“म चाहिँ के भ्रममा रहेछु भने यो गीत वरिष्ठ साहित्यकार सिद्धिचरण श्रेष्ठज्यूको रचना हो” – सङ्गीतकार बमजन
मलाई अचानक डा.लोकबहादुर लोप्चनज्यूको फोन आयोः दाइ, मैले गीतहरूको सङ्ग्रह निकाल्दै छु, हजुरले भूमिका लेखिदिनु पर्यो भन्नुभयो, मैले उहाँलाई यो सत्कर्मको लागि हार्दिक बधाइ तर भूमिका लेख्नु त्यति सजिलो कहाँ छ र? उहाँले मेरो इमेलमा पाण्डुलिपि पठाई दिनुभयो।मैले सरसर्ती एकपल्ट पढेँ, हेरेँ मात्र।किनभने यसैबेला नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र मधुरिमा नेपालको संयुक्त आयोजनामा“नेपाली प्रचलित मौलिक तालको प्रयोग र मानक निर्माण” बारे कार्यपत्र मैले तयार गरी प्रस्तुत गर्नुपर्ने चटारोको अवस्था थियो।अलिकता ढिलो हुन सक्छ है भनेँ।मेरो कार्यपत्रको प्रस्तुतिको कार्यक्रम सकिएपछि २-३ पटक उहाँको पाण्डुलिपि ‘जिन्दगीको तराजु’ जसमा १०१ गीतहरू सङ्ग्रहित छन्।अध्ययन गर्ने क्रममा उहाँको बहुआयामिक डायनामिज्मभित्र देशप्रेम, शोषण, विभेदप्रतिको विद्रोह, जातीय सौन्दर्य चेतना, उमेरजन्य प्रणय वर्णन, आफ्नो गामबेँसीको महत्व,शान्तिप्रतिको आस्था, बालबालिकाप्रतिको मोह आदि पाइन्छ ।
गीतकार लोप्चन आफ्नो मौलिक संस्कृति हराएकोमा चिन्ता व्यक्त गर्दैः
उड्न छाड्यो परेवा नि, कतै बसाइँ सर्यो कि ?
बज्न थाल्यो डम्फू, मादल, कतै खरी झर्यो कि?
उहाँको गीति चेतना प्रबल देखिन्छ तर कतिपय गीत भने कविता जस्ता पनि लाग्छन् । यहाँ एउटा बहसको विषय रहेको छ। मेरो मान्यता के छ भने जबसम्म कुनै पनि कविता (गद्य वा पद्य) वा शब्दहरूको हरफमा सङ्गीत भरिँदैन तबसम्म त्यो गीत कसरी हुन सक्छ ? यो बहसको विषय हो भन्ने मलाई लाग्छ ।
गीतकार लोप्चन आफ्नो प्रचुर देशप्रेमको भावनालाई यसरी पोख्छन्-
जितको इतिहास कोर्छन् तर कहिलै हार्न जान्दै जान्दैन
स्वाधीनताको संसार पराधीन हुन यो मान्दै मान्दैन
उहाँ हुर्केको समय, परिवेश, सङ्गत, अभाव, शोषण, विभेद यी विभिन्न कारणहरूका प्रभावले होला विद्रोही देखिन्छः
भनिरहन्छु म विद्रोहको आगो बाल्नुपर्छ,
हाम्रो शरीरमा एक थोपा रगत भएसम्म ।
जनताले रोक्नु हुन्न सङ्घर्ष जारी राख्नुपर्छ,
यस धर्तीमा अन्याय र अत्याचार रहेसम्म ।
हट्नुहुन्न नि पछाडि कायर भई,
लड्दालड्दै मर्न नै किन नपरोस् ?
शोषण, दमनको किल्ला तोड्न,
चट्याङ भई बज्रन नै किन नपरोस् ?
जिउँदो मान्छेले च्यात्न सक्नुपर्छ,
शोषणरूपी माकुरी जालोलाई
सल्काई आगो जलाउन सक्नुपर्छ,
विभेदका कात्रोरूपी सारा टालोलाई ।
मैलै शिक्षा क्षेत्रमा लामो समय बिताउने क्रममा धेरै साथीहरूलाई तालिम प्रदान गरेको छु । यस क्रममा म आफूलाई निकै भाग्यमानी शिक्षाकर्मी र सङ्गीतकर्मी ठानेको छु। यद्यपि म जागिर छाडेर पनि शिक्षा मन्त्रालयसँग जोडिएको छु।यसैक्रममा डा.लोकबहादुर लोप्चनसँग उहाँ तत्कालीन दोलखाको जिल्ला शिक्षा अधिकारी हुँदा म ‘एजुकेट द चिल्ड्रेन’भन्ने संस्थाको आयोजनामा शिक्षक तालिम कार्यक्रममा प्रशिक्षक भएर जाँदा भेट भएको थियो । उहाँ त्यस कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो। कुराकानी गर्ने क्रममा ‘ए मेरी जुनकिरी’ बालगीतको चर्चा हुँदा उहाँले यो गीत मैले रचना गरेको भन्दा मलाई अचम्म र खुशी लाग्यो । किनभने यो गीत शिक्षा विभागले उत्पादन गरेका र यस गीतको सङ्गीतकार म आफैँ थिएँ । म चाहिँ के भ्रममा रहेछु भने यो गीत वरिष्ठ साहित्यकार सिद्धिचरण श्रेष्ठज्यूको रचना हो । किनभने सिद्धिचरण श्रेष्ठज्यूको झिलिमिली झिलिमिली जुनकिरी भन्ने बालगीतको सङ्गीत सिर्जना मैले नै गरेको थिएँ ।यसरी मेरो एउटा भ्रम पनि त्यस दिन हटेको थियो ।
लोप्चनजी गीतकारबाहेक नाटककार एवम् शिक्षासम्बन्धी आलेखहरू पनि थुप्रै लेख्नु भएको छ। मैले उहाँको मल्टी ट्यालेन्टको बारेमा प्रारम्भमै उल्लेख गरेको छु।उहाँको बालगीतहरू बालसुलभ र बोधगम्य रहेको छ।‘ए मेरो जुनकिरी’ भन्ने गीत बालबालिकाहरूले टपक्क टिप्ने भएकाले धेरै विद्यालयहरूमा यो गाइरहेको हुन्छ-
ए, मेरो जुनकिरी, ए मेरो जुनकिरी
सिकाइदेउन मलाई पनि नाच्न फिरिरि।
मादल बज्यो घिन्ताङ घिन्ताङ, बाँसुरी तिरिरि
सिकाइदेउन मलाई पनि नाच्न फिरिरि ।
उहाँका गीतहरूमा कहीँकही विरक्तिएका व्यथाहरू भेटिए पनि त्यो सुखको खोजी अर्थात आशावादित प्रचुर मात्रमा पाइन्छः जस्तैः
गाइने दाइ, तिम्रो सारङ्गीमा दुःख मात्र रेटिन्छ कि ?
रेटी हेर सुख पनि, कतै पनि समेटिन्छ कि ?
रेडियो नेपालका वरिष्ठ लोकगायक तथा सङ्गीतकार धर्मराज थापाज्यूको लोकप्रिय गीतहरूमध्ये “सबैलाई यस्तै हो सोह्र सत्रमा” भन्ने गीतको भावजस्तै उमेरजन्य प्रणय भावहरू अर्थात् यस उमेरकोका किशोरकिशोरीहरूको चञ्चल मनका प्रतिनिधित्व गर्ने गीत पनि लेख्नु भएको छः
यति धेरै चञ्चल छ किन मान्छेको मन ?
जति बाँध्न खोज्छ, उति भाग्छ झन् झन् ।
सुबाटोमा लम्क भन्दा कुबाटोमा अघि सर्छ,
अरूको प्रगति देख्दा, आरिसैले छक्क पर्छ।
मनमा बाढी उर्लेपछि, तोडिन्छन् सारा बन्धन्,
जति बाँध्न खोन्छ तर उति भाग्छ झन झन ।
गीतहरूको बारेमा धेरै बहस हुन सक्छन् । गीतहरूको मापदण्डको बारेमा, कविताको मापदण्डको बारेमा,सङ्गीतको मापदण्डको बारेमा । तर सबैभन्दा महत्वपूर्ण विषय होः सिर्जनशीलता ।यस सिर्जनशीलताको सन्दर्भमा म ठोकेरै भन्न सक्छु- “लोकबहादुर लोप्चन सफल गीतकारको पङ्तिमा उभिन सक्ने सामर्थ्य राख्दछ
अत्यमा, डा.लोकबहादुर लोप्चनको लेखन यात्राको निरन्तरता र उहाँको अन्तर्निहीत प्रतिभा फुल्दै फल्दै जाओस् र गीतको दुनियाँमा आफ्नो छुट्टै पहिचान राख्न सफल होस् भन्ने शुभकामनासहित यस गीत सङ्ग्रहको लागि हार्दिक बधाइ ज्ञापन गर्दछु ।
प्रदीप बोमजन
प्रज्ञा सभा सदस्य
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, काठमाडौँ
(२०७८ साल चैत्र १२ गते शनिबार ।