सम्पादकीयः
नेपाली समाजको कलङकः कथित लेखक राम एकवाल साह र कथित अधिवक्ता भगवती पाण्डेको आतङक
केही दिन यता कथित लेखक राम एकवाल साह लिखित लोक सेवा गाइड (वन रक्षक) मा महिलालाई किन भालु भनिन्छ भन्ने विषय र कथित अधिवक्ता भगवती पाण्डेबाट कथित प्राइमटाइम टेलिभिजनको चिया गफ कार्यक्रममा अभिव्यक्त तामाङ जातिले गर्ने दाजुभाइ र दिदीबहिनीबीच विवाहको कारण उनीहरू अपराधमा संलग्न हुन्छन् भन्ने विषयले सामाजिक सञ्जाल लगायत आम सञ्चार जगत भरिभराउ छन्।जुन कुरा एक सभ्य, सुसंस्कृत र चेतनायुक्त व्यक्तिले लेख्नु र भन्नु त के कल्पना समेत गर्न सकिँदैन। त्यही कुरा कथित लेखक र कथित अधिवक्ताले लेख्ने र भन्ने दुवै काम गरेका छन्। यसका पछाडि यी दुई पात्र खालि संयोग मात्र हुन्, यसका पछाडि यस्ता व्यक्तिको पुस्तक प्रकाशन गरी व्यावसायिक लाभ लिने प्रकाशन गृह र प्राइमटाइम्स टेलिभिजन पनि उत्तिकै दोषी छैनन् र ? राज्यको संविधानको प्रावधानअनुसार सामाजिक सद्भाव भड्काउने, सामुदायिक दङ्गा मच्चिने क्रियाकलाप गर्न कुनै पनि सञ्चार संस्था र प्रकाशन गृह कानुनतः छुट छैन । तर यतिखेर खालि प्रमाणपत्रधारी शिक्षित तर सामाजिक सांस्कृतिक चिन्तनमा निरक्षर दुई जना प्रतिनिधि मनुवाहरूको लेखन र अभिव्यक्तिमा मात्र सीमित बहस र विरोध हुने सतहिक रूपमा स्वभाविक देखिन्छ ।
तर यस्ता घटना वा क्रियाकलापको मूल चुरोसम्म पुग्न नसक्दाखेरि बितेका ३०० वर्षसम्म पनि दक्षिण एसियामा जातीय छुवाछुत राज्य र सरकारहरूको ठुलो प्रयासका बावजुद पनि अद्यापि समाजको ऐजेँरू मात्र होइन, क्यान्सर भएको सत्य हो । भारतमा डा.भीमराव अम्बेदकरका प्रयास उल्लेखनी रह्यो । त्यसैगरी नेपालमा पनि विद्वान् समाजशास्त्री डोरबहादुर विष्टहरूले भाग्यवाद र जातिवादको कारण नेपालको विकासक्रम नै अवरूद्ध भएको पुस्टि नै गरेका छन् । त्यससम्बन्धी समाजशास्त्री विष्टका पुस्तकहरू फ्याटलिज्म एण्ड डेभलभमेन्ट बजारमा उपलब्ध रहेको छ।
त्यसैगरी लेखक मोदनाथ प्रश्रितले केही सांस्कृतिक निबन्धहरूमा जातिपाति, वर्गीय विभेद र सांस्कृतिक विचलनको चिरफार नै गरेको पाइन्छ। तथापि नेपाली समाजमा सदियौँदेखि जराजीर्ण अवस्थामा रहेको लैङ्गिक र जातीय विभेद एवम अन्धविश्वासहरू वर्तमान सभ्य समाजको कलङक बनेको छ। चाहे ती सानो जातको नाममा चौरजहारीस्थित सेती बगरमा मारिएका दलित युवाहरू किन नहुन् ? यहाँ बोक्सीको नाममा मलमूत्र खुवाइएका मात्र होइन, महिलाहरू मारिएका छन्।अझ नेपाली इतिहासको अध्याँरो युगतिर हेर्दा महिलालाई सती नै पठाइन्थ्यो ।परिणामतः सतीले सरापेको देशको कहावत नेपालीको मन, मस्तिष्कमा मात्र होइन, जिब्रोमै झुण्डिकै हुन्छ। बेलाबखत अभिव्यक्त स्वतः हुने गर्दछ । तर दुःखको कुरा जो पठित, शिक्षित र प्रमाणपत्रधारी छन्, उनीहरू आफैँ पनि जीवनजगतको वास्तविकताबारे अनभिज्ञ छन् र अन्योलमा छन् । यसको कारण नेपाली समाजको चरित्र र विशेषताको उदाङ्गो रूप हो यो। हाम्रो समाजको पुरातनी, सक्कली र स्वभाविक अवस्था नै यस्तै रहेको छ भन्दा के फरक पर्ने भो र अब ? अर्को चाहिँ हाम्रो विद्यालय र विश्वविद्यालयको शिक्षाले सभ्य संस्कार, संस्कृति र चेतना नदिएर केवल परीक्षा पास र कागजको कोस्टारूपी प्रमाणपत्र मात्र त दिइरहेको छैन, शिक्षा पद्धतिले कतै जीवन र जगत सिक्न र सिकाउन छुटाइरहेको त छैन ? भन्ने अहम सवालको साक्ष्य हुन् यी र यस्तै घटनाहरू ।
यो घटना पहिलो पनि होइन र अन्तिम पनि हुने छैन। किनकि नेपाली समाजको सोच, संस्कार अझै त्यतिधेरै रूपान्तरित भई सकेको छैन । आखिरीमा समाजको उत्पादन मानिस र मानिसले समाजलाई कसरी कलङकित बनाउँछ वा सभ्य बनाउँछ भन्ने कुरा व्यक्तिको सक्षमता विकासमा निर्भर रहन्छ ।
तर व्यक्तिको सक्षमता विकासका मुख्य पक्ष भनेको समाज, विद्यालय र विश्वविद्यालयबाट प्राप्त गरिने औपचारिक, अनौपचारिक शिक्षाको माध्यमबाट हो । तर उक्त शिक्षा लोकहितका लागि नभई व्यक्तिका लागि हुँदै गर्दा अमेरिकाजस्तो देशमा कक्षाकोठामा सहपाठीबाट गोली प्रहार भई सयौँ साथीहरूको निहत्था नमारिएको होइनन्।अहिलेको घटनामा पनि समाज, शिक्षा र चेतनास्तर मुख्य कारण हो ।तथापि यसका सहायक कारक वा खलनायक चाहिँ प्राइमटाइम्स टेलिभिजन प्रा.लि. र विद्या विकास पब्लिकेस प्रा.लि. हुन् जसले लेखक हुने सामर्थ्य नै नभएको एक जना व्यक्तिलाई पुस्तक लेख्न लगाएर प्रकाशन गरेको छ भने अर्कातिर प्राइमटाइसम्म नामक टेलिभिजनले तामाङ जाति वा नेपाली समाजको कुनै पनि जाति विशेषको सामान्य जानकारी पनि नभएको एक जना अदना व्यक्तिलाई चिया गफको पाहुना बनाएका छन् । जसले समग्र नेपाली समाजमा एउटा कलङग सिर्जना गरेको छ। फेरि यस घटनामा राम एकवाल साहले लैङ्गिक रुपमा भन्दा तिनै भगवती पाण्डे वा महिलाउपर बजारमा सुनिआएको अशिष्ठ, असभ्य र अमर्यादित कुरालाई सत्य ठानेर प्रश्नमा समावेश गर्न पुगेका छन् भने पाण्डेले आफूलाई सामान्य जानकारी पनि नभएको तर अपराधी किन हुन्छन् भन्ने प्रश्नमा तामाङ जातिको बारेमा आफूलाई लागेको वा यस्ता कुरा उनले कतै सुनेको पनि हुन सक्छ, त्यही कुरा सुनाउन पुग्छन् यस घटनाले हाम्रो समाजमा कथित लेखक र अधिवक्ताको दयालाग्दो शिक्षा अनि उनीहरूको सोचाइ, बुझाइ र चेतनास्तरको प्रतिबिम्बन गर्दछ ।
नेपालको संविधान र मौजुदा कानुनले कुनै पनि लिङग, जाति, भाषा, संस्कृति उपर जानी वा नजानी लाञ्छना, झुटो विवरण पेस गर्न र त्यसका बारेमा बोल्ने छुट दिइएको छैन। कुनै पनि विषय नबुझीकन बस्न पाइन्छ तर नबुझीकन लेख्न र बोल्ने छुट मौजुदा कानुनले कोही कसैलाई दिइएको भने छैन । तसर्थ, यस मामलामा पर्दामा देखिएका दुई पात्र राम एकवाल साह र भगवती पाण्डे कानुनतः सजायको भागीदार छ नै।त्यसैगरी, सामाजिक सद्भाव भड्काउने विषयवस्तु राखेर पुस्तक प्रकाशन गर्ने विद्या विकास प्रा.लि. र प्राइमटाइस्स टेलिभिजन प्रालि.संस्थागत रूपमै दण्ड सजायको भागीदार छन् । यस्ता सामाजिक मर्यदा, सद्भाव र शान्ति भङ्ग गर्ने गरी कुनै न कुनै रूपमा गरिएका क्रियाकलापहरू निरूत्साहित गरिनु पर्दछ ।तसर्थ, यस घटनाहरूमा संलग्न व्यक्ति, सहायक वा सहयोगी संस्थालाई तत्काल कार्बाही गरी यसखाले अपराधको निरूत्साहन गरिनु पर्दछ।