मोहन गोले लिखित जातिवादको शल्यक्रिया पुस्तक लोकार्पण

 

मोहन गोले लिखित जातिवादको शल्यक्रिया पुस्तक लोकार्पण

काठमाडौँ २०७७ साल चैत्र ७ गते शनिबार ।

काठमाडौँस्थित शिल्पी थिएटरमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा मोहन गोले लिखित  तथा ताम्सालिङ नलिज सेन्टर बौद्धबाट प्रकाशित जातिवादको शल्यक्रिया नामक पुस्तक जातिवादकै कारण पीडित करूणा विश्वकर्माबाट लोकार्पण भएको छ। पीडित  करूणा विश्वकर्मा वि.सं.२०७७ साल फागुन २ गते डेरा खोज्ने क्रममा लिइसकेको डेरा समेत तल्लो जातको भनी गुमाउन पुगेकी थिइन् । उनले न्यायको लागि फागुन ७ गते प्रहरीमा उजुरीपछि छैटौँ दिनमा निज दोषी पक्राउ परेको र अदालतको आदेशमा जातीय विभेद गर्ने घरवाला १ लाख धरौटीमा छुटेको कुरा उनले पीडाकासाथ सुनाइन् ।

यो पनि पढ्नुहोस

विभिन्न जातीय तथा भाषिक सङ्घ संस्थाका प्रतिनिधिका साथै सामाजिक अभियन्ता, बुद्धिजिवीहरू समेत सहभागिता रहेको उक्त लोकार्पण कार्यक्रममा पुस्तक समीक्षा गर्दै पुस्तक भूमिका लेखक समेत रहेका राजनीतिक विश्लेषक श्री कृष्ण खनालले मानिसको संस्कार र चेतनामा परिवर्तन गर्न अझै चुनौतीपूर्ण रहेको बताउनुभयो । वर्तमानमा वादसँगै लोकतान्त्रिक वा सामाजिक मूल्य मान्यतालाई मानिसमा रहेको स्वार्थले ओझेलमा पार्दै गएको यथार्थलाई स्मरण गराउनुभयो। त्यसपछि पुस्तक समीक्षाकै क्रममा राजनीतिक विश्लेषक सिके लालले दक्षिण एसियामा जातिवाद सधैँभरि सान्दर्भिक र दीर्घजीवि रहेको कटाक्ष गर्दै जातिवादको इतिहास र विकासक्रमको चर्चा गर्नुभयो । जातिवादका बारेमा मोहन गोलले लिखित पुस्तकमा विषयवस्तुलाई विहङ्गम रूपमा उठाए पनि यसका लागि जसले सुधार गर्नुपर्ने हो वा जसले जातित्वको नाममा शोषण गरेको छ तिनीहरू नै यस खेलक आयोजक, रेफ्रीका रूपमा रहेको र खेलाडी मात्र पीडित वर्गका रहेको हुँदा यसको अन्त्य हाम्रो सन्दर्भमा जटिल रहको उल्लेख गर्नुभयो । साथै पुस्तकले जातिगत आधारमा हुँदै आएको शोषण र दमनको दुष्चक्रलाई भत्काउन पुस्तक पढेपछि आक्रोश वा विद्रोहको भाव पाठकीय मनमस्तिष्कमा उद्वेलन गर्न सक्नुपर्ने गरी आगामी संस्करणमा सुधारको लागि सुझाउ दिनुभयो । त्यसैगरी मानव अधिकारकर्मी मोहना अन्सारीले राज्य निर्माणमा जहिले पनि खस आर्य जातिको चर्चा हुने गरेको तर तिनैसँगै राज्य निर्माणका सहयात्री अन्य जाति र धार्मिक समूहलाई बन्चित गरेको कटु सत्यलाई वकालत गर्नुभयो । नेपालको शासनसत्ताले समग्र जनतालाई चिन्ने र सेवाप्रवाह गर्ने भन्दा पनि सत्ता व्यक्तिमुखी हुँदा गरीब राज्य तर व्यक्ति धनी हुने परिणति भोगिरहेको बताउनुभयो । साथै उहाँले नेपालका अल्पसङख्यक जातिलाई शासक वर्गले साङ्केतिक रूपमा राज्य संरचनामा देखावटी प्रतिनिधित्व गराई शासन जोगाउने तिकडम मात्र गरेको चर्चा गर्दै पितृसत्ता र जातिवाद नेपालको सन्दर्भमा सइन पल्टेको घाउ जस्तो बनेको उदाहरण दिनुभयो ।त्यसैगरी पुस्तक समीक्षा गर्ने क्रममा आहुतिले पुस्तकको आवाज विद्रोहात्मक भन्दा पनि बुद्धको मध्यमार्गी वैचारिकता समातेको हुँदा आवाज जोरसोरको नभई मलिन भएको हो कि ? भन्नुभयो । उहाँले वर्तमानमा नश्लवाद ठोस रूपमा नदेखिने, जातिवाद चाहिँ देखिने गरेको चर्चा गर्दै वर्गीय पक्ष पुस्तकमा कतै उठान नभएको बताउनुभयो ।मूलतः नेपालको राज्य संरचनामा जातिवादभन्दा पनि वर्गीय पक्ष हावी भएको उल्लेख गर्दै  जनजाति आन्दोलन विस्तारै सांस्कृतिक पक्षमा संकुचन हुँदै जान थालेको र राजनीतिक पक्ष ओझेल पर्दै गएकोमा दुखेसो प्रकट गर्नुभयो । नेपालम विद्यमान तमाम शोषण र विभेदका संरचनालाई शान्ति प्रक्रियाबाट मात्र अन्त्य गर्न सम्भव नभएको र विश्व व्यवस्थामा नै परिस्थितिजन्य रूपमा हिंसाको बाटोबाट पनि शोषण दमनको अन्त्य हुन सक्ने भएकोले सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

अन्तमा, लेखक मोहन गोलेले आफू सामाजिक अभियानकर्मी भएकाले समाजमा रहेका विभिन्न खाले विभेदको अन्त्य गर्नेमा आफ्नो जीवन समर्पण गर्न चाहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै जाति, लिङगका कुनै वाद नहुने र सामाजिक रूपान्तरणको एक मात्र विकल्प सडक सङ्घर्ष हो भन्ने आफ्नो ठहर रहेको समेत थप्नुभयो । त्यसपछि कार्यक्रमका अध्यक्ष एवम् ताम्सालिङ नलिज सेन्टरका प्रबन्ध निर्देशक दावा दोर्जे लामाले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो ।

You might also like