विद्यालयदेखि विद्यावारिधिसम्मको भाषिक/शैक्षिक यात्राः लर्निङ, अनलर्निङ र रिलर्निङ

विद्यालयदेखि विद्यावारिधिसम्मको भाषिक/शैक्षिक यात्राः लर्निङ, अनलर्निङ र रिलर्निङ

मेरो जन्मस्थान काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि क्षेत्रमा अवस्थित तात्कालीन फलामेटार गाविस वडा नं. १ वा हालको खानीखोला गाउँपालिका वडा नं. २ मा बाल्यकालीन अवस्था रहँदासम्म अधिकांश तामाङ जातिको बसोबास रहे पनि केही घरपरिवार बाम्हाण क्षेत्रीसहित दलित परिवारको बसोबास थियो । मेरो घरपरिवारका सबै सदस्यकाबीच तामाङ भाषाकै माध्यमबाट आपसमा कुराकानी हुन्थ्यो भने अन्य समुदायका तामाङइतर नेपाली मातृभाषीसँग भने नेपाली भाषाको माध्यमबाट आपसमा कुराकानी हुने गर्दथ्यो । मेरी आमाले औपचारिक शिक्षा हासिल गर्ने अवसर पाउनु नभए पनि तामाङ भाषामा मौखिक रूपमा दक्ष हुनुहुन्थ्यो भने बुबा साक्षर हुनुहुन्थ्यो साथै उहाँहरू दुवैको मातृभाषा तामाङ नै रहेको थियो । मेरो बूढा मावलीतर्फ बाजे २५ वर्षे प्रधानपन्च र आमापट्टिका बाजेदेखि मामाहरू गाउँकै चोहो (अध्यक्ष) भएको हुँदा पाहुना सत्कार, सम्मान, तामाङ रीतिस्थिति र तामाङ गीत र सेलो गायनका केही श्लोकहरू आमाबाट सुन्न पाउँथे भने बुबा राती सुत्ने बेलामा छालाको आवरण पृष्ठ भएको नोट कापीमा लेखिएका तामाङ ह्वाई (तामाङ गीत) गुनगुनाउनु हुन्थ्यो। साथै मामाहरू झाँक्री हुनाले तामाङ संस्कार, चालचलन र अन्य मिथकहरू सुन्न पाउँथे । साथै लोप्चन तामाङ वंशको कुलको पूजा लामाबाट हुने हुँदा लामाले छ्योइ (धर्मग्रन्थ) पढेर देवाली गरेको बाल्यकालबाटै हेर्न र अनुभव गर्न पाएको थिएँ।यसले मलाई तामाङ रीमठिम (रीतिथिति) तिर संस्कारित गर्दै गएको थियो।तर पछि घरमा रेडियोमा बज्ने फूलबारी कार्यक्रममा बज्ने तामाङ ह्वाई (तामाङ गीत) र क्यासेट प्लेयरमा तामाङ ह्वाई र सेलो सुनियो जुन नेपाली गीतभन्दा प्रिय लाग्थे भने आफ्नै स्वानुभूतिका साथै गर्वानुभूति पनि हुन्थ्यो । यसरी ममा तामाङ संस्कार, संस्कृति, भाषा र साहित्य सङ्गीतप्रतिको प्रभाव पर्दै गएजस्तो लाग्छ ।

बुश (सन् २०१७-४८) काअनुसार फेनोमेनोलोजिकल अध्ययन ढाँचामा अध्येता नै सहभागीमा रूपान्तरित हुन्छ भने रैथाने भाषिक वक्ताका रूपमा सहभागीको आवाजलाई महत्त्व दिएर अध्ययनलाई बढी अन्तरक्रियात्मक र सहभागितात्मक बनाइन्छ।त्यसैगरी म करिब आठ वर्षको उमेरको हुँदा घर नजिकैको श्री बालविकास प्रावि वा हालको बालविकास मावि फलामेटारमा कक्षा एकमा भर्ना भएको थिएँ।बाल्यलकालमा विद्यालयका प्र.अ. श्री जनकलाल श्रेष्ठले आमाबाबु र मसँग हाम्रो घरमा आउनु हुँदा तामाङ भाषामा सबैसँग कुराकानी गरेको मलाई याद छ । उहाँले तामाङ भाषामा कुरा गर्दा मेरी आमालाई बुझ्न सहज हुन्थ्यो भने बुबाले भने नेपाली भाषामै बोल्नुहुन्थ्यो।साथै उहाँ विद्यालयमा पनि तामाङ बालबालिकासँग तामाङ भाषामै बोल्नुहुन्थ्यो । एक दिन विद्यालय नगएमा हाम्रो घरमा भोलिपल्ट आउँनु हुँदा ए तिता तिल्मा स्कुलरी आहाबा (तिमी किन हिजो स्कुलमा नआएको) नाङ्गर हेन्दे स्कुलरी हाला कि आहा (भोलिदेखि विद्यालयमा आउँछौ कि आउँदैनौ) भनी तामाङ भाषामै सोध्नुहुन्थ्यो । तर विद्यालयको कक्षा पाँचसम्मको कक्षाकोठाको शिक्षणसिकाइको माध्यम भाषा भने नेपाली नै रहेको थियो । त्यसबेला कक्षाकोठामा नेपाली माध्यम भाषाबाट गणित, सामाजिक, विज्ञानजस्ता विषयहरू पठनपाठन हुन्थ्यो । आफ्नो कक्षाका सहपाठी नेपालीभाषी भएकाले अनौपचारिक रूपमा उनीहरूसँगको सङ्गतमा नेपाली भाषा बोलिने हुँदा पढाएको पाठ बुझ्न कठिन भएको जस्तो लागेन । तर पनि विद्यालयमा घरायसी मैत्रीपूर्ण वातावरण प्राप्त गर्न सकेको थिएन । लाग्थ्यो, विद्यालय भनेको घरभन्दा अलग्गै संसार हो, यहाँ नेपाली भाषाबाहेक अन्य भाषा बोल्नै हुँदैन ।

कक्षा पाँचको पढाइ सकेपछि कक्षा छमा पढ्न घरदेखि दुई घण्टा टाढा पर्ने श्री जनविकास मावि ताल्ढुंगामा भर्ना भई पढ्न पुगेको थिएँ।त्यस विद्यालयमा प्रशासनिक र कक्षाकोठाको शिक्षणसिकाइको माध्यम भाषा भने नेपाली रहेको थियो।तथापि तामाङ साथीसँग आपसमा तामाङ भाषा बोलिए पनि नेपालीभाषी साथीसँग नेपाली भाषामै बोलिन्थ्यो । तर कक्षा आठमा पुगेपछि कक्षा १० मा पढ्ने दाइ श्री रूपबहादुर आलेसँगको छात्रावास बसाइको क्रममा नेपाली भाषा सुधार्नका लागि साथीभाइसँग बोल्ने माध्यम भाषामा नेपाली भाषाको अवलम्बन गरियो । त्यसपछि मैले तामाङ साथीभाइसँग पनि नेपाली भाषामै कुराकानी गर्न थालेँ भने यसले गर्दा घरमा दिदी र भाइसँग नेपाली माध्यम भाषाबाटै कुराकानी गर्न पुगेँ तर आमाबुबासँग भने तामाङ भाषामै कुराकानी गर्थेँ । यसरी शुद्ध र स्पष्ट नेपाली भाषा सिक्ने मोहको कारण मेरो माध्यम भाषा तामाङबाट नेपालीमा अपसरण वा स्थानान्तरण हुन पुग्यो । जसको परिणामको रूपमा मेरो परिवारमा अहिलेसम्म पनि मेरो परिवारका भाइ, भतिजा, भतिजी, श्रीमतीसँगको माध्यम भाषा नेपाली रहेको छ भने मेरी बुहारी र सानो छोरासँगको मेरो माध्यम भाषा तामाङ नै रहेको छ ।

श्री जनविकास माविमा पढ्ने सिलसिलामै अझ अङ्ग्रेजी भाषा विकासका लागि छात्रावास र अन्य अनौपचारिक कुराकानीकै क्रममा साथीभाइसँग अङ्ग्रेजी भाषामै कुराकानी समेत गरिन्थ्यो । जसमा दाजु रूपबहादुर आले र अग्रज साथी बलबहादुर नेपालीसँग अङ्ग्रेजी भाषामा बोल्ने अभ्यास गरिन्थ्यो ।उहाँहरूमध्ये रूपबहादुर आले मावि तहको अङ्ग्रेजी शिक्षकका साथै विद्यालयका प्र.अ. हुनुहुन्छ भने बलबहादुर नेपाली व्यवसायी हुनुहुन्छ।यसरी हामीलाई विद्यालयको माध्यम भाषा नेपाली र विषयगत रूपमा अङ्ग्रेजी भाषाको पठनपाठनले त्यसतर्फ आकर्षित गरेको थियो जसको कारण मेरो तामाङ मातृभाषा र अग्रज दाजु रूपबहादुर आलेको मगर मातृभाषा ओझेलमा पर्न पुग्यो । अझ मेरो अविस्मरणीय पक्ष के छ भने विद्यालयको प्रार्थना सभामा गाइने हट्ने होइन, डटी लड्ने नेपालीको बानीको हुन्छ……..त्यहाँ सिङ्गो नेपाल हुन्छ जस्ता बालगीतको अर्थ कक्षा १० सम्म पुग्दा पनि बुझ्न सकेको थिइनँ । यो के भनेको होला जस्तो लाग्थ्यो । तर यसको अर्थ धेरैपछि मात्र लगाउन सक्ने भएँ भने यसको अर्थ बुझ्न सकेँ । शायद यो गीति श्लोक नेपाली भाषामा नभई तामाङ भाषामा हुँदो हो त प्रावि तहदेखि नै बुझिन्थ्यो भन्ने लाग्छ ।

वि.सं. २०४८ सालमा एसएलसी परीक्षा उत्तीर्ण भएपछि घरायसी आर्थिक कारण क्याम्पस पढ्न सम्भव नभएकाले शिक्षक जागिरको खोजीतिर लागियो तर वि.सं. २०५१ सालमा मात्र प्रावि तहको अस्थायी शिक्षकको जागिर मिल्यो।मेरो प्रावि तहको शिक्षणसम्बद्ध विद्यालयमध्ये ३ वटा विद्यालयमा नै मिश्रित समुदायको बालबालिकाहरू अध्ययनरत थिए जसमा तामाङ, मगर, दलितका साथै ब्राम्हाण, क्षेत्री समुदायका बालबालिकाहरू थिए।मेरो प्रावि तहको पाँचवर्षे शिक्षण अवधिमा विद्यालय र कक्षाकोठाको शिक्षणसिकाइको माध्यम भाषा नेपाली नै रह्यो बरु नेपाली मातृभाषाइतर बालबालिकाले नेपाली भाषा बोल्न नजान्दा हाँसिन्थ्यो र सुधारेर बोल्न सिकाउने गरिन्थ्यो । त्यसपछि मावि तहको शिक्षकमा नियुक्ति भई माविको प्र.अ. को समेत जिम्मेवारी लिनुप¥यो भने विद्यालयमा अङ्ग्रेजी विषयको शिक्षकको अभावका कारण अङ्ग्रेजी भाषा विषय पढाउन थालियो साथै मेरो अङ्ग्रेजी भाषा विषयको ट्युसन पढाउने कार्य त एसएलसी पछिदेखि नै निरन्तर रह्यो । यो क्रम वि.सं. २०६० सालमा निमावि तहको स्थायी शिक्षक नियुक्ति भएपछि पनि चलिनै रह्यो तर वि.सं. २०६३ मा मावि तहको स्थायी शिक्षक भएपछि माविदेखि उमाविसम्म सामाजिक, जनसङ्ख्याका साथै नेपाली विषयको पठनपाठन गर्न थालियो। ती विद्यालयको कक्षाकोठाको माध्यम भाषा चाहिँ नेपाली नै रहेको थियो। जबकि निमावि तहका विद्यार्थीमा तामाङ, मगर, नेवार, दलितका साथै ब्राम्हाण र क्षेत्रीका बालबालिका थिए। त्यसैगरी मावि तहमा पनि तामाङ, नेवार, दनुवार, मगर, भुजेल जातिका विद्यार्थी अध्ययनरत थिए तर यसमा माध्यम भाषाको कठिनाइ रहेको कुरा नेपाली भाषा विषय पठनपाठनको क्रममा अनुभूति भने गर्न पाइयो।नेपाली मातृभाषीभन्दा नेपालीइतर मातृभाषी विद्यार्थीको नेपाली भाषाको बोध र अभिव्यक्तिगत पक्ष तुलनात्मक रूपमा कमजोर पाइयो भने अन्य विषयमा समेत भाषाको कारण नेपाली मातृभाषी विद्यार्थीकोभन्दा नेपालीइतर मातृभाषी विद्यार्थीको सिकाइ नतिजा कमजोर रहेको भेटियो।साथै जागिरे जीवनसँगसँगै मेरो उच्च शिक्षाको अध्ययन क्रम अगाडि बढिरह्यो।जसमा आइ.ए.तहदेखि मैले नेपाली प्रमुख विषय लिएर एम.एड. नेपालीसम्मको अध्ययन पूरा गरेँ भने बी.एड.तहमा अङ्ग्रेजी विषयलाई प्रमुख विषयका रूपमा लिने प्रयास नभएको होइन तथापि क्याम्पसको कारण अङ्ग्रेजी विषयको सट्टा नेपाली विषय पढ्नुपर्ने परिस्थिति सिर्जना हुन पुग्यो।अन्ततः मेरो उच्च शिक्षातर्फको अध्ययनको विषय नेपाली भाषा र साहित्य बन्न पुग्यो।यसले ममा भाषा र शिक्षाप्रति थप अध्ययन र अनुसन्धान गर्न प्रेरित गरायो जसले मेरो अध्ययनको यात्रालाई बहुभाषिक शिक्षातर्फ डो¥यायो।

वि.सं. २०६६ सालमा शिक्षा सेवाको उपसचिव भएपछि वि.सं. २०६८ सालदेखि पाँचथर, ओखलढुंगा र दोलखा जिल्लामा जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी पाइयो।पाँचथर जिल्लामा लिम्बू समुदायको अधिक बसोबास रहेको छ।साथी युगमणि सबेहाङ जीले आदङबे हो, सेवारो भनेको साह्रै मीठो लाग्थ्यो भने लिम्बू संस्कृतिको च्याब्रुङ बाजासहितको धाननाच अत्यन्तै सुन्दर, विशिष्ट र मौलिक लाग्थ्यो। पछि ओखलढुङ्गामा मेरो सरुवा भयो भने शिक्षा विभागले वि.सं. २०७० सालतिर सिकाइ उपलब्धि सुधार कार्यक्रम ल्यायो।यसलाई पूरा गर्न जिशिका ओखलढुंगााबाट वि.सं. २०७३ मिसन २०७५ नारा राखी शैक्षिक सुधार मार्गचित्र घोषणा गरी लागू गर्ने कार्यक्रम सञ्चालन गरियो । त्यस घोषणा सभामा जिल्लाका इच्छुक विद्यालयलाई अङ्ग्रेजी माध्यमसहित नमुना विद्यालय घोषणा गर्न उत्प्रेरित गरियो।जुन बेला म तामाङ भाषाको शैक्षणिक प्रयोग विषयमा विद्यावारिधि तहको शोधार्थी थिएँ।तथापि मेरो विद्यावारिधिको शीर्षक तामाङ भाषाको शैक्षणिक प्रयोग रहे पनि शोधको उद्देश्य भने तामाङ भाषामा तयार भएका पाठ्यासमग्रीको विश्लेषणसँग मात्र सीमित थियो जसको कारण बहुभाषिक शिक्षाको अवधारणा र यसको प्रयोगसम्बन्धी यथार्थ बुझ्ने अवसर मिलेकै थिएन । त्यतिखेरको मेरो बुझाइ नै अङ्ग्रेजी माध्यमको कारण निजी विद्यालयको सिकाइ उपलब्धि उच्च रहेको र विद्यार्थी टिकाउन सकिन्छ भन्ने रहेको थियो । अझ भाषाविद् अमृत योञ्जन तामाङले मातृभाषामा आधारित बहुभाषिक शिक्षा सञ्चालन गर्नुप¥यो भनी प्रस्ताव गर्दा मेरो मनमा अङ्ग्रेजीको जमानामा मातृभाषामा शिक्षाको अर्थ छ र भन्ने लाग्थ्यो भने मातृभाषामा शिक्षा भनेको तामाङ वा मगर कुनै एक भाषामा मात्र पढाउने पद्धति भन्ने बुझ्ने गर्दथेँ जुन अद्यापि आम मानिसको बुझाइ बनेको छ । यसरी मैले मातृभाषामा शिक्षा कसका लागि किन भन्ने बुझ्न सकेको थिइनँ । त्यसपछि मेरो सरुवा दोलखा जिल्लामा भयो भने त्यहाँ पनि दोलखा शैक्षिक सुधार प्रारूप जारी गरी अङ्ग्रेजी माध्यमसहितको नमुना विद्यालय घोषणा भए भने अङ्ग्रेजी माध्यम अपनाएर शैक्षिक सुधार गर्ने सल्लाह धेरै विद्यालयका प्र.अ. लाई दिन पुगेँ । यतिखेरसम्म मातृभाषामा आधारित बहुभाषिक शिक्षाको मर्म र अर्थबोध गर्न नसक्दा बजारको पछि लागेर नेपाली माध्यमलाई समेत छोडी अङ्ग्रेजी माध्यमको पछाडि अन्धाधुन्ध लाग्न पुगेको थिएँ जसरी अद्यापि अधिकांश नेता, नीतिनिर्माता, प्राध्यापक, शिक्षकलगायत अभिभावकहरूमा यस प्रकारका सोच, चिन्तन र बुझाइ रहेको छैन भन्न सकिन्न ।

वि.सं. २०७३ सालमा मेरो सरुवा र पदस्थापना भाषा आयोगमा भयो।यसपछि म एकातिर विद्यावारिधिको अध्ययनमा केन्द्रित भएँ भने अर्कातिर मातृभाषा शिक्षा शाखा प्रमुखको भूमिका निर्वाह गर्नुप¥यो।साथै भाषा आयोगका श्रद्धेय अध्यक्षज्यूलगायत भाषा आयोगका सल्लाहकार समूहसहित विज्ञ महानुभावहरूसँगको सामीप्यताबाट भाषाको महत्त्वका साथै मातृभाषामा शिक्षाको सैद्धान्तिक र व्यावहारिक प्रयोगसम्बन्धी छलफल र अन्तरक्रियाबाट मेरा विगतका अवधारणागत अस्पष्टता विस्तारै स्पष्ट हुँदै गए।त्यसैगरी विद्यावारिधि अध्ययनका विज्ञ परामर्श समूहका विद्वान् प्रा.डा.वासुदेव काफ्ले, प्रा.डा. अरविन्द भोमीज्यू र गुरुवर प्रा.डा.हेमाङ्गराज अधिकारीज्यूको परामर्शबाट मातृभाषामा शिक्षा कसलाई, किन र कसरी भन्ने वास्तविकताको नजिक पुग्न पाएँ।यसअघि मातृभाषासम्बन्धी बुझाइको अभावमा आफ्नै पुख्र्यौली तामाङ भाषाबाट व्यक्तिगत रूपमा नेपाली भाषामा विगतमा नै स्थानान्तरित भइसकेकै थिएँ भने शिक्षाक्षेत्रको व्यवस्थापकको हैसियतले मातृभाषामा शिक्षा पाउने बालबालिकाको अधिकारलाई समेत कुण्ठित गर्ने कार्यमा अग्रसर हुन पुगेको थिएँ।तर यसपछि मेरो जीवनको मोड बदलियो, म आफ्नै धरामा उभिन पुगेँ, आफ्नो मातृभाषा तामाङको महत्त्व बुझ्न सकेँ अनि माध्यम भाषाको कारण लाखौँ मातृभाषी बालबालिकाको शैक्षिक अवरोध, क्षति र अन्यायको स्मरण गर्न पुगेँ । नेपालको संविधान प्रदत्त भाषिक शैक्षिक अधिकारको सुनिश्चिततातर्फ मेरो जीवनको गोरेटो तय हुन पुग्यो साथै मेरो विद्यावरिधि तहको अध्ययन पनि तामाङ विद्यार्थीमा तामाङ र नेपाली माध्यम भाषाको प्रयोग तथा प्रभावतर्फ मोडियो । अतः तामाङ भाषिक वक्ता र अध्येताको दोहोरो भूमिका निर्वाह गर्न पाउनु मेरा लागि अवसर मात्र बनेन, यसपछि स्वसंस्कृति, स्वसंस्कार र स्वभाषाको संरक्षण, संवद्र्धन र विकासका साथै शिक्षामा प्रयोगको दिशामा मेरो अध्ययनको यात्रा तय भयो । यिनै विगत र वर्तमानको अध्ययन, अनुभव र अनुभूतिकै आधारमा मेरो विद्यावारिधिको शीर्षक परिवर्तन भई विद्यालयमा तामाङ भाषाको शैक्षणिक प्रयोग निर्धारण हुन पुग्यो भने मेरो अध्ययनका प्रमुख प्रश्नहरू देहायअनुसार तय भएको थियोः

क) विद्यालयमा तामाङ माध्यम भाषाको प्रयोग कसरी गरिएको छ ?

ख) तामाङ विद्यार्थीमा नेपाली माध्यम भाषाको प्रयोग र प्रभावको स्थिति केकस्तो छ ?

ग) तामाङ भाषा विषयको प्रयोगको अवस्था कस्तो छ ?

उल्लिखित मुख्य प्रश्नहरूमा आधारित यस अध्ययनका लागि विद्यालय शिक्षाको कक्षा एकदेखि पाँचसम्मलाई लिएको छु।अध्ययनको क्रममा प्र.अ., शिक्षक, अभिभावक, विद्यार्थी, विव्यस पदाधिकारीलाई विद्यालय शिक्षाको अभिन्न र जीवन्त पक्षको रूपमा लिई कक्षाकोठाको शिक्षणसिकाइमा माध्यम भाषाको कारणबाट पर्ने प्रभाव पक्षमा केन्द्रित गरिएको छ भने तामाङ भाषा विषयको प्रयोग तथा प्रभावलाई हेरिएको छ।मूलतः यस अध्ययनमा तामाङभाषाको पुस्तैनी हस्तान्तरण, शैक्षिक प्रक्रियामा यसको समाहितीकरण र तामाङ भाषाको विषयका रूपमा आत्मसातीकरणको पक्षलाई समेटिएको छ।खासगरी अध्ययनसम्बद्ध विद्यालयहरूको मामिलागत (केस) विवरण क्रमशः अध्याय पाँच र सातमा प्रस्तुत गरेको छु ।अध्याय छमा तामाङ र नेपाली माध्यमसम्बद्ध दुईदुई वटा विद्यालय तथा अध्याय आठमा तामाङ भाषा विषयसम्बद्ध दुई विद्यालयको स्थलगत अध्ययनसम्बद्ध सहभागीको प्रत्यक्ष अनुभव, अनुभूति र रायपरामर्शमा आधारित भई व्याख्या विश्लेषण गरिएको छ।उल्लिखित मूल प्रश्नमा आधारित भई देहायका सहायक प्रश्नहरू तय गरी अध्ययनलाई गहन र सघन बनाउन देहायका सहायक प्रश्नहरू राखिएका थिए  ।

घ) तामाङ र नेपाली माध्यम भाषाको प्रयोग र अभ्यासको अवस्था कस्तो छ ?

ङ) तामाङ भाषा विषयको प्रयोग तथा अभ्यासको स्थिति केकस्तो छ ?

च) तामाङ भाषाको शैक्षणिक प्रयोगको चुनौती तथा सम्भाव्यताका आधार केकस्ता छन् ?

छ) तामाङ भाषाको शैक्षणिक प्रयोगको उपादेयता के छ ?

 

You might also like