हुँदैछ तर स्थानीय भाषा नीति भने यस नगरपालिकामा बनेको छैन । यहाँका क्षेत्री ब्राम्हण समुदाय चाहिँ स्थानीय विषयका रूपमा संस्कृत पढ्न चाहेको पाइयो । नगरपालिकामा स्थानीय भाषा नीति भने बनेको पाइएन ।

यो पनि पढ्नुहोस

११. काठमाडौँ महानगरपालिका काठमाडौँ- स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण समितिमा संलग्न डा.चुन्दा बज्रचार्यकाअनुसार नगरपालिकाले स्थानीय नेवार संस्कृति र स्थानलाई जोड दिएर नेपाल भाषामा लिखित स्थानीय विषय महानगरपालिकाभित्रका सबै विद्यालयमा अनिवार्य गरिएको छ । १७२ सामुदायिक विद्यालयमा नेपाल भाषा जान्ने शिक्षकको कोटा नगरपालिकामा सिर्जना गरी नियुक्ति गरी विद्यालयमा पढाउने कार्य भइरहेको छ । यसलाई कक्षा १-८ सम्म पुर्‍याउने महानगरपालिकाको लक्ष्य छ । आगामी वर्षहरूमा उक्त स्थानीय विषयलाई नेपालीसहित अन्य मातृभाषाहरूमा अनुवाद गरिने योजना रहेको देखिन्छ । तर नगरपालिकामा अझै स्थानीय भाषा नीति बन्न सकेको छैन ।

१२.चाँगुनारायण नगरपालिका भक्तपुरः नगरपालिकाका शिक्षा अधिकृत श्री दिनेश अर्यालकाअनुसार नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ। तथापि उक्त पाठ्यक्रममा भाषालाई भने जोडेको छैन । नगरपालिकाको वडा नं.४ र ६ मा तामाङ जातिको बाहुल्यता रहेको तर नेपाली भाषामा नजान्ने हुँदा दोभासेको सहयोग लिनुपर्ने अवस्था रहेको छ । नगरपालिका अझै स्थानीय भाषा नीति बनेको देखिँदैन।

१३.भक्तपुर नगरपालिका भक्तपुरः नगरपालिकाका शिक्षा प्रमुख श्री हरिप्रसाद निरौलाका अनुसार कक्षा १-८ को लागि ख्वप परिचय विषय स्थानीय विषय पाठ्यपुस्तक तयार गरी पठनपाठन भइरहेको छ । केही निजी विद्यालयमा समेत ख्वप परिचय भनेर नेवारी भाषामा लेखिएको पाठ्यपुस्तकको पठनपाठन भइरहेको छ । यस नपामा पनि स्थानीय भाषा नीति बन्न सकेको छैन ।

१४. मध्यपुर ठिमी नगरपालिका भक्तपुरः नगरपालिकाका शिक्षा अधिकृत श्री नेत्र दाहालकाअनुसार नेवारी भाषामा लिखित ठिमी मसिका स्थानीय पाठ्यपुस्तक तयार गरी पठनपाठन गरी आएको छ। तथापि नेवारी भाषा लिपि सिक्न भने बालबालिकालाई कठिनाइ भएको देखिएको छ भने स्थानीय भाषा नीति बनेको छैन ।

१५.सूर्यविनायक नगरपालिका भक्तपुरः नगरपालिकाका शिक्षा प्रमुख श्री मनोजकुमार ढकालकाअनुसार यहाँ स्थानीय विषयको पाठ्यक्रम बन्न सकेको छैन साथै स्थानीय भाषा नीति पनि बनेको देखिँदैन ।

१६.महालक्ष्मी नगरपालिका ललितपुरः नगरपालिकाका शिक्षा प्रमुख श्री चिरन्जीवी पौडेलकाअनुसार नगरपालिकाको भाषा र संस्कृति संरक्षण गर्ने योजना रहेको छ । गत वर्ष नै नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणका लागि १७ जनाको सल्लाहकार समूह गठन गरी कक्षा १-८ सम्मको स्थानीय पाठ्यक्रम लेखन भएको छ। साथै नगरपालिकामा विद्युतीय नागरिक बडापत्र रहेको छ जुन तामाङ र नेवारी भाषामा समेत लेखिएको छ। यहाँको सिद्धिपुर र लुभूमा तामाङ बस्ती रहेको छ। भाषा नीति आवश्यक रहेको भए पनि नगरपालिकामा भाषा नीति बनिसकेको भने छैन ।

१७.गोदावरी नगरपालिका ललितपुरः यस नगरपालिकामा शिक्षा प्रमुख देवी उपाध्यायकाअनुसार स्थानीय पाठ्यक्रम निर्माण कार्य भइरहेको छ। स्थानीय भाषा नीति र मातृभाषामा शिक्षा कार्यक्रमका लागि आगामी वर्षको बजेटमा समावेश गर्न नगरपालिकाको योजना रहेको देखिन्छ । नगरपालिकामा नेवारी भाषामा पठनपाठन गर्ने नेवा स्कुल नाम गरेको विद्यालय रहेको पाइयो ।

१८.ललितपुर उपमहानगरपालिका ललितपुर- नगरपालिकाका शिक्षा अधिकृत श्री सरिता पौडेलका अनुसार यस नगरपालिकामा कक्षा १-८ सम्मको स्थानीय पाठ्यक्रम तयार भई पठनपाठन गरिए पनि भाषा नीति भने बन्न बाँकी छ।  यहाँ कक्षा १-३ सम्मका लागि नेवारी भाषा विषयको पाठ्यपुस्तक लेखिएको छ ।

१९. कोन्ज्योसोम गाउँपालिका ललितपुरः गाउँपालिकाका शिक्षा प्रमुख विष्णुप्रसाद आचार्यकाअनुसार नगरपालिकामा ८०% जति तामाङ जातिको बसोबास रहेको छ। यहाँ यसै आर्थिक वर्ष भाषा आयोग र नेपाल तामाङ घेदुङको सहकार्यमा भाषा नीति निर्माण र मातृभाषा शिक्षा कार्यक्रमको आयोजना हुन गइरहेको छ।

२०. बाग्मती गाउँपालिका ललितपुरः गाउँपालिकाका शिक्षाका कर्मचारी श्री मोहनकुमार पौडेलकाअनुसार गाउँपालिका कुल जनसङ्ख्या ३,७९६ मा १९८२ जना तामाङ जाति रहेका छन् । यहाँ ब्राम्हाण, क्षेत्रीसहित घले, बराम भाषी वक्ताहरू बसोबास गर्दछन् जसमा बराम जातिका २०-२२ जना विद्यार्थी रहे पनि भाषा भने बोल्दैनन् । गाउँपालिकाले स्थानीय विषय र भाषा नीति निर्माण नगरे पनि गर्न इच्छुक रहेको पाइयो ।

२१. महाङकाल गापा ललितपुरः यस गाउँपालिकामा स्थानीय पाठ्यक्रम बन्ने क्रम जारी छ भने स्थानीय भाषा नीति भने बनेको देखिँदैन ।

कार्यक्रममा स्थानीय तहहरूको प्रस्तुतिपछि भाषाविद अमृत योञ्जन तामाङले मातृभाषामा शिक्षासम्बन्धी संवैधानिक, कानुनी र बिगतको अभ्याससहित अन्तर्राष्ट्रिय कानुनी प्रावधानको विषयमा प्रस्तुति गर्नुभएको थियो। तत्पश्चात भाषा विज्ञान केन्द्रीग विभागका प्रमुख डा. बलराम प्रसाईँले स्थानीय तहहरूबाट भाषिक जनशक्ति विकास गर्नुपर्ने र त्यसमा विभागको सहयोग रहने विचार राख्नुभयो । त्यसपछि शिक्षा तथा मानव स्रोत केन्द्रका तालिम शाखाका प्रमुख गीरमान थापाले शिक्षक र कर्मचारीको तालिमको विषयवस्तुमा भाषिक विषयलाई भाषा आयोगको सुझावअनुसार समावेश गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी पाठ्यक्रम विकास केन्द्रका भाषा विभाग प्रमुख टुकराज अधिकारीले कानुनी व्यवस्थाले नै तल्ला कक्षामा बहुभाषिक माध्यम सुनिश्चित गरेको हुँदा त्यसलाई कार्यान्वयन गर्नुमा जोड दिन आग्रह गर्नुभयो । विज्ञको मन्तव्यको क्रममा प्रा.डा.ओमकारेश्वर श्रेष्ठ, नेपाल भाषा केन्द्रीय विभागले नेवार जातिको संस्कृति, भाषासहित सांस्कृतिक पक्षमा अध्ययन हुँदै आएको बताउनुभयो। विज्ञको तर्फबाट शिक्षाविद प्रा.डा.विद्यानाथ कोइरालाले स्थानीय तहले बालबालिकाको सिकाइलाई कसरी सहज गर्न सकिन्छ त्यसका उपायहरूको खोजी गर्दै मातृभाषामा आधारित बहुभाषिक शिक्षा प्रदान गर्नुपर्ने विचार राख्नुभयो ।

कार्यक्रममा विज्ञहरूको सहजीकरण प्रस्तुतिपछि संस्थागत प्रस्तुति र मन्तव्यको सिलसिलामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवम सहसचिव श्री दिपक शर्माले मन्तव्य राख्नुभएको थियो । साथै संस्कृति, पर्यटन एवम नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख श्री लक्ष्मीकुमारी बस्नेतले मन्तव्यको क्रममा स्थानीय तहलाई भाषा नीति निर्माण र मातृभाषामा शिक्षा कार्यक्रमको कार्यान्वयनका लागि संस्कृति र शिक्षा मन्त्रालय दुवैले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहले योजना र कार्यक्रम निर्माण गर्दा भाषा र शिक्षासम्बन्धी कार्यक्रमलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको अन्तमा भाषा आयोगका अध्यक्ष एवम् कार्यक्रमका सभापति डा.लवदेव अवस्थीले सिकाइ केन्द्रविन्दुमा रहने हँदा विद्यार्थीलाई पठनपाठनको माध्यम भाषा बाधक नभई सहज, सरलताका लागि बहुभाषिक माध्यम लागू गर्न अपरिहार्य रहेकोमा जोड दिनुभयो । साथै उहाँले नेपाली विद्यालय शिक्षा प्रणालीमा पठनपाठनको माध्यम भाषामा मानवीय पक्षभन्दा पनि संरचना पक्ष हावी हुँदा भाषिक  विविधतालाई सही सम्बोधन गर्न नसकिएको विचार व्यक्त गर्नुभयो । यसका लागि सबै जिम्मेवार तह, निकाय र कर्मचारीसहित शिक्षकले समाधान निकालेर  सरकारी कामकाज र विद्यालय शिक्षामा बहुभाषिक सेवा प्रदान गर्नुपर्ने सुझावकासाथ कार्यक्रमको समापन गर्नुभयो।

     

You might also like