नेपालमा भाषा प्रविधि तथा प्रयोगशालाको आवश्यकता र उपादेयता
डा. लोक बहादुर लोप्चन
भाषा आयोग काठमाडौँ । २०८२ साल कार्तिक २ गते ।
भाषा आयोगले नेपालमा बोलिने भाषाहरूको संरक्षण, संवर्धन र विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये आ.व.२०८२/८३ बाट भाषा संवाद यात्रा थालनी गरेको छ । यसअन्तर्गत २०८२ साल कार्तिक २ गतेका दिन नेपालका भाषाहरूको एटलस तयारीको सन्दर्भमा भाषा प्रविधि र प्रयोगशालीय परीक्षण विषय संवाद यात्रा चौथो शृङखला सम्पन्न गरेको छ । यस संवादमा यात्रामा ती जना कार्यपत्र प्रस्तोताहरूले अलग अलग कार्यपत्रहरू विषयगत विज्ञताको आधारमा प्रस्तुत गरेको थिए । काठमाडौँ विश्वविद्यालयका प्रा.डा. बालकृष्ण बलले भाषा प्रविधिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी त्रिवि भाषाविज्ञान केन्द्रीय विभागका डा.कृष्णप्रसाद चालिसेले भाषाको प्रयोगशालीय परीक्षणअन्तर्गत तामाङ भाषाको ध्वनि र वर्ण सङ्ख्यासम्बन्धी अध्ययनले देखाएको भिन्नतालाई उदाहरणका रूपमा प्रस्तुत गरे । त्यसैगरी भाषा आयोगका निमित्त सचिव डा. लोक बहादुर लोप्चनले भाषा आयोगका तर्फबाट नेपालमा बोलिने भाषाहरूको एटलस तयारीका क्रममा यसअघि नै ७३ भन्दा बढी भाषाहरूको विवरण युनेस्कोबाट तयार गरिएको वर्ल्ड एटलसमा नेपालको तर्फबाट समावेश गरेको चर्चा गर्दै आ.व.२०८२/८३ मा नेपालका भाषाहरूको एटलस तयारीअन्तर्गत पहिलो चरणमा राष्ट्रिय जनगणना २०७८ मा पहिचान गरिएका थप १३ भाषाहरूको नमुना अध्ययन र भाषिक प्रोफाइल तयार पारी क्रमशः सबै भाषाहरूको एटलस तयार पारेर सार्वजनिक गर्ने जानकारी गराउनु भयो ।
भाषा आयोगका अध्यक्ष डा. गाोपा ठाकुरका अध्यक्षता सञ्चालित यस संवादयात्रामा भाषा आयोगका सदस्यहरू, सल्लाहकारहरू, टिप्पणीकर्ता, १३ नयाँ पहिचान भएका भाषिक संस्था प्रमुख, प्रतिनिधि र सम्बन्धित भाषा विज्ञहरूका साथै सूचना र प्रविधि क्षेत्रसँग सम्बन्धित संस्थाहरू नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, राष्ट्रिय तथ्याङक कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका निकायका प्रतिनिधसहित आयोगका कर्मचारीहरूको उपस्थिति रहेको थियो । विज्ञको प्रस्तुति पछि अन्तरक्रिया सञ्चालन गरिएको यस कार्यक्रममा विज्ञको प्रस्तुतिउपर प्रा.डा.माधवप्रसाद पोखरेल र प्रा.डा.बलराम प्रसाईँले टिप्पणी गर्नुभएको थियो । प्रा.डा. माधवप्रसाद पोखरेल वर्तमान युगमा भाषाको सरंक्षण र विकासका लागि भाषा प्रविधि र प्रयोगशालाको असाध्यै महत्व रहेको बताउँदै भाषा आयोगले थप कार्यक्रम विस्तार गर्नुपर्ने र त्यसका लागि भाषा विज्ञान केन्द्रीय विभाग विज्ञ सहयोगका साथै पहल गरेर भाषा क्षेत्रमा ठोस उपलब्धि हासिल गर्नुपर्ने सुझाउनु भएको थियो । त्यसैगरी प्रा.डा.बलराम प्रसाइँले नेपालमा भाषा र प्रविधिका क्षेत्रमा विभिन्न औपचारिका कार्यक्रमहरू हुने गरेका तर तिनलाई स्थायी रूपमा अगाडि बढाउन नसकिएको हुँदा यस क्षेत्रमा दिगो र उपलब्धिमूलक कार्यक्रम सञ्चालन गर्न सुझाउनु भएको थियो ।
भाषा प्रविधि र प्रयोगशासलीय परीक्षणको आवश्यकता र उपादेतया
भाषा संवाद यात्रा चौथोमा विषय संवादको आधारमा भाषाको क्षेत्रमा प्रयोगशालीय परीक्षण एक विधि हो । डा.कृष्णप्रसाद चालिसेका अनुसार भाषाको अध्ययन अनुसन्धानका लागि प्रभावपरक, अवलोकन र प्रयोगशालीय गरी ३ प्रकारका विधि प्रचलनमा छन् । यसमध्ये प्रयोगशाली विधि भाषिक अध्ययनको वैज्ञानिक र वस्तुपरक विधि हो। तर नेपालमा उनका अनुसार चारथरि अनुसन्धान हुने गरेका छन् । पहिलो सिद्धान्त र विधि दुवै जानेका र प्रयोगमा ल्याएका । दोस्रो सिद्धान्त जानेका र विधि नजानेका तर प्रचलनमा रहेको । तेस्रो सिद्धान्त नजानेका तर विधि जानेका जुन प्रचलनमा छन् । त्यसैगरी चौथो सिद्धान्त र विधि नजानेका तर प्रचलनमा रहेको । यो चाहिँ भाषाविदको अध्ययन हो भनेर प्रा.डा.माधव सरले व्यङग्य गर्दा हल हाँसोले गुन्जिन पुगेको थियो ।
नेपालमा बोलिने भाषाहरू विश्वव्यापीकरण र वर्चश्वशाली भाषाको प्रभावले कतिपय भाषाहरू मरिसकेको छन् भने अल्पसङ्ख्यका भाषाहरू लोप हुने क्रममा छन् । यस्तो अवस्थामा ती भाषाहरूलाई पुनर्जीवन दिनका लागि भाषाहरूको पाठसंग्रह (कर्पोरा) तयार पार्नु पर्दछ । यसका लागि भाषाहरूको मौखिक र लिखितका साथै श्रव्य, दृश्य, श्रव्यदृश्य सामग्रीको सङग्रह गरी पाठसङग्रह तयार गर्नुपर्ने देखिन्छ । यसका लागि समुदायमा नै भाषा प्रयोगशालाका रूपमा भाषा स्रोत केन्द्र स्थापना गरी सञ्चालन गर्न सकिन्छ । यसका लागि समुदायका व्यक्तिहरूलाई भाषा अध्ययनसम्बन्धी प्रशिक्षण कार्यशाला सञ्चालन गर्नुपर्ने देखिन्छ । त्यसैगरी विभिन्न भाषाहरूको ध्वनि पहिचान र वर्ण निर्धारणमा पनि एकरूपता देखिँदैन जसको कारण विभिन्न भाषाहरूमा समस्या देखिएका छन् जस्तो तामाङ भाषाको वर्णनिर्धारणमा तीन प्रकारका भेदहरू देखिएका छन् । उदाहरणको लागि केही विद्वानहरूले पूर्वी तामाङमा वर्णको सङ्ख्या मार्टिन मजाउदो (२००३) र ली (२०११) को अध्ययन (२००३) १७ र २४ को सङ्ख्यामा देखिएको छ । त्यसैगरी पश्चिम तामाङमा टेलरको अध्ययन (१९६९) र योञ्जन तामाङको अध्ययन (२०७२) अनुसार यसको सङ्ख्या ३४ र १८ देखिएको छ । त्यसैगरी पश्चिमी तामाङमा योञ्जन (२०११) र रेग्मी र रेग्मीको अध्ययन (२०१८) अनुसार ३५ र १८ देखिएको छ । यसरी कुन चाहिँ आधिकारिक हो र कति पटकको अध्ययनबाट आधिकारिक हुने हो भन्ने कुनै सीमा र वैधानिकता नहुँदा तामाङ भाषालगायत अन्य भाषाहरू विवादमुक्त हुन सकेका छैनन् ।
डा.कृष्णप्रसाद चालिसेका अनुसार भाषा प्रयोगशालीय अध्ययनको महत्व यसप्रकार छन्ः
- भाषिक अध्ययनमा प्रयोगशाला विधि र corpus अवलोकन विधिलाई समानान्तर रूपले अघि बढाउनकालागि भाषा प्रयोगशाला अनिवार्य छ।
- यसले भाषाको व्यवस्थित अध्ययन, अभ्यास र परीक्षणका लागि गुणस्तरिय उपकरण तथा नियन्त्रित र प्रविधि सम्पन्न वातावरण प्रदान गरेर भाषिक विश्लेषणमा महत्त्वपूर्ण भूमिका खेल्छ। यी सबैकुरा व्यक्तिगत तहमा जुटाउन कठिन हुन्छ।
- भाषा प्रयोगशालाले भाषावक्ताबाट व्यवस्थित रूपले डेटा सङ्कलन गर्न सम्भव बनाउँछ। रेकर्डिङ गरिएका डेटा, टिप्पणी, प्रतिलिपि, आदि को corpus निर्माण गर्न र भण्डारण गर्न पनि सम्भव बनाउँछ। सर्भरको सहायताले यसलाई सहज पहुँचमा पुर्याउन सकिन्छ।
- प्रयोगशालामा सङ्कलन गरिएका डेटा/ corpus को आधारमा विभिन्न किसिमका तुलनात्मक अध्ययन गर्न सकिन्छ।
- भाषा प्रयोगशालाले भाषा शिक्षणमा महत्वपूर्ण भूमिका खेल्छ। भाषा सिक्ने व्यक्तिले ध्वनिविज्ञान, व्याकरण, र भाषा प्रयोगका सिपहरू प्रयोगात्मक तरिकाले सिक्न सक्छन्।
- आधुनिक भाषा प्रयोगशालाहरू प्रायः NLP (प्राकृतिक भाषा प्रशोधन) प्रविधिसङ्ग जोडिएका हुन्छन, जसले भाषा सिक्न र भाषिक विश्लेषण गर्न उपयुक्त वातावरण प्रदान गर्छन्।
- विद्यार्थीहरूले रेकर्डिङ उपकरण, एनोटेसन सफ्टवेयर, र विश्लेषणात्मक विधिहरू का बारेमा सिकेर आफूलाई क्षेत्रकार्य र उच्च तहको अनुसन्धानका लागि तयार पार्न सक्छन्।
भाषा प्रयोगशालीय अध्ययनको क्षेत्र
- भाषिक समुदायमाः भाषिक तथ्याङ्क सङ्कलन, विश्लेषण, र भाषा सिकाई
- विद्यालयमाः दोश्रो र अन्य भाषाको सिकाई
- विश्वविद्यालयमाः भाषिक तथ्याङ्क सङ्कलन, विद्यार्थीलाई भाषिक अध्ययन र विश्लेषण सम्बन्धी सिकाई, भाषिक तथ्याङ्क र विश्लेषणको श्रोत संस्था
- भाषा आयोगः भाषिक तथ्याङ्क सङ्कलन, समुदायलाई भाषिक अध्ययन र विश्लेषण सम्बन्धी तालिम, तथ्याङ्क र विश्लेषणको आधारमा देशको भाषा नीति निर्माण, भाषिक तथ्याङ्क र विश्लेषणको श्रोत संस्था
- नेपाल प्रज्ञाप्रतिष्ठानः भाषिक तथ्याङ्क र विश्लेषणको गहन अध्ययन र श्रोत संस्था
- भाषा अध्ययन र अध्यापन गरिने कुनै पनि संघ संस्थामा ।
विश्वमा गुगल प्रविधिमार्फत भाषा प्रविधिमा चमत्कारिक परिवर्तन आएको छ । यसमा मेसिन अनुवादमा गुगल अनुवादले ठूलो क्षेत्र ओगट्दै आएको छ । यसका साथै भाषाको प्राकृतिक प्रविष्टि प्रक्रिया ( एनएलपी) पद्धतिले कुनै पनि भाषाको मौखिक र लिखित दुवै स्वरूपमा अनुवाद गर्न सकिने बनाएको छ । यसबाट विश्वका हकमा अङग्रेजी र नेपालको सन्दर्भमा नेपाली भाषाको अन्तरभाषिक अनुवादमा ठूलो योगदान पुर्याएको छ । नेपालका मातृभाषातर्फ नेपालभाषाको गुगल अनुवाद पद्धति प्रारम्भ भएको छ भने तामाङ भाषामा गुगल अनुवादको लागि कार्य भइरहेको छ । यसरी गुगल पद्धतिमार्फत् अनुवाद क्रमशः हुँदै जालान् तर सबै मातृभाषामा कसरी भाषा प्रविधि आबद्ध गर्ने भन्ने कुरा चुनौतीपूर्ण छ ।
प्रा.डा.बालकृष्ण बलका अनुसार गुगल प्रविधिमा ठूला भाषाहरूको उपस्थितिले भएको छ । यसको लाभ अन्य भाषाहरूले क्रमशः लिन सक्ने देखिन्छ । उनका अनुसार भाषा प्रविधिका लागि आधारभूत सर्तहरूमा पूर्वाधार, युनिकोड, फन्ट, किबोर्ड र पाठ संग्रह आवश्यक छन् । किनभने वर्तमानमा भाषा प्रविधिबाट ज्ञान हस्तान्तरण हुने गरेको छ । त्यसैले भाषा प्रविधि केवल भाषाको अन्तरअनुवादमा मात्र सीमित नरहेर दैनिक कामकाजदेखि विद्यतीय शासकीय प्रणालीसम्म यसको सम्बन्ध गाँसिएको छ । यसको विस्ताका लागि आवश्यक कार्यहरू निम्न छन् ।
- तयारी र योजना बनाउने, ख) भाषासम्बन्धी तथ्याङकहरू सङकलन गर्ने ग) उपलब्ध तथ्याङकलाई प्रशोधन गर्ने घ) तथ्याङकलाई सम्पादन र परिमार्जन गर्ने ङ) भाषाको प्रविधीकरण गरी खुला स्रोतका रूपमा प्रयोग गर्न सार्वजनिकीकरण गर्ने ।
अतः आज एआए, च्याटजिपिटि, दिपसिक, जेमिनि जस्ता गुगल प्रविधिबाट भाषाको अनुवाद र लिप्यन्तरणको कार्यमा पहुँच पुगेको छ । तर यस्तो सुविधा सीमित वर्चश्वशाली भाषामा मात्र सीमित छन् । भविष्यमा यसको विस्तार भई अन्य भाषाहरूमा प्रविधिकरणको पहुँच र प्रयोग विस्तार हुन अपरिहार्य छ ।