पलपलको मृत्यु सुदन किराँतीः समानान्तर पूर्वस्मृति/नोस्टाल्जिया
डा.लोकबहादुर लोप्चन
शिक्षाशास्त्र सङकाय डिनको कार्यालयमा भएको विद्यावारिधिको अन्तिम मूल्याङकनका लागि उपस्थिति जनाएपछि लगातारको कोरोना र कार्यब्यस्तता आदिइत्यादिको कारण त्रि.वि.कीर्तिपुर नटेकेको पनि करिब २/३ पुगेसकेछ। अस्ति भर्खरै भानुजयन्ती २०८०।३।२९ गतेका दिन मा.शिक्षामन्त्री श्री सुदन किराँतीज्यूबाट भाषा तथा साहित्यतर्फ बागमती प्रदेशको प्रादेशिक पुरस्कार प्राप्त भएपछि साउने सङक्रान्ति २०८० का दिन स्थानीय विदा मिल्छ । एक्कासी मनमा आफूबाट मण्डनदेउपुर नगरपालिकामा १ वर्षको अवधिमा तयार पारिएको ऐन, नियमावली, निर्देशिका सङ्ग्रह २०७९ लाई कीर्तिपुरको केन्द्रीय पुस्तकालयमा पुर्याउने मनवेगले मलाई त्यसदिन त्यतैतिर मोड्छ तर भित्री मनोकाङक्षाचाहिँ बजारमा कति नयाँ नौला पुस्तक निस्किसके होलान् । विश्वविद्यालय परिसरमा रहेको पुस्तक पसल चाहार्ने भित्री हुटहुटी उत्तिकै थियो।
त्यस दिन उक्त कानुन सङ्ग्रह, बहुभाषा शिक्षा मासिक पत्रिकाका केही थान र मेरा दोर्जे सरको पदचाप नाटक तथा गाइने दाइको सारङ्ग्री (गीति सङग्रहको) दुई प्रति लिएर म त्रिविवि कीर्तिपुर हान्निएँ । उक्त पुस्तकरूपी उपहार त्रिविवि केन्द्रीय पुस्तकालय र शिक्षाशास्त्र सङकायको पुस्तकालयमा थमाएपछि म हाजिर भएँ-विश्वविद्यालयको पुस्तक पसलतिर । केही पुस्तकहरू खोज्दै गएँ र किन्दै पनि गएँ- प्रथमतः शैलीविज्ञानका अधिष्ठाता प्रा.मोहनराज शर्माका पुस्तक समालोचनाका नयाँ कोण उपर दृष्टिगोचर भयो र किनिछाडे। त्यसपछि सुजित मैलानी लिखित शिलान्यास, बालकृष्ण माबुहाङ लिखित आत्मसंस्मरण इःमानु निःमा, डा. बाबुराई भट्टराई गुमनाम आमाहरूको कथा, उज्जल प्रसाईँ लिखित खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष विषय पुस्तक एक बागी, मोहन मैनालीको देखेको देश पनि मेरो प्रति बनेरै छाड्यो। त्यही लहरमा पलपलको मृत्यु, सुदन किराँती नामक पुस्तक पनि देखियो। लिउँ कि नलिऊ दोमनमै थिएँ, युवा मन्त्रीज्यूको आत्मसंस्मरण, जनययुद्धकालीन घटना विशेष होला भन्न अनुकल्पना रह्यो । तारा राईको छापामारको डायरीको सङ्घर्ष र स्वादको तरेली मनमा उर्लिए। अलि जिज्ञासा पनि लाग्यो, पुरस्कृत उहाँकै हातबाट उहाँकै पालामा भएकोले होला, हेरौँ न त ? पलपलमा म कसरी मृत्यु भएर मन्त्री बन्न सफल भएको रहेछ भनी पलपलको मृत्यु पुस्तक पनि किनियो र घरमा ल्याएर थन्काइयो ।
उक्त पुस्तकहरू समय मिल्दा पढ्दै जाने अन्तरमनमा रहेको थियो। एक दिनको बिहान गुमनाम आमाहरूको कथा पढ्न थालेँ हुनत यो पुस्तक श्रीमती संगिता तामाङलाई पढ्न उपहार दिएको थिएँ उनी राजनीतिक क्षेत्रका महिला हुँदा गुमनाम आमा उनका लागि मिल्दो थियो नै । उनले कति पढिन् थाहा भएन तर एक दिनको बिहान अलिकता फुर्सद मिल्यो र गुमनाम आमाका केही लेखहरू पढिछाडेँ । नेपालको शासन व्यवस्था, विकास र डा.बाबुराम भट्टराईको विश्लेषणले केही बेर सोच्न कर लगायो । मूलतः आफू जागिरे जीवनको ३० वर्षमा छु, तर नेपालकै उच्च प्राज्ञ विद्वान पूर्व प्रधानन्त्री भट्टराईज्यू गर्नुभएको जागिर नखाने र देश तथा समाजको लागि गरेको अठोट एवम् जीवनको समपर्णले कताकता मेरो दीर्घ जागिरे जीवनलाई गिज्याएजस्तो लाग्यो नै । तर मजस्तो शून्य पुस्तैनी आधार वा जगबाट जीवनयापनको एक मात्र आधार जागिर हुनुबाहेको अन्य विकल्प नै के रह्यो र ? तथापि पेन्सनपछि बाँकी अवधि पनि जागिरे जिन्दगीको एउटा सानो सिर्कनामा बाँधिरहने हो कि बाँकी अवधिहरू जनता र देशका लागि भन्ने कुतकुती मनमा जाग्यो ? त्यसलाई समयक्रममा उचित निर्णय लिने विचारसहिँत दैनिक जागिरे जीवनको रुटिनबद्ध घरदेखि कार्यालय र कार्यालयदेखि जागिरेको नियमिततामा चलिरहेँ ।
२०८०।४।१२ गते शुक्रबार करिब साढे पाँच बजे म मण्डनदेउपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको दैनिक जिम्मेवारी वहन गरेर नगरकोटको बाटो भई राधेराधे इजी वे ड्राइभिङ सेन्टरमा एक घण्टा ट्रायलको पूर्व अभ्यासपछि घर पुग्छु । सधैँ झै टेबलमा बस्छु, नजिकै पलपलको मृत्यु सुदन किराँतीको पुस्तक छ, उठाउँछु र भूमिका पढ्छु, त्यसले मलाई पुस्तकउपर यसरी तान्यो कि करिब बेलुका ११.०० बजेसम्ममा मैले उक्त पुस्तक सरसर्ती पढिँसकेँ। बिचमा साना दुई छोरा सम्राट लोप्चन तामाङ र छेसाङ लोप्चन तामाङलाई हेरचाह गर्दै पुस्तक सरसर्ती पढिभ्याएँ।
करिब ५० वर्षे जिन्दगीको मध्यान्तरमा धेरै पुस्तक, आत्मसंस्मरण, लेख र साहित्य पढेँ होला तर मेरै जिन्दगीको गरिबीको पाटो यति साह्रो मेल खाएको थिएन । हुनत हाम्रो यात्रा बेग्लाबेग्लै छन् उहाँको जन्म ब्रुनाइमा भएर भोजपुरको एक विकट गाउँको दुःखको भयावह कहर हुँदै राजनीतिक कष्टसाध्य यात्राबाट संस्कृति, पर्यटन र नागरिक उडड्यन मन्त्रीको पद र जिम्मवारीमा हुनुहुन्छ। म चाहिँ १६ वर्षे शिक्षण पेसा हुँदै १४ वर्षसम्म उपसचिव शिक्षा प्रशासन गर्दै हाल स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छु । राज्यको शासन र प्रशासन एकै डुङ्गाका सहयात्री हुन्, राजनीति र प्रशासन । राजनीतिले मार्गदर्शन वा निर्णय गर्छ र प्रशासनले कार्यान्वयन गर्छ ।यस अर्थमा उहाँ मेरा अभिभावक र म उहाँको प्राविधिक कार्याकारी संयन्त्र । जे होस्, राष्ट्रका लागि दुवै पक्ष अपरिहार्य अवयन हुन्, खालि तिनका बिच अस्थायी सरकार र स्थानीय सरकार फरक पहिचान रह्योः यात्रा एउटै उदेश्य वा गन्तव्य एउटै ।
अब जाऔँ पलपलको मृत्यु आत्मसंस्मरणमा आधारित सुदन किराँतीज्यूको पूर्वस्मृतितिर। उनको आत्मस्मृति पुस्तकमा जम्मा ४ वटा अध्यायहरूमा पहिलोमा जेल र जीवन, दोस्रोमा परिवार, तेस्रोमा राजनीति रहेका छन् । त्यसबाहेक पुस्तकको अग्रभागमा प्रशासकीय, आफ्नो कुरा छन् भने पुस्तक पश्च भागमा बाल्यकालीनदेखि हालसम्मका छनोट गरिएका केही तस्बिरका झलकहरूबाट सजिएका छन् ।
पहिलो पठनको रोजाइ पर्यो परिवार शीर्षक जुन जन्मदेखि मृत्युसम्मको अभिन्न, अविराम तन्तु हो जसलाई जीवनमा जे जति गरे, जहाँ पुगे पनि अलग गर्न सकिन्न । मानिसको उन्नति, अवनति र सफल वा असफल यात्राको आधार मात्र नभई अन्तिम बिसौनी समेत परिवार भएकोले होला मेरो पठनको पहिलो रोजाइ परिवार पर्न गयो । जब म उनको जन्मदेखि बाबुको पेन्सन, आमाको जिद्धीका अगाडि बाबाको हार भई धरानमा समेत नबसी विकट भोजपुरको गाउँमा बसाइ थालेको पढेपछि कल्पनाबाहिरजस्तो भए पनि जीवनजगतको नियमित क्रमजस्तो लाग्यो । ब्रुनाइका लाहुरे बाबा, दिदी, बहिनी, भाइ र आफूसहितका भीमकाय परिवारले लाहुरेको सञ्चित रकम रहुञ्जेल सहज भए पनि बाबाको जुवातास, जाँरक्सी आदि बानीब्यहोराले केही समय पश्चात सञ्चित रकम सकिन्छ। अझ जुवातासको कारण ऋण समेत लाग्दा जग्गाजमिन समेत बेचेर ऋण तिर्न बाह्य हुन्छ । विस्तारै भाइबहिनीहरूको संख्या बढ्दै जान्छ उता जग्गा कम हुँदै जान्छ, गरिबीले च्याप्दै जान्छ । यतिसम्म कि घरमा खानेकुरा नभएर सिस्नु र आलु उसिनेर खाएको दिनहरू धेरै हुन्छन् उनका । हिजो लाहुरे साहु चाउरे भएर छिमेकीले नपत्याउने भइसकेको छ। तर उनलाई गाउँकै स्कुलमा भर्ना गरिए पनि अन्य जातिकाले एक दिन कुटेको हुँदा डेढ घण्टा परको स्कुलमा लगिन्छ, पढाइन्छ । तर उनको परिवारमा गरिबीको ग्राफ यति बढ्छ कि कुनै हाटमा जाँदा बिस्कुट समेत किनेर खाने सामर्थ्य हुँदैन उनको। तर उनीहरू गरिबीबाट मुक्त पाउन अरूको खेतबारी कमाउन थाल्छन् जसोतसो परिवारमा खानेकुराको जोहो गर्छन् । त्यसरी खेती गर्न गोरूको जरूरत पर्दछ र किनिन्छ पनि तर पैसा तिर्न नसक्दा आफ्नै अगाडिबाट गोरू फुकाई लगिन्छ । त्यस्तो भयानक अपमान सहन पनि गरिबीले बाह्य बनायो उनलाई । उनका बाबाले त्यसरिसले आफूले बनाएका ६ बटै हलोहरू काटेर फाल्छन् ।आमा र छोरा निरीह हुन्छन् त्यो गरिबीको ताण्डव हेरेर रूनु सिवाह दोस्रो उपाय थिएन रून्छन् ।
यहाँनेर मलाई याद आयोः एक दिन घरमा खानेकुरा थिएन मेरो घरमा, बाबा खानेकुरा लिन जानु भएको थियो तर आउनु त भयो खानेकुरा ल्याउनु भएन । हामी ल्याउला र खाउँला भनेर बसेका थियौँ । बाबाले केही बोल्नु भएन- त्यसदिन करिब १ कुरूवा जति धान भकारीमा बाँकी रहेछ त्यसलाई ढिकीमा कुटेर खोले बनाएर खायौँ । म र आमा त्यसदिनसँगै रोएका थियौँ जुन बेला म एसएसली गरेर जागिर नपाएर घरमै काम गर्दै बसिरहेको थिएँ । त्यसैगरी म कक्षा ९ मा पढ्दाखेरि बाबाले एउटा पानासोनिक रेडियो किनेर ल्याउनुभयो उहाँकै साथी अनि मित्रसँग । तर बाबाले पैसा भने चाँडो तिर्न सक्नु भएन । ती व्यक्ति आएर मैरै हातबाट रेडियो खोसेर लग्यो र भन्यो- धन भए तिर, राख र नत्र लान्छु । साँच्चै हामीसँग धन थिएन, मेरै अगाडिबाट उसले उक्त रेडियो लग्यो । बाबा हेरिरहनु भयो । तर आमा र मलाई साह्रै पिर लाग्यो, इज्जत गयो भन्ने भयो । यसरी एउटा संयोग वा समानान्तर हामीबिच मिल्दा यो संस्मरण पढ्दा आफू पढेजस्तो लाग्यो, कता कता मन कुँडियो, चिमोटियो र पुनः एकपल्ट जिन्दगीको विस्मृत क्षण जुन कारूणिक थियो, बिर्सिँदै थियो र सम्झाइदियो। त्यसका लागि यस पुस्तक यस रूपमा ल्याउने घोस्ट राइटिङ नेपालप्रति म आभारी छु ।
त्यसैगरी सुदन किराँतीको भाइ बिरामी हुँदा धामीझाँक्रीको भर पर्दा बोली गुमी लाठो भएको घटना कम दुःखदायी छैन । त्यसैगरी दिदी र बाबाको झगडा भई दिदी मामाघर बसेको र चाडबाडको बेला पिँडालु झ्याङमा खानेकुरा खाई फर्केका कुराहरू। आमाबाबु बीचका दैनिक झगडा, त्यसले सन्तानमा ल्याउने तनाव पनि मेरै जस्तो लाग्यो । परिवारलाई धान्न सुदन किरातीले गरेका ज्यालाबनी, खेतीपाती जस्तै मैले पनि प्रा.वि.तहमा अपनाएको शिक्षण पेसा उस्तै लाग्छन् । त्यसैगरी क्याम्पस नियमित पढ्न खर्च गर्न नसकेको र आईए तह प्राइभेट परीक्षा दिएर पास गर्नु परेको र २७ हजार भन्दा बढी ऋण तिर्नु परेको घटनाक्रमहरू समानान्तरण देखिन्छन् । मेरा बुबाको जाँडरक्सीको कुलतको कारण गरिबी, अभाव र ऋण मेरा लागि उसबेला अभिशाप बने तर वर्तमानका लागि भने एक कठिन साहसिक उक्त दिनहरू वर्तमानको आधार बनेको थियो ।
राजनीति यात्राको समानान्तर्ता हेर्दा सुदन किराँती कक्षा ६ बाट राजनीतिमा प्रवेश गर्दा उनी विद्यालयस्तरीय प्रारम्भिक कमिटिको सदस्य बनेका छन् भने म चाहिँ कक्षा ८ पढ्दा अनेरास्ववियू प्रारम्भिक कमिटिको सदस्य सचिव बनाइयो । त्यसबेला म १४ वर्षमा मात्र थिएँ, मन्त्री सुदन चाहिँ १२ वर्षबाटै राजनीतिमा आबद्ध देखिन्छ त्यतिखेरसम्म प्रजातन्त्रको पुनःस्थापना भइसकेको थियो। उहाँले एसएलसी वि.स.२०५३ म गर्नुभयो । त्यसपछि क्याम्पस पढ्दाखेरि गोपाल किराँती लिब्बुवान मुक्तिमोर्चातिर लाग्दै पछि किराँत वर्कर्स पार्टी हुँदै माओवादीमा पार्टी समाहित हुँदा माओवादी हुन पुग्नुभयो । त्यसअघि उनी किराँत वर्कर्स पार्टीका विभिन्न जिम्मेवारीमा रहे भने माओवादीमा पोलिटब्युरोसम्मको जिम्मेवारी प्राप्त गरिसकेका छन् । उनी वि.स.२०६४ मा सभाषद भए भने २०७४ विजीत हुँदै २०७९ मा पुनः विजयी प्राप्त गरी हाल मन्त्रीको जिम्मेवारी छन् । हुनत म पनि प्रावि शिक्षक भएपछि आफ्नो पढाइलाई प्राइभेट रूपमै निरन्तरता दिँदै २०५६ सालमा बीएड सकेपछि मावि शिक्षक र प्रअ गरी वि.सं.२०६० मा निमावि तह स्थायी गर्न पुग्छु ।त्यसपछि २०६२ मा एम एड गरिसकेपछि वि.स.२०६३ मा लोक सेवातर्फ अधिकृत पद नेपाली विशेषज्ञमा वैकल्पिकमा परेको थिएँ भने २०६३ मै मा.वि. शिक्षक नेपाली विषयमा स्थायी हुन पुग्छु । वि.स.२०६६ साउनमा विद्यालय निरीक्षक र २०६६ मंसिमा शिक्षा सेवातर्फ उपसचिव पदमा उत्तीर्ण भई क्षेत्रीय शिक्षा निर्देशनालय भक्तपुर उपनिर्देशक पदमा पदस्थापना हुन पुग्छु ।त्यसपछि पिएचडीको अध्ययनसँगसँगै एमपिए, एम.ए., एलएलबी गर्दै भाषा आयोगमा मातृभाषा शाखा प्रमुख हुँदा वि.सं.२०७६।३।१० विद्यावारिधि सकेर डा. उपाधि थप्न पुग्छु । यसरी उहाँ राजनीतिक क्षेत्र र म निजामति क्षेत्रको ढुङगामा निरन्तर फेदीबाट शिखरतर्फको दुःसाध्य यात्रालाई साध्यमा रूपान्तरण गर्न धृष्टता गरिरहेको अनुभूत हुन्छ ।
उहाँको जेल यात्रा र मेरा जागिर यात्रा मलाई चाहिँ त्यति धेरै फरक जस्तो लाग्दैन । उहाँले सेनाबाट पक्रियपछि क्रुरतम शारीरिक, मानसिक यातना ब्यहोर्न बाध्य भएको देखिन्छ। मृत्युलाई नजिकबाट अनुभूत गर्नु परेको छ भनूँ पलपलको मृत्युको आभास उनले गरेका छन् । यता जागिरमा नोकरशाही जागिरमा शिक्षणबाट प्रवेश गरेको मलाई १ वर्षसम्म यति उकुसमुकुस भयो । जब जिल्लामा जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी गएँ त्यसपछि मात्र श्वासस फेर्न सकेजस्तो भयो । शायद जागिर यस्तो सम्झौता हो जुन जेल भन्दा कम छैन । त्यहाँ स्वतन्त्र विचारको गुञ्जायस थिएन र हुँदैन, पदीय संरचनाले थोपरेको कुरा सही भए पनि गलत भए पनि गर्नुपर्छ तर एउटा विवेकशील, सिर्जनशील मानिसको लागि त्यो सहजै पाच्य भने छैन। त्यसैगरी सरूवा, पदस्थापना, सेवा सुविधा नामका फरक अलग किसिमका यातनाहरू त्यहाँ नभएका हैनन्, अद्यापि छन् र रहनेछन् । हुनतः राजनीतिक क्षेत्रमा पनि त्यस्ता सफ्ट खालका यातनाहरू नभएका होइनन्। तर सबै राजनीतिक व्यक्ति र सबै कर्मचारी त्यस्ता किनारामा पर्दैनन् तर कोही कोही भने सदाजसो पर्ने गरेका छन् ।
त्यसैगरी जसरी सुदन किराँती गाउँमै क्लवमार्फत सामाजिक सेवामा प्रवेश गरे, देउसीभैलो खेले रकम जुटाए र सामाजिक सेवामा पदार्पण गरे। त्यसैगरी मैले पनि एलएसएलपछि गाउँमै देउसीभैलो खेलेर फलामेटार जनसांस्कृतिक पुस्तकालय खोलेँ । नाटक मञ्चन गरियो। नाटक लेखियो, खेलियो र देखाइयो । गाउँमै बाजागाजाका सामग्रीसहित प्रगतिशील पुस्तक र पत्रपत्रिकाको व्यवस्था गरियो । नयाँ पुस्ताका लागि केही अनुसरणीय पदचापहरू गरिए, जसलाई हालसम्म पनि केही युवाहरूले पछ्याई रहेका छन् । जुन माननीय सुदन किराँतीको जीवनयात्रा र मेरो जीवन यात्रामा समानान्तर रूपमा अगाडि बढेको देखिन्छ ।
यसैवर्ष म ४९ वर्ष पुगेर पचास वर्षमा लागेको छु । यतिबेलासम्म मेरा जीवनका किशोरकालीन अभाव, गरिबी र ऋणको पीडाको खाटा बसिसकेर होला बिर्सँदै गएको थिएँ तर उहाँको पलपलको मृत्यु आत्मसंस्मरण पढेपछि उक्त खाटामा एकपल्ट भित्रैदेखि दुःख्न थाल्यो । मलाई आफ्नै बिगतको पूर्वसम्मृतिको नोल्टाल्जिया भयो । पढ्दै जाँदा उहाँसँगै दुखेको छु म, त्यसभन्दा ठुलो कुरा उहाँको जनता र देशलाई जीवन समर्पण गर्ने अठोटबाट म देश, समाज र जनताकै लागि बाँकी जिन्दगी व्यतीत गर्ने निर्णयमा पुगेको छु । हुनतः यस्तै एउटै धरातल भएका लाखौँ मानिसहरू यस धर्तीमा होलान्, सबैको यात्रा शिखरसम्म पुग्छ र पुग्नुपर्छ भन्ने पनि छैन । तर जो पुग्छन् उसले चाहिँ जनता, समाज र देशका लागि सम्झनलायक केही योगदान दिनु नै मानवीय जिन्दगीको मर्म, कर्म र अन्तिम धर्म हो कि ?