‘गाइने दाइको सारङ्गीमा’ एक छिन हराउँदा
प्रा.डा.कृष्णहरि बराल
लोकबहादुर लोप्चन बहुमुखी प्रतिभाले सम्पन्न व्यक्ति हुन्।साहित्यका विविध विधामा कलम चलाएका लोप्चनको ‘गाइने दाइको सारङ्गीमा’ शीर्षकको गीत सङ्ग्रह अहिले हाम्रो हातमा छ। यस सङ्ग्रहमा उनका एक सय एक वटा गीतहरू सङ्कलन गरिएका छन्।
लोप्चनका गीतमा विविध विषयको प्रस्तुति पाइन्छ।उनले मायाप्रीतिका भावका साथै जीवनका अन्य अनेकानेक भावको प्रस्तुति छ।यस सङ्ग्रहका गीतमा उनले प्रेमको संयोग भावका गीतमा मायालुको रूपको वर्णन गरेका छन् भने मायाले नै जीवनलाई जीवनजस्तै बनाएको सन्दर्भ पनि उल्लेख गरिएको पाइन्छ।उनले मायालुको तुलना परीसँग गरेका छन् र उनी परीजस्तै भएकीले आफू पागलसरि भएको पनि बताएका छन् ।उनको हेराइको भावकै कारण प्रेम गर्ने हौसला जागेको कुरा पनि उनले बताएका छन् र मायाबिना बाँच्न नसकिने सन्दर्भ पनि उनले उल्लेख गरेको पाइन्छ।लगन गाँठो कस्न मन लागे पनि बात लाग्ने डरले त्यो गर्न नसकेको उनले एउटा गीतमा व्यक्त गरेको पाइन्छ।उनका गीतमा वियोग भावको पनि प्रयोग गरिएको छ।
लोप्चनले हाम्रो आफ्नो पहिचान मानिने मादलु, डम्फू, दौरा, सुरूवाल, गुन्यूचोलो र आफ्नै प्यारो भाषा बिर्सिएकामा दुःख मनाउ गरेका छन् भने देशभित्र भइरहेको हत्या हिंसा आदिको विरोध पनि गरेका छन्।यस्तै, मान्छे स्वार्थी भएकामा पनि उनको आपत्ति छ। विदेसिनु पर्दाको पीडा र विदेसिनै पर्ने अवस्थाको चित्र पनि उनका कतिपय गीतमा खिचिएको पाइन्छ भने विदेसिएकाहरूलाई देशमा फर्कन पनि उनले आग्रह गरेका छन् ।उनका गीतमा एउटा जीवनमा हजार चोटी मर्नुपर्ने अवस्था, सताउनेहरूकै बीचमा बाँच्न बाध्य भएको सन्दर्भ, ढाकर बोकेर जीवन काट्न बाध्य भरियाको कहानी, गोली थाप्न तयार वीरहरूको साहस तथा गाइने दाइको पीडा पनि वर्णन गरिएको छ।उनका केही गीतमा आञ्चालिकताले पनि ठाउँ पाएको छ।
यस सङ्ग्रहमा केही बालगीतहरू पनि सङ्कलन गरिएका छन्।जुनकिरी, चरी, फूलआदिसँग हाँस्न र बाँच्न सिकाइ मागेको गीतका साथै यसमा पढ्न, लेख्न लागी हाल्नुपर्ने विचार पनि प्रकट गरिएको छ।आफ्नो संस्कृति, भाषा र राष्ट्रप्रति प्रेम गर्न सिक्नुपर्छ भन्ने विचारहरू पनि यी गीतहरूमा प्रकट भएको पाइन्छ।
लोप्चनको यस सङ्ग्रहका गीतहरू आक्षरिक लयमा बाँधिएका छन् भने एकल तथा मिश्रित दुवै प्रकारको लयलाई गीतहरूमा समेटिएको छ। छोटकरीमा भन्दा यस सङ्ग्रहका गीतहरू पढूँपढूँ वा सुनूँसुनूँ लाग्ने प्रकारका छन्।म प्रस्तुत पुस्तकको सफलताको कामना गर्दै यति राम्रो पुस्तकका लागि गीतकार लोप्चनलाई पनि हार्दिक बधाइ दिन्छु ।