
तामाङ साहित्य व्यक्तित्व र कृतित्वः योगेश राल्फाली
तामाङ साहित्यको ७ विधामा पहिलो लेखक योगेश राल्फाली
योगेश राल्फाली वा योकबहादुर घिसिङ तामाङ साहित्यका लागि एक उर्बर, अब्बल साहित्यकार मात्र होइनन्, तामाङ साहित्यमा ७ वटा विधामा पहिलो लेखकको इतिहास कायम गर्न सफल बहुआयामिक स्रष्टा, प्रतिभा वा व्यक्तित्व हुन्।उनले तामाङ साहित्यिक बाटिकामा उपन्यास, हाइकु, ताङ्का, मुक्तक, शोककाव्य र महाकाव्य विधामा समेत तामाङ साहित्यिक कृति सिर्जना गरी अमूल्य योगदान गरेका छन् ।मानौँ उनको कलममा यस्तो अदभूत जादू छ, जसबाट तामाङ वाङमयका विभिन्न विधामा सुन्दर र उत्तम कृतिहरू निरन्तर सिर्जिएका छन्।यसरी उनले तामाङ वाङमयलाई लाउनसम्म गुण लगाएका छन्।जसले साहित्यिक ढुकुटीमा विधागत विविधताको इन्द्रेणी रङग भर्न सफल भएको छ भन्दा सही हुन्छ होला।
उनको अविराम लेखनको तागत र सामर्थ्यबाट तामाङ साहित्यमा रिक्त रहेको विधागत साहित्यिक लेखनको पाटापक्षलाई समेटेका छन् वा भनूँ उनले तामाङ साहित्यको हरेक विधालाई शून्य हुन दिएनन्। र त उनका ७ विधामा ७ कृतिहरू तामाङ साहित्यमा पहिलो स्थानमा दर्ज भएका छन् भने उनी तामाङ साहित्यका उल्लेखित विधामा प्रथम लेखकको स्थान सुरक्षित राख्न सफल भएका छन् । यो तामाङ साहित्यका लागि अमूल्य र अपूर्व योगदान हो।जसबाट उनको स्थान तामाङ साहित्यमा अमर रहने सुनिश्चित छ।तामाङ साहित्यमा ७ विधामा ७ कृति पहिलो पटक प्रकाशन गरेर तामाङ साहित्यको गिनिज बुकमा सातवटा रेकर्ड कायम गर्न सफल योगेश साहित्यकार राल्फालीका तामाङ साहित्यमा प्रथम पटक लेखन तथा प्रकाशित कृतिहरू निम्न् छन्-
तामाङ भाषा साहित्यको इतिहासमा पहिलोपटक प्रकाशित भएका राल्फालीका कृतिहरूः
१. “प्राङबोला छेटाङ” (गरिबको साइत) २०५९ तामाङ भाषाको पहिलो उपन्यास
२. “क्लुन्दुङ थोबो” (तालु खुईले) २०५९ तामाङ भाषाको पहिलो ताङ्का संग्रह
३. “थेंच्यार” (बलेसी) २०५९ तामाङ भाषाको पहिलो मुक्तक संग्रह
४.”का:ला मिख्लि” (रगतको आँसु),२०६९ तामाङ भाषाको पहिलो हाईकु संग्रह
५. “याङसीला” २०६९ तामाङ भाषाको पहिलो चिठी संग्रह
६. “दुईला ङ्हार” (समयको गर्जन) २०७३ तामाङ भाषाको पहिलो महाकाव्य
७. “गगन” २०७३ तामाङ भाषाको पहिलो शोककाव्य
उल्लिखित कृतिका अतिरिक्त साहित्यको फाँटमा साहित्यकार राल्फालीका देहायका साहित्यिक कृतिहरू पनि प्रकाशित छन्-
१.आँसुले भिजेको परेली, २०५३
२. जन्जिरको घेराबाट, २०५७
३. राल्फाली मैँच्याङ, २०६०
४. भोको पेट, २०६३
५. ह्याङला ठिम, २०७२
६. घाइते ताम्सालिङ,२०७६
तुफानी वेगमा साहित्यिक सिर्जना गर्न सक्ने साहित्यकार योगेश राल्फालीका साहित्यिक प्रयत्न, साधना र लेखनको यस महानताको लागि समस्त तामाङ समुदाय हर्षित, गर्वित र कृतकृत्य छ नै।उनको यो अविचल, अविराम र अथक साहित्यिक लेखनको सफलतम यात्राको निरन्तरताको कामना।तामाङ भाषा साहित्यका साथै नेपाली साहित्य जगतका एक व्यक्ति अनेक कृतिका पर्याय राल्फालीको भाषा साहित्यमा गरिएको यस योगदानकाप्रति नमन र सलाम।
सम्पादक
स्रोतःसाहित्यकार एवम लेखक योगेश राल्फाली ।