बान्तवा, छिलुङ र छिन्ताङ भाषा सरकारी कामकाजमा (सहिदभूमि गापा, धनकुटा)….

 

 

बान्तवा, छिलुङ र छिन्ताङ भाषा सरकारी कामकाजमा…..

(सहिदभूमि गापा, धनकुटा)

सङ्घीयताको कार्यान्वयनपछि ७५३ वटै स्थानीय तहहरूबाट संविधानतः प्रदान गरिएको एकल अधिकारमा आधारित भई स्थानीय  तहको आवश्यकताको आधारमा भौतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा भाषिक क्षेत्रमा प्रशंसनीय कार्यहरू भइरहेका छन् । त्यस्ता कार्यहरू मुलुकका लागि अनुकरणयोग्य र समाजका रूपान्तरणका लागि अपरिहार्य छन्  । तथापि स्थानीय आवश्यकता, पहल र अपनत्वमा गरिएका ती असल अभ्यासहरू सार्वजनिकीकरण नहुँदा एकातिर काम गर्नेका लागि प्रोत्साहन मिल्न सकेको छैन भने अर्कातिर अन्य सरोकारवालाका लागि मार्गदर्शन वा सिकाइ बन्न सकेको छैन ।

यो पनि पढ्नुहोस

धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकाले भाषा र शिक्षाका क्षेत्रमा आफ्नै अगुवाइ, अनुभव र आवश्यकताको आधारमा विगत १ वर्षअघि देखि गर्दै आएको स्थानीय वा रैथाने अभ्यास प्रशंसनीय मात्र छैन, अरूका लागि अनुकरणीय पनि छन्। किनभने स्थानीय तहहरूले आफ्नै स्रोत,साधन र जनशक्तिको प्रयोग गरी सरकारी कामकाजमा बहुभाषिकताको प्रयोग गर्न सकिन्छ भन्ने यो एक उदाहरण हो। गाउँपालिका अध्यक्ष मनोज राईकाअनुसार पालिकाले एक वर्ष अघिदेखि छिलुङ, बान्तवा र छिन्ताङ भाषाको माध्यमबाट पालिकामा सरकारी सेवा प्रदान गर्ने प्रबन्ध गरिएको छ। यसका लागि बान्तबा, छिन्ताङ र छिलुङ भाषा जान्ने कर्मचारीहरूलाई उक्त मातृभाषाका सेवाग्राहीलाई तिनै भाषाको माध्यमबाट सेवा प्रवाह गर्ने जिम्मेवारी तोकिदिएको छ। यसले स्थानीय तहमा उपलब्ध जनशक्तिकै उपयोग गरी विना लागत आधारमा स्थानीय भाषाको माध्यमबाट सेवा प्रदान गरी बहुभाषिक नेपालको संवैधानिक प्रावधान स्थानीय तहहरूबाट कारगर बनाउन सकिन्छ भन्ने प्रस्ट भएको छ । तथापि गाउँपालिकाका सेवा प्रदायक र सेवाग्राहीबीच नेपाली भाषाकै माध्यमबाट सेवा प्रवाह भइरहेको कुरा अध्यक्ष राई बताउँछन् । सेवाग्राहीसँग स्थानीय  मातृभाषामा बोलचाल गरेर सहजीकरण गरिए पनि मातृभाषामा लिखित स्वरूपको भाषिक सञ्चार कार्य भने हुन नसकेको देखिन्छ ।

त्यसैगरी पालिकामा तीनैवटै मातृभाषाहरूको मातृभाषा विषय पठनपाठनको व्यवस्थापन गरिएको छ। जसका लागि ८ वटा विद्यालयहरू चयन गरी ८ जना मातृभाषी शिक्षक वा सहजकर्ता नियुक्ति गरी पठनपाठन गरिँदै आएको छ। यस गाउँपालिकामा जम्मा ३९ विद्यालयहरूमध्ये ४ विद्यालय संस्थागत विद्यालय छन् भने बाँकी ३५ विद्यालयहरू सामुदायिक विद्यालयहरू हुन् । पालिकाका ८ वटा विद्यालयहरूमा मातृभाषा विषय पठनपाठन गरिएकोमा ८ विद्यालयमा बान्तवा भाषा विषय (आनयुङ), २ विद्यालयमा छिन्ताङ भाषा विषय र २ विद्यालयमा छिलुङ भाषा विषयको पठनपाठन हुन्छ । तर छिन्ताङ र छिलु भने केही समस्या आएको देखिन्छ।

पालिकाभित्रका विद्यालयहरूमा मातृभाषा विषय पठनपाठनका लागि गाउँपालिकाले एकएक जना मातृभाषी शिक्षक नियुक्त गरेको छ। जसमा बान्तवाभाषी शिक्षक ४ जना नियुक्ति भएका छन् भने छिन्ताङ र छिलुङ भाषाका २/२ जना शिक्षक नियुक्ति भएका छन् । उनीहरूका लागि तलब वा भत्तास्वरूप गाउँपालिकाले ६ महिनाअघि देखि प्रति महिना रू. १०,०००। उपलब्ध गराउँदै आएको देखिन्छ भने थप सेवा सुविधा विद्यालयले नै व्यवस्था गर्दै आएको छ । यस कार्यक्रमले निरन्तरता पाउनुका साथै आगामी वर्षदेखि अन्य विद्यालयहरूमा समेत कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको कुरा अध्यक्ष राईले बताउनु भएको छ।

 

You might also like