
प्रेस विज्ञप्ति
मातृभाषा शिक्षा राष्ट्रिय पुरस्कार (वर्ष व्यक्ति/संस्था) स्थापना-२०८०
हामी (डा.लोकबहेदुर लोप्चन र संगिता तामाङ) ले वि.सं.२०७३ सालमा विवाहपछि बुबा/ससुरा स्व.सुन लामा र आमा/सासू स्व. हरिमाई लोप्चनको नाममा भाषा, शिक्षा, उद्यमशीलता, रोजगार, सामाजिक सेवाको उद्देश्यले सुनहरी लोप्चन फाउण्डेसन नेपाल काभ्रे स्थापना गरेका थियौँ । यसै फाउण्डेसनबाट वि.सं.२०७६ साल चैत्रमा नेपालमै पहिलो पटक बहुभाषिक शिक्षा मासिक प्रकाशन गरी मातृभाषा शिक्षाको क्षेत्रमा एउटा कोसेढुङगा कायम गर्न सफल भयौँ । तर वि.सं.२०७७ देखि कोरोना-१९ को महामारीको कारण बहुभाषिक शिक्षा मासिकलाई बहुभाषिक शिक्षा अनलाईनमा रूपान्तरण गर्नुपर्यो र यसलाई बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि. मार्फत् निरन्तरता दिइएको छ। हाल mlenepal.com मार्फत बहुभाषिक शिक्षासहित मातृभाषा साहित्यको क्षेत्रमा सूचना, सन्देश र जानकारी आम पाठकमाझ पस्किरहेका छौँ । साथै यस प्रा.लि.बाट भाषा, शिक्षा र प्रविधिः मुलुकको विकास र समृद्धि अभियान समेत सञ्चालन गरी २ वटा शृङखलाहरू सम्पन्न भइसकेका छन् ।
हामीबाट स्थापित सुहलो फाउण्डेसनका संरक्षक एवम बहुभाषिक शिक्षा अनलाइनका सल्लाहकार सम्पादक डा.लोकबहादुर लोप्चनले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट भाषा र साहित्य विधातर्फ वि.स.२०७९ सालको बागमती प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत सम्मानपत्रसहित र. ५०,०००। अक्षेरेपी पचास हजार नगद समेत प्राप्त गर्नु भएकोमा उक्त रकमलाई अक्षयकोषमा राखी वार्षिक रूपमा प्राप्त ब्याजको रकमबाट पुरस्कार प्रदान गर्नेगरी मातृभाषा शिक्षा राष्ट्रिय पुरस्कार (वर्ष व्यक्ति वा संस्था) वि.सं.२०८० देखि लागू हुने गरी स्थापना गरेको सहर्ष अवगत गराउन चाहन्छौँ । आउँदो पुस्तालाई प्रोत्साहित र प्रेरित गरेर समाज, देश र समुदायको भाषा,संस्कृति र सभ्यताको संरक्षण, संवर्धन र विकासका लागि हाम्रोतर्फबाट कर्तव्य र दायित्व निर्वाह गर्ने यो सानो पहल र प्रयास हो ।
अन्तमा, यसै वर्षबाट मातृभाषा शिक्षाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति वा संस्थालाई मातृभाषा राष्ट्रिय पुस्कार (वर्ष व्यक्ति/संस्था) समर्पण गर्ने घोषणा गर्दछौँ । हामी सदैव यहाँहरूको सद्भाव, साथ, सहयोग, शुभेच्छासहित सल्लाह सुझावको अपेक्षा गर्छौँ ।
संगिता तामाङ डा.लोकबहादुर लोप्चन
अध्यक्ष संरक्षक