हरिवन नगरपालिका, सर्लाहीमा पनि तामाङ मातृभाषा शिक्षा अभियान

 

हरिवन नगरपालिका, सर्लाहीमा पनि तामाङ मातृभाषा शिक्षा अभियान
हरिवन नगरपालिका घुर्कौली, २०७७ साल चैत्र १० गते ।
भाषा आयोग, वडा नं.५ घुर्कौली, हरिवन नगरपालिकाको सहकार्यमा जिल्ला आदिवासी जनजाति महासङघको भवन घुर्कौलीमा स्थानीय भाषा नीति निर्माण तथा मातृभाषामा शिक्षा विषयक १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। हरिवन नगरपालिकाका विद्यार्थी तामाङ घेदुङका अध्यक्ष साङबहादुर लोले सञ्चालन गरेका उक्त कार्यक्रमको अध्यक्षता वडा नं.५ का अध्यक्ष नागेन्द्रप्रसाद साहले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि भाषा आयोगका माननीय सदस्य उषा हमालज्यू हुनुहुन्थ्यो भने भाषाविद् अमृत योञ्जन तामाङ र भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा. लोकबहादुर लोप्चन विषय विज्ञ वा सहजकर्ताको रूपमा उपस्थित हुनुहुन्थ्यो ।साथै लेखक एवम सम्पादक निष्णु थिङ कार्यपत्र प्रस्तोताका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सर्लाही जिल्लाका नेकपाका नेता सुरेन्द्र लामा, जिल्ला आदिवासी जनजाति महासङ्घका अध्यक्ष बुद्धिबहादुर सुनुवार, वडा समितिका सदस्य सजनी लामासहित सामुदायिक विद्यालयहरूका प्रअ एवम शिक्षक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्थानीय तामाङ समुदायका अभिभावकहरूको समेत सहभागिता रहेको थियो ।
वडा सदस्य सजनी लामाले स्वागत मन्तव्यको क्रममा घुर्कौलीमा बसोबास गर्ने तामाङ समुदायको तल्लो पुस्तालाई तामाङ भाषा नसिकाइको हुँदा स्थानीय आमाहरूलाई भाषाको महत्वका बारेमा सचेतता जगाउन सकेमा भाषालाई पुस्तान्तरण गर्न सकिने विचार अभिव्यक्त गर्नुभयो । त्यसपछि प्रमुख अतिथि उषा हमालज्यूले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । तत्पश्चात् तामाङ न्हाङखोरका महासचिव एवम लेखक निष्णु थिङले भाषिक अधिकार, हरिवनमा भाषाहरूको स्थिति र भाषिक नीति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा नीतिगत दिशानिर्देश खण्डमा देहायको विषयको उठान गर्नुभएको थियोः
क) नगरपालिकाले भाषिक नीतिविहीनताको अन्त गरेर अबिलम्ब आफ्नो भाषिक नीति घोषणा गर्नुपर्ने,
ख) मातृभाषाको जगेर्ना र उत्थानका लागि नीति बनाउनुपर्ने,
ग) मातृभाषामा आधारित बहुभाषिक शिक्षा लागू गर्नुपर्ने,
घ) स्थानीय सरकारले हरिवन प्रज्ञा प्रतिष्ठान गठन गर्नुपर्ने,
ङ) समावेशी समाजमा समावेशी शिक्षाको नीति बनाउनुपर्ने ।

यो पनि पढ्नुहोस

निष्णु थिङले कार्यपत्र प्रस्तुत गरेपछि आदिवासी जनजाति महासङ्घका अध्यक्ष बुद्धिबहादुर सुनुवारले मन्तव्य राख्नुभएको थियो । विश्वका अन्य देशहरूमा आदिवासी भाषाले मान्यता प्राप्त गरी कार्यान्वयनमा गए पनि नेपालमा भने सङ्घीयताको कार्यान्वयन पश्चात पनि भाषिक प्रयोग विस्तार गर्नमा अलमलिएको बताउनुभयो । त्यसपछि उपस्थित विद्यालयत प्रअहरूसँग छलफलको क्रममा शिक्षकहरूले तल्ला कक्षाहरूमा नेपालीका साथै मैथिली, नेपाली र तामाङ गरी बहुभाषिक माध्यमबाट विद्यालयहरूमा पठनपाठन गर्दै आए पनि विद्यालयको औपचारिक माध्यम भने सामुदायिक विद्यालयमा नेपाली र निजी विद्यालयमा अङग्रेजी माध्यम मात्र हुन्छ भन्ने बुझाइ र गराइ रहेको पाइयो । सहभागी प्रअहरूकाअनुसार विद्यालयहरूमा अझैसम्म पनि मातृभाषा वा स्थानीय विषयको सट्टा अङग्रेजी विषय पठनपाठन गर्दै आएको पाइयो । साथै अभिभावकको अङ्ग्रेजी मोह, आदिवासी जनजातिका बालबालिकाहरूको छनोटमा प्राइभेट विद्यालय पर्दै गएको, विश्वव्यापीकरणको प्रभाव शिक्षामा परेको, विद्यालयमा मातृभाषा बोल्ने विद्यार्थी तिरस्कृत हुने परिवेश रहेको विषयवस्तुहरू उठान गरिएको थियो ।
विज्ञहरूको प्रस्तुतिको क्रममा भाषाविद एवम् भाषिक अभियन्ता अमृत योञ्जन तामाङले भाषा नीति र शिक्षासम्बन्धी अन्तराष्ट्रिय महासन्धिदेखि नेपालको संविधान, अनिवार्य तथा निशुल्क शिक्षा ऐन, स्थानीय सरकार सञ्चालन ऐन, बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिकामा भएका कानुनी प्रावधानहरूको बारेमा प्रस्तुति गर्नुभयो । उहाँले स्थानीय तहबाट भाषा नीति बनाइनुपर्ने, मातृभाषामा शिक्षा लागि शिक्षक तालिमको प्रबन्ध गरिनुपर्ने, स्थानीय भाषाहरूको संरक्षण र विकासको लागि स्थानीय प्रज्ञा प्रतिष्ठानको स्थापना गरिनुपर्ने सुझाव दिनुभयो । त्यसपछि भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख तथा मातृभाषा शिक्षाविज्ञ डा.लोकबहादुर लोप्चनले विद्यालय शिक्षाको अनौपचारिक माध्यम अहिले पनि बहुभाषिक रहेको तर यसलाई औपचारिक रूपले व्यवस्थापन गर्न नसकिएको उल्लेख गर्नुभयो । उहाँले मूलतः विद्यालय शिक्षाको तल्लो तहमा मातृभाषामा आधारित बहुभाषिक शिक्षा, कक्षा ४ देखि माथि मातृभाषा विषय वा स्थानीय विषय, नेपाली र अङग्रेजीलाई दोस्रो र विदेशी भाषाका रूपमा शिक्षण गरी विद्यालय शिक्षा सिकाइ उपलब्धि अभिवृद्धि गर्ने उपागमहरू बताउनुभयो । साथै यसमा सबैजनाले उत्तरदायित्व लिँदै यसको निरन्तर अनुगमन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मन्तव्यकै क्रममा सहभागी प्रअको तर्फबाट जयशङकर सिंले अभिभावकहरू बजारीकरणको प्रभावको कारण अङ्ग्रेजीप्रति आकर्षित हुँदै गई गुणस्तरीय शिक्षा पनि अङग्रेजी बोल्नुलाई ठान्न थालेको बताउनुभयो । तर आफ्नो बुझाइअनुसार प्राथमिक तहको तल्लो कक्षाको माध्यम भाषा मातृभाषा हुनाका साथै मातृभाषा/ स्थानीय विषय पाठ्यक्रमअनुसार नै कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । आगामी शैक्षिक सत्रदेखि नै यसलाई लागू गर्न नगरपालिकाले तयारी गर्नुपर्ने सुझाउनुभयो । त्यसपछि समाजसेवी एवम सर्लाही सामुदायिक रेडियोको संस्थापक चुडामणि वाग्ले भाषामा रहेको एकलपनलाई हटाई बहुभाषिकतामा जानुपर्ने विचार अभिव्यक्त गर्नुभयो । त्यसपछि सर्लाही जिल्लाका नेता सुरेन्द्र लामाले भाषिक अतिवाद अन्त्य गरी सबै भाषालाई सम्मान गरिनुपर्ने, विद्यार्थीमाथि गरिँदै आएको दुर्व्यवहार अन्त्य तत्काल गरिनुपर्ने र अन्तरसमुदाय सिकाइ र सद्भावको मध्यमार्गी बाटो अबलम्बन गर्नपर्नेमा जोड दिनुभयो ।कार्यक्रम सञ्चालक राजु लोले सञ्चार माध्यममा बहुभाषीकरण गरिनुपर्ने तर त्यसो हुन नसकेको बताउनुभयो।
कार्यक्रमको अन्ततिर प्रमुख अतिथि उषा हमालले भाषा आयोगले नेपाल सरकारलाई भाषाको संरक्षण, विकास र प्रयोगका लागि सिफारिस गरे पनि कार्यान्वयनको दायित्व तीनै तहका सरकारले निर्वाह गर्नुपर्ने स्मरण गराउनुभयो । साथै उहाँले आयोगले ५ महिनाभित्र सरकारी कामकाजको भाषा सिफारिस गर्न गइरहेको हुँदा स्थानीय तहको वडागत भाषिक विवरण पठाई सहयोग गरिदिन अनुरोध गर्नुभयो। अन्तमा कार्यक्रमका अध्यक्ष तथा वडा नं.५ का अध्यक्ष नागेन्द्रप्रसाद साहले घुर्कौलीमा मैथिलीभाषी समुदाय १७ घरधुरी मात्र रहेको तर तामाङ समुदायको १००० भन्दा बढी घरधुरी रहेको हुँदा तामाङ भाषाको माध्यम र विषयका पठनपाठनका साथै उक्त भाषाको विकास र पुस्तान्तरणको लागि वडा तहबाट कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।विद्यालय र घरको भाषा भिन्न हुँदा विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि नबढेको उहाँको ठहर थियो । संवैधानिक व्यवस्थाअनुसार यो नगरपालिका पनि भाषा र शिक्षाको क्षेत्रमा आगामी दिनहरूमा प्रतिबद्धताका साथ लागी पर्ने विचार अभिव्यक्त गर्नुभयो ।

You might also like