रचना मोक्तान लिखित तामाङ भाषाको थोरबा दोखाङ कविता सङ्ग्रह विमोचित
स्वयम्भू काठमाडौँ, २०७८ साल साउन ३० गते शनिबार ।
कवि रचना मोक्तान लिखित तथा तामाङ ताजाङबाट प्रकाशित तामाङ भाषाको थोरबा दोखाङ कविता सङ्ग्रह तामाङ डाजाङको २०५ औँ कार्यक्रम शृङ्खला एवम् थोरबा दोखाङ कविता सङ्ग्रह विमोचन कार्यक्रममा विमोचन कार्य सम्पन्न भएको छ। भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर प्रमुख अथिति रहेको उक्त कार्यक्रममा कविता सङ्ग्रहको बारेमा पत्रकार मायालु ङेसुर, कवि मुक्तान थेबा र साहित्यकार तथा युवा नेता छिन्ताङ तामाङले कविताका विषयमा टिप्पणी गर्नुभएको थियो ।
तामाङ डाजाङका अध्यक्ष समेत रहेका फूलकुमार बमजनको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा तामाङ लोकगीत सम्राट चन्द्रकुमार मोक्तानको उपस्थिति रहेको थियो साथै तामाङ डाजाङले हरेक महिनाको अन्तिम शनिबार तामाङ भाषामा साहित्य गोष्ठी गर्दै आएको छ । त्यसैको निरन्तरता दिँदै कार्यक्रममा राजु मोक्तानले तामाङ भाषामा गजल, सजना गोलेले कविता र अन्य सहभीहरूले पनि आफ्नो कविता सिर्जना वाचन गरेको थिए ।
कविता सङ्ग्रहको टिप्पणीको क्रममा मायालु ङेसुरले कविता सङ्ग्रहमा कविले समसामयिक विषय उठान गर्दै युग र समाजको सार्वजनीन विषयवस्तुलाई अभिव्यञ्जित गर्न सफल रहेको बताउनु भयो । कवितामा युवासुलभ विद्रोह, आक्रोश र परिवर्तनकामी भाव र विचार प्रकट भएको उहाँको ठम्याइ थियो । त्यसैगरी कवि एवम टिप्पणीकार मुक्तान थेबाले यस तामाङ भाषाको कविता सङ्ग्रहको शीर्षकले लक्ष्य भुलेको बताइए पनि गन्तव्य नै नभुलेको तर त्यहाँ पुग्न हिँडेको बाटो चाहिँ गलत रोजेको हो कि भन्ने प्रश्न गर्नुभयो । उहाँले यो कविता सङ्ग्रहमा तामाङ समुदायको भाषा, संस्कृति एवम् तामाङ सौन्दर्यका साथै कवितामा व्यक्त भाव, विचार सशक्त रहेको बताउनुभयो । भाषिक शैली र शिल्पका दृष्टि एवम् कविता सङ्ग्रह विश्व दृष्टिकोणका आधारमा क्रान्तिधर्मी रहेको बताउनुभयो । त्यसपछि टिप्पणीकै क्रममा युवा नेता एवम साहित्यकार छिन्ताङ तामाङले कविता सङ्ग्रमा समाविष्ट ५१ वटा कविताहरूले नेपाली राजनीतिक परिवेश, वर्तमान भोगाइ र भविष्यप्रतिको चिन्तन गर्दै समाजसापेक्ष भाव वा विचार सम्प्रेषण गरिएको चर्चा गर्नुभयो । साथै उहाँले कविता आफैँमा विशिष्ट कला वा भाषिक विशिष्ट पक्ष भएकोले यसबाट तामाङ भाषा र साहित्यको क्षेत्रमा विशेष योगदान पुगेको बताउनुभयो ।
मन्तव्यको क्रममा तामाङ लोकगीत सम्राट चन्द्रकुमार मोक्तानले कवि रचना मोक्तानले यस कवितामार्फत तामाङ साहित्यको क्षेत्रमा अमूल्य योगदान पुर्याएकोमा धन्यवाद दिनुभयो र सफलताको कामना गर्नुभयो । त्यसैगरी प्रमुख अतिथि डा.लोकबहादुर लोप्चनले कवि रचना मोक्तानले तामाङ भाषा साहित्यको क्षेत्रमा कविता सङ्ग्रहको लेखन र प्रकाशन गरी तामाङ भाषा साहित्यको श्रीवृद्धिमा विशेष योगदान दिनुभएको बताउनुभयो । साथै तामाङ डाजाङले तामाङ भाषा र साहित्यको क्षेत्रमा पुर्याउँदै आएको योगदानले तामाङ भाषालाई नै उचाइमा पुर्याएको र त्यसमा युवाहरूको उर्जा, त्याग र योगदान उल्लेख्य रहेको बताउनुभयो । अन्तमा डाजाङका अध्यक्ष एवम कार्यक्रम अध्यक्ष फूलकुमार बमजनले तामाङ डाजाङले सकीनसकी तामाङ भाषा र साहित्यको क्षेत्रमा २०५ शृङ्खलासम्मको यात्रा पूरा गरेको बताउनुभयो । आगामी दिनमा यस्ता संस्थालाई सङ्घ, प्रदेश र स्थानीय सरकारबाट समेत प्रोत्साहन र सहयोग गरिनुपर्ने विचार राख्नुभयो ।