किस्पाङ गापा नुवाकोटमा तामाङ भाषा/स्थानीय विषय पठनपाठन हुने

 

किस्पाङ गापा नुवाकोटमा तामाङ भाषा/स्थानीय विषय पठनपाठन हुने

किस्पाङ, २०७८ साल बैशाख १५ गते ।

किस्पाङ गाउँपालिका नुवाकोटमा भाषा आयोग, नेपाल तामाङ घेदुङ केन्द्रीय कार्य समिति र किस्पाङ गाउँपालिकाको सहकार्यमा मातृभाषामा शिक्षा कार्यान्वयनको लागि प्रअ तथा शिक्षकका लागि स्थानीय भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा विषयक ५ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ। २०७८ साल बैशाख १५ गतेका दिनबाट प्रारम्भ भएको प्रशिक्षण कार्यक्रम बैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । पहिलो दिनको कार्यक्रम गाउँपालिकाको अध्यक्ष श्री छत्रबहादुर लामाको अध्यक्षता र नेपाल तामाङ घेदुङका उपाध्यक्ष श्री कुमार घिसिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन प्राविधिक सहायक श्री चुडामणि भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चन, तामाङ भाषा पाठ्यपुस्तक लेखक प्रतीक ङेसुर तामाङ र दर्पण ब्लोन तामाङको उपस्थिति रहेको थियो । कार्यक्रममा किस्पाङ गाउँपालिकाका पाँचवटै वडाका वडाध्यक्षहरू, गाउँ कार्यपालिकाका सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष श्री छत्रबहादुर लामा र नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङले संयुक्त रूपमा ब्यानर पढेर उद्घाटित उक्त कार्यक्रममा तामाङ भाषा पाठ्यपुस्तक प्रतीक तामाङ ङेसुरले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्य बारेमा विचार अभिव्यक्त गर्नु भएको थियो । उहाँले यस कार्यक्रममा तामाङ बालबालिकालाई तामाङ भाषा विषयको पठनपाठन गरिने जुन सरलीकृत गरिएको सम्बोटा लिपि वा तामयीग लिपिमा लेखिएको हुने बताउनुभयो। स्थानीय तामाङ भाषामा नै तामाङ भाषा पाठ्यपुस्तक तयार गरिने कुरा समेत उहाँले जानकारी गराउनु भयो ।

तत्पश्चात परिचयात्मक अन्तर्क्रिया कार्यक्रमको सहजीकरण र मातृभाषा शिक्षासम्बन्धी सहजीकरण गर्नभएको थियो। अन्तर्क्रियाको क्रममा सहभागी प्रअहरू विद्यालयमा स्थानीय वा मातृभाषा विषयका रूपमा विगतमा सम्भोटामा लिपिमा पठनपाठनको लागि तालिम भई केही विद्यालयमा पठनपाठन भए पनि हाल उक्त तामाङ भाषा विषय पठनपाठन नभएको जानकारी गराउनुभयो।सहभागी प्रअकाअनुसार अहिले विद्यालयहरूमा मातृभाषा/स्थानीय विषयको सट्टा गुराँश अङ्ग्रेजी, हेडवे, स्पिडी म्याथ पठनपाठन गरिरहेको बताउनुभयो । सहभागीहरूकाअनुसार यस गाउँपालिकामा ७०% भन्दा बढी तामाङ समुदायको बसोबास रहेको हुँदा विद्यालयमध्ये कुनै विद्यालयमा सतप्रतिशत तामाङ बालबालिकाहरू रहेको, कुनै विद्यालयमा ७० % प्रतिशत भन्दा बढी तामाङ विद्यार्थीहरू रहेको र अन्यमा मिश्रित संरचनाको विद्यार्थी रहेको पाइयो । यहाँका विद्यालयहरूमा ब्राम्हाण, क्षेत्री, दलितका साथै मगर, गुरूङ, घले जातिको बसोबास रहेको पाइए पनि उनीहरूले मातृभाषा गुमाई सकेको पाइयो ।सहभागी प्रअहरूकाअनुसार अभिभावकहरूमा अङग्रेजी मोह रहेको र कक्षाकोठामा तामाङ भाषामा पठनपाठन गर्दा गुनासो गरेको कुरा बताएका थिए ।दुःखको कुरा, यहाँका तामाङ समुदायका अधिकांश बालबालिकाहरूले तामाङ भाषा बोल्न छोडिसकेका छन् । यसको अर्थ पछिल्लो पुस्तामा तामाङ भाषा पुस्तान्तरण भएको देखिँदैन । यसको आशय तामाङ भाषाको अपसरण भएको छ वा तामाङ भाषा नाति पुस्तामा सरेको छैन वा मरेको छ भन्ने पाइयो ।

यो पनि पढ्नुहोस

तर कतिपय विद्यालयमा तामाङ भाषा बोल्ने विद्यार्थीलाई नेपाली भाषामा मात्र पठनपाठन गर्दा नबुझ्ने हुँदा तामाङ भाषामा उल्था गरेर पढाउने गरेको कुरा प्रअ तिलकबहादुर तामाङले बताउनुभयो । जस्तो मृग भन्नलाई तामाङमा तेङके भन्ने गरेको उदाहरण दिनुभयो । कतिपय सहभागीले राज्यको भाषाप्रतिको विभेदात्मक नीतिको कारण नेपाली र अङ्ग्रेजी मात्र विद्यालय शिक्षाको माध्यम भाषामा प्रयोग हुँदा अन्य मातृभाषाहरू अपहेलित भएको र विस्तारै मातृभाषा लोपको गर्भतिर धकेलिएको पाइयो ।

मातृभाषामा शिक्षासम्बन्धी विषयमा सहजीकरणको गर्दै भाषाविद डा.लोकबहादुर लोप्चनले मातृभाषा शिक्षा माध्यम र विषय, दोस्रो भाषाका रूपमा नेपाली अङ्ग्रेजी शिक्षण, सिकाइ उपलब्धि अभिवृद्धि र शिक्षाको गुणस्तर वृद्धि विषयमा सहभागीलाई प्रस्ट पार्ने प्रयास गर्नुभयो । उहाँले संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहले स्थानीय भाषा नीति निर्माण गर्नुपर्ने र स्थानीय प्रज्ञा प्रतिष्ठानको गठन गरी भाषिक तथा सांस्कृतिक विकास गर्न सकिने सुझाउ दिनुभयो ।

मन्तव्यको क्रममा गाउँपालिकाका प्रशासकीय प्रमुख खुमबहादुर घर्तीले नेपाल बहुभाषिक देश रहेको हुँदा परिवर्तित सन्दर्भअनसार प्रत्येक स्थानीय तहमा सबै भाषा, धर्म र संस्कृतिले स्थान र सम्मान पाउनुपर्ने विचार राख्नुभयो । विकास भनेको भौतिक संरचना मात्र नभएर सामाजिक सामाजिक जस्ता पक्षहरू विकासको महत्वपूर्ण आयाम भएकोले त्यसका निम्ति गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । प्रदेश र केन्द्रीय तहसँग सहकार्य गर्दै अगाडि बढ्न आवश्यक रहेको मनसाय अभिव्यक्त गर्नुभयो । त्यसपछि गाउँपालिका उपाध्यक्ष मायादेवी न्यौपानेले हरेक जातिले मातृभाषा छोड्न नहुने विचार राख्दै आफूले तामाङ बालबालिकाहरूले अहिले तामाङ बोल्ने गरेको नपाइएको दुखलाग्दो भएको बताउनु भएको बताउनुभयो । सबै भाषाहरूको संरक्षणका लागि विद्यालयहरूमा सबै मातृभाषाहरूमा पठनपाठन गर्ने व्यवस्था गर्न सकिने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि कुमार घिसिङले नेपाल तामाङ घेदुङले भाषा आयोगसँग सहकार्य गरी बाग्मती प्रदेशको ४८ स्थानीय तहहरूमा तामाङ भाषा विषय र मातृभाषामा शिक्षा कार्यान्वयनको लागि पहल गरिरहेको उल्लेख गर्नुभयो ।तामाङ घेदुङले सम्बोटा लिपिको सरलीकृत रूप प्रयोग गरी जे बोल्ने त्यही लेख्ने लेखन पद्धति अवलम्बन गरेको बताउनुभयो । साथै उहाँले तामाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा पुर्ख्यौली भाषा तथा मातृभाषामा तामाङ र दोस्रो भाषामा छिमेकी समुदायको भाषालाई लेख्न आव्हान गर्नुभयो ।

कार्यक्रमको अन्तमा, कार्यक्रममा अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष श्री छत्रबहादुर लामाले संविधानमा नै मातृभाषामा शिक्षा दिने प्रावधान रहेको हुँदा स्थानीय तहहरूले कार्यान्वयन गर्नुको विकल्प नरहेको हुँदा आफूहरू त्यसलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो कार्यक्रम पनि स्थानीय तहको आर्थिक सहयोगमा भएको हुँदा यसले निरन्तरता र स्थिरता पाउन वचनबद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा मातृभाषालाई माध्यमका रूपमा अवलम्बन गर्नु भनेको भाषा जोगाउन नभई विद्यार्थीको पठनपाठनमा भाषिक बोधगम्यताको लागि हो भनेर सहभागीलाई सम्झाउनु भयो । उहाँले भारतको सबै प्रदेशमा भाषा र संस्कृतिको स्वतन्त्रता रहेजस्तै नेपालको संविधानअनुसार प्रत्येक प्रदेशको सरकारी कामकाजको भाषा पनि नेपालीबाहेकको फरक भाषा हुन सक्ने र त्यसका लागि प्रदेशहरू अध्ययनमा सम्बद्ध रहेको जानकारी गर्दै यस स्थानीय तहले भाषिक र शैक्षिक क्षेत्रमा सङ्घीयताको मर्म अनरूप कार्यक्रम प्रारम्भ गरिएको बताउनुभयो ।

You might also like