तामाङ राष्ट्रसेवक कर्मचारी र तामाङ घेदुङबिच अन्तरक्रिया सम्पन्न
बौद्ध काठमाडौँ। २०८० कार्तिक २५ गते ।
आज नेपाल तामाङ घेदुङ कर्मचारी तथा प्रहरी सेना विभागको आयोजनामा तामाङ राष्ट्रसेवक कर्मचारीहरूका बिच नेपाल तामाङ घेदुङको हालसम्मको उपलब्धि विवरणसहित तामाङ कर्मचारी सञ्चालन र तामाङ डाक्टर समाजकाबिच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। घेदुङको कर्मचारी तथा प्रहरी सेवा विभाग प्रमुख निर्मल तामाङको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि माननीय हितबहादुर तामाङ, पूर्व सभाषद शान्ति पाख्रिन र प्रदेश सभा सदस्य मा.राधिका तामाङ विशेष अतिथिका रुपमा उपस्थिति हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल सरकार, अध्यागमन विभागका महानिर्देशक एवम् सहसचिव रूद्रसिं तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना महाशाखा प्रमुख एवम सहसचिव हेमराज तामाङसहित भाषा आयोगका उपसचिव एवम् अध्ययन अनुसन्धान र प्रदेश समन्वय प्रमुख डा.लोकबहादुर लोप्चनको समेत उपस्थिति रहेको थियो ।
यस अन्तरक्रिया कार्यक्रममा नेपाल तामाङ घेदुङका सहअध्यक्ष श्री कुमार घिसिङले नेपाल तामाङ घेदुङको ३४ देशमा अन्तर्राष्ट्रिय तामाङ परिषदको शाखा रहनुका साथै सात वटै प्रदेशमा प्रदेश समिति रही ४०० भन्दा बढी स्थानीय घेदुङ रहेको बताउनु भयो । उहाँले खासगरी घेदुङले पछिल्लो समयमा तामाङ भाषा विषय शिक्षामा जोड दिएर १२ स्थानीय तहमा लागू गर्नका साथै ल्होछार वि.सं. २०५१ बाट तामाङको राष्ट्रिय पर्वको रुपमा मान्यता दिलाई यसलाई भव्य रूपमा मनाउन प्रारम्भ गरेकोमा जोड दिनुभयो । त्यसैगरी बागमती प्रदेशमा तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न घेदुङले पहल गर्दै यस प्रदेशलाई ताम्सालिङ नामकरण गर्न समिति समेत गठन गरी अघि बढेको बताउनुभयो। त्यसैगरी उहाँले तामाङ कर्मचारीहरूको सहकार्यमा तामाङ समुदायको विविध क्षेत्रमा उल्लेखनीय कार्य गर्ने उद्धेश्यकासाथ यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
संस्थागत प्रस्तुतिको क्रममा तामाङ डाक्टर समाजका तर्फबाट डा.निराजन तामाङले तामाङ घेदुङको राष्ट्रसेवक कर्मचारी विभागले आयोजना गरेको यस कार्यक्रमले अन्तरपुस्ता र अन्तर तामाङ संस्थाबिच सहकार्य र आपसी सहयोगको अवसर मिलेको बताउनुभयो। साथै उहाँले तामाङ डा.समाजले बागमती प्रदेशको करिब सबै पालिका स्वास्थ्य शिविर सञ्चालन गरी सक्रियता बढाएको र आगामी दिनमा अझ बढी जिम्मेवारीकासाथ लागी पर्ने बचनबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी तामाङ कर्मचारी सञ्जालका अध्यक्ष टेकराज स्याङतानले निजामति सेवामा तामाङ जातिको समानुपातिक उपस्थितिका लागि लोक सेवा तयारी कक्षा अघिल्लो वर्षबाट सञ्चालन प्रारम्भ गरेको र यसै वर्षको मंसिरमा पुनः कक्षा सञ्चालन गरी क्षमता विकासका कार्य गर्ने बताउनुभयो ।
मन्तव्यको क्रममा सभाषद माननीय शान्ति पाख्रिनले तामाङ युवा पुस्ता वास्तवमै भोलिको तामाङ समाजको आधार स्तम्भ भएकाले तामाङ घेदुङ र तामाङ पेसागत संस्थाबीच निरन्तर संवाद र सहकार्य भइरहनुपर्ने बताउनुभयो । राज्य संरचनामा हाम्रो उपस्थिति बलियो बनाउनका लागि हरतरहले लागी पर्नुको विकल्प हामीसँग नभएको उल्लेख गर्नुभयो। त्यसैगरी प्रदेश सभा सदस्य माननीय राधिका तामाङले नीति निर्माण र कार्यान्वयन तहमा तामाङ राष्ट्रसेवकको भूमिका कस्तो रहन्छ भन्ने स्मरण गर्नु हुँदै बागमती प्रदेशको राष्ट्रभाषा ऐन, २०८० मा आफूले तामाङ लिपि र मञ्जुश्री सम्बत समावेश गर्न पहल गरेको चर्चा गर्नुभयो । प्रमुख अतिथि माननीय हितबहादुर तामाङले तामाङ समुदायसम्बद्ध पेसागत संथाहरूमध्ये निजामति सेवा सङगठनहरू बढी राजनीतिक भई पेसा धर्म निर्वाह गर्न असक्षम रहेको बताउनु हुँदै तामाङ कर्मचारीहरू पेसागत धर्म, कर्म र निष्ठता अब्बल साबित हुनुपर्ने सुझाऊ दिनुभयो। साथै उहाँले सबैले राजनीति नगरे पनि राजनीतिक चेत र बुझाइ भने सबैका लागि आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले राजनीति बिनाको कुनै पनि सुधार र परिवर्तन नहुने हुँदा पछिल्ला पुस्ताले राजनीतिलाई परिवर्तनको आधारको रूपमा लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको अन्तमा भाषा आयोगमा उपसचिव एवम भाषाविद डा.लोकबहादुर लोप्चन यस कार्यक्रमबाट अन्तरपुस्तामा तामाङ समुदायको भाषा, संस्कृतिलगायत कार्यगत सहकार्यमा बल मिल्ने बताउँदै यस्ता अन्तरसंवाद निरन्तर भइरहनुपर्ने बताउनुभयो।