लिखु तामाकोशी रामेछापमा तामाङ भाषा पाठ्क्रम (कक्षा १-८ ) र पाठ्यपुस्तक (कक्षा १) तयारी कार्यशाला सम्पन्न

लिखु तामाकोशी रामेछापमा तामाङ भाषा पाठ्क्रम (कक्षा १-८ ) र पाठ्यपुस्तक (कक्षा १) तयारी कार्यशाला सम्पन्न

 धोबी बजार, रामेछाप । २०८३ साल जेठ ११ गते आइतबार ।

लिखु गाउँपालिका रामेछाप र बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.को सहकार्यमा यस गाउँपालिकामा तामाङ भाषा पाठ्यक्रम (कक्षा १-८) र पाठ्यपुस्तक (कक्षा १) तयारी कार्यशाला संस्थाका अध्यक्ष संगिता तामाङ अध्यक्षतासहित प्रमुख अतिथि गाउँपालिका अध्यक्ष केशव महत, विशेष अतिथि उपाध्यक्ष दिपा पाख्रिनका साथै वडाध्यक्षहरू, विद्यालय प्रअ र तामाङ भाषा शिक्षकको उपस्थितिमा सम्पन्न भएको छ।यस कार्यक्रममा विज्ञको  तर्फबाट सहजीकरण भाषा आयोगका पूर्व सदस्य एवम् भाषाविद् अमृत योञ्जन तामाङ र शिक्षाविद् डा. लोक बहादुर लोप्चनले गर्नु भएको थियो । तामाङ भाषा पाठ्यक्रम र पाठ्यपुस्तक तयारीका लागि वडाध्यक्ष, प्रअ र शिक्षकहरूबाट पाठ्यक्रमको खाकामा आधारित रहेर व्यक्तिगत र वडागत स्थानीय विषय र भाषिक पक्षहरूको सङकलन भयो । जसमा सात वटै वडाहरूको समूह बनाई विभिन्न विषय शीर्षकमा स्थानीय विषयवस्तु सङकलन गरियो भने व्यक्तिगत रूपमा हरेक सहभागीबाट गाउँपालिकाका भूगोल, संस्कृति, समुदाय, संस्कार, इतिहास, प्राकृतिक, धार्मिकलगायतका क्षेत्रका विभिन्न पक्षहरूलाई व्यक्तिगत फारम भरी सङकलन कार्य भएको थियो। यसको सहजीकरण शिक्षाविद् एवम् तामाङ भाषाविज्ञ डा. लोक बहादुर लोप्चन र गाउँपालिकाका कर्मचारीहरूबाट गरिएको थियो ।

यो पनि पढ्नुहोस

थाम डाँडा

यस कार्यक्रममा परिचयको क्रममा विद्यालय शिक्षक, प्रअ र वडाध्यक्षहरूले विद्यालयमा भाषिक माध्यम र विषयका रूपमा पठनपाठनसम्बन्धी अवसर, समस्या, अनुभूति र सुझावहरू प्रस्तुत भएको थियो। भाषाविद् एवम भाषा आयोगका पूर्व सदस्य अमृत योञ्जन तामाङले नेपालको संविधान र मौजुदा कानुनदेखि अन्तर्राष्ट्रिय कानुनले मातृभाषामा शिक्षाको सुनिश्चित गरिएको हुँदा स्थानीय तहले निर्धारित संवैदायित्व पूरा गर्नुपर्ने बताउनुभयो । साथै उहाँले विद्यालय शिक्षक, प्रअ, अभिभावक र जनप्रतिनिधिहरू मातृभाषालाई माध्यम र विषयका रूपमा पठनपाठन गर्ने मुख्य कर्ता हुनाले यसलाई इमानदारीपूर्वक परिपालना गर्नुपर्ने विषयमा जोड दिनुभयो । त्यसैगरी शिक्षाविद् डा. लोक बहादुर लोप्चनले बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्राप्त कार्यान्वयनमा गएकाले यसलाई स्थानीय तहका कार्यान्वयन गर्न सुझाउनु भयो । उहाँले स्थानीय तहले साङकेतिक रूपमा तामाङ भाषा र लिपिमा कार्यालयको साइनबोर्ड, व्यानर, छाप, लेटर प्याड प्रयोग गरेर सरकारी कामकाजको भाषामा रूपान्तरित गर्न, तामाङ भाषा अनुवाद तालिम प्रदान गरेर काममा लगाउने र मातृभाषामा शिक्षा प्रदान गर्ने उपायहरू प्रस्तुत गर्नुभयो । यसका साथै उहाँले मातृभाषाको लोप वा मृत्यको कारण विद्यालयको एकल भाषिक नीति र सरकारी एकल भाषिक प्रयोग हो भन्ने ठोकुवा गर्दै यसरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भाषा हत्याको मतियार हामी सबै बनेको त होइन ? भन्ने प्रश्न गर्दै सबैले भाषाको संरक्षण र विकासमा उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख जयकृष्ण चौलागाईले पालिकामा शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन र स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन कार्य सम्पन्न भएको बताउँदै तामाङ भाषा पाठ्यक्रम र पाठ्यपुस्तक लेखन कार्यलाई अगाडि बढेको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष श्री दिपा पाख्रिन गाउँपालिकामा तामाङ जातिको बाहुल्यता रहेको हुँदा प्रारम्भ तामाङ भाषा पाठ्यक्रम र पाठ्यपुस्तकको लेखन गरी पठनपाठन गर्ने योजना रहेको बताउँदै आगामी दिनमा सुनुवार भाषामा समेत पाठ्यक्रम र पाठ्यपुस्तक लेखन र पठनपाठन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी गाउँपालिका अध्यक्ष केशव महतले यस गाउँपालिकामा शैक्षिक सुधारको कार्यक्रमहरू सञ्चालन भएको उल्लेख गर्दै विभिन्न भाषाभाषीको पहिचान र प्रतिनिधित्वका लागि पालिका हरदम तयार भएको प्रतिबद्धता व्यक्त गर्नुभयो ।कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष एवम् नेपाल तामाङ घेदुङ सङ्घीय कार्य समितिका अध्यक्ष संगिता तामाङले भाषा संरक्षण, विकास र पठनपाठन कार्य सबैको साझा दायित्व र भाषा भनेको साझा सम्पत्ति रहेको चर्चा गर्दै आफूहरू संस्था मार्फत यस अभियान जोडिएको बताउनुभयो । यसरी नै आगामी दिनहरूमा पनि तामाङ भाषा शिक्षाको लागि संस्थाले सहकार्य गर्ने प्रतिबदधता व्यक्त गर्नुभयो । यस कार्यक्रमको सञ्चालन प्रशासन सहायक सन्तोष गिरीले गर्नुभएको थियो ।

 

 

 

 

You might also like