उर्मिला कुसुन्डाको भ्वइस अफ नेपालसम्मको यात्रा

 

उर्मिला कुसुन्डाको भ्वइस अफ नेपालसम्मको यात्रा

नेपालको अत्यन्त लोपोन्मुख वा सीमान्तीकृत जातिअन्तर्गत कुसुन्डा जाति पर्दछ । वनराजा समेत भनिने कुसुन्डा जाति नेपालको प्युठान, दाङ, तनहुँ, सुर्खेत, गोर्खा आदि जिल्लाहरूमा छरिएर बसेको तथ्य नेपाल कुसन्डा विकास समाजको गरेको अध्ययनबाट पुस्टि भएको छ । वि.सं. २०६८ सालको जनगणनाअनुसार २१३ जनगणना कुसुन्डा जातिको जनसङख्या पाइएको छ भने कुसन्डा विकास समाजले गरेको सर्वेक्षणअनुसार १६४ जना मात्र कुसुन्डाको जनसङख्या रहेको देखिन्छ ।

भाषिक वक्ताको दृष्टिमा कुसुन्डा जातिमा जम्मा २ जना वक्ताहरूमध्ये ज्ञानीमाया कुसुन्डाको मृत्युपछि कमला कुसन्डा सेन मात्र बाँकी रहेकी छन् । भाषा आयोगले उनलाई ठिमी इट्टा भट्टाबाट उद्धार गरी दाङको सुपैलाकोटमा पुनर्स्थापन गर्नुअघि उनी दाङको लमहीमा कुनै होटलमा काम गरेर जीवन गुजार्थिन् । उनका दुई सन्तानमध्ये छोरीको विवाह भई सकेको छ भने एकल छोरा पनि शारीरिक रूपमा लाटा छन् बोल्न सक्दैनन् र पढ्ने अवसर समेत गुमाएका छन् । भाषा आयोगबाट ३ वर्षअघि देखि नै कुसुन्डा भाषालाई संरक्षण गर्नको लागि कुसुन्डा भाषा कक्षा सञ्चालन गर्दै आएको छ ।आ.व.२०७७/७८ मा पनि महेन्द्र मावि. धर्ना घोराही र सुपैलाको घोराहीमा कार्यक्रम भाषा कक्षा सञ्चालन भइरहेको छ ।

यसका लागि सर्वप्रथम कुसुन्डा समुदायको भाषिक वक्ताको सहभागितामा कुसुन्डा भाषा सिकाइको लागि पाठ्यपुस्तक तयार गर्नको लागि घोराही उपमहानगरपालिकामा  कुसुन्डा भाषा पाठ्यसामग्री निर्माणसम्बन्धी ५ दिने कार्यशाला आयोजना गरिएको थियो । जसमा भाषाविद अमृत योञ्जन तामाङ र उदयबहादुर आलेले सहजीकरण गरेको थिए । त्यही कार्यक्रमको बेला यो पङतिकारले उर्मिला कुसुन्डालाई भनेको थिएँ नानु, कुसुन्डा भाषा सिकेकी छ्यौँ ? उनले जवाफमा भनेकी थिइन्- सिक्दै छु, केही मात्रमा आउँछ । त्यसपछि मैले भनेको थिएँ- कुसुन्डा भाषा जोगाउन अन्तर्जातीय विवाह नगर्नु है । तर उनले साना भाइहरूलाई देखाउँदै भनेकी थिइन्- विवाह गर्न मिल्नेले विवाह गरिसके, अब मैले विवाह गर्न मिल्ने नै छैन । यिनीहरूसँग गर्न भएन क्यारे । किनभने कुसुन्डामा शाही थरका वा वंशबीच विहावारी चल्दो रहेनछ ।

यो पनि पढ्नुहोस

नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डा हुन् उनको बुबा । उनी पेसाले ड्राइभरदेखि प्राविधिक पनि हुन् तर हाल उनी घोराही उपमहानगरपालिकाको कार्य समिति सदस्य समेत हुन् । उनैले छोरीलाई फुपू कमला सेनसँग कुसुन्डा भाषा सिक्न लगाएको बताएका थिए,, टेलिफोनमा कुराकानी गर्दा । साथै उनले छोरी गायिका पनि हुन् भन्दै बिगतमा सिङगिङ स्टारहरूमा भाग लिँदै आएको कुरा मलाई सुनाएका थिए । जुन कुरा उर्मिला कुसुन्डा यस पल्टको भ्वइस अफ नेपालको प्रतिस्पर्धामा छनोट भएपछि सो कुराको पुष्टि मात्र भएन । सयथरी बाजा बोलको सुमधुर गीतले निर्णायक मण्डल मात्र विमुग्ध भएनन्, उनी एकाएक मिडियामा छाउन पुगिन् । अझ उनले म कुसुन्डा जातिलाई चिनाउनकै लागि भ्वइस अफ नेपालमा भाग लिन आएको हुँ, हुनतः निर्णायक मन्डलमा आदरणीय महानुभावहरूलाई यस जातिको बारेमा थाहा छैन होला भनेकी थिइन् । जुन कुरा बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपालजस्ता मुलुकका लागि हरेक नागरिकको संवेदना छुने विषय बन्यो नै । त्यति मात्र हैन, उनको गायन प्रतिभा नै उनलाई भाइरल बनाउने सामर्थ्य बन्न पुग्यो ।

उनी भाषा आयोगबाट सञ्चालित कुसुन्डा भाषा कक्षाको सहजकर्ता वा शिक्षक पनि हुन् । उनलाई यसै वर्षदेखि भाषा आयोगले भाषावृत्तिअन्तर्गत मासिक रू.६,०००। उपलब्ध गराउन थालिएको छ। तथापि उनको घरायसी आर्थिक कमजोर अवस्थाको कारण पठनपाठन रोकिएको देखिन्छ। नेपाल सरकारको तर्फबाट भाषा आयोगले उनका फुपू कमला कुसुन्डालाई समेत मासिक रू.१३,४५०। उपलब्ध गरी भाषिक  पुस्तान्तरण गर्नको लागि प्रबन्ध गरेको छ । साथै कमला सेन कुसुन्डाको लागि आवास कोठा समेत निर्माण गरिदिएको छ । तर स्थानीय सरकारबाट जे सहयोग पाउनुपर्ने हो, त्यो भने गरेको पाइएन। उनीहरूले स्थानीय सरकारको सहानुभूति प्राप्त गरेको देखिँदैन । जे होस् उर्मिला कुसुन्डा भाषिक स्रोतव्यक्ति, सहजकर्ता मात्र नभई प्रतिभावान गायिका समेत हुन् । उनको सफलताको कामना ।

 

 

 

You might also like