मातृभाषामा शिक्षा : विश्व अवधारणा र नेपाली अभ्यास

मातृभाषामा शिक्षा : विश्व अवधारणा र नेपाली अभ्यास

                      डा.लोकबहादुर लोप्चन

 उपसचिव, नेपाल सरकार

भाषिक सन्दर्भ

पहिला आफ्नी आमालाई माया गरौँ, त्यसपछि धाइ आमालाई, त्यसैगरी सबैभन्दा पहिला मातृभाषा अवलम्बन गरौँ, त्यसपछि नेपाली वा अङ्गेजी भाषाहरू ।   

प्रा.डा. विष्णु एस. राई

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार १२३ भाषाहरू रहेका छन् भने भाषा आयोगबाट पहिचान गरिएका थप ८ वटा भाषा समेत गर्दा १३१ भन्दा बढी भाषाहरू रहेका छन्। जसमा १ हजारभन्दा कम वक्ता भएका ३७ भाषा (लोपोन्मुख भाषाहरू) छन्।सबैभन्दा कम वक्त भएको कुसुन्डा भाषमा एक जना मात्र वक्ता  रहेको छ भने तिलुङमा भाषामा दुई जना मात्र  वक्ताहरू र दूरा भाषामा एक जना पनि वक्ता नभएको कारण मृत भइसकेको छ।यसरी भाषिक अपसरण (Language Shifting) भई आफ्नो भाषा छोडी नेपाली भाषा घरपरिवारमा बोल्ने  गर्दा भाषा दिनानुदिन मृत भाषामा रूपान्तरित हुँदै गएका छन्।

नेपालको राष्ट्रिय जनगणना (२०६८) अनुसार मगर भाषामा मगर भाषा बोल्ने ४१.७७%  र मगर नबोल्ने ५७.३३% रहेको पाइएको छ।त्यसैगरी तामाङ भाषा बोल्ने ८७.८८%  र नबोल्ने १२.१२%,गुरूङ भाषा बोल्ने ६२.३०% र गुरूङ भाषा नबोल्ने ३७.७०% रहेको देखिन्छ।साथै नेवार भाषा ६४.०३% बोल्ने र नबोल्ने ३६.३७% रहेको छ भने लिम्बू भाषा बोल्ने ८८.७१%, लिम्बू भाषा नबोल्ने ११.२९% तथा थारू भाषा बोल्ने ८८.०५% रहेकोमा थारू भाषा नबोल्नेमा १२.९५% छन्।यसले भाषिक बफादारिताको ग्राफ क्रमशः घट्दै भाषिक अपसरणको मात्रा क्रमशः वृद्धि हुँदै गएको प्रस्ट छ ।

परिचय

व्यक्ति जीवनमा पहिलो पटक सिकेको वा जानेको भाषालाई नै मातृभाषा भनिन्छ।अर्को शब्दमा आफन्त वा संरक्षकबाट आर्जित प्रथम भाषा मातृभाषा हो भने यसलाई जातीय वा पुर्ख्यौली भाषालाई मातृभाषाका रूपमा लिने प्रचलन छ।मातृभाषा व्यक्तिले समाजमा वा विद्यालयबाट सिकेको भाषा नभई परिवारबाट सिकेको भाषा हो।उदाहरणको लागि लिम्बू समुदायका बालबालिकाले पहिलो पटक लिम्बू भाषा सिकेमा उसको मातृभाषा लिम्बू हुन जान्छ तर उसले लिम्बू भाषाको सट्टामा नेपाली भाषा सिकेमा नेपाली नै उसको मातृभाषा भाषा हुन पुग्छ।तर संस्कृत,नेपाली र अङ्ग्रेजीजस्ता शास्त्रीय,अन्तर्राष्ट्रिय र विदेशी भाषाबाहेक नेपालमा बोलिने अन्य भाषाहरू मातृभाषाका रूपमा संविधानतः नेपालमा बोलिने मातृभाषा हुन् ।

मातृभाषामा शिक्षा

मातृभाषामा शिक्षा भन्नाले व्यक्तिले पहिलो पटक सिकेको वा जानेको भाषाको माध्यमबाट शिक्षा प्राप्त गर्न पाउनु हो।यसरी पनि बुझ्न सकिन्छ कि व्यक्तिले घरमा बोलिने भाषामा नै विद्यालयमा पठनपाठन गरिनु वा घरको भाषा र विद्यालयको पठनपाठनको भाषा फरक नहुनु नै मातृभाषामा शिक्षा हो।विश्वमा आजभोलि मातृभाषामा आधारित बहुभाषिक शिक्षा भन्ने गरिन्छ।खासगरी विद्यालय शिक्षाको तल्ला कक्षाहरूमा घरको भाषाका साथै विद्यालयको माध्यम भाषासमेत प्रयोग गरी पठनपाठन गरिन्छ भने त्यो मातृभाषामा शिक्षा ठहरिन्छ। यसमा मातृभाषा प्रयोगसहित अन्य भाषामा शिक्षा दिनु जस्तोः नेवार वा मैथिली बालबालिकाका लागि बालकक्षा वा कक्षा-१ मा अधिकांश नेवारी वा मैथिली भाषाका बोलेर पठनपाठन गर्नुका साथै केही मात्रमा नेपाली वा अङ्ग्रेजी भाषा बोलेर पठनपाठन गर्नु मातृभाषामा शिक्षाको दृष्टान्त हो।त्यसैगरी तल्लो कक्षा (कम्तीमा कक्षा १-३) मा पठनपाठन गर्दा नेपाली वा अङ्ग्रेजी भाषासहित बालबालिकाले पहिलो पटक सिकेको मातृभाषा (तामाङ, शेर्पा, मगर आदि) समेत प्रयोग गरी पठनपाठन गर्नु मातृभाषामा शिक्षा वा बहुभाषिक शिक्षा हो।

मातृभाषा शिक्षाःसैद्धान्तिक तथा व्यावहारिक आधार

जिम कमिन्स (२००२) का अनुसार बालबालिकाले पहिलो भाषामा भएको संज्ञानात्मक विकासको आधारमा दोस्रो भाषामा सञ्चार प्रवीणताको विकास हुने गर्दछ।त्यस्तै कोलिएर र थोमस (२००२) काअनुसार बालबालिकाको प्राज्ञिक तथा बौद्धिक विकासका तत्वहरूमा कक्षा ५/६ सम्म मातृभाषाको माध्यमबाट शिक्षणसिकाइ गर्नुपर्ने हुन्छ।नोम चम्स्की (अमेरिकी भाषाविद् एवम् राजनीतिक विश्लेषक) काअनुसार प्रत्येक व्यक्तिमा भाषा सिक्ने सार्वभौम व्याकरण हुन्छ पहिलो भाषामा सिकेको त्यही व्याकरणको खाकामा अन्य भाषाहरू सिक्न सकिन्छ।

नेपालमा शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीबाट गरिएको कक्षा ८ को विद्यार्थीको उपलब्धिको राष्ट्रिय परीक्षण-२०१७ (कक्षा-८) काअनुसार घरमा नेपाली मातृभाषा हुने र घरमा नेपाली मातृभाषा नभई अन्य मातृभाषा हुने विद्यार्थीको उपलब्धिमा अन्तर भएको निष्कर्ष आएको छ।विश्वभरि अङ्ग्रेजी भाषाको पैरवी गर्ने बेलायती सरकारको ब्रिटिश काउन्सिल भन्ने संस्थाले जोन सिम्पसनको नेतृत्वमा गरेको अध्ययनले आधारभूत शिक्षामा अङ्ग्रेजी माध्यमको प्रयोगले विद्यार्थीको सिकाइमा नकारात्मक असर परेको निष्कर्ष रहेको छ।जुन निम्नअनुसार छन्:

क)    अङ्ग्रेजी माध्यमबाट पढाउँदा अङ्ग्रेजी भाषा राम्रो सिकिन्छ भन्ने धारणा आफैँमा गलत छ ।

ख)     आधारभूत तहमा विशेष गरी दक्षिण एसिया र अफ्रिकन देशहरूमा चलेको अङ्ग्रेजी माध्यममा पढाउने अभ्यासले अङ्ग्रेजी भाषा सिकाइको आधार कमजोर बनाएको छ ।

ग)     आधारभूत तहमा अङ्ग्रेजी माध्यमको लहरले माथिल्लो तहको सिकाइको जग र शैक्षिक उपलब्धिमा नकारात्मक असर परेको छ ।

मातृभाषामा शिक्षा र मातृभाषाइतर शिक्षा

मातृभाषामा शिक्षा मातृभाषाइतर शिक्षा
 

u सामाजिक, विज्ञान वा गणितजस्ता विषय पठनपाठन गर्दा गुरूङ, थारू, मगरजस्ता भाषा बोलेर पढाउनु (बहुभाषिक माध्यम),

u कुनै एक मातृभाषाको साथै नेपाली वा अङ्ग्रेजी भाषासमेत बोलेर गरी सामाजिक, गणित, विज्ञानजस्ता विषय पठनपाठन गर्नु (द्वैभाषिक वा बहुभाषिक माध्यम),

u प्रारम्भमा मौखिक माध्यम प्रयोग गरी लिखित माध्यमको प्रयोग गर्दै जानु,

u राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माध्यम भाषामा प्रवृत्त गराउने पुलेसो (माथिल्लो कक्षाबाट नेपाली र अङ्ग्रेजी भाषामा स्थानान्तरण हुने,

u  मातृभाषामा आधारित बहुभाषिक शिक्षा (एक मातृभाषा भाषाको अनिवार्य प्रयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषाको एक प्रयोग गरी पठनपाठन)।

 

u नेपाली र अङ्ग्रेजी विषयजस्तै एउटा भाषा विषयका रूपमा मातृभाषा विषय पढाउनु,

u भाषाका सुनाइ, बोलाइ, पढाइ, लेखाइ, शब्दभण्डार र कार्यमूलक व्याकरण सिकाउनु,

u कुनै एक मातृभाषाको प्रयोग गरी एकल माध्यम भाषामा पठनपाठन गर्नु (बोर्डिङमा अङ्ग्रेजी एकल माध्यम प्रयोग गरेजस्तो)

u लिखित माध्यम मात्र प्रयोग गर्नु,

u माथिल्लो कक्षासम्म एकै मातृभाषामा पठनपाठन गर्नु,

u पाठ्यक्रम, शिक्षक र पाठ्यपुस्तक नभईकन लागू नहुने।

 

 

मातृभाषामा शिक्षाः आवश्यकता र औचित्य

मूलतः मातृभाषामा शिक्षाको आवश्यकता र औचित्य देहायअनुसार उल्लेख गर्न सकिन्छः

  • भाषिक पुस्तान्तरण वा वंशान्तरणको आधार,
  • सिकाइमा बालबालिकाको पहुँच, पहिचान, न्याय र सक्षमता विकासको माध्यम,
  • बालबालिकाको संज्ञान (शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक विकास) को आधारस्तम्भ,
  • दोस्रो र विदेशी भाषा विकास सिकाइको जग,
  • पुस्तैनी ज्ञान र संस्कृति हस्तान्तरणको माध्यम,
  • सिकाइ उपलब्धि वृद्धिसहित गुणस्तरीय शिक्षाको मुख्य कारक,
  • शैक्षिक क्षतिबाट बचावट र भाषिक मानव अधिकारको ग्यारेन्टी,
  • Means of indigenized knowledge conservation and promotion,
  • जाति र समुदायको जीवन्तताको साक्षी वा प्रमाण,
  • विश्व दृष्टिकोण (World View) ।

मातृभाषामा शिक्षाः विश्व सन्दर्भ

Ethnologue (2020)  काअनुसार विश्वमा ७,११७ भाषाहरू रहेकामा १४०  भाषा परिवारहरू छन् ।एसियामा २,३०६ भाषाहरू छन् जुन  कुल भाषाको ३२% हो।विश्वका १९७ देशमध्ये १०१ देशमा अङ्ग्रेजीको एकछत्र शासन रहेको पाइन्छ।विश्वका ४१% भाषाहरू लोपोन्मुख अवस्थामा (endangered) छन्।विश्वमा भाषाहरूको जीवन्ततालाई हेर्दा ५.७०% संस्थागत, ५१% दिगो अवस्थामा  र लोपोन्मुख अवस्थामा ५१% रहेको पाइन्छ।सोचनीय के रहेको छ भने विश्वमा हरेक दुई हप्तामा एक आदिवासी भाषाको मृत्यु हुने गरेको छ।विश्वमा भएका मातृभाषामा शिक्षाका अभ्यासहरू प्रतिनिधिमूलक रूपमा देहायअनुसार प्रस्तुत गरिएका छन्:

भारतः नयाँ शिक्षा नीति पारित (२०७७, साउन)

  • पहिला पाँच वर्षमा सकेसम्म मातृभाषामा अप्रत्यक्ष सिकाइ मात्र गरिने र जाँच नगरिने (बालकक्षा देखि कक्षा-२ सम्म),
  • त्यसपछिका तीन वर्ष (कम्तीमा ३, ४, ५ कक्षासम्म) लेखाइ र पढाइमा जोड दिइने,
  • त्यसपछिका तीन वर्षमा प्राविधिक र भाषिक क्षमतामा जोड दिइने,
  • यस अवधिमा कमसे कम दुई वर्षसम्म गणित र विज्ञानसहित दुई भारतीय भाषा पढ्नुपर्ने प्रबन्ध गरिएको।

अष्ट्रेलियाः Naomi Fillmore, Language in education in Australia)

  • Two way bilingual approach in education system,
  • Open spaces for teaching indigenous languages in Australian schools (state, territory and local levels),
  • राष्ट्रिय भाषा र आदिवासी भाषालाई सरकारी कामकाजमा अनिवार्य गरी द्वैभाषिक अनिवार्यता (शिक्षा, अदालत लगायत सरकारी कामकाजको भाषामा) ।

पपुवा न्यु गिनी (राई-२०७७, कार्यपत्र किरात राई प्राज्ञिक दोस्रो गोष्ठी)

  • ८२० भन्दा बढी भाषाहरू बोलिन्छन्,
  • मौखिक र लिखित दुवै भाषिक माध्यमको शिक्षामा प्रयोग भएको,
  • मातृभाषामा आधारित बहुभाषिक शिक्षा (MTEB-MLE) कार्यान्वयन भएको,
  • कक्षा १-५ सम्म मातृभाषामा आधारित भई राष्ट्रिय वा अन्य भाषाम पढाउने गरिएको,
  • MTEB-MLE सन् १९७५ देखि सुरू गरिएको सन् १९९५ सम्म ३५० भन्दा बढी भाषाहरूमा पठनपाठन गर्न सफल भएको ।

इन्डोनेसिया: ७०० भन्दा बढी जीवित भाषाहरू

  • अङ्ग्रेजी भाषामा भन्दा आदिवासी भाषामा आधारित शिक्षामा जोड दिएको,
  • स्थानीय आदिवासी भाषापछि राष्ट्रिय र अन्तराष्ट्रिय भाषाको क्रम निर्धारण गरी शिक्षामा प्रयोग गरिएको ।

मातृभाषमा शिक्षाःनीतगत प्रबन्ध

नेपालको संविधान २०७२ भाषा आयोग स्थानीय तह
धारा ३- बहुभाषिक राष्ट्र।

धारा ३१ (५) मातृभाषामा शिक्षा ( ब्रेल र साङ्केतिक भाषासमेत),

धारा ३- भाषा र संस्कृति संरक्षणको हक,

धारा ७- बहुभाषिक नीति अवलम्बन गर्ने ।

धारा २७८ बमोजिम गठित: उपधारा ६ (ग) मातृभाषाको स्तर पहिचान गरी शिक्षामा प्रयोग सम्भाव्यताको लागि सुझाव दिनु,

भाषा आयोग प्रतिवेदन २०७३-२०७५ को सुझावः

u  कक्षा ०-३ सम्म मातृभाषाको माध्यमबाट शिक्षा र माथि मातृभाषा विषयक रूपमा निरन्तरता,

u  पाठ्यक्रमको मातृभाषा र स्थानीय विषयको अनिवार्य पठनपाठन गर्ने ।

अनुसूची-८:बुँदा ८- आधारभूत तथा माध्यमिक शिक्षा

बुँदा २२- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास,

स्थानीय सरकार सञ्चालन ऐन २०७४-दफा ११ को उपदफा (फ) को १ मा भाषाको संरक्षण र विकाससम्बन्धी स्थानीयस्तरको नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमनको व्यवस्थाका साथै उपदफा ५ मा भाषा संरक्षण र विकाससम्बन्धी अन्य कार्य ।

 

मातृभाषामा शिक्षाः संस्थागत प्रयासहरू

मातृभाषामा शिक्षाका लागि विभिन्न संस्थाहरूबाट देहायअनुसार पहल भएको देखिन्छः

  • नेपाल तामाङ घेदुङः घेदुङले स्थानीय भाषा नीति र मातृभाषा शिक्षा कार्यक्रमका लागि ५ भन्दा बढी स्थानीय तहहरूको सहकार्य गरी आ.व.२०७९/८० मा कक्षा दुईसम्म तामाङ भाषा विषयको पठनपाठन भएको छ।तर तामाङ भाषालाई मातृभाषाको माध्यमको रूपमा अनौपचारिक रूपमा शिक्षकले कक्षामा प्रयोग गरे तापनि तामाङ भाषाको माध्यमबाट औपचारिक रूपमा सञ्चालित कक्षा भने पाउन मुस्किल छ।
  • राई किराँत यायोख्खाः यस संस्थाले राई किराँत जनप्रतिनिधि र राई किराँत भाषिक वक्ता बाहुल्य रहेको स्थानीय तहहरूमा भाषिक नक्साङ्कन गरिसकिएको छ।साथै बान्तवा राई भाषा विषयकलाई पाँचथर, भोजपुर, खोटाङ, ईलाम, धनकुटाका ६७ जति विद्यालयहरू पठनपाठनमा गर्न पहल गरिएको छ।
  • तमू ह्युल छ्योँज धी गुरूङ राष्ट्रिय परिषदः यस परिषदको पहलमा विभिन्न स्थानीय तहहरूको १४ भन्दा बढी विद्यालयमा गुरूङ भाषा विषय पठनपाठनको लागि कार्यक्रम सञ्चालन ‍भएको छ।संस्थाको पहल, सहकार्य र सक्रियतामा स्थानीय तहकाका जनप्रतिधिसँग अन्तर्क्रियात्मक कार्यक्रम गरी यसको विस्तारमा लागी परेको देखिन्छ।
  • नेपाल भाषा एकेडेमी/नेवा दय दबुः नेवारी भाषिक सङ्घसंस्थाहरूको पहलमा काठमाडौँ महानगरपालिकाका सबै विद्यालयहरूमा नेपाल भाषामा लिखित स्थानीय विषयलाई पठनपाठनका लागि नेपाल भाषा प्रशिक्षकको व्यवस्था गर्नुका साथै पाठ्यपुस्तक पनि महानगरपालिकाबाट लेखन र प्रकाशन गरी विद्यालयहरूलाई उपलब्ध गरिएको छ।
  • सुनुवार सेवा समाजः यस समाजले ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका साथै अन्य केही स्थानीय तहहरूमा भाषा नीति र मातृभाषा शिक्षा कार्यक्रमका लागि स्थानीय तहसँगको सहकार्यमा सुनुवार भाषा विषय पठनपाठनको लागि पहल गरेको देखिन्छ।

मातृभाषामा शिक्षाः चुनौतीहरू

नेपालको संविधान,२०४७ पछि नेपालमा मातृभाषामा शिक्षाअन्तर्गत मातृभाषालाई माध्यम र विषयका रूपमा विद्यालयमा लागू गर्न नीतिगत, कानुनी, संरचनागत र कार्यगत प्रबन्ध नगरिएका होइनन्।फिनल्याण्ड सरकार र नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभागको साझेदारीमा सम्म बहुभाषिक शिक्षा परियोजना (सन् २००७-२००९)  समेत लागू भयो।तथापि यसको दिगोपना वा निरन्तरता हुन सकेको छैन।साथै मातृभाषा शिक्षाका देहायअनुसार चुनौती आँकलन गर्न सकिन्छः

  • सामुदायिक विद्यालयको चुस्त, कुशल र नतिजामूलक व्यवस्थापन गरी सबलता विकास गर्नु,
  • मातृभाषामा शिक्षासम्बन्धी अवधारणागत स्पष्टता ल्याउन सचेतना र मातृभाषा शिक्षासम्बन्धी साक्षरता वृद्धि गर्नु,
  • बढी भावनात्मक, प्राज्ञिक वा बौद्धिक विषय बन्नु,
  • माध्यम वा विषयगत अवधारणाबीचको स्पस्टता ल्याउनु,
  • पूँजीवादी बजार र अङ्ग्रेजी भाषाको प्रभाव र प्रविधि खाडल (Digital Divide) कम गर्नु,
  • मातृभाषामा शिक्षा प्रयोगसापेक्ष र व्यावहारिक मोडल विकास गरी लागू गर्नु,
  • सक्षमता विकासको कार्यकर्महरू सञ्चालन गर्नु (नेता,कर्मचारी,शिक्षक…)
  • छरिएको कार्यक्रमको एकीकरण र समन्वय गर्नु,
  • लगानी सन्तुलनका लागि स्थानीय तहमा भाषा, कला र संस्कृति विकासका लागि कार्यक्रम र बजेटको प्रबन्ध गर्नु,
  • अनुगमन, अवलोकन र मूल्याङ्कनलाई कार्यक्रमको अभिन्न अङ्ग बनाई लागू गर्नु,
  • मातृभाषामा शिक्षा कार्यक्रमलाई निरन्तरता दिनु ।

मातृभाषा शिक्षाः सम्भाव्यता/भावी कार्यदिशा

नेपालको संविधान-२०७२ जारी भएपछि नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा रूपान्तरित भई बहुतहको सरकार (सङ्घ, प्रदेश र स्थानीय) कार्यान्वयन भएको छ।नेपालको वर्तमान संविधानको अनुसूची-८ मा स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण, प्रवर्धन र विकास गर्ने एकल अधिकार स्थानीय तहलाई प्रदान गरेको छ।साथै भाषा आयोग, नेपालले वि.सं.२०७८ सालमा प्रदेशगत सरकारी कामकाजको भाषासमेत सिफारिस गरी नेपाल सरकारलाई पेस गरिसेकेको छ।यसै सन्दर्भमा मातृभाषामा शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी शिक्षामा भाषिक अधिकार सुनिश्चित गर्न निम्नअनुसार भावी कार्यदिशा अगाडि सार्न सकिन्छः

  • हरेक समुदायमा भाषिक पुस्तान्तरण वा वंशान्तरण अनिवार्य गर्ने (जातीय/भाषिक समुदाय),
  • भाषिक अन्तर्घुलन (Translanguaging) लागि सरकारी कामकाजमा एकभन्दा बढी भाषाको माध्यमको प्रयोग र कार्यसम्पादन गर्ने,
  • सरोकारवाला सक्षमता विकासका लागि परामर्श (नेता,कर्मचारी, शिक्षक, भाषिक सङ्घसंस्था र अभिभावक वा जनता) कार्यक्रम सञ्चालन गर्ने,
  • सामुदायिक विद्यालयको व्यवस्थापन सुधार, सिकाइ उपब्धि वृद्धि र एकल भाषिक माध्यमलाई बहुभाषिक शिक्षामा रूपान्तरण गर्ने,
  • विद्यालय शिक्षाको एकीकृत पाठ्यक्रम,२०७६ मा आधारित भई मातृभाषा र स्थानीय विषय लागू गर्ने (भाषा आयोगको प्रतिवेदन,२०७३-७५)
  • बालकक्षा देखि कक्षा-३ सम्म मातृभाषाको माध्यमबाट पठनपाठन गर्ने र मातभाषा विषयसहित माथिल्लो तहसम्म लम्बीय सन्तुलन कायम गर्ने (भाषा आयोग प्रतिवेदन, २०७३-२०७५)

क) तल्ला कक्षाहरूमा मातृभाषिक माध्यम कम्तीमा पनि ०-३ कक्षासम्म अनिवार्य गर्ने,

ख)  माथिल्लो कक्षाहरूमा मातृभाषा विषय अनिवार्य गर्ने,

  • स्थानीय भाषा नीति, ऐन, कानुन निर्माण गरी कार्यान्वयन गर्ने (स्थानीय सरकार सञ्चालन ऐन,२०७४) जस्तोः स्थानीय भाषा ऐन, स्थनीय भाषा प्रतिष्ठान गर्न गर्न सक्ने,
  • भाषा आयोगसहित मातृभाषा शिक्षा संयन्त्रले प्राज्ञिक र प्राविधिक सहयोग गर्ने,
  • जातीय/भाषिक सङ्घसंस्थाहरूको क्षमता विकास, सक्रियता र पहल अपरिहार्य गर्ने,
  • Digitalization and machine translation of mother tongues.

निष्कर्ष

मातृभाषमा शिक्षा पाउनु नैसर्गिक मानवीय अधिकार हो भन्नेमा विश्वव्यापी मानव अधिकारको घोषणापत्र (सन् १९४८) देखि पछिल्ला अन्तर्राष्ट्रिय घोषणाहरूमा अझ घनीभूत रूपमा यसको कार्यान्वयनका लागि विशेष प्रावधानहरूको प्रबन्ध गरिँदै आएको छ।नेपालमा पनि मातृभाषामा शिक्षाका लागि लामो बहस र छलफलपछि यसका लागि कानुनी र संस्थागत प्रबन्धहरू भई कतिपय स्थानीय तहका विद्यालयहरूमा कार्यान्वयन हुन थालेको छ।तथापि,मातृभाषामा शिक्षाको कार्यान्वयनको स्थिति सन्तोषजनक हुन भने सकेको छैन भने यो अत्यन्त ढिलो र न्यून परिमाणमा लागू भएको देखिन्छ।मातृभाषा शिक्षाको कार्यान्वयनको प्रभावकारिता वृद्धि गर्दै थप विस्तार र विकास गरी प्रत्येक विद्यार्थीसम्म मातृभाषामा आधारित बहुभाषिक शिक्षा प्रदान गर्न सम्बद्ध समुदाय, शिक्षक, कर्मचारी, नेता र सरोकारवालाबाट बहुभाषिक शिक्षाको खेती गरिनु जरूरी छ तब मात्र मातृभाषा शिक्षाको  प्रयोग विस्तार भई यसले दिगोपना वा निरन्तरता प्राप्त गर्न सकिने अपेक्षा र विश्वास गर्न सकिन्छ ।

सन्दर्भसामग्रीहरू

  • नेपालको संविधान(२०७२), काठमाडौँः कानुनी किताब व्यवस्था समिति ।
  • Fillmore, Naomi (2020).Language in Education:An Australian Perspective. Mlenepal.com.
  • मातृभाषाको शिक्षमा प्रयोगसम्बन्धी शिक्षासम्बन्धी अध्ययन विधि (२०७६),भाषा आयोग ।
  • भाषा आयोगका वार्षिक प्रतिवेदनहरू(२०७४-२०७८) ।
  • योञ्जन तामाङ, अमृत(२०६९), बहुभाषिक शिक्षाका कुरा, तामाङ समाज जापान टोकियो ।
  • विद्यालय क्षेत्र सुधार कार्यक्रम (२०६६-२०७२) को दस्तावेज ।
  • विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप(२०७६) ।
  • शिक्षा ऐन, (२०२८) संशोधितसहित ।
  • शिक्षा विभाग, बहुभाषिक शिक्षा निर्देशिका, २०६६ ।
  • शिक्षा विभागबाट गरिएको मातृभाषामा आधारित बहुभाषिक शिक्षाः अध्ययन प्रतिवेदन (२०६८/६९)
  • गुरूङ मातृभाषाको प्रयोगसम्बन्धी अध्ययन प्रतिवेदन (२०७४/७५), लमजुङ, गण्डकी प्रदेश, भाषा आयोग ।

 

 

You might also like