भाषा आयोग र थामी समाजको सहकार्यमा कालिञ्चोक गा.पा.दोलखामा कक्षा १-३ सम्म थामी भाषामा पठनपाठन हुने

भाषा आयोग र थामी समाजको सहकार्यमा कालिञ्चोक गा.पा.दोलखामा कक्षा १-३ सम्म थामी भाषामा पठनपाठन हुने

काठमाडौँ २०८० साल माघ ५ गते

भाषा आयोग र थामी समाज नेपालबीच सहकार्य गरी दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा शैक्षिक सत्र २०८१ बाट कक्षा १-३ सम्म १६ विद्यालयमा थामी विषयको पठनपाठन र २ विद्यालयमा थामी माध्यम भाषाबाट पठनपाठन हुने भएको छ। साथै अन्य ३२ वटा विद्यालयहरूमा पनि कक्षा १-३ सम्म स्थानीय विषय पठनपाठनका लागि भाषा आयोग र नेपाल थामी समाजले सहकार्य गर्ने भएको छ भने यसका लागि कालिञ्चोक गाउँपालिकाका कार्यक्रम सञ्चालन, पाठ्यपुस्तक तयारी आदिका लागि आ.व.२०८०।८१ मा बजेट विनियोजन गरेको छ।

यस गाउँपालिकाले यस वर्षको वार्षिक कार्यक्रम र बजेट अनुसार थामी भाषाको कक्षा १-८ सम्मको पाठ्यक्रम लेखन गरी कक्षा १-३ सम्मका लागि थामी भाषामै एक विषय पठनपाठन गर्नेछ। त्यसैगरी अन्य विद्यालयमा समेत स्थानीय विषयको लेखन गरी सबै बालबालिकालाई थामी भाषा विषय र स्थानीय विषय पाठ्यभारमा आधारित भई पढ्न पाउने अवसर उपलब्ध गर्ने भएको छ।

यस कार्यक्रमका लागि भाषा आयोगको अध्यक्ष डा.गोपाल ठाकुरको अध्यक्षमा बैठक बसी सहकार्यात्मक मोडलमा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ। कार्यक्रम तय गर्नका लागि कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओली लगायत थामी समाजको अध्यक्ष रणबहादुर थामीसहित भाषा आयोगका तर्फबाट का.मु.सचिव डा.लोकबहादुर लोप्चनले प्राविधिक सहजीकरण गर्नुभएको थियो। थामी भाषाका भाषाविज्ञ रमेश थामी र भाषाविद डा.तारामणि राई लगायत थामी भाषी अध्येता टेकराज थामी, कविराज थामी लगायतका व्यक्तिहरूको उपस्थितिमा लोपोन्मुख थामी भाषाको संरक्षण, विकास र शिक्षा प्रयोगसम्बन्धी कार्यक्रमको मोडल तयार गरिएको थियो भने यसलाई आगामी बैशाखसम्ममा कार्यकर्म सञ्चालन गरी कार्यान्वयन जाने निश्चित भएको छ।

 

You might also like