नेपालमा जनआन्दोलनदेखि जेन्जी आन्दोलन (२०८२)सम्मः सच्चा राष्ट्रनायकको खोजी
डा. लोक बहादुर लोप्चन
आजभन्दा ५६ वर्षअघि २०४६ सालमा जनआन्दोलन हुँदा म आफैँ मात्र १६ वर्ष, अहिलेको पुस्तासँग तुलना गर्दा जेन्सी पुस्तामा थिएँ । एकतन्त्री निरंकुश पञ्चायती शासन विरूद्धको यस आन्दोलनलाई विद्यार्थी रहँदा नै पञ्चायती व्यवस्था र प्रजातान्त्रिक व्यवस्थाबीचको अन्तर् चेतना प्राप्त भएको थियो । तत्पश्चात संसदीय व्यवस्था र स्थानीय निर्वाचनहरू भए, देशमा उदारीकरणसहितको अर्थतन्त्र स्थापना भयो र नेपालमा निजी क्षेत्रको प्रवेश भई विश्वसँगको सम्बन्ध विस्तार भयो। शिक्षा, सञ्चार र स्वास्थ्यको क्षेत्रसहित विकासका पूर्वाधारहरू अपेक्षित रूपमा नभए तापनि थोरबहुत विकास हुँदै आए । तथापि नेपालको राजनीतिक व्यवस्थामा अस्थितरता आयो, संसदीय अल्पमत र बहुमतको गणितीय खेलमा जनताका लागि गरिनुपर्ने सेवाप्रवाह जनअपेक्षित हुने कुरै भएन । राजनीतिक अस्थिरता, भ्रष्टाचार, अन्याय, विभेद र असमानताका बीच बेरोजगारी, गरिबी र न्यून जीवनस्तरका कारण १० वर्षे शसस्त्र आन्दोलनको प्रारम्भ भयो । यसले करिब १० वर्षसम्म मुलुकभरि नै एक किसिमले गृहयुद्धकै स्वरूपमा सशस्त्र सङ्घर्ष भए जसले मुलुकको विकासलाई विनाशतिर धकेलियो। नेपालको सत्ता र शासन व्यवस्था संसदीय गलत अभ्यास, प्रशासनकीय पुरातनता र सुशासनको अभावले गर्दा कुशासन र भ्रष्टाचारले आक्रान्त हुन पुग्यो । तथापि वि.सं.२०६२/६३ मा व्यवस्था परिवर्तनका लाग जनआन्दोलन भाग दुई सम्पन्न भयो । यसले नेपालमा लोकतान्त्रिक गणतन्त्र घोषणा गरी संविधान सभामार्फत् संविधान लेखन कार्य सम्पन भयो वि.सं २०७२ सालमा। त्यसपछि नेपालको संविधान २०७२ जारी भई मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना मात्र भएन, स्थानीय र प्रदेश तथआ सङ्घीय तहको आम निर्वाचन भई सङ्घीय शासन पद्धति लागू भयो । जुन नेपाली जनताको समृद्ध नेपाल र सुखी नेपालको सपना साकार पार्ने व्यवस्था थियो ।
तर बिडम्बना २०८२ भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनसम्म आइपुग्दा नेपालमा पुनः जेन्जी विद्यार्थीहरू सहिदका रूपमा ढलेका छन् भने इतिहासमा कहिल्यै नभएको घटनाकासाथ नेपाल आगोको मुस्लोमा जलेको छ। यसरी जीवनका आधा दशकमा ३ वटा आन्दोलनहरी यस मुलुकले व्यहोरिरहँदा यसका साक्षी किनारा म अचम्भित छु यतिबेला । मुलुकले एउटा गति समात्न नसक्नु, अझै गरिबी, बेरोजगारी र अभावका बीच देश राजनीतिक अस्थिरता र युवा विद्रोहबाट सिर्जित विध्वंशले खण्डहर वा अवशेष बनिरहेछ। पक्कै यो कसैको रहर हो त ? अवश्य त होइन ? बरू यो एउटा बाध्यता वा ऐतिहासिक आवश्यकता हो जुन सडक र सत्तासम्म विष्फोटन भई आजको नियति भोग्न विवश छौँ । यसअघि कहिल्यै सेना यस रूपमा परिचालित हुनु परेको थिएन, तर आज सडकभरि सेना तैनाथ छन्, सरकार छैन र असङ्गठित विद्रोह भएकाले जेन्जीको प्रतिनिधिसमेत सहजै देखिन सकेको छैन । यसरी मुलुक पुनः एउटा असाध्यै सङ्कटपूर्ण घडीमा गुज्रिरहेको छ।
जेन्जी आन्दोलनको तेस्रो दिन एउटा शून्यता वा खरानीबाट उठेर पुनः मुलुकको पुनर्निर्माणको परिकल्पना गर्नु र त्यसलाई ठोस कार्यान्वयन गरेर यस विद्रोहको घाउलाई शमन गर्दै मुलुकलाई पुनः युवा पुस्ताले फेरि कहिल्यै आन्दोलन गर्न नपर्ने गरी अगाडि बढ्नु विकल्प हामीमाझ रहेम । संसारमा थुप्रै मुलुकहरू युद्धको खरानीसँगै सपनाको देश बनेका छन्। जसमा एसियाकै जापान, दक्षिण कोरिया र दक्षिण अफ्रिकी देश बुर्किनो फासो आदि छन्।हामी ती देशको विकास र समृद्धिलाई नजिकबाट नियाल्न सक्छौँ । ती देशहरूको विकासमा राजनीतिक स्थिरता, राष्ट्रनायकको भूमिका र जनताको सहभागिता महत्वपूर्ण आधार हुन्। तर नेपालले छिमेकी देशहरूले चमत्कारिक विकास र समृद्धि हासिल गर्दा समेत पछि पर्नुका बग्रेल्ती कारणहरू छन्। यसको मूल कारण शासन व्यवस्था नै हो । यसरी के भन्न सकिन्छ भने १०४ वर्षे राणाशासन, ३० वर्षे पञ्चायती निरंकुश शासन र त्यसपछिका ५६ वर्षहरू सुशासनका अभावले कुशासनको सिकार हुन पुग्यो।जसको कारण भदौ २३ गतेको राज्यसिर्जित नरसंहार र २४ गतेको जेन्जीबाट मच्चाइएको विध्वंशको कारण मुलुक शून्य वा खरानीको थुप्रो नेपालले दुर्भाव्य बेहोर्नु पर्यो ।
यस्तो दुर्दिनका पछि थुप्रै कारणहरू होलान्, तर्क गर्न सकिएलान् तर मुख्य कारण मुलुकको विकास र समृद्धि शासकीय व्यवस्थाको स्थिरता र राजनीतिक गतिशीलताबाट हुने हो । यसका लागि मुलुक बनाउन त्यागी, दूरदर्शी र असल देशभक्त नेता वा राष्ट्रनायकको जरूरत पर्दछ। हुनत नेपालमा हरेक आन्दोलनपछि कोही न कोही नायकका रूपमा स्थापित पनि भएका छन्। तर बिडम्बना केही वर्षपछि जनताको आशा, भरोशा र राष्ट्रको भविष्य निर्माता ठानिएका नेताहरू खलनायक भएका छन्। जेन्जी आन्दोलनको कारक पनि तिनै जीवनभर सङ्घर्ष गरेर मुलुकका लागि ठूला योगदान पुर्याएका नेताहरू नै हुन् । नेपालको शासकीय संरचना, संस्कार र व्यवहार यस्तो बन्दै गयो जो आए पनि सत्ताको दलदलमा भासिन्छन् र विकृत राजनीतिको फोहोरी खेल खेल्दाखेल्दै सच्चिँदैनन्, सकिन्छन्। पुनः नयाँ अनुहारका नेता पदार्पण गर्छन्, आउँछन् र जान्छन्, तर मुलुक गतिहीन बन्छ। यसले विद्रोह निम्त्याउँछ, धनजनको क्षति हुन्छ, मुलुक वर्षौ पछि पर्छ। यसका पछाडि हाम्रो शासकीय संरचनाका मूल खम्बाहरू नै खिइएका छन्, जस्तो राजनीति, निजामती सेवा, सेना, प्रहरी र अन्य सबै पक्षहरू संरचनात्मक रूपमा कामयावी छैनन्। भनूँ यी सबै सङ्ला छैनन्, फोहर छन्, जो यसमा बस्छन्, उसलाई फोहर लाग्ने नै भयो । यिनै पुरातन शासकीय सोच, व्यवहार, संस्कृतिलाई चिर्न नसकेर नेपालमा कस्ता कस्ता पार्टी र नेताको विलय भएको देखिन्छ। यसपल्ट पनि भएको त्यही हो, पुरानै राजनीतिक संस्कार र संस्कृति जस्तो अहंकार, दम्भ, नातावाद, कृपावाद, आसेपासे, विचौलिया र विदेशी सम्बन्धको असन्तुलनको खाडलबाट माथि उठ्न सक्ने गरी नेताले त्याग र योगदान गर्न सकेको भए, यो दिन भोग्नुपर्दैन थियो । तर भयो उल्टो जो सत्तामा गयो उसले जनताका आवाजहरू बेवास्ता गर्न पछि परेनन्, जनतालाई आधारभूत सेवा दिन चुके, राष्ट्रिय अन्तर्राष्ट्रिय विचौलियाको चङगुलमा फसे र सार्वभौम जनता महान हुन् भन्ने कुरा बिर्से। अनि मुलुकको सेवा प्रवाह गर्ने स्थानीय संयन्त्र निजामती सेवा, सेना, प्रहरी, शिक्षण पेसा रूपान्तरित हुन सकेन, जनताले यसलाई विश्वास नै गर्न सकेनन्, त्यसभित्र सुशासन, नैतिकता, इमानदारिताको अभाव रह्यो । परिणामस्वरू राजनीतिले कर्मचारीलाई विश्वास गरेन र कर्मचारीले राजनीतिलाई विश्वास गर्ने अवस्था रहेन। त्यसैगरी सेना, प्रहरीले पेसागत धर्मिता र मर्यदामा रहेर काम गर्ने संस्कार र संस्कृति विकास भएको देखिन जुन २४ गतेको घटनाले पुष्टि गराइसक्यो। नेपालमा बेतिथि, भष्टाचार, कुशासन बढ्यो, रोजगारी बढेन, गरिबी बढ्यो आर्थिक उन्नति भएन, मुलुकमा बस्ने आधार नभई विदेसिन पर्यो । जो नेपालमा बसेका छन् खासगरी पछिल्लो पुस्ताहरू उनीहरू २०४६ यता राजनीतिक सत्तामा एउटै बूढ्यौली, ढोङगी र षडयन्त्रकारी अनुहार हेर्न मात्र बाध्य छन्, पार्टीको नाममा कसैको छोरा, छोरी, नातेदार, श्रीमती वा आसेपासेलाई भोट हाल्नुपर्ने अवस्था आयो त्यसलाई उनीहरूले नकारे, विद्रोह गरे, लोकप्रियतावादी केहीलाई जिताए, तर कसैबाट केही हुने नदेखिपछि आगो ओकल्न पुगेका छन्।
फ्रान्समा लुई चौँधौँले म नै राज्य हुँ भनेर घमण्ड गर्दा जिलेटिनले काटिएर भीडबाट मारिएको घटना पढेको थिएँ विश्व इतिहासमा। तर नेपालमै भदौ २४ गतेका दिने वर्षौँ प्रधानमन्त्रीको कुर्सीमा रहेका र सत्तामा रहेकालाई जेन्जी पुस्ताले सम्मान सट्टा अपमान गरेको देखियो।उनीहरूमाथि भौतिक आक्रमण गर्दै एउटा जिम्मेवार नेतालाई प्रश्न गरेको देखियो, मुलुकमा यस्तो परिस्थिति ल्याउने मतियारका रूपमा। अब यो इतिहासमा लेखिनेछ तर अब के हुन्छ र हुनुपर्छ ? जसले जेन्जी उनीहरू यस मुलुकको भविष्य हुन्, निर्माता पनि हुन् र विद्रोहका हकदार पनि हुलन् । त्यसैल अब सच्चिनै पर्छ सम्पूर्ण नेपालीले किनकि नेता मात्र दोषी छैनन्, नेता यही समाजबाट बन्ने हो । तर नेपाली समाजमा नै मूलतः विकृतिको स्रोत बनेको देखिन्छ। यहाँ भन्सार, कर, मालपोत, यातायात जागिर खाने र कुनृ पनि किसिमबाट अकुत सम्पत्ति कमाउनेको इज्जत गर्ने संस्कार छ र पूँजीवादी व्यवस्थाले मानिसलाई भोगवादी र विलासी बनाएको छ । अझ सामाजिक सञ्जाल, टिकटक र अन्य सामग्रीले युवावर्गलाई बढी गाँज्दै लगेको छ, यसैको माध्यमबाट राजनीति, शासकीय व्यवस्था, समाज र अन्य विषयमा गलत भाष्यहरू सिर्जना गरिन्छन्, जसको प्रभावले दुर्घटनामा परिणत हुन पुग्छन्। त्यसैले मुलुकले अबको निकास पाउनका लागि केही ठोस कदमहरू चाल्न जरूरी छः
- राजनीतिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पद्धति अवलम्बन गर्न सकिन्छ। त्यो सम्भव नभएमा अर्को विकल्प छ जस्तो हाल राष्ट्रपति र स्थानीय तहका प्रमुखलाई बढीमा दुई कार्यकाल मात्र रहन पाउने व्यवस्था छ, त्यस्तैगरी सुधारिएको संसदीय व्यवस्थाअन्तर्गत कुनै एक व्यक्तिलाई दुई पटक मात्र प्रधानमन्त्री र जनप्रतिनिधि निर्वाचित हुन पाउने व्यवस्था गरौँ, पाटीमा पनि कुनै एक व्यक्ति दुई कार्यकाल मात्र कार्यकारी पदमा रहने व्यवस्था गरौँ । यसबाट एउटै व्यक्तिलाई दुई कार्यकाल मात्र कायम गर्दा अरूले अवसर पाउँछन् जसले गर्दा अहिलेजस्तो आर्यघाट सम्मै पदमा पुग्ने अवस्था रहँदैन । साथै जनप्रतिनिधि नै मन्त्री बन्ने अवस्थाले एकातिर भ्रष्टाचार बढ्ने अर्कातिर विज्ञता अभावको कारण कार्यसम्पादन गर्न नसकेको देखिन्छ। यसका लागि सांसदलाई मन्त्री हुन नपाउने व्यवस्था गरी सम्बन्धित क्षेत्रका विज्ञ वा विशेषज्ञ जसले देशलाई उच्च योगदान पुर्याएका छन् उनीहरूलाई मन्त्री बनाउनुपर्दछ।यसबाट अहिले जस्तो ५६ वर्षसम्म एउटै अनुहारको राजनीतिमा हाली मुहाली रहँदैन।
- हालै प्रदेश संरचना र कार्यसम्पादनको हिसाबले बढी खर्चालु र अनावश्यक संरचना भएको देखिन्छ । यसका लागि दुईवटा विकल्प हुन सक्दछन् पहिलो स्थानीय तहलाई प्रदेशअन्तर्गत व्यवस्था गरेर सङ्घीयताको मर्मअनुसार कार्यान्वयन गर्ने । यसो गर्न नसकेमा प्रदेश तहविनाको सङ्घीय र स्थानीय तहमा सीमित गरेर अगाडि बढ्न पनि सकिन्छ।
- जनतालाई सेवा प्रवाह गर्ने निजामती, सेना र प्रहरीलगायतका सेवाको संरचनात्मक र सांस्कृतिक रूपान्तरण गरौँ । अहिलेको जस्तो संरचना, सोच, क्षमता र व्यवहार भएको जनशक्तिले जेन्जीले सोचेजस्तो सुशासन र सेवा प्रवाह गर्दैन। किनकि यो पुरातन सोच, कमजोर क्षमता र गलत संस्कार ग्रसित अनुत्पानदमुखी र मालिक संस्कारमा हुर्केका छन् । भदौ २४ गतेको घटनाले जनता मालिक र जनप्रतिनिधि, कर्मचारी, सेना र प्रहरी सबै जनताका सेवक हुन् अन्यथा जनताबाट कुनै पनि बेला दण्डित हुने भएको जनताप्रति उत्तरदायी बनाउनुपर्दछ। तर अहिले जस्तो सामान्य प्रशासनले काम गर्दैन, यसका लागि विशेषज्ञ पद, तहगत प्रणाली र कार्यसम्पादनमा आधारित जिम्मेवारी प्रदान गर्न सकिन्छ। निजामती सेवामा निश्चित प्रतिशत सेवा करार गरेर कार्यकारी सेवा लिनुपर्ने देखिन्छ जुन सचिव तहसम्म नै आवश्यक छ।
- शिक्षा क्षेत्रको विकास र शिक्षण पेसामा सुधार गरेर दक्ष र गुणात्मक जनशक्तिको विकास आजको मूल आवश्यकता हो । नेपालको शिक्षा आजको बजार, माग र दक्षतासँग मेल खाएको छैन। त्यसैले नेपालको शिक्षा पद्धतिमा आमूल परिवर्तन गरेर समाज, बजार र विश्वको आवश्यकतासँग मेल खाने गरी पाठ्यक्रम सुधार गरिकन देश र जनतामा समर्पित हुने सोच र व्यवहारयुक्त मानव संशाधनको विकास गरिनु पर्दछ । शिक्षालाई व्यापारीकरणको साटो सेवामुखी बनाई देशमै रोजगारी उपलब्ध गरेर सेवा गर्ने अवसर मिलाइनु पर्दछ। यसका लागि शिक्षण पेसालाई मर्यादित बनाउन उनीहरूको सेवा सुविधा विस्तार गर्नुका साथै शिक्षण पेसाबाटै शिक्षा सेवाको सचिवसम्म हुन पाउने प्रावधान राखेर जनशक्तिलाई शिक्षण पेसामा उत्प्रेरित गर्न सकिन्छ ।
- मुलुकको संरचनात्मक रूपान्तरण र आार्थिक विकास गर्न कृषि, पर्यटन, उद्योग क्षेत्रमा निजी क्षेत्रको सहकार्यमा लगानी प्रवर्धन, उद्योग धन्दा सञ्चालन, रोजगारी विस्तार र पर्यटन क्षेत्रलाई प्रवर्धन गर्न आवश्यक छ ।
- नेपालको प्रदेश, जिल्ला, स्थानीय तह, लिङग, व्यक्ति, वर्ग र समूहबीच आर्थिक, सामाजिक, सहभागिताका आदिको दृष्टिले ठूलो खाडल छ। यसका लागि लक्षित कार्यक्रम सञ्चालन, समावेशिता, आरक्षण, सकारात्मक विभेद, विशेष सुविधाजस्ता कुराहरूलाई निश्चित समयसम्मको लागि अवलम्बन गरेर समतामूलक र समन्यायिक समाजको निर्माण गर्नु पर्दछ।
- बहुल पहिचान, भाषा, संस्कृति र चरित्रहरूलाई समान स्थान, पहिचान, सम्मान प्रदान गर्न विशेष, स्वायत्त र संरक्षित क्षेत्र घोषणा गरेर राज्यको उपस्थिति जनाउने र लोककल्याणकारी राज्य व्यवस्थालाई नर्डिक देशहरूमा अभ्यास गरेको अपनाउन सकिन्छ ।
अब त हामीले जेन्जी आन्दोलनको पीडाबाट सिक्नैपर्छ, खरानीबाट माथि उठ्नै पर्छ अन्यथा हाम्रो भवष्य अझ दुखान्त बन्ने सुनिश्चित छ।मुलुक सङ्कटको घडीमा विद्रोही जेन्जी, राजनीतिक दल, जनता, नागरिक अभियन्ता र तमाम नेपालीले देश पहिलो हो भन्ने भावनाले देशप्रति बफादार बनेर मुलुकको निम्ति नागरिक कर्तव्य र जिम्मेवारी निर्वाह गर्नुपर्दछ। अन्तमा, अब मुलुकले जेन्जी आन्दोलनले खोजेजस्तो भष्टाचारहित राजनीतिक प्रणाली र सुशासनमार्फत् समृद्धि नेपाल र सुखी नेपालीको सपना साकार पार्ने एउटा सच्चा राष्ट्रनायक परिकल्पना गरेको छ। आशा गरौँ, हामीले असल नेतृत्व पाउँनेछौँ, यो शून्यबाट उज्यालो यात्रातिर लाग्नेछौँ, हाम्रो भविष्य र हाम्रो आशा जेन्जीको अपेक्षा पूरा गर्नेछौँ ।