गण्डकी प्रदेशको सरकारी कामकाजमा अल्पसङ्ख्यक भाषा विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न
डा. लोक बहादुर लोप्चन
दमौली तनहुँ २०८२ साल कार्तिक १४ गते ।
आदिवासी जनजाति मञ्चको आयोजनामा गण्डकी प्रदेश सरकारी कामकाजको भाषा ऐन कार्यान्वयनसँगै अल्पसङख्यक भाषाको अवस्था र भावी कार्यदिशा विषय कार्यक्रम गण्डकी प्रदेश तनुहँ जिल्लाको दमौली स्थित होटल प्याराडाइज पिस होटलमा यस प्रदेशमा बोलिने अल्पसङ्ख्यक भाषिक सङ्घसंस्थाहरूको प्रमुख वा प्रतिनिधिहरूको उपस्थितिाम सम्पन्न भयो । कार्यक्रमको औपचारिक सत्रको अध्यक्षता आदिवासी जनजाति मञ्चको अध्यक्ष एवम् आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका श्री रेशम गुरूङले गर्नुभएको थियो भने भाषा आयोगका निमित्त सचिव एवम् भाषाविद डा. लोक बहादुर लोप्चनले कार्यपत्र प्रस्तुत गर्दै सरकारी कामकाजको अल्पसङख्यक भाषाको अवस्था र प्रयोग सम्भाव्यतासम्बधी सहजीकरण गर्नु भएको थियो । आदिवासी जनजाति मञ्चका महासचिव एवम् आदिवासी जनजाति महासङ्घको पूर्व अध्यक्ष जगत बरामले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
यस कार्यक्रममा गोरखा, लमजुङ, कास्की, तनहुँ, म्याग्दी जिल्लाबाट कुमाल, छन्त्याल, दराई, चेपाङ, गुरूङ, मगर, तामाङ, बराम, भुजेल लगायत १४ भाषिक सङ्घसंस्थाका प्रमुख वा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा आदिवासी जनजाति मञ्चको मोहन छन्त्यालले कार्यक्रमको उद्देश र औचित प्रस्तुत गर्दै सहभागीलाई स्वागत गर्नुभएको थियो । भाषाविद तथा शिक्षाविद् डा. लोक बहादुर लोप्चनको कार्यपत्र प्रस्तुत भई सकेपछि सहभागीहरूबीच सम्बन्धित भाषाको अवस्था र प्रयोग विषयमा खुला छलफल कार्यक्रम राखिएको थियो । छलफलको क्रममा सहभागीबाट प्राप्त जानकारीअनुसार तनहुँको व्यास नगरपालिकामा दराई जातिको पकेट क्षेत्र रहेको छ । यस नगरपालिका वडा नं.१० मा बोटे जातिको बसोबासको बाहुल्यता रहेको पाइयो । यस नगरपालिकाको साइनबोर्डमा दराई जातिको भाषा समेत प्रयोग गरिएको छ । एक सहभागीका अनुसार ड्यामौलीबाट विकृत भएर दमौली नामकरण हुन गएको हो । यस प्रदेशका विभिन्न स्थान नाम मातृभाषा र ऐतिहासिक रूपमा विभिन्न जाती र भाषासँग सम्बन्धित रहेता पन नेपालीकृत भई पुर्ख्यौली विरासत लोप हुने खतरा बढ्दै गएको देखिन्छ । यस प्रदेशमा राजामामाकी एक्ली छोरी सीमान्त कुसुन्ता रहेकी छिन् । दुःखको कुरा उनलाई कुसुण्डा भाषा सिकाइएको छैन ।
त्यसैगरी यस प्रदेशमा बोलिने तर हाल लोप भइसकेको दुरा भाषाम केही कार्यक्रमहरू सञ्चालन भइआएको छ । यसमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान र पछिल्लो समयमा भाषा आयोगबाट भाषाको विकास र भाषालाई पुनर्जीवन दिन भाषा कक्षा सञ्चालन गरिँदै आएको छ भन्ने कुरा सहभागी दुर्गा गुरूङले बताउनु भएको थियो । यस प्रदेशमा बोलिने बोटे भाषाको विकासमा लेख्य पद्धतिको विकास आवश्यक रहेको विषयलाई सहभागीहरूले उठाउनु भएको थियो । त्यसैगरी भुजेल भाषाको विकासमा प्राज्ञिक कार्यहरू पर्याप्त भए तापनि वक्ता संरक्षणको काम अपेक्षित हुन नसकेको सहभागीहरूले बताए । देशभरिमा यस भाषाको प्रशिक्षण दिन सक्ने जम्मा ३ जना व्यक्त रहेको पाइयो । जसमा रेशम भुजे र किसन भुजेल जस्ता केही व्यक्तिमा सीमित रहेको देखिन्छ । त्यसैगरी चेपाङ भाषा सन्दर्भमा गोरखा जिल्लाको थुम्की गण्डकी गाउँपालिकाको एक विद्यालयमा चेपाङ भाषा कक्षा १-३ सम्म विषयको रूपमा पठनपाठन भइरहेको पाइयो । एक छन्त्याल भाषाका सहभागीका अनुसार बाग्लुङ र म्याग्दी जिल्लामा छन्त्याल जातिको बसोबास रहेको छ । जसमा म्याग्दी जिल्ला रघुगंगा गाउँपालिकामा छन्त्याल जातिको सघन बसोबास देखिन्छ । बाग्लुङ जिल्लाको काठखोला गाउँपालिकामा छन्त्याल जातिको बसोबास रहेता पन विद्यालयमा छन्त्याल विषय पढाउनका लागि पर्याप्त छन्त्यालभाषी विद्यार्थीको अभाव छ । यसरी छरिएका छन्त्याललगायत अन्य अल्पसङख्यक जातिको भाषा संरक्षणका लागि भर्चुअल मोडलमा सबैलाई समेट्ने भाषा कक्षा सञ्चालन गर्न सकिने उपाय छलफलका क्रममा सुझाएको थियो ।
भुजेल भाषा संस्थाका बसुन्धार घर्ती भुजेलका अनुसार तनहुँको ब्यास नगरपालिकामा जातीय जीवन्त सङ्ग्रहालय निर्माणको प्रक्रिया अगाडि बढाइएको । भुजेल महिला समाजले यस क्षेत्रका आदिवासीको चाडपर्व र संस्कार एवम् संस्कृति संरक्षणका लागि कार्यक्रमहरू सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय गर्दै आएको छ । भुजेल भाषामा ३६ लाख रूपैयाँ लागतामा न्यु क्यु वा नामक चलचित्र निर्माण गरेको छ जसमा गीत सङगीत लेखन र गायन पृथ्वी भजेलबाट भएको देखियो । उनले राजामामाकी छोरी र श्रीमतीको जीवनयापनको लागि आफ्नो पहलमा सामान्य जागिर दिलाएको बताउँदै आ.ज.रा.उ.प्रतिष्ठानको नाममा राजामामाको घर र जग्गा रहेकोले व्यक्तिको नाम दिलाउनुपर्ने माग राख्नु भयो । त्यसैगरी एक जना सहभागीले भाषा प्रशिक्षण र कक्षा मात्र पर्याप्त नहुने र यसका लागि प्रशिक्षण पछि दैनिक जीवन र काममा नै भाषाको प्रयोगको वातारण सिर्जना गरी व्यावहारिक बनाउने सुझाव दिनुभयो । यसै क्रममा व्यास नगरपालिका प्रज्ञा प्रतिष्ठानले मातृभाषाको विकासमा काम गरेको उल्लेख गर्दै यस वर्ष मातृभाषा राष्ट्रिय सम्मेलन आयोजना गरी मातृभाषा र साहित्यको विकासमा टेवा पुर्यउने जानकारी प्राप्त भयो । गुरूङ भाषी संस्थाका एक वक्ता विश्वास गुरूङका अनुसार गुरूङ भाषामा पनि विभिन्न क्षेत्रका वक्ता लवज फरक रहन्छ भन्ने कुराको जानकारी दिँदै वि.सं.२०७४ सालबाट श्री मेश्रम बाराही मा.वि.मा गुरूङ भाषा र लिपि (खेमा) मा लिखित गुरूङ भाषा विषय पठनपाठन भइरहेको जानकारी पाइयो ।
त्यसैगरी मगर सङ्घका पदाधिकारी सिद्धान्त मगरले विगतमा डा. कृष्ण बहादुर भट्टचन र सुरेश आले मगरहरूले भाषिक आन्दोलन र पहिचानका लागि अभियान सञ्चालन गरेर ऐतिहासिक पृष्ठभूमि तयार गरेको बताउनु भयो । उनले मगर लगायत अल्पसङख्यक भाषाहरूको प्रदेश र स्थानीय तहमा सरकारी कामकाजमा प्रयोगमा लागि विशेष पहल र सबै प्रतिबद्धताको जरूरी देखाउनु भयो । साथै उनले तनहुँको सत्यवती मा.वि.मा अख्खा लिपिमा मगर भाषा विषय पठनपाठन भइरहेको जानकारी दिनुभयो । उनले मगर जातिका दश जोड दुई कक्षा उत्तीर्ण गरेका ३० जना सहभागीलाई १ महिने मगर भाषा र लिपिसम्बन्धी तालिम दिई हाल विभिन्न क्षेत्रमा ती व्यक्तिहरूबाट मगर भाषाको प्रचार प्रसार गरिरहेको जानकारी दिनुभयो । कार्यक्रमको अन्तमा अन्तमा कार्यक्रम अध्यक्ष रेशम गुरूङले यस कार्यक्रममा १४ भन्दा बढी भाषिक संस्थाहरूको प्रमुख वा प्रतिनिधिहरूको उपस्थिति रही विभिन्न विषयमा अन्तरक्रिया भई आगामी मार्गनिर्देश समेत भएको बताउनु भयो । गण्डकी प्रदेश भाषा ऐन २०८२ मा सूचीकृत ३० भन्दा बढी भाषाहरूलाई स्थानीय तहमा सरकारी कामकाजकमा प्रयोगका लागि त्यही ऐन नै कानुनी आधारका रूपमा पेस गर्दै नियमावली, कार्यक्रम र बजेटको व्यवस्था गरी अगाडि बढ्न सकिने बताउनु भयो । उहाँले प्रतिष्ठानले गरेको अध्ययन अनुसार कुल १९४५५ जना लोपोन्मुख १० जनाका लागि नेपाल सरकारबाट प्रदान गरिने सामाजिक भत्ताको वार्षिक खर्चभार ९३ करोड रहेको बताउनु भयो । साथै नेपालले मलेसियाको सामाजिक सुरक्षाको मोडल अपनाउन नसकिएको बताउँदै मलेसिमा बी ४० नीति जसमा गरिबीका रेखामुनि रहेका ४०% ले राज्यबाट विशेष सामाजिक सुरक्षा पाउँछन् । त्यसैगरी एम ४० नीति चाहिँ मध्यम वर्गका मानिसहरूको समूह हो उनीहरूले केही सेवा सुविधा राज्यबाट प्राप्त गर्छन् । त्यसैगरी उच्च तहमा टी २० नीति छ जसले कुनै प्रकारका राज्यको सेवा सुविधा प्राप्त गर्दैनन् । उहाँले सबैको सामूहिक उत्तरदायित्वसहित सकारात्मक सोचका साथ अगाडि बढेमा उच्च उपलब्ध हासिल हुने कुरा राख्नु भयो ।
कार्यक्रमा रक बहादुर गुरूङ, राजेन्द्र गुरूङ, मदनराज चेपाङ, सविना तमूस्यो, कृष्ण दरै, गंगादेवी गुरूङ, प्रताप गुरूङ ठाकुरबहादुर दरै, बिमल जिसी भुजेल, नटकुमारी छन्त्याल, खिमबहादुर छन्त्याल, सोनाम तामाङ , अर्जुन बराम, होमबहादुर बोटे, किशोर गुरूङ, शेरबहादुर बोटे सिद्धान्त मगरहरूको सहभागिता रहेको थियो । यस कार्यक्रममा विज्ञ डा. लोकबहादुर लोप्चनले प्रस्तुत गर्नु भएको भाषिक विवरण र कार्ययोजना यसप्रकार छन्ः
प्रदेश जनसङ्ख्या र भाषिक अवस्था
| अनुसूची-१ (दफा ८ को उपदफा (३) सँग सम्बन्धित) गण्डकी प्रदेश मूल थलो भएका मातृभाषाहरूको सूची | ||||
| भाषाहरू | जनसङख्या | वक्ता सङ्ख्या | भाषिक बफादारिता | भाषिक अपसरण |
| मगर ढुट | २०१३४९८ | ८१०३१५ | ||
| गुरुङ (तमू क्युई) | ५४३७९० | ३२८०७४ | 60.33 | (39.67) |
| थारु | १८०७१२४ | १७१४०९१ | 94.85 | (5.15) |
| नेवार | १३४१३६३ | ८६३३८० | 64.37 | (35.63) |
| थकाली | ११७४१ | – | ||
| ल्होवा/ल्होपा | १३९० | ६२४ | 44.89 | (55.11) |
| मुसलमान | १४१८६७७ | १६२५२ | 1.15 | (98.85) |
| बारगुंवा | १५३६ | |||
| तामाङ | १६३९८६६ | १४२३०७५ | 86.78 | (13.22) |
| भोजपुरी | १८२०७९५ | |||
| मगर खाम | ९१७५३ | |||
| दुरा | ५५८१ | १९९१ | 35.67 | (64.33) |
| बराम | ७८५९ | १५३९ | 19.58 | (80.42) |
| माझी | १११३५२ | ३२९१७ | 29.56 | (70.44) |
| १५ | मनाङ्गे | 2022 | |||
| १६ | उतरी गोरखा गुरुङ/घले | ३५४३४ | – | ||
| १७ | नार-फु | ४२८ | |||
| १८ | कुमाल | १२९७०२ | १८४३५ | 14.21 | (85.79) |
| १९ | दरई | १८६९५ | १२८९५ | 68.98 | (31.02) |
| २० | कुशुण्डा (राजग २०७८) | २५३ | २३ | 9.09 | (90.91) |
| २१ | मुसहर | २६४९७४ | – | ||
| २२ | चुमनुब्री | ४४१४ | ४२८४ | 97.05 | (2.95) |
| २३ | चेपाङ | ८४३६४ | ५८३९२ | 69.21 | (30.79) |
| २४ | छन्त्याल | ११९६३ | ४२८२ | 35.79 | (64.21) |
| २५ | भुजेल | १२०२४५ | १३०८६ | 10.88 | (89.12) |
| २६ | बोटे | ११२५८ | ७६८७ | 68.28 | (31.72) |
| २७ | मुस्ताङे गुरुङ | – | (100.00) | ||
| २८ | मगर काईके | १२२५ | |||
| २९ | अदै | बाग्लुङ ढोरपाटन | मगरस समुदायसँग सम्बद्ध | – |
प्रदेशमा भाषिक विकासको स्तर
| 0 | गण्डकी सूचीकृत भाषाहरूको विकासस्तर | |||||||
| भाषाहरू | मानक निर्धारण | वर्ण पहिचान | लिपि | शब्दभण्डार | व्याकरण | फुटकरसाहित्य | शिक्षा र सञ्चार | |
| 1 | मगर ढुट | – | + | देवनागरी, अख्खा | + | + | + | + |
| 2 | गुरुङ (तमू क्युई) | – | + | देवनागरी, खेमा | + | + | + | + |
| 3 | थारु | – | + | देवनागरी | + | + | + | + |
| 4 | नेवार | + | + | प्रचलित, रञ्जना र देवनागरी | + | + | + | + |
| 5 | थकाली | देवानागरी | + | + | + | + | ||
| 6 | ल्होवा/ल्होपा | |||||||
| 7 | मुसलमान (उर्दू, चुरौटे) | + | + | अरबी | + | + | + | + |
| 8 | बारगुंवा | – | – | – | – | – | – | – |
| 9 | तामाङ | – | + | तामयीग, देवनागरी र सम्भोटा | + | + | + | + |
| 10 | भोजपुरी | – | + | देवनागरी, कैथी | + | + | + | + |
| 11 | मगर खाम | + | देवनागरी | + | + | |||
| 12 | दुरा | – | + | + | – | – | – | |
| 13 | बराम | – | + | देवनागरी | + | + | + | + |
| 14 | माझी | – | + | देवनागरी | + | + | + | + |
| 15 | उत्तरी गोर्खा गुरूङ घले | – | + | – | – | – | – | – |
| 16 | मनाङगे | – | + | देवनागरी | – | – | – | – |
| 17 | नार-फु | – | – | – | + | + | – | – |
| 18 | कुमाल | – | + | – | + | – | + | – |
| 19 | दरई | – | + | देवनागरी | – | – | + | – |
| 20 | कुशुण्डा | – | देवनागरी | + | + | – | – | |
| 21 | मुसहर | |||||||
| 22 | चुमनुब्री | – | – | – | – | – | – | – |
| 23 | चेपाङ | – | + | देवनागरी | + | + | + | + |
| 24 | छन्त्याल | – | + | देवनागरी | + | + | – | – |
| 25 | भुजेल | – | + | देवनागरी | + | + | – | + |
| 26 | बोटे | – | + | देवनागरी | + | + | + | – |
| 27 | मुस्ताङगे गुरूङ | |||||||
| 28 | मगर काईके | – | + | देवनागरी | – | – | – | – |
| 29 | अदै | |||||||
| 30 | कायत, आदि । | |||||||
सरकारी कामकाजको भाषा ऐन २०८२ मा अल्पसङख्यक भाषासम्बन्धी प्रावधानहरू
३.सरकारी कामकाजमा भाषाको प्रयोगः (४) स्थानीय तहले आफ्नो क्षेत्रमा बहुसङख्यक व्यक्तिले बोल्ने भाषालाई सरकारी कामकाजका रुपमा प्रयोग गर्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ ।
६.विभेद र अपमानजन्य व्यवहार गर्न नहुने : (१) सरकारी कामकाजको भाषाको रुपमा मातृभाषा प्रयोग हुने कार्यालयमा अन्य राष्ट्रिय भाषाहरु प्रयोग गरेको आधारमा विभेद, बहिष्करण र अपमानजन्य व्यवहार गर्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसुर गरेमा प्रचलित कानून बमोजिम दण्ड, सजाय वा जरिबाना हुनेछ।”
३) प्रदेश सरकारले सरकारी कामकाजको भाषाको अतिरिक्त अनुसूची-१ बमोजिम प्रदेशभित्र बोलिने अन्य मातृभाषाहरुको संरक्षण, संवर्धन गर्नको लागि कार्यक्रम सञ्चालन गर्नेछ।
४.स्थानीय तहबाट भाषाको आवश्यकता, औचित्यता, जीवन्तता, लोपोन्मुखता र विशेष प्रकृतिको आधारमा स्थानीय स्तरमा कुनै भाषिक भूगोल वा क्षेत्रलाई भाषिक विशेष वा स्वायत्त वा संरक्षित क्षेत्र घोषणा गरी राष्ट्रभाषाहरुको संरक्षण, संवर्धन र विकास गर्न सक्नेछ।
९.सरकारी कामकाजको भाषाको विकास गर्नेः (३) प्रदेशभित्र बोलिने अन्य मातृभाषाहरुको संरक्षण र विकासका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्य गर्न सक्नेछ ।
(४) प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा विद्यालयहरुमा प्रदेशभित्र बोलिने मातृभाषामा अध्ययन अध्यापन गराउने कार्यमा सहकार्य गर्न सक्नेछ ।
१४.विज्ञ समूह गठन गर्न सक्नेः
च) प्रदेशभित्रका भाषिक संस्थाहरुको विकासमा सहयोग गर्ने,
छ)भाषा संरक्षण, संवर्धन तथा विकासका लागि योगदान पुऱ्याउने व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मानका लागि सिफारिस गर्ने ।
अल्पसङख्यक भाषाको संरक्षण, विकास र सरकारी कामकाजमा प्रयोगका लागि कार्यदिशा र कार्ययोजना
१.भाषिक अध्ययन गरी भाषाको नक्साङकन, भाषिक सही तथ्याङकन र भाषा नीति, योजना निर्माण गरी कार्यान्वयन गर्नेः भाषिक सर्वेक्षण, अध्ययन गरी पहिचान र कार्यक्रम सञ्चालन ।
२.भाषिक पुस्तान्तरण र भाषा संरक्षण गर्नेः बाजे पुस्तादेखि नाति पुस्ताले मातृभाषा बोल्ने। बोलेमा भाषा बाँच्छ नभए मर्छ । जातीय र भाषिक संस्थाले नेतृतँ गर्ने । जातीय संस्कार र संस्कृति र कार्यक्रमको माध्यम मातृभाषालाई बनाउने ।
३.समुदाय र विद्यालयमा आधारित भाषा कक्षालाई प्रत्यक्ष र भर्चुअल माध्यमबाट सञ्चालनः समुदायका सबैका लागि मातृभाषा साक्षरता र सिकाइ कार्यक्रम ।
४. भाषाको विकास र अभिलेखन तथा प्रविधिकरण गर्नेः भाषाका शब्दकोश, व्याकरण, साहित्यको विकास गरी यान्त्रिक अनुवाद (मेसिन ट्रान्सलेसन) पद्धतिको विकास गरी प्रयोगमा ल्याउने । लिपिको छनोट र विकास गरी प्रयोग ।
५. सरकारी कामकाजमा पूर्ण र आंशिक कार्यमा मातृभाषाको प्रयोग विस्तारः प्रदेश र स्थानीय तहका वडाको सेवा प्रवाह एवम् विद्यालय शिक्षाको आधारभूत तहसम्म मातृभाषाको माध्यम र विषयका रूपमा प्रयोगमा ल्याउने र उच्च शिक्षामा अध्यापन र अनुसन्धानको व्ववस्था ।
६. तीनै तहको सरकारको वार्षिक नीति र कार्यक्रममा भाषा र भाषा शिक्षाका लागि बजेटको व्यवस्थाः निश्चित प्रतिशत बजेटको विनियोजनका साथ कार्यक्रम सञ्चालन ।
७.भाषिक स्वायत्त र संरक्षित क्षेत्र घोषणा कार्यक्रमलाई अभियानका रूपमा सञ्चालनः पहिलो चरणमा नमुनाका रूपमा जस्तो दुरा भाषा स्वायत्त र बराम भाषा संरक्षित क्षेत्र आदि कार्यक्रम सञ्चालन गर्ने ।
८.मातृभाषालाई जीवन पद्धति, उत्पादन, पेसा र रोजगारीसँग आबद्ध गर्नेः मातृभाषाको आधारमा पेसा र रोजगार उपलब्ध गर्न अवसर सिर्जना गर्ने ।
९.भाषिक सङघसंस्थाहरूको सबलीकरणका लागि तीनै तहको सरकारबाट सक्षमता विकासः अनुदान उपलब्ध र मातृभाषाको संरक्षण र उत्तरदायित्व र जिम्मेवारी निर्वाह ।
१०. भाषिक कार्यसम्पादन परीक्षण, मूल्याङकन र पृष्ठपोषणः सिकाइका आधारमा कार्यक्रम र अभियान सञ्चालन गरी नतिजा वा उपलब्धि हासिल गर्ने ।
कार्ययोजना
| क्र.सं. | कार्यक्रम विवरण | जिम्मेवारी संस्था | सहयोग संस्था | स्रोत वा बजेट |
| १. | भाषिक अध्ययन,नक्साङकन र पहिचान तथा भाषानीति र योजना निर्माण र कार्यान्वयन | तीनै तहका सरकार, र भाषिक संस्था | भाषा आयोग र गैर सरकारी संस्थाहरू | प्रदेश, स्थानीय तह रअन्य |
| २. | भाषाको अन्तरपुस्ता पुस्तान्तरणः समुदाय र जीवन पद्धतिसँग आबद्धीकरण | घरपरिवार, समुदाय, भाषिक संस्थाहरू | तीनै तहका सरकार, भाषा आयोग र गैसस | प्रदेश स्थानीय तह र अन्य |
| ३. | भाषाको विकास, अभिलेखीकरण र प्रविधीकरण (मेसिन ट्रान्सलेसन) | तीनै तहका सरकार, समुदाय र भाषिक संस्था | भाषा आयोग, गैसस र अन्य | तीनै तहका सरकार, गैसस र अन्य |
| ४. | समुदाय र विद्यालयमा आधारित भाषा कक्षा सञ्चालन (प्रत्यक्ष र भर्चुअल) | तीनै तहका सरकार, समुदाय र भाषिक संस्था | भाषा आयोग, गैसस र अन्य | तीनै तहका सरकार, गैसस र अन्य |
| ५. | सरकारी कामकाजमा आंशिक प्रयोग (शिक्षा र सञ्चार, वडा) र स्थानीय तहमा प्रयोग विस्तार | तीनै तहका सरकार, समुदाय र भाषिक संस्था | भाषा आयोग, गैसस र अन्य | तीनै तहका सरकार, गैसस र अन्य |
| ६. | तीनै तहको सरकारको वार्षिक नीति र कार्यक्रममा भाषिक कार्यक्रमको अनिवा्रय बजेटको व्यवस्थाः | तीनै तहका सरकार, समुदाय र भाषिक संस्था | भाषा आयोग, गैसस र अन्य | तीनै तहका सरकार, गैसस र अन्य |
| ७. | समुदाय र सङघसंस्थाहरूको सबलीकरण र सक्षमताा विकासः भाषा र लिपि प्रशिक्षण कार्यक्रम | तीनै तहका सरकार, समुदाय र भाषिक संस्था | भाषा आयोग, गैसस र अन्य | तीनै तहका सरकार, गैसस र अन्य |
| ८. | मातृभाषालाई जीवन पद्धति, उत्पादन, पेसा र रोजगारीसँग जोड्ने (मातृभाषा शिक्षक, कर्मचारी र अनुवाद) | तीनै तहका सरकार, समुदाय र भाषिक संस्था | भाषा आयोग, गैसस र अन्य | तीनै तहका सरकार, गैसस र अन्य |
| ९. | भाषिक स्वायत्त र संरक्षित क्षेत्र घोषणा कार्यक्रमलाई अभियानका रूपमा सञ्चालनः | स्थानीय सरकार, समुदाय र भाषिक संस्था | भाषा आयोग, गैसस र अन्य | प्रदेश र स्थानीय सरकार, गैसस र अन्य |
| १०. | भाषिक कार्यसम्पादन परीक्षण, मूल्याङकन र पृष्ठपोषण | तीनै तहका सरकार, समुदाय र भाषिक संस्था | भाषा आयोग, गैसस र अन्य | तीनै तहका सरकार, गैसस र अन्य |