डा. लोप्चनको “सरकारी कामकाजको भाषा तथा मातृभाषामा शिक्षा” पुस्तक लोकार्पण
पोखरा, कास्की । २०८२ साल कार्तिक २१ गते ।
भाषा आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहकार्यमा आयोजिकत गण्डकी प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा शिक्षाविद् डा. लोक बहादुर लोप्चन लिखित पुस्तक मन्त्री डा. टकराज गुरूङ, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष श्री रेशम गुरूङबाट संयुक्त रूपमा लोकार्पण गर्नुभयो । डा. लोप्चनले भाषा र शिक्षाको क्षेत्र ३ दशकदेखि निरन्तर कलम चलाउँदै आएका छन् । उनी नाटककार र गीतकार समेत हुन् भने उनका “दोर्जे सरको पदचाप” नाटक र “गाइने दाइको सारङगीमा” गीति सङग्रह प्रकाशित भइसकेको छ ।
उनको पहिलो कृति “ शिक्षक प्रतियोगिता सफला कुञ्जिका” रहेको छ । वि.सं.२०८० सालमा उनले १००० भन्दा बढी पृष्ठको सरकारी कामकाज र तामाङभाषासम्बन्धी पुस्तक प्रकाशन गरेका थिए । उनी शैक्षिक सुधार र भाषा क्षेत्रका अभियन्ताका रूपमा चिनिन्छन् । हाल उनी बहुभाषिक शिक्षा अनलाइनका प्रधान सम्पादक हुन् । भाषा आयोगका कार्यकारी सचिव समेत रहेका लोप्चनले बागमती प्रदेश सरकारी कामकाजको भाषा कार्यान्वयनअन्तर्गत नेपाल तामाङ घेदुङ र बागमती प्रदेश सरकारका लागि “ तामाङ भाषा तालिम पाठ्यक्रम र पाठ्यसामग्री २०८१” लेखन गरी प्रकाशन भइसेको छ । भाषा आयोगबाट उनको “शिक्षामा मातृभाषाको प्रयोग सम्भाव्यता”सम्बन्धी अनुसन्धान पुस्तक प्रकाशित भएको छ । त्यसैगरी उनका सयौँ लेखहरू राष्ट्रिय पत्रपत्रिका, जर्नल र सम्मारिकाहरूमा प्रकाशित छन् ।
उनले नेपालको वर्ष निजामती उत्कृष्ठ व्यक्तिका रूपमा इन्टिग्रिटी आइकन २०२१ प्राप्त गरेका छन् भने नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भाषा र साहित्यतर्फ बागमती प्रदेश पुरस्कारबाट सम्मानित भइसकेका छन् । यसपछि उनको “तामाङ भाषा र साहित्य शिक्षण” पुस्तक प्रकाशनको क्रममा रहको छ । लेखकले यस पुस्तकमा नेपालमा भाषिक सङ्घीयतासँगै सरकारी कामकाजको भाषा के, कसरी प्रयोग गर्ने हो सोका लागि गहन अध्ययन अनुसन्धान गरी प्रयोगयोग्य र कार्यान्वयनका लागि आधार वा कार्ययोजना प्रस्तुत गरेका छन् । त्यसैगरी विद्यालय र उच्च शिक्षामा मातृभाषाको कार्यान्वयनका लागि अवधारणा र अभ्यासका ठोस खाका प्रस्तुत गरेको छन् । साथै सरकारी कामकाजको भाषा र शिक्षा क्षेत्रमा कर्मचारी र जनशक्ति आवश्यकता पर्ने भएकाले शिक्षण सेवा र लोक सेवामा सफलता कसरी ? जस्ता विषयवस्तु समेटेर भाषा र पेसाको अन्तरसम्बन्ध कायम गर्ने प्रयास गरेको देखिन्छ । यसरी लेखक लोप्चन भाषाविद र शिक्षाविद मात्र नभई नेपाल सरकारका उच्च पदस्थ राष्ट्र सेवक भएकाले भाषिक सङ्घीयता, शासन प्रशासन र व्यवस्थापनको सैद्धान्तिक र व्यावहारिक पक्षलाई समेत ख्याल गरी यो पुस्तक तयार पारिएको छ । समष्टिमा यस पुस्तकले सरकारी कामकाजको भाषा र मातृभाषा शिक्षाको कार्यान्वयनको लागि सुस्पष्ट मार्गदर्शन र आधार प्रदान गर्ने देखिन्छ ।