भाषा आयोगका सदस्य एवम् साहित्यकार उषा हमालको भिक्षुसँग प्रेम निबन्ध सङ्ग्रह विमोचित
काठमाडौँ, २०७८ साल मङ्सिर २७ गते शुक्रबार ।
भाषा आयोगको सदस्य एवम् साहित्यकार उषा हमाल लिखित भिक्षुसँग प्रेम निबन्ध सङ्ग्रह शिक्षा बुक्स प्रकाशनबाट प्रकाशित २०७७ साल मङसिर २७ गते शुक्रबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित लोकार्पण कार्यक्रममार्फत् विमोचित भएको छ। निबन्ध सङ्ग्रहमा टिप्पणी गर्दै साहित्यकार श्यामलले साहित्यकार उषा हमालले नेपालको विकटताको बिम्ब कर्नालीमा जन्मेर पनि नेपाली साहित्यमा सिर्जनामार्फत त्यस क्षेत्रलाई साहित्यिक मूलप्रवाहीकरण गर्न विशेष योगदान पुर्याएको बताउनु भयो । यस भिक्षुसँग प्रेम निबन्ध सङ्ग्रहमा लेखक उषा हमालले भावना,विचार र भूगोललाई समान्तार रूपमा प्रस्तुत गरी नेपाली साहित्यको निबन्ध विधामा नवीनता, काल्पनिकता र प्रयोगधर्मितालाई प्रवेश गराएको सन्दर्भको चर्चा गर्नुभयो । साथै उहाँले निबन्धमा भाषिक, वैचारिक शृङखला एवम् कृतिगत आवरण पक्षमा पनि सुधारका केही पक्षहरू रहेको प्रसङ्ग समेत कोट्याउनु भयो ।
निबन्धको समीक्षा गर्दै साहित्यकार एवम् लेखक डा. अर्चना थापाले उषा हमालको यस निबन्ध सङ्ग्रहमा कृति पुरातन साहित्यिक विधाभञ्जन गर्दै प्रयोगशीलताकासाथ विचार, भाव, भूगोल, मनोवेगको स्वतःप्रवाह गरिएको हुँदा यसलाई विधागत समालोचनाको घेरामा राखेर विश्लेषण गर्न पर्याप्त नभएको चर्चा गर्नुभयो। निबन्ध सङ्ग्रहका लेखक हमालले समाज र जीवनजगतको मात्रै नभई मानवीय जीवनको खास गरी महिला सत्व, भावनासहित उजागर गर्दै यस प्रकारको लेखनीले इमानदारिता प्रस्तुत गर्दै महिलाको प्रेमसम्बन्धित विषयवस्तुला खुलेर लेख्ने साहस गरिएको कृतिका रूपमा यसलाई विश्लेषण गर्नुभयो । त्यसैगरी नेपालका वामपन्थी विश्लेषक एवम् पूर्व राजदूत नीलाम्बर आचार्यले उषा हमालको निबन्ध सङ्ग्रहमा विचार, भाव, संस्कृति, भाषा, भूगोल, निजत्व र नारीत्वसहितका अनेकन् पाटा पक्षहरूको अनुपम संयोजन एकातिर पाइन्छ भने अर्कातिर ती विषयवस्तुलाई भाषिक कलात्मकता, कवितात्मक शैली र भावावेगपूर्ण प्रस्तुतिले हार्दिक उच्छलन भएको ठम्याउन सकिन्छ भन्ने विचार व्यक्त गर्नुभयो । साहित्यकार उषालाई पारीवारिक सदस्यका रूपमा मात्र नभई यस कृतिको पठनपछि उनी साहित्यिक लेखन क्षेत्रमा स्थापित हस्ताक्षर भएको प्रस्ट भएको बताउँदै उषाको यस निबन्ध सङ्ग्रह पठनीय मात्र नभई नेपाली साहित्यिक क्षेत्रमा एउटा विशिष्ट कृति लोकार्पित भएको बताउनुभयो । कार्यक्रमको अन्त्यमा निबन्धकार उषा हमालले आफैँ एक्लै अगाडि बढ्न नसक्ने हुँदा सबैको साथ, सहयोग र सद्भावसँगै साहित्यिक यात्रा गर्नुपर्ने बताउँदै समीक्षक, प्रकाशक, उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न भएको थियो।
शिक्षा बुक्स प्रकाशनबाट आयोजित उक्त कार्यक्रमलाई सम्पादक एवम् पत्रकार विमल आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यासहित सहित नेपालका विशिष्ट व्यक्ति व्यक्तित्व र उल्लेख्य सङ्ख्यामा साहित्यकारहरूको उपस्थिति रहेको थियो ।