भाषा आयोगको प्रादेशिक भाषा सङ्गोष्ठी सम्पन्न

 

भाषा आयोगको प्रादेशिक भाषा सङ्गोष्ठी सम्पन्न

कार्तिक २६, काठमाडौँ ।

भाषा आयोगको आयोजना, प्रदेश २ का  सामाजिक विकास मन्त्रालय तथा जिल्ला समन्वय इकाइ धनुषा र महोत्तरीको सहकार्यमा प्रदेश २ का धनुषा र महोत्तरी जिल्लामा भर्चुअल माध्यमबाट २०७७ साल कार्तिक २६ गते प्रादेशिक भाषा सङ्गोष्ठी सम्पन्न भएको छ । भाषा आयोगको अध्यक्ष डा.लवदेव अवस्थीज्यूको अध्यक्षता र महोत्तरी जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंहको प्रमुख आतिथ्यता रहेको उक्त भाषिक सङ्गोष्ठीको सन्चालन भाषा आयोगका उपसचिव कमला पाण्डेले गर्नुभएको थियो । यस कार्यक्रममा धनुषा जिल्ला समन्वय समितिका प्रमुख रामदेव यादव विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा धनुषा र महोत्तरी जिल्लाका स्थानीय तहहरूको प्रमुख तथा उपप्रमुखका साथै विभिन्न भाषिक सङ्घसंस्थाहरूको सहभागिता रहेको थियो । जसमा मिथिला साहित्य परिषद, रामानन्द युवा क्लब, मैथिली विकास कोषका साथै सर्लाही साहित्य परिषदका प्रमुखसहित प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सामाजिक विकास मन्त्रालयका कर्मचारी प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसमेतको उपस्थिति रहेको थियो ।

भाषा आयोगका सदस्य उषा हमालको स्वागत तथा कार्यक्रमको औचित्यबारेको मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा भाषा आयोगका का.मु.सचिव लक्ष्मीप्रसाद भट्टराईबाट भाषा आयोगको गतिविधिका बारेमा प्रस्तुति गर्नभुएको थियो । त्यसपछि भाषा आयोगबाट गठित विज्ञ समूहका सदस्य रामभरोस कापरीबाट सहिभागीहरूबीच पालोपालो विचार राख्न र प्रश्न राख्ने गरी अन्तरक्रियात्मक छलफल चलाउनु भएको थियो ।जसमा स्थानीय तहका प्रमुख वा उपप्रमुख, संस्था प्रमुखहरूले पालैपालो आफ्नो विचार वा सुझाव राख्नु भएको थियो ।

गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासा समाधान वा प्रश्नको जवाफ तथा प्रादेशिक रूपमा सरकारी कामकाजको भाषाको विषयमा विज्ञ समूहको विज्ञ समूहका सदस्य डा.गोपाल ठाकुर, डा.रामस्वरूप सिन्हा, रामभरोस कापरीले मन्तव्यको क्रममा सम्बोधन गर्ने प्रयास गर्नुभएको थियो । त्यसैगरी प्रमुख अतिथि, विशेष अतिथिको सम्बोधनपछि भाषा आयोगका अध्यक्षज्यूले आफूहरूले संवैधानिक दायित्व निर्वाहकै लागि महामारीका बीचमा भर्चुअल माध्यमबाट कार्यक्रम सन्चालन गरेको बताउनु भयो । अन्ततः संविधानको मर्म र भावनाअनुसार आयोग सबै समुदाय र भाषालाई सरकारी कामकाजमा प्रयोग गर्नको नेपाल सरकारसमक्ष सुझाव र सिफारिस गर्ने प्रतिबद्धताकासाथ  गोष्ठीमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो । यसअघि भाषा आयोगले प्रदेशका २ का सप्तरी र सिराहा जिल्लामा भर्चुअल माध्यमबाटै प्रादेशिक भाषा सङगोष्ठी सम्पन्न गरिसकेको छ।

 

 

 

You might also like